बुधबार, असोज ६, २०७८

संकल्प

बिनु भट्टराई / काठमाडौं२०७८ जेठ ६ गते १५:५१

फेसबुकको भित्तोमा दिनहुँ स्टाटस टाँस्ने ऊ । फोटो पनि आफ्ना भन्दा अधिक दुखी, वृद्ध, अपांग र प्रकृतिसँग उठे बसेका नै राख्थी । जति लाइक कमेन्टस् गरेपनि छुँदैन किन उसलाई कुनै कुराले ? फेसबुकको इन्बक्समा गरेको म्यासेज वर्षौं बितिसक्दा पनि ‘अनसिन’ देखिन्छन् । हैन, उ निर्जीव हो या सजीव ? निर्जीव भए किन उसमा गति छ ? सजीव हो भने किन यस्तो ?

मलाई पछ्याउने र आँखामा ठोकिरहने कयौं युवतीहरूलाई बेवास्ता गरिरहेको म किन-किन निर्जीव जस्ती, उसकै निम्ती मरी मेट्छु । यो प्रश्नको उत्तर भेटिसकेको छैन । किन फुकाउन्न कसैसँग उसले रहस्यको गाँठो ?

ब्याचलर पढदा गेटमा देखिएकी पहिलो पटक उ पहिलो नजरमा नै टपक्क बसेकी हो आँखामा, मुटुमा । कुन्नि अरु कहाँ कहाँ बसी । जतासुकै उसलाई मात्र देख्थें ।
साल भरि कक्षा सँगै गर्दा न कसैसँग बोलेको सुनें न कुनै हा हा र हि हि !
खाली पिरियडमा पनि पत्रिका मै डुब्थी । त्यॊ पनि अंग्रेजी पत्रिका । बोल्ने बोलाउने कुनै हिम्मत थे’न, न कुनै बहाना । एकदिन हदै भो र पत्रिका मागें ।

मिस के रैछ न्युज ? पत्रिका हेरौ न !
उ तटस्थ, बोल्न परै जाओस् टाउको पनि नघुमाई पत्रिका तेर्साई हातमा । माग्ने कोहो र दिई कसलाई ? यसको पनि उसलाई कुनै चासो भएन । उसको हातमा रहुन्जेल उक्त पत्रिका उसैसँग मात्र हुन्थ्यो । मेरो हातमा पर्नासाथ कक्षा भरि फैलियो । पढ्ने दम त कसलाई थियो र ? तै पनि खोसाखोस् ।

हेरें । जसोतसो सम्हालें र उसलाई बुझाएँ पनि । पत्रिका दिंदा पनि नहेरेकी उसले पत्रिकाको पेज नम्बर हेर्दै पत्रिका मिलाउँदै गर्दा आँखा फर्काएर हेरि । पत्रिका उथुलपुथुल बनाइदिएको असभ्यता माथि प्रहार गरी । मुखले एक शब्द निकाल्न नखोज्ने उसको आँखाको भाषा डरलाग्दो रहेछ । आफ्नै अशिष्टता माथि सर्मिन्दा लाग्यो । जस्तो लिएको थिएँ उस्तै दिएको भए ‘थेन्क्यु’ भन्दा ‘वेलकम’ सम्म त भन्दी हो । त्यो पनि पाइन । त्यसपछि कहिल्यै मागेको थिइन ।

उ हरेक कुरामा ट्यालेन्ट थिई । उसको असाधरण हाउभाउबाट पनि प्रशस्तै बुझ्न सकिन्थ्यो । र परैबाट देखिने उसका ह्याण्डराइटिङबाट आभाष हुन्थ्यो । अचम्म त यो थियो, कुनै दिन कसैसँग परिचय नगरेकी ऊ कक्षा भरिका कसैलाई उसको नामसम्म थाहा थिएन ।

दशैं, तिहारको बिदा हुने अघिल्लो दिन शुभकामना आदान-प्रदान कार्यक्रम राखिएको थियो । शुभकामना सहित आफ्नो कविता वाचनको निम्ति स्नातक तह पहिलो वर्षकी बिद्यार्थी मिरालाई मञ्चमा निम्ताउँछौं भनेर उद्घोषकले नै भनेपछि उ जुरूक्क उठेर मञ्चमा पुग्दा म बेसुर भै सकेको थिएँ ।

कविता पनि ….म दंग परें । यस्तो निर्जीव जस्तो लाग्ने मान्छे । नाम पनि मिरा । मिराले त प्रेम गरेकी कृष्णलाई, उनैमा समर्पित भएर सबैथोक त्यागिन् । कुनै मूर्खले राखेको हुनुपर्छ ढुंगा जस्ती मान्छेको नाम ‘मिरा’। जेहोस् पहिलो पटक सबैले थाहा पाए उसको नाम मिरा !

उ मञ्चमा पुग्नासाथ माहोल शान्त भएको थियो । के बोल्छे, कसरी बोल्छे, म त अधैर्य थिएँ नै । अरूले पनि कौतुहल्ताको नजर दौडाए उसैतिर । सम्बोधन र शुभकामना दिईसकेपछि कविता वाचन गर्न थाली ।
“आमा”
वर्षौं पछि
तिम्रो काखमा फर्किएकी म,
सोच्थें धेरै कुरा गरूँ,
पोखुँ, हृदय भरिका पीडा

बगाउँ हर्षका आँशु।
देख्यौ तिमिले मलाई,बरुकुन्नि के सोच्यौ!
र देखें मैले तिमीलाई
यत्ति सोचें,
सिंगो वृक्षजस्तै बनेकी तिमी !
तिम्रा हाँगा रूपी बिद्यार्थीहरू गुटखाको प्याकेट
र अश्लिल शब्दले सु-सज्जित छन् ।
तिम्रै छातीमा फुलेका शिक्षक नामका फूलहरू
मदिराको दुर्गन्ध फिजाउँदै कक्षाकोठामा प्रवेश गरेका छन्
भेडा बाख्रा बस्ने खोर जस्तो
कक्षामा
न आउने समय तोकिएको छ
न जाने ।
गुट्का चपाएर पिच्च थुकिएको रातो रंगले मुछिएकी तिमी
यो सबै सहेर मौन छौ
किन आमा !
फिजाइछौ जो यतिका हाँगा
जो ब्याचलर डिग्रीसम्म पुगेका छन् तर
सकिनछौ अनुशासन नामको गहना पहिराउन
उमारिछौ आफ्नै छातिमा शिक्षक नामका बिरुवा
खै त ?
सभ्यता नामको आँचल ओढाएको तिमीले
हो आमा !
तिमी जस्तै मौन छु, यो सबै देखेर
निर्जीव बन्न मन लाग्छ
किनकि
म आफ्नो पीडा भुलेर
तिम्रो अथाह पीडाहरू एहसास गर्न नसकुँ ।
धन्यवाद !

ताली उसकै निम्ति साँचेर राखे झैं परर पड्काए सबैले । स्तब्ध भए । चिफ सरकै आँखाबाट आँशु झरे । मूर्ति जस्तै व्यक्तिको कवितामा सबथोक थियो । थोरै शब्दमा व्यक्त गर्न सक्ने क्षमता भएपछि धेरै बोल्नुपर्ने रहेनछ । उसको यो शैली र कविताबाट निकै प्रभावित भएर उसको बारेमा झन् धेरै जान्ने मोह जाग्यो म भित्र ।

कक्षामा मरे बोल्दिन । बोलाउने आँट छैन । के छ माध्यम ? प्रश्न माथि प्रश्न दौडिरहे मनभरि । कहाँ बस्छे, के गर्छे! सबै जान्न निकै प्रयत्न गरें । बोल्दै नबोले पनि कक्षामा दर्शन पाइन्थ्यो । दशैं तिहारको लामो बिदाले अब त्यो हराउने भो । कमसेकम नाम त थाहा भो । अब सर्च गर्छु इन्टरनेटमा । पक्कै फेसबुकमा त भेटुँला । यही सम्झेर मन बुझाएँ।

समय आफ्नै रफ्तारमा दौडिरहेकै हुन्छ । दशैं तिहार सकियो । पहिलो वर्षको परिक्षा नजिकिएकोले पढाइमा व्यस्त भएँ । यसर्थमा पनि पढ्न जरूरी थियो कि उसको सामु पढ्ने बिद्यार्थी बन्नु थियो । उसैको व्यंग्यातमक कविताबाट ममा धेरै परिवर्तन आइसकेको थियो भने उसकै देखासिखी गर्न थालिसकेकोले आफूलाई मेघावी छु भन्ने लाग्न थाल्यो । जसरी पनि उसको नजरमा पर्नु थियो म । राम्री पनि कति हो, आम महिलाको जस्तो शैली पटक्कै हुँदैनथ्यो । छोटो कपाल, न लिपिस्टिक, न गाजल, न कुनै गरगहनाले सजिएकी हुन्थी । कालो चस्मा भने कहिल्यै छुट्दैनथ्यो । आँखामा होस् या टाउकोमा । अनुहार भन्दा पहिले देखिने उसको वक्षस्थलको के कुरा गर्नु र….

संयोगले परिक्षा दिंदा उसकै छेउमा परें । टाढा हुँदा नजीक हुन मन लाग्छ । नजीक हुँदा होस् हवास उड्छ । लौ बर्बाद ! अब के हुने हो । डरले मुटु भट-भट गर्न थाल्यो । के कसो हुन्छ भन्दै चिट चोर्न भनि गेस पेपरका दुइ चार वटा टुक्रा च्यातेर ल्याएको । डरले चर्पीमा लगेर फालिदिएको थिएँ । उसकै नजीक परेकोछु भन्ने थाहा पाएपछि । पढेर पुरै तैयारी गरिसके पनि सानै देखि चिट चोर्ने बानी बसेकोले ब्याचलर पढ्ने बेलासम्म यो बानी हटेको थिएन।

परिक्षाहलमा एक घण्टा जति लेखिसकेपछि चेक गर्न माथिबाटै खटाइएका निरिक्षक आए । जुत्ता, जिन्स, टि-शर्टमा ठाँटिएकी ऊ अरूलाई झैं उसलाई पनि जुत्ता खोल्न लगाए निरिक्षकले, । तर मानिन, ठाडै जवाफ दिई- “म्याम मेरो समय खर्च नगरिदिनोस्, चिट चोर्ने फुर्सद छैन मलाई ।”

निरिक्षक झनै कड्किइन् “नियम हो सबैलाई चेक गरेपछि तपाइलाई छोड्ने त कुरै हुँदैन ।

उ झन् चर्को बोल्न थाली ” के को नियम ? कहाँको नियम ?” इमान्दारीसँग भन्दैछु, मसँग केही छैन। नियम मान्नै पर्ने भए ” जुत्ता आँफै खोल्नोस् र लगाइदिनोस् पनि… मेरो समय नखानुस् ।

उ टसमस नभई लेखिरहेकी थिई । म चैं लेख्नै छोडेर हेरिरहेको थिएँ । घरि निरिक्षक, घरी उसलाई । उसको स्वभिमान प्रति निकै गर्व लाग्यो । गल्ती नगर्ने र निडर भई बोल्ने उसको शक्तिले लड्नै परे लड्ने र परिक्षा नै रद्द गरिदिने धम्कि दिई । यो कुरा गाँईगुँइ कलेज भरि फैलियो । चिफ सर उपस्थित भएर उनलाई छोड्ने इशारा गरेपछि निरिक्षकले आखिर हार मान्नै पर्यो । शायद मिराको इमान्दारी प्रति चिफ सर वाकिफ हुनुहुन्थ्यो।

म दंग परें निरिक्षकलाई नै धम्काउने उसको यत्रो आँट देखेर । उसलाई प्रेम प्रस्ताव राख्ने सोच सिसाकलमले लेखेको, अक्षरहरूलाई इरेजरले मेटे झैं सर्लक्क मेटाएँ ।

हामी स्वयमले कति त्रुटी गर्दा रहेछौं भन्ने कुराको उदाहरण बनि उ सम्पूर्ण बिध्यार्थी लाई । हामी पछिल्लो बेन्चमा थियौं । निरिक्षकले अगाडिको बेन्चका दुई जना बिद्यार्थीलाई बाहिर निकाली सकेका थिए, चिट भेटेर । निरिक्षक गइसकेपछि भनी “म अगाडिको बेन्चमा बस्छु सर ।”

कक्षाका निरिक्षकले भन्नुभयो, “ठाउँ सर्न पाइदैन ।” म डराएको थिएँ, ‘अब के हंगामा सुरू हुने हो ।’

उसले शान्त स्वरमा भनि “सर रीक्वेस्ट यु प्लिज, म यो ठाउँमा बस्न सक्दिन, हैन भने म निस्कन्छु ।”

“के भयो ? समस्या भन्नोस् न ” सरले सोध्नु भयो।

“सुजको स्मेलले बमिटनै होला जस्तो भो ।” अंग्रेजी स्टाइलमा उसले यति भनेपछि सरले अनुमति दिनु भयो । उ अगाडि आएर बसी । सबै बिद्यार्थीहरू पछाडि बस्न नपाएर मुर्मुरिन्छन् । उ अगाडि बस्नुमा आनन्द मान्ने । जे होस् मैले मुक्ति पाएको थिएँ उसको डरबाट ।

यता समय पुरा भएको संकेत आइसकेको थियो । जिन्दगी मै पहिलो पटक चिट नचोरिकनै परिक्षा दिएर बाहिर निस्कें उसकै कारणले । अर्को दिन पूर्ण तैयारीमा चिट नबोकिकनै कलेज पुगें । उसकै छेउमा पर्छु भन्ने ढुक्क थियो । जेसुकै होस् आज त बोल्छु र सहयोग माग्छु भनेर बलियो मन बनाई परिक्षा हल भित्र पसेको थिएँ । यता उता हेरें कतै देखिन । आँखा ढोकामै अड्काएँ, उ आइन । पछि थाहा पाएँ, पहिलो दिनको परिक्षामा निकै हल्ला भएको र त्यस्तो माहोलमा परिक्षा दिन नसक्ने भनेर निवेदन दिएपछि उसलाई कार्यलय कक्ष मै शान्त वातावरणमा परिक्षा दिने व्यवस्था मिलाइयो रे!

उसका हरेक क्रियाकलापबाट म दंग पर्थें । यस्तो क्षमता कसरी देखाउन सकेको ! त्यति ठूलो कलेज भरिका बिद्यार्थीहरू मध्ये उ मात्र यौटै कोठामा बसेर परिक्षा दिई । धन्य भगवान !

उसको रूपले आकर्षित भैरहेको म, झन् झन् व्यवहारबाट प्रभावित हुँदै गएँ । कलेजमा वर्षको अन्तिम परिक्षा भन्ने बित्तिकै खंग्रंग पर्थें । उसैसँग छुट्नु पर्ने डर थियो । पक्कै डिग्री पढ्दिन होला पैला ठूलै शहर हाँक्ने होली । प्रेम गर्नु भन्दा व्यक्त गर्न नसक्नुको पीडाले म गलीरहेको थिएँ । उसलाई मैले कति माया गर्छु , चाहन्छु भन्ने कुरा उसले थाहा पाइदियोस् । यति नै ठूलो कुरा हुन्छ झैं लाग्थ्यो । सोच्थें, म एक तर्फि प्रेम गरिरहेको छु उसलाई ।

साँच्चै,उसको छनोट कस्तो होला ? कोसँग प्रेम गरेकी होली ? उसको हाउभाउबाट यत्ति बुझ्न सक्थें । रइस खानदानको राजकुमार जस्तो छानेकी होली !

एकदिन माया ले भनी “कर्णालीको बगरै बगर हिंडेकी थिई उ” मैले हत्तारिंदै सोधें कोसँग ?
परेवासँग…..कर्णालीको बगरमा थुप्रै परेवा जम्मा हुन्छन् । उ तिनीहरूलाई हेर्दै खुब रमाइरहेकी थिई एकलै” मायाले भनि उफ् मैले ठूलो सास फेरें ।

त्यसरी नै फेरि रमेशले भन्यो ” ओए! तेरो परि त….नेपालगञ्जको बागीश्वरी मन्दिरमा खुब मस्किदै हिंडेको देख्याँथे नि ।”

रमेशलाई सोध्न सकिन मैले उ कोसँग थिई । मेरो मौन प्रश्न सुनेछ क्यारे उ आँफैले भन्यो “जे होस् हामीसँग नबोलेर पनि दिलदार छ यार उ । एक जना वृद्ध व्यक्तिलाई डोर्याएर मन्दिरको दर्शन गराउँदै थिई । उसकै हजूरबाउ होलान्।”

आँधी आएर पनि थामियो उतिखेरै । उ प्रतिको मेरो लगाव माया, दिनेश अरू दुईचार जना साथीहरूलाई समेत थाहा थियो ।

तेस्रो वर्षको परिक्षा दिइसकेपछि उसलाई देखेकै थिइन । बाटोमा देख्छु कि भनेर गुलरिया बजार निकै धाएँ । कहिल्यै भेटिन । साथीहरूले देखेथें भन्दा डाहले मुर्मुरिन्थें भित्रभित्रै ।

कहिलेकाहींको संयोग फेरि पत्याउनै नसक्ने गरि मिल्छ । परिक्षा दिएर रिजल्टको पर्खाइमा बसेका हामी, हाम्रो स्तरका जम्मा आठ जना पास भएका रहेछौं । मार्कशिट लिन कलेज पुगें । चिफ सरसँगै कार्यलय कोठामा उसँग भेट भयो । धेरै समय पछि देख्दा अल्लि मज्बुत भएछु क्यारे, मुटु ढक्क भै नफुले कै त होइन, तर पनि साहस बटुलेर बिस्तारै बोलें “आरामै हुनुहुन्छ मिरा जी?”

“ठिकै छ तपाइलाई नी?” उसको छोटो मीठो आवाज हृदयको कुना कुनासम्म पुग्यो ।

फेरि भनें “राम्रो गर्नुभएछ नतिजा, हार्दिक बधाई छ ।”

“धन्यवाद तपाइलाई पनि ..! उसले भनि । मलाई उसँग बोल्न सजिलो हुँदै गइरहेको थियो । अब कहाँ पढ्ने बिचार छ भनेर सोधुँ भन्ने लागेकै बेला ठीक त्यही प्रश्न चिफ सरले छिन्नु भयो ।

“यही पढ्छु सर” उसले भनी ।

“तर मिरा तिमीले पढ्न खोजेको विषय यहाँ संचालन गर्न सकिएन अझैसम्म । तिमी काठमाडौं नै जाउ” सरले भन्नु भयो ।

“बर्दिया धेरै पछाडि छ । मलाई यहीँ बसेर केही गर्न मन छ सर । हाम्रो कलेजमा सुधार्नु पर्ने पक्ष धेरै छन् । मलाई तपाइको साथ र समर्थन चाहिन्छ । सुविधा खोज्दै सबै शहर पस्ने हो भने कसरी आउँछ परिवर्तन देश भित्र ? तसर्थ हामी आँफै आआफ्नो जिल्लाबाट तात्नु पर्छ, किन आउन सक्दैन हाम्रो कलेजमा ऐच्छिक विषय ? हामी सबै मिलेर माग गरौं ।”

“तिमी क्षमतावान बिद्यार्थी यसरी अल्झेर नबस । पढाई सक अनि पुरा गरे हुन्छ समाज प्रतिको दायित्व । आफ्नो करियर नबिगार मिरा ।”

“सर, न युद्ध न व्यापार, न सम्झौता, न प्रतिस्पर्धा के को निम्ति चिन्ता गरूँ करियर समातेर ? केही थुपार्नु छैन मलाई । मैले कमाउनु पर्ने पनि त छैन कसैको लागि । जति सक्छु देश र समाजको निमित्त गर्नुछ । पछिल्लो समयको यात्राले नेपालमा धेरै गर्नुपर्ने जिम्मेवारी पाएको आभास भैरहेको छ । प्रकृतिको पनि भरपुर साथ पाएको हाम्रो देश संरक्षण र सदुपयोगको अभावमा बिकासक्रम टुहुरो छ । हेर्नु न अस्ति बर्दिया पुगें । विश्वमै लुप्त हुँदै गएको कृष्णसार जस्तो जनावरको कुरामा पनि कति लापारवाही ! खै कहाँ छ रेखदेख ? भैंसी गाई बस्तु त्यहीं भित्र चरेका छन् । अहँ कोही छैन सुरक्षार्थ खटिने । केही गर्नु पर्छ बर्दियाबासीले । जाग्नुपर्छ हामी सबै । मलाई त साँच्चै भन्ने हो भने सर भारतले बुद्ध माथि दावी गरेर भारतमै जन्मेको हुन् भन्नु पनि स्वभाविक हो । कुन दिन लुम्बिनी नै भारतमा पर्छ भन्न बेर छैन ! भनेपनि हुन्थ्यो, अल्लि सचेत हुन्थे कि सरोकारवालाहरू !”

उसको कुराले गहिरो व्यंग्य ठोकेको थियो । कति धेरै हो देशको माया । कति कुराको चिन्ता हो उसलाई ! अवाक भै जमीनतिर हेरिरहेको म निन्द्राबाट ब्यूँझिएको मान्छे झैं झस्किएँ । खप्नै नसकेर बाहिर निस्किएँ ।

पैसा, सम्पति, करियर भन्दै किताबी कीरा बनेका छौं हामी । कति विदेश पलायन भैसके । यदि उसले झैं सबैले अठोट लिने हो भने अवसरका ढोकाहरू यहीँ प्रसस्त खुल्थ्यो ।

उ प्रतिको मेरो प्रेम चकनाचुर भैसकेको थियो । उ प्रतिको आकर्षणलाई उसको प्रभावले जित्यो । हुन पनि हो, जन्मे पछि खान, लाउन सिकिन्छ । विद्यालय पठाउनु हुन्छ आमावुवाले । करियरको चिन्ता, फेशन आयो लगाउने चिन्ता, जवानीले छोयो प्रेमको चिन्ता । तर खै त देशको चिन्ता यहाँ ?

जवानीले छुन नपाउँदै स्वयम प्रेम बोध गर्ने हामी युवायुवतीहरू देश प्रतिको दायित्व बोध गर्न सक्दैनौँ । रिस, झगडा, प्रेम, इर्ष्या, प्रतिस्पर्धा, दादागिरी गर्न कसैलाई सिकाउनु पर्दैन । तर सिकाउने कोही चाहिंदो रहेछ देशप्रेमी हुनलाई । चाहिंदो रहेछ कसैबाट प्रेरणा देशप्रतिको दायित्व बोध हुनलाई । स्वयम बोध गर्न त सकेनौँ, सिकेनौं र जानेनौं।

म रन्थनियको थिएँ युद्धमा गोली लागेको सिपाही झैं । उसका प्रत्येक शब्दको प्रहारबाट । जे होस् तीन वर्षसम्म उसलाई पिछा गरेको र पढाईमा लगाएको समयको लगानी खेर गएन । पढाईको सर्टिफिकेट हातमा र उबाट पाएको प्रेरणाको सर्टिफिकेट मनमा बोकेर घर तर्फ फर्कें ।

आमावुवालाई सुनाउनु थियो धेरै कुरा । सधैं प्रेम, पीडा पोख्न बनाएका मेरा साथीहरूको समूह भन्दा आमावुवाको अनुहार अगाडि आएको थियो र आवश्यकता पनि उतिकै । किनकि उहाँहरूको लगानीमा नै दुई दुई वटा प्रमाण पत्र आएका थिए सँगसँगै मेरो हातमा । र मनमा अढेस लाएर, जो देखाउनु थियो । साथै धनको लालचमा विदेश नपस्ने दृढसंकल्प लिई सकेको छोरो उभ्याउनु थियो उहाँहरूको अगाडि ।

[email protected]

तपाइँको प्रतिक्रिया

फेसबुक