बिहीबार, वैशाख १३, २०८१

खरिदको टुंगो नलागेको, उत्पादननै नभएको १७० थान कन्सन्ट्रेटर ‘एनआरएनले नेपाल पठाउँने’ भन्दै समाचारको बाढी

नेपालप्लस संवाददाता२०७८ जेठ ६ गते २१:१५

चार दिन अघि मध्यपूर्वबाट पठाइएका ५ सय ६० थान अक्सिजन सिलिन्डर संघिय सरकारका स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेलगत्तै एनआरएन केन्द्रिय अध्यक्ष कुमार पन्तले सामाजिक संजालमा सुचना लेखे- “नेपालको अक्सिजन संकट सामना गर्न मध्यपूर्वका गैरआवासीय नेपालीले पठाएका ५६० वटा सिलिण्डर मा। स्वास्थ्य मन्त्रीज्यूलाई हस्तान्तरण गरेका छौँ । सिलिण्डरहरू निम्नानुसारको प्राथमिकताक्रममा वितरण गरिनेछ ।

सुदूरपश्चिम- १००, कर्णाली- १००, लुम्बिनी- २००, प्रदेश-२- ८५ र गण्डकी- ७५ । ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानअन्तर्गत थप सहायता पनि आउने क्रममा छ । ६७० वटा अक्सिजन कन्सन्ट्रेटर तत्कालै उपलब्ध गराउँदै छौँ । सहयोग र सजीकरणमा जुट्ने सबैमा हार्दिक धन्यवाद” ।

अध्यक्ष पन्तले सुचना लेखेको भोलिपल्ट कोषाध्यक्ष महेश श्रेष्ठले पनि फेसबुक मार्फत् लामो सुचना लेख्दै जानकारी दिएका छन  “पुनश्च: मध्यपूर्वका नेपालीहरुको सहयोगले ५६० वटा अक्सिजन सिलिन्डर नेपालमा पठाइसकिएको र चीनबाट १७० वटा अक्सिजन कसन्ट्रेटर पठाउँदै गरेको जानकारी पनि गराउन चाहन्छौं” ।

एनआरएनए अध्यक्ष कुमार पन्त र कोषाध्यक्ष महेश श्रेष्ठका यि सूचनालाई केही समाचार माध्यमहरुले प्राथमिकताका साथ प्रकाशन पनि गरे । तर एनआरएन अध्यक्ष र कोषाध्यक्षले भनेका मध्ये एउटा पनि कसन्ट्रेटर नेपाल पुगेको छैन । कहिले पुग्ने भन्नेपनि कुनै टुङ्गो छैन । चाइनाको कुनै कम्पनीबाट खरिद गर्ने भनिएका ति कन्सन्ट्रेटरहरु उत्पादन समेत भएका थिएनन् । एनआरएनले यसलाई यसरी प्रचार गर्‍यो मानौं ति भनिएका सबै सामाग्री काठमाडौं पुगिसकेकेका छन । तर तत्काललाई उपलब्ध गराउदैछौं भनिएका ति उपकरणहरु अझैसम्म खरिदको टुङ्गोसमेत लागिसकेको छैन ।

एउटै समयको हाराहारिमा दुइ जना एन आर ने पदाधिकारीले लेखेका सूचनामा अध्यक्ष पन्तले ६७० वटा कन्सन्ट्रेटर उपलब्ध गराउने उल्लेख गरेका छन् भने कोषाध्यक्ष महेश श्रेष्ठको सुचनामा १७० वटा कन्सन्ट्रेटर पठाउन लागेको उल्लेख छ । चीनमा रेहेको एनआरएन एनसीसीको समानवयमा खरीद गर्न लागिएका यि सामाग्रीहरुका लागि त्यहिंको एन आर एन ए एनसीसीले नै रकम जम्मा गरेको हो । खासमा चाइनाबाट खरिद गर्न लागिएका यि उपकरणहरु जम्मा ३ सय थान मात्रा हुन ।

कोषाध्यक्ष महेश श्रेष्ठले भारतीयहरुको बढी मागका कारण आफुहरुले ति मेशिनहरु समयमा प्राप्त गर्न नसकिएको बताए । उनले भने “हामीहरुले अर्डर गरेका सामाग्रीहरु अरुलेनै लगिसकेछ ।”

“अब कहिले आउँछन त ति सामाग्रीहरु ?” नेपालप्लसको प्रश्नमा उनले भने “हामीले ढिलोमा २८ मे सम्ममा काठमाडौंमा सामान पुर्याउने लक्ष्य लिएका छौं ।”

तर अध्यक्ष पन्तले भनेअनुसारका ६७० थान कन्सन्ट्रेटर भने नेपाल जाँदै छैनन । किन ? श्रेष्ठको भनाइमा अहिले कन्सन्ट्रेटर भन्दा पनि अक्सिजन प्लान्टनै स्थापना गर्ने बारेमा एनआरएनले सोचिरहेको छ । “त्यस तर्फ हामीले छलफल गरिरहेका छौं” श्रेष्ठले प्रस्ट्याउन खोजे ।

तपाइँको प्रतिक्रिया