शनिबार, असोज ९, २०७८

शनिवार- साहित्य / सृजना / नियात्रा

डा. गोबिन्द राज भट्टराई२०७८ जेठ ८ गते १६:०४

(शिलाङ, तेजपुर, गुवाहाटी यात्रा : काठमाडौंदेखि एनजेपीको पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, दोस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  तेस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  चौथो भाग हेर्न यहाँ क्लिक गर्नुहोला, पाँचौं भागकालागि यहाँ क्लिक गर्नुहोला र छैठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, सातौं भागकालागि यहाँ क्लिक गर्नुहोला )

२१ कार्तिक बिहिबार (६ नोभेम्बर २०१३)
सिरोइ लिलीमा ब्यूँझँदा अरुणिमाले शहर झलमल्ल थियो । ओशोकृत फ्रिडम फ्रम द पास्टको पठन सकिएको छ । अञ्जनाको पढ्ने किताब रवीन्द्रसिंहको आइ टु ह्याड अ लभ स्टोरी छ; सेवाको शिरीषको फूल । अर्चना उप्रेतीद्वारा सम्पादित टेलिङ अ टेल उनीहरू पढ्छन् । म फुर्सदमा लेख्छु । फोनहरू नभएको ठाउँमा एकान्त हुन्छ । कारण भारतको सिम र फोनको तालमेलमा बानी पर्न हामीलाई समय लाग्छ । त्यहाँ कतैको कल आइजाइ पनि गर्दैन । फेरि हाम्रा सम्पर्क नम्बर नै कति पो छन् र ! केही दिनको यात्रामा त्यसै काम चलाऊँझैँ हुन्छ । यद्यपि बानी परिसकेका हामी यन्त्र नहुँदा बेलाबेला सबै कुरा चुँडिएकाझैँ हुन्छौँ ।

म आइ टु ह्याड अ लभ स्टोरीतिर तानिएको छु । पढ्नलाई होइन, तर हाम्रो पठनप्रकृया कता जाँदैछ भन्ने कुराको सङ्केत गर्न । अबको नयाँ पुस्ता अरविन्द अडिगा, विक्रम सेठ, झुम्पा लाहिरीजस्ता अंग्रेजी माध्यमका लेखकतिर छन् । अंग्रेजी लेखकमा पनि पुराना पुस्ता छाडिदिए, एकदम नयाँ छन् । हिन्दी साहित्यका महान् स्रष्टाको नाम वर्तमान पुस्ताका नेपाली पाठक–लेखकलाई झन् थाहा छैन । अघिको हाम्रो पुस्ता, हाम्रो अग्रज पुस्ता हिन्दी बंगालीबाट अधिक प्रेरित थियो । अबको प्रेरणास्रोत अंग्रेजीमा सरेको छ । घरमा सेवा, ऋचा नै यस्तो साहित्यका अथक पाठक एवं स्रष्टा भएकाले गर्दा अञ्जना पनि छोरीबाट प्रेरित भई ती पढ्छिन् । दुईतीन वर्षदेखि नेपालमा भएका सम्मेलनमा आउने भारतीय, बंगलादेशी स्रष्टाहरूमा केकी दारुवाला, अनिता देसाई, अमिताभ घोष, झुप्पा लाहिरी, विक्रम सेठ, शशी थरुरजस्ता नाम आउँछन्, जसलाई अघिल्लो नेपाली पुस्ताले चिन्दैन । एउटा ठूलो अन्तराल बढिरहेको छ ।

त्यसो त यो ठीकै छ । यता आसामतिर पनि अंग्रेजी पुस्ताको उदय हुन थालको हो कि ? अघिको शिलाङ सम्मेलनमा गुवाहाटी आसामकी अंग्रेजी साहित्य स्रष्टा मित्र फुकोनसित भेट भएको थियो । दुई देश र साहित्यको कुरा गर्‍यौँ । तपाईं त गुवाहाटी नै बस्नुहुन्छ, त्यहाँ एक स्थापित नेपाली स्रष्टा हुनुहुन्छ– लीलबहादुर क्षत्री, चिन्नुहुन्छ ? मैले प्रश्न सोधेँ । उनले प्रत्युत्तरमा बोलिन्— नाम सुनेकी छु । तर भेट छैन । पचास वर्षदेखि साहित्य साधनामा तल्लीन एक स्रष्टालाई अर्काे नवपुस्ताले नचिन्नु वा नभेट्नु एउटा दुःखलाग्दो कुरा पनि थियो । त्यताकाहरू सहकार्य पनि गर्दछन् । तर यताका अंग्रेजी पुस्ताले अरूलाई चिन्दैन क्यार ? नेपालमा पनि यस्तै छ । आफ्नै धर्म र गुणको अर्थात् अंग्रेजी माध्यम सञ्चालक–प्रयोक्तासित मात्र उनीहरू भिजेका हुन्छन् ।

फुकोनले मलाई भनिन्— यस आइ नो सम नेपाली लिट्रेचर ।

ह्याभ यु स्टडिड एनी ? मैले सोधेँ,
उनले भनिन्— आइ ह्याभ गन् थ्रु मञ्जुश्री थापाज् ट्युटर अव् हिस्ट्री ।
ग्रेट, मैले भनेँ ।

उनलाई नेपाली साहित्यमा सम, देवकोटा, लेखनाथ, भिक्षु वा रिमाल, पारिजात को थिए ? नेपाली र असमेली साहित्यको उत्पत्ति कहाँ जोडिन्थ्यो ? तिनको विकास र वर्तमान कहाँ छ ? अवश्य थाहा छैन होला । उनले अरू पनि नेपाली–अंग्रेजी साहित्य पढ्लिन् । परन्तु नेपाली साहित्यको मर्म त उनका दृष्टिमा कहीं देखिने छैन । यतिखेर असमेली, बंगाली, नेपाली आदि भाषाहरू एउटै आँगनका भिन्नभिन्न बगैँचामा फुलिरहेका पुष्प हुन् । तर त्यसप्रति यो पुस्ता अनभिज्ञ छ । अब हामीलाई केले जोड्ला ? यसमा हाम्रो पनि त्रुटि छ । कारण हामी आफ्नो भाषामा बोल्यौँ । तर आफ्नो कुरालाई अरूको भाषामा अझ अंग्रेजीमा बुझाएका छैनौँ । कत्रो अभाव छ, कत्रो रिक्तता छ— हिस्ट्री अफ नेपाली लिट्रेचर जस्तो कुनै एउटा कृति यो देशले जन्माउन सक्ने हो भने हामी सबैतिरका नेपाली अलिक प्रकाशमा आउन सक्थ्यौँ कि ? आफ्नो भाषाले उत्पन्न गरेको प्रकाश औँसीको रातमा अत्यन्तै मलिन दीपझैँ छ । अरूहरू हजार वाटको फ्लडलाइट बालेर हिँडेका बेला हामी लालटिनसँग छौँ । यसरी अंग्रेजीले हामीलाई लोभ्याइरहेको छ । यसैले नै हामीलाई ढुकढुक्याइरहेछ । हामीलाई किच्तै, मेट्तै, थला पार्दै घिसार्दैछ । हाम्रा निम्ति तेस्रो मार्ग छैन ।

आज बिहान शिलाङ हिँड्नु छ । त्यसको प्रबन्ध गर्न बिहानै डा। खगेन भाइ आइपुगे । नजिकको पल्टनबजारमा निस्कियौँ । असङ्ख्य गाडी तत्पर थिए । एउटा सानो सुमोमा बीचका चार सिट रिजर्भ गर्‍यौँ— प्रतिव्यक्ति डेढ सय पर्नेगरी । यहाँबाट शिलाङ १०३ किमि छ । झन्डै झापा–फिदिमजत्तिकै । तर यो भाडा हामीलाई सत्ययुगझैँ सस्तो लाग्यो । आफ्नो होटलमै वाहन मगाएर सामान राखी हामीले प्रस्थान गर्‍यौँ ।

अघिल्लो शिलाङ यात्राको धूमिल स्मृति अवशेष छ । उस बेला फागुन अन्तिम थियो क्यार— प्रकृति अलिकति उजाड हुन लागेको बेला भए पनि हरियालीले टम्मै ढाकिएका डाँडा र ढिस्का देख्ता मलाई असाध्य ठूलो आनन्द लागेको थियो । आजको यात्रामा त्यसको विपरीत कार्तिक महीनामा छौँ । प्रकृतिको आवरण अत्यन्तै सुन्दर एवं मनोरम छ । यी लर्केका बाँसझ्याङ, भित्रभित्रै आकाश छुने सुपारीका लङ्गुरा, हरिया न हरिया वनकेरा, वृक्ष र लहराले ढाकिएको पट्टेर जङ्गल, भित्रभित्रै कताकति लुकेका ससाना काठ, बाँसका र चित्राका घर, बिस्तारै घुम्दैघुम्दै थाहा नपाइने गरी चढेको मार्ग ! कम्ती आकर्षक छैन ।

तर यसपालि मार्गविस्तार योजनाले गर्दा सम्पूर्ण भित्ताहरू फोरेर–भत्काएर धुलाम्मे, रातो माटो उड्दै, कतै अलिकति पिच, कहीं गिट्टी ! बाटामा दश हजार कर्मी थिए– औजारसँग लड्दै, एक्लै पनि कस्सिएका, नाप्तै, खसाउँदै, सोहोर्दै । त्यसैले यसपालिको सुन्दरतामा कमी थियो । त्यसमाथि हाम्रो ससानो कारको ड्राइभर यति उत्तेजक पाराको प्रचण्ड गतिमा हाँक्ने, यस्तोमा कहिल्यै नचढिएको परेको थियो । जुँगा नपलाएको सानो, कालो १३–१४ को होला, सहायक पो हो कि भन्यौँ शुरूमा त । गुवाहाटीमा स्टियरिङ समातेर शहरबाहिरको जङ्गल पसेपछि मात्र पक्का भयो— आजको चालक यही रहेछ । एक छिन पछिदेखि लाग्न थाल्यो यसले कतै खसाल्छ कि, भित्तामा जोत्छ कि, त्यति असावधानीपूर्ण थियो त्यो हँकाइ ।

धेरै अघि बढेपछि एउटा चेक–प्वाइन्ट आयो । गाडी रोकेर त्यसमा खाँदिएर बसेका दुई जना युवालाई पुलिसले पुछताछ गर्न थाल्यो । त्यसले हामी डराएका थियौँ— आज उस बेलाझैँ लेखनाथ पाठकजी हुनुहुन्न, यहींबाट फर्किनुपर्छ कि के हुने हो ! एक छिन पुछताछ गरेपछि हामीसँग चढेर पछिल्लो सिटमा खाँदिएर बसेका अरू सातै जना युवालाई पुलिसले नजिकको ठानामा हुल्यो र एकै छिनपछि आएर एक जना पुलिसले भन्यो— आआफ्ना झोला लिएर तिमीहरू सबै यहाँ आओ ।

विवश तिनीहरू थानातिर पसे । बाटाको छेउमै सुमो अडिएको थियो । ड्राइभरतिर हेर्दै अर्काे पुलिसले आदेश दियो— ‘तिमी गाडी लिएर आफ्नो बाटो चल ।’ ती युवकले निरीह मुख लगाउँदै भने— ‘हाम्रो भाडा फिर्ता ?’ तर उसले ड्राइभरलाई हकार्दै भन्यो— ‘तँ चल् ।’
नभन्दै आधी खाली गाडी लिएर ऊ चल्यो । युवकहरूले शिलाङ जाने भाडा फिर्ता पाएनन् । सबै ठानामै अड्किए ।
अलि पर पुगेपछि खलासीलाई सोध्यौँ— ‘किन यस्तो भयो ?’
‘तिनीहरू बंगलादेशी थिए, कुनै कागजपत्र, परमिट बेगरका थिए त्यसैले ।’
‘त्यसो भए हाम्रो बारेमा नि त, केही खोजेनन् ?’
‘तपाईंहरू इन्डियन, तपाईंहरूलाई केही पर्दैन ।’ (आप लोग तो इन्डियन है न ?) ।
म भित्रभित्रै हाँसेँ । किनकि यो एक स्मरणीय घटना थियो । त्यसो त हामीसँग शिलाङको विश्वविद्यालयले पठाएको निमन्त्रणापत्र थियो । आफ्ना परिचयपत्र र आवश्यक परेमा पासपोर्ट थिए— तर केही परेन, कसैले सोधेन ।

अनेक घुम्तीमा असाधारण गतिले हुर्‍याउँदै र फ्याँक्तै साना केटाले हाँकिरह्यो । हेर्दाहेर्दै अब धेरै उचाइमा पुगियो । वृक्ष र वनस्पति बदलिए । बतास र प्रकाश बदलिए । एउटा अत्यन्तै ठूलो बडापानी नामक जलाशयको नजिक पुगेपछि सेतीको खोँच जस्तो गहिरो गल्छीमाथिबाट पुल तर्‍यौँ । तल हेर्दा कहालीलाग्दो थियो । परन्तु पुल तरेर पारिको जिपमा पुग्नासाथ हाम्रो गाडी रोकियो । कारण अघि जाने बाटो अवरुद्ध थियो । सयौँ गाडी लामबद्ध थिए । ती प्रतीक्षामा थिए । सयौँ मानिसले बाटो ढाकिएको थियो । बाटाको डिलबाट आरम्भ भएको खचाखचदेखि तलको भीरमा पनि कोही झुन्डिएका थिए । निहुरेर तल हेरौँ जस्तो गर्दै थिए । उनीहरूले भने— ‘एउटा सुमो तल खस्यो, त्यो कालीदहमा । नदेखिने गरी कति जखम भयो थाहा छैन ।’ सुन्दा जीउ थरङ्ग भयो । यो नसे केटाको भागमा परेको भए हामीलाई यहाँ खसाउँथ्यो होला; धन्य प्रभु !

एक घण्टा त्यहाँ रोकिएपछि बल्ल बाटो खुल्यो, हाम्रो मसिने ड्राइभरले अलिकति स्पिड घटायो । तर हामी शहर पुग्नै लागेका थियौँ । आजको सम्भावित दुर्घटना टरिसकेको थियो ।

शिलाङ शहर पुग्यौँ । मध्याह्न दुई बजे— आकाश झलमल्ल छ । घरैघरका सुन्दर लहर, माथिमाथि चढेका, तलतल बगेका, वन्य प्रदेशभित्र जस्तै हरिया च्यादर–छाने, ठूलाठूला धूपी वृक्षले ढाकेको सेतो शहर । माथिदेखि परसम्मै कति सुरिला सल्लाहरू, माथि आकाश छोएर सुसाएका सल्लाहरू । त्यो दृश्यले अचानक ममता दिपविमको स्वर गुन्जिएको सुनेँ—
सुरिलो रूख सल्लै हो, खोजेको तिमीले कल्लाई हो ?
सुसेली हाल्दै डाकेर बोलाको तिमीले कल्लाई हो ?
आऊ है माया बस …

मेरो हृदयमा प्रतिध्वनि मात्र लहराए । त्यहाँ गाउने आँट थिएन, ढङ्ग झन् थिएन ।
बडाबजार मुन्तिर सुमो स्ट्यान्डमा पुगेर हामी रोकियौँ । त्यहाँबाट इ.एफ.एल. विश्वविद्यालय कलेजमा फोन गर्‍यौँ । उताबाट दासजी अंग्रेजीमा बोले— ‘यहाँबाट गाडी पठाउन टाढा छ, गाडी पठाउँदा धेरै समय लाग्ला । त्यहींबाट ट्याक्सी लिएर धानखेतस्थित “फ्रुट गार्डेन” भन्ने ठाउँमा पुग्नोस्, त्यहीं एउटा अप्सरा नामको गेस्ट हाउस छ, त्यहाँ विश्राम गर्नुहोला । तपाईंहरूलाई शिलाङमा स्वागत छ ।’

नभन्दै नजिकै उभिएका ट्याक्सीका अनन्त लहरमध्ये एउटाले तत्काल सम्पर्क गर्‍यो । बाडेङ्ग नामको खासी युवा चालक रोजेर हामी अघि बढ्यौँ । शहरैशहर एक छिन गुडेपछि विशाल चर्च, ढिस्काको छेउबाट चल्ने मार्ग र पर्वत, अनि त्यसको गहिरामा फ्रुट गार्डेन पुगियो । माथितिर हेर्दा आकाश छुने सल्ला सुसाउन लागे जस्ता देखिए ।

आजै अलिकति समय बचाएर शिलाङको दृश्यावलोकन गर्ने पनि इच्छा थियो । लगेज राखेपछि बाडेङ्गले अचम्मको अंग्रेजीमा भन्यो— ‘देअर आर सेभेन इम्पोर्टेन्ट प्लेसेज फर साइट सिइङ सर !’ उसले तिनको नाम लियो । हामीलाई मन थियो ती सबै एकपल्ट हेरौँ । तर बाडेङ्गले भन्यो— ‘चार बजे बन्द हुन्छ सबै, त्यस कारण आज दुईतीनवटा मात्र सकिएला ।’

त्यति मात्र भए पनि हेरौँ भन्ने भयो । अनि सफा र स्वच्छ बाटो पछ्याउँदै, चेरापुञ्जी रोडैरोड १२ कि.मि. पर पुगेर एउटा छोटीबजारमा बिसायौँ । त्यहीं खाना–नास्ता लियौँ र त्यही बजारको तल कालो जङ्गलभित्र झरेर संरक्षण गरी राखिएको इलिफेन्ट फल्स हेर्न भ्यायौँ । दिउँसै रात पर्ने जङ्गलभित्र तलातला परेर हात्ती उभिएको आकारका पत्थरबाट छाँगोे उफ्रेको ख्याल रमाइलो होइन ! (यस्ता रमाइला दृश्यहरू हाम्रो देशमा लाखौँ होलान् तर त्यता हाम्रो दृष्टि पुगेको छैन) । फर्केर बजारमा आएपछि सेवाले खासी युवतीको वस्त्राभूषणमा एउटा तस्बीर लिइन् ।

त्यहाँबाट बाडेङ्गले हुर्‍याउँदै बडाबजार कटाउँदै, पुलिसबजार पर्तिरभित्रको ‘वार्डस् लेक’मा पुर्‍यायो । त्यहाँ घुम्नेहरू डिलडिलमा थिए । सेता हाँसका लहर जलाशयमा तैरँदै थिए । वृक्षको छायाँ टल्किन छोडेको थियो । तर लेक हेर्दाहेर्दै एकदम चिसो बतासले हामीलाई अधीर गरायो । अनि फ्रुस्ट गार्डेन फर्कियौँ र अप्सरा गेस्ट हाउसभित्र पस्यौँ ।

हामीलाई तेस्रो तलामा रुम नं. ३०२ ले प्रतीक्षा गरिरहेको थियो । विशाल एउटा सिङ्गै घरजत्रो कोठामा तीन वटा बेड, एथ्निक बुट्टा भएका तन्नाले ढाकेका, सफा पार्केटिड फ्लोर, टिभी, टेलिफोन, सोफा, टेबल, दराज सबैसबै चित्ताकर्षक । त्यस्तै सुन्दर छ बाथरुम र प्रशाधन केन्द्र । मैला लाग्छ कि भनी बिस्तारै गोडा पुछेर भित्र पस्यौँ । यो सुत्ने बस्ने होइन, हेर्ने मात्र हो कि जस्तो सुन्दर थियो । धेरै अग्लो बीस फिटमाथि उभिएको सिलिङ कलात्मक बनावट आकाशतिर खुलेको थियो । विचित्र राम्रा वार्निस गरेका तखती ठोकिएको ठाउँमा एकातिर प्याक्सिग्लासको छानाले गर्दा सबै आकाश आफ्ना कोठाभित्रै छिरेको देखिन्थ्यो ।

हामी गलेका थियौँ । तर पनि कुनै सौभाग्यले आज यसरी हामीलाई यहाँ ल्यायो होला भनी सोचेर म आनन्दित भएँ । अघि ई. २००९ को शरद्मा अञ्जना, म र सानी छोरी (ऋचा) यसै गरी देहरादून र मुसुरी पुगेका थियौँ । त्यो तीनदिने साहित्यिक कार्यक्रममा भाग लिएर हरिद्वार, हृषीकेश, दिल्ली, आगरा घुम्दै फर्केका थियौँ । त्यसको चर्चा मैले सपनाजस्तै मुसुरी बिम्बमा शीर्षक निबन्धमा गरेको छु ।

ती दिनमा सेवा छोरी अमेरिकामा पढ्दै थिइन् । झन्डै चार वर्ष छुट्टिएर बस्यौँ । तर भाइ देवेन्द्र साथमा हुनाले हामीलाई आनन्द थियो । त्यसको चार वर्षपश्चात् यसपालि ठूली छोरी सेवा लिएर हामीलाई पूर्वको शिलाङमा आउने संजोग पर्‍यो । यो पनि एक अन्तर्राष्ट्रिय कार्यक्रममा । यसपालि सेवालाई यता आउने जोग पर्‍यो । दुई छोरीलाई भारतका दुई महत्वपूर्ण स्थानमा पुर्‍याउने संजोग मिलेको सम्झिँदा हामीलाई आनन्द लाग्छ ।

ऋचा छोरीले मुसुरीमा गढवाली ड्रेसमा तस्बीर खिचाएकी थिइन् । यसबाट मलाई अव्यक्त आनन्द प्राप्त भएको छ । आज यहाँ दुवै छोरीलाई सँगै राख्न चाहन्छु । नयाँ समयको भुमरीमा उडिरहेका दुवै छोरीका ती तस्बीर यहाँ सम्झिन चाहन्छु । छोरीहरू आफैं सक्षम छन् । तर मैले उनीहरूलाई आफू हिँडेको मार्गको अलिकति भए पनि अवलोकन गराउन सकेँ । उनीहरूको मार्ग अलग्ग भइसकेको छ । समयले भिन्न पाठ पढाएको छ । स्वभावैले दृष्टिकोण अलग छ । जीवनपद्धति पनि ।

अघिल्लो पुस्ता र हाम्रो बीचको रिक्तता ठूलो थिएन । तर अब मेरो र छोरा–छोरीहरूबीचको अन्तर व्यापक हुने हो कि ! ज्ञानका स्रोत, क्षेत्र र प्रयोजन अलग छन् । खानाहरू अलग भए । दृश्यहरू अलग भए । घरमा प्रयुक्त वस्तु र विचार अलग भए । मैले काँजाले मोरेका ढुङ्ग्रा उचालेँ । ठूला ठेकीबाट मोही खन्याएँ । भड्डुमा मकैको भात पकाएँ । ओदानमुनिको भुङ्ग्रामा आलु पिँडालु पोलेँ … हामीले त्यसै गरी बाल्यकाल बितायौँ । हामीलाई सत्य लाग्ने वस्तु र कार्य अर्कै थिए । ती आज छैनन् । उनीहरूलाई सत्य लाग्ने वस्तु र विचारहरू देख्ता मलाई यता हाँसो उठ्छ । हाम्रा पालाका सत्यहरू उनीहरूका लागि दन्त्यकथा भएका छन् । कसरी बिहानै हामी एक बिटो दाउरा खोज्न वा घाँस काट्न वनजङ्गल पुग्थ्यौँ । कसरी खोला तर्थ्यौं । कसरी भकारो सोहोथ्र्यौं । कसरी खाना खाएर जङ्गलैजङ्गल स्कूल पुग्थ्यौँ ! फर्केर बेलुकी गाईबाक्रा हुल्ने, ढोड बाल्ने, भाइबैनी हेर्ने, हारका दाउरा ल्याउने ! यस्ता काम कति हुन्थे कति । एक छिन पनि फुर्सद थिएन । ठूलाहरू तल्लीन भएर रातिसम्म मधुरो उज्यालोमा डोरी–दाम्ला बाट्थे । जाँतो पिँध्थे, मकै छोडाउँथे । छोरीहरूका लागि यस्ता कुरा कल्पनाझैँ अदृश्य छन् ।

म भने एउटा मनले ती दृश्य खोजिरहेको छु । अर्काे मनले तिनलाई माया मार्न सिक्तै छु । सभ्यताको इतिहास यस्तै छ । तर वर्तमानको तीव्रता खपिनसक्नु भएर मलाई रिँगटा चलेको मात्र हो ।

विशाल अप्सरामा बत्ती, पानी, हिटर, ब्ल्याङ्केट सबै कुरा जोडेर सहजताको अनुभूति गर्दागर्दै तल डिनरको खबर आयो— एक जना पोखराका युवा, अर्काे खासी हिल्सका, हिन्दी र नेपाली भाषामा सञ्चार गर्दै आवागमन गर्दछन् ।

हामी डाइनिङ हलमा पस्यौँ । त्यो सानै थियो । तर अति सुन्दर सजावटको । सलादहरू काटेर फूलबुट्टा बनाएर फूलबुट्टे टेबलमै सजिएका थिए । तर खाना अत्यन्तै सादा— चपाती, राइस, दाल तथा सब्जी र अचार थियो । खाने बेलामै परिचय आदान–प्रदान गर्‍यौँ— प्रा. डिबी पटनायक, प्रा. जसवीर जैन मैले सुनेका ठूलाठूला नामहरू हुन् । सत्तरी टेकेका यी विद्वान्–विदुषीसँग अरू पनि ठूला स्रष्टा वा सङ्गीतज्ञ, समालोचक र खास गरी विश्वविद्यालयका प्राध्यापक–आलोचक थिए । त्यो समूहको उपस्थिति देखेर मलाई अपार हर्ष भयो । उनीहरू आफ्ना र अरूका कृतिका, वर्तमान चिन्तनप्रणालीका, हाम्रो सभ्यताको दिशाका बारेमा उच्च वार्ता गर्दथे । नेपालबाट पुगेका हामीलाई पनि उनीहरूले ठूलो श्रद्धा र प्रेमले व्यवहार गरे । मैले भनेँ— ‘प्रोफेसर पटनायक, तपाईंले भारतीय चिन्तनपद्धतिमा रही पचास वर्षको अथक परिश्रमद्वारा भाषाविज्ञान र व्याकरणलाई अघि बढाउँदै कम्प्युटेशनल लिङ्ग्विस्टिक्स्लाई अघि बढाएर मशिन ट्रान्सलेसनसम्म पुर्‍याउनुभयो । तपाईंको नाम पनि यस सम्मेलनका प्रस्तोता (प्लेनरी स्पिकर) मा देखेर मैले पनि आउने आँट गरेको हुँ । नत्र यो भिन्न विषय हो । भिन्न क्षेत्र, नयाँ डिस्प्लिनको ‘निमोनिक्स’ । के तपाईंले धर्म परिवर्तन गर्नुभएको हो ?’ म हाँसेँ ।

उनी पनि हाँसे र आफूले चिनेका नेपाली विद्वान्को नाम सम्झे— प्रा. चूडामणि बन्धु, प्रा. योगेन्द्र यादव । छेउमा बसेकी प्रा. जसवीर जैन थिइन्— बडो डोमिनेटिङ पर्सनालिटी भएकी ड्यासिङ लेडी । अघि नेपालमा पनि गएकी रहिछन् । मलाई थाहा भएन । सुनेको थिइनँ । तर यसपालिको कार्यपत्र तयार हुने समयमा मात्रै उनको कल्चरल न्यारेटिभ्स् शीर्षक पुस्तक भृकुटीबाट किनी लगेको थिएँ । आज जुन विषयमा म नेपालमा साउँ अक्षर स्थापित गर्न खोज्दै छु त्यस विषयमा भारतवर्षको विद्वद्वर्ग दशकौँ अघि उठेर अन्तर्राष्ट्रिय हाइटमा उभिएको देख्न सकिने भएको रहेछ । सो कृति पढ्दा मलाई त्यस्तो लाग्यो । प्रथम परिचय र खानपिनले तृप्त भई हामी जाडाले काम्दै कोठामा फर्कियौँ । हाम्रा निमित्त एउटा सिङ्गो घर थियो । इथ्निक तन्नामाथि कम्बल बोकेर तीन बेड प्रतीक्षामा थिए । तर जाडो अति थियो भुइँ, भित्तो, प्रकाश, बतास सबैसबै नतात्ने गरी चिसिएजस्तो ।

सबै कुराको प्रबन्ध गर्न, निरीक्षण गर्न, प्रत्येक कोठामा गई तातोचिसोको ख्याल गर्ने आतिथेय अलङ्कार थिए— भर्खरका युवा, इ.एफ.एल. का अध्यापक औ यस सम्मेलनका सहसंयोजक । सहायकले तातोपानीका थर्मस राखिदिए । हिटर बाले । ब्ल्याङ्केट बुझाए र गुडनाइट भए ।

क्रमश:

तपाइँको प्रतिक्रिया

फेसबुक