बिहीबार, वैशाख १३, २०८१

घाईते चरामा गलफत्ती परेपछि दरवारमा छिनोफानो

ददि सापकोटा२०७८ जेठ १२ गते १४:५४

सारस (बैज्ञानिक नाम- एन्टिगोन एन्टिगोन) फूल जातिको गुलाफ जस्तै चरा जातिको सुन्दर पन्छी । त्यसैले सारसको सुन्दरताको चौतर्फी चर्चा हुन्छ । यसको आनीबानी र सारस जोडीको दाम्पत्य जिवनको अझ बढि बखान गरिन्छ । सारस दम्पतीको प्रेममा एक अर्काप्रतिको समर्पणको त अझ धेरै चर्चा सुनिन्छ । सारसको कृपा र सुरुचिपूर्ण उपस्थितिलाई गौतम बुद्धको जन्मथलो लुम्बिनी मात्रै होइन विश्वकै धेरै भागमा सम्मान गरिन्छ । त्यसो हुनुमा गौतम बुद्ध र सारस चराबिच जोडिएको एक पौराणिक कथाले महत्वपूर्ण भूमिका खेलेको छ ।

गौतम बुद्ध हुनु अघि राजकुमार सिद्धार्थ आफ्नै बा आमाको विशाल दरबारमै बस्थे । दरबारको बगैंचामा टहलिन्थे । त्यहाँका रुख विरुवा, चरा, जिवजगत नियाल्थे । एउटा यस्तो विहान, एक फरक खाले विहान आइदियो राजकुमार सिद्धार्थकालागि कि त्यो घटना देखेर उनी स्वयं चकित परे । त्यस विहान उड्दै गरेको एउटा चरो फत्रक फत्रक गर्दै वगैंचामा खस्यो । ऊ घाइते थियो । सारस उड्दै आएर उनको गोडाकै छेउमा फुत्रुक्क खस्यो ।

मान्छेदेखि तर्सिएर भाग्ने जिव । तर्सिएर अन्यत्रै लाग्ने सुन्दर चरो । त्यो विहान कसरि गोडाकै छेउमा ओर्लियो ? सिद्धार्थले थाह पाए, ऊ घाईते थियो । कुनै निष्ठुरी शिकारीले वाणको प्रहारले । सारस मरेन । घाईते मात्रै भयो । असह्य पीडा र दुखाइले रन्थनिएको सारस उड्न नसकेर वगैंचामा खसेको थियो ।

दुखले छटपटाएको सारस देख्दा सिद्धार्थको मन खायो । दुखित भए । सारसलाई जतनले दरबार लगे । सारसको खुट्टामा अड्किएको वाणको टुप्पो झिके । घाउमा मलमपट्टी लगाइदिए । उनले चराको रेखदेख गरे । स्वस्थ बनाए । साँचो प्रेम चराको हेरचाहमा खन्याए । घाउ सन्चो हुँदै गयो । बिस्तारै टाटा बसे । सारस स्वस्थ भयो । यो कुरो चौतर्फी फैलियो ।

त्यसको केहि दिनपछि सिद्धार्थका भतिज देवदूत दरबारमा टुप्लुक्क आइपुगे । उनले घाईते सारसलाई आफूले वाणँ हानेर घाईते पारेको । घाईते सारस छट्पटिएर वगैंचामा खसेकाले त्यो सारस आफ्नो हुनुपर्ने दाबी गरे । सिद्धार्थले घाईते सारसको उपचार, रेखदेख गरेकाले आफ्नो दाबी गरे । देवदूतले वाण हानेर वगैंचामा खसेकाले आफ्नो दाबी गरे । सिद्धार्थले सजिलै सारस दिन मानेनन् । सारस कसको भन्ने विषयमा दुई जनाको बिवाद चल्यो, ‘सारस मेरो हुनुपर्छ’।

Credit- Lumbini Social Service Foundation

देवदुत र सिद्धार्थकाबिचको बिवाद कसरि सुल्झाउने त ? अब यो बिवाद दरवारमा लैजानुपर्छ । घटना बिवरण राजालाई सुनाउनु पर्छ । राजाले जे फैसला गर्छन् सारस उसैको हुने छ ।

विवाद सुल्झाउन युवाहरू राजाको दरबारमा गए । घटनालाई दरवारको अदालत समक्ष प्रस्तुत गरियो । दुबै पक्षको कुरा सुनेपछि राजाको दरबारले निर्णय गर्‍यो ‘यो पक्षीमा देवदूतको अधिकार हुने छैन । सिद्धार्थको हुने छ ।’

दरवारको फैसलामा कारण थियो ‘जसले कुनै जिवको प्राण बचाउँछ, जसले पीडामा मल्हमपट्टी लगाउँछ, असह्य पीडा भएकालाई हेरचाह गरेर मानवता देखाउँछ त्यसैमाथि अधिकार लाग्छ । जसले अरुलाई घाईते पार्‍यो, पीडा दियो, मार्न कोसिस गर्‍यो उसको हुन सक्दैन ।’

यो कथा युवा राजकुमार सिद्धार्थ र सारसको बारेमा ज्यादै प्रसिद्द छ । यहि पौराणिक कथाले गर्दा बौद्धमार्गीमा मात्रै होइन अन्य जनसमूदायमापनि गहिरो अर्थ राख्छ । दया, माया, करुणा र प्रक्रिति संरक्षणको अर्थ बुझाउँछ । यहि पौराणिक कथाले गर्दा बौद्दमार्गी मात्रै नबभएर अन्य धर्मावलम्बीलेपनि सारस चरालाई सम्मान, माया र स्नेह गर्छन् ।

त्यसो त, यो पौराणिक कथा गौतम बुद्दसित नजोडिएपनि सारस एक विशेष स्वभाव, अनेक गुण बोकेको जिव हो । यिनीहरु एक पटक जोडी बनेपछि हत्त पत्ता छुट्टिँदैनन् । अर्थात् सारसको जोडीमा अपरपाचुके हुँदैन । असाध्यै मिलेर बस्छन् ।

भाले र पोथी दुबै सँगै चर्न निस्किन्छन् । सँगै ग्रामिण खेतीयोग्य जमिनमा बिचरण गर्छन् । विहानै सूर्योदयसँगै कुर्र कुर् रर कराएर सूर्यको स्नान गर्छन् । विहानीलाई धरतीमा स्वागत गर्ने साररको बानी हो । स्वभाव हो ।

खेतीयोग्य जमिनको दलदल, सिमसार छेउछाउ गुँड बनाउन थालेपछि भालेपोथीले आलोपालो गरेर गुँड बनाउँछन् । एउटाले छेस्का ओसार्छ । अर्कोले गुँडरुपी घर मिलाउँछ । बटुलबाटुल पारेका छेस्कालाई घरको रुप दिन जोडीनै खटिन्छन् ।

Via International Crane foundation

पोथी ओथारो बस्दा भालेले अनेक ठाउँ चाहारेर आहारा खोजिखोजि ल्याउँछ । ओथारो बसेकि पोथीलाई खुवाउँछ । जब बचेरा फुलबाट फुटेर धरतीमा आँखा खोल्छन् तब शुरु हुन्छ जोडीकै कठिन दिन । यि कठिन दिनमा यि जोडीले मिलेरै बचेराको हेरचाह गर्छन् । बचेरा हुर्काउने काममा बराबरी सहभागि हुन्छन् । परिवारमा समान सहभागिता, समान माया प्रेम र स्नेह दिने यिनको स्वभाव मानिसकालागि उदाहरणिय, प्रेरणाका स्रोतपनि हुन् ।

त्यसो त, सारस धनदौलत र सम्पन्नताकाका स्रोत हुन् । र हुन्, क्रिषकका मित्रपनि । सारस बसेको जमिनमा सह पस्छ भनिन्छ । त्यसकोपनि बैज्ञानिक कारण छ । सारसले खेतवारीका विषालु किराहरु खाइदिन्छन् । तिनले किराहरु खाइदिनाले बालीनाली नष्ट पार्ने किराहरुको दोहोलो काढ्छन् । किरा नियन्त्रण गरिदिएपछि वालीनाली सप्रिनेनै भयो । सारसलाई बौद्द धर्मालम्बी र अन्य धर्ममा आस्था राख्नेले माया गर्नुको कारण यो पनि हो । किनभने सारसले समग्र क्रिषी उब्जनीकै रक्षा गरिदिन्छन् । मानव जातिलाई अनिकाल पर्नबाट आफ्नो तर्फबाट आजिवन भूमिका खेल्छन् ।

तपाइँको प्रतिक्रिया