शनिबार, वैशाख ८, २०८१

नवलपरासीका बिपन्न परिवारलाई सारिका फाउण्डेशनद्वारा घरघरै राहत

नेपालप्लस संवाददाता / नवलपुर२०७८ जेठ १३ गते १७:११

स्थानिय स्तरमा कार्यरत सारीका फाउन्डेशन नेपालले नवलपुर गैंडाकोट क्षेत्रमा विपन्न परिवारका लागि राहत सामाग्री बितरण गरेको छ । कोरोनाका कारण थपिएको लकडाउन अझै कष्टकर बन्दै गएपछी ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने परिवारहरुको स्थिती भयावह बन्दै गइरहेको बेला सारीका फाउण्डेशनले यस्तो अभियान चलाएको हो ।

फाउन्डेशनले जनाएअनुसार देश बिदेशमा रहेका दाताहरुसँग सहयोग लिएर राहत कार्यक्रम चलाइएको छ । फाउन्डेशनका कार्यक्रम संयोजक युगेन्द्र कोइरालाका अनुसार कोरोना पोजेटिभ देखिएर घरमै आइसोलेशनमा रहेकाहरुलाई साबुन, सेनिटाइजर, सिटामोल, भिटामिन र वाफ लिने मेशिनहरु बितरण गरिएको छ ।

उनी भन्छन ‘लकडाउनका कारण काममा जान नपाएका र खानाको जोहो गर्न नसक्ने परिवारहरुका लागि प्रती परिवारका लागि ३० किलो चामल, २ किलो दाल, २ पोका तेल र २ पोका नुन वितरण गरिएको छ ।’

बिक्रम सिंह ठकुरी अध्यक्ष रहेको यो संस्थाले अघिल्लो कोरोना कालमा पनि विभिन्न गरिब सुकुम्बासी बस्तीहरूमा माक्स र साबुन बितरण गर्दै कोरोना संबन्धी सचेतनामुलक कार्यक्रम गरेको थियो । यसपटक स्थिती नियन्त्रण बाहिर जान लागेकोले सुकुम्बासी बस्ती र दैनैक ज्याला मजदुरी गर्न बन्चित भएका परिवारका लागि खानपिनको ब्यवस्थामा बढी जोड दिइेको उनले बताए ।

उनीहरुले ‘कोरोनालाई जित्नुपर्छ । सहयोगि बनौं, बिपतमा हामी छौं’ नाराका साथ अभियान चलाएका छन् ।

नवलपुर पूर्वमा रहेको अर्को एउटा संस्था बिजय बिकास श्रोतले केन्द्रले पनि कोरोना प्रभावित स्थानियहरुका लागि राहत कार्यक्रम उपलब्ध गराउँदै आइरहेको छ । तर दुबै संस्थाहरुको कार्य क्षेत्र भने फरक छ ।

सारीका फाउन्डेशन खास गरेर सुकुम्बासी बस्तिहरुमा केन्द्रित छ भने बिजय बिकास श्रोत केन्द्र स्थानिय अस्पतालहरुका लागि अक्सिजनको जोहो गर्ने, २४ सै घण्टा एम्बुलेन्स सेवा दिने र खाना अभाव भएको परिवारका लागि तयारी खाना उपलब्ध गराउँदै आएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक