बुधबार, असार २, २०७८

शनिवार- साहित्य / सृजना / नियात्रा

डा. गोबिन्द राज भट्टराई२०७८ जेठ १५ गते ६:१४

(शिलाङ, तेजपुर, गुवाहाटी यात्रा : काठमाडौंदेखि एनजेपीको पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, दोस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  तेस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  चौथो भाग हेर्न यहाँ क्लिक गर्नुहोला, पाँचौं भागकालागि यहाँ क्लिक गर्नुहोला र छैठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, सातौं भागकालागि यहाँ क्लिक गर्नुहोला, आठौं भागकालागि यहाँ क्लिक गर्नुहोला )

२२ कार्तिक शुक्रवार २०७० (८ नोभेम्बर २०१३)

के कसो पर्‍यो— राति हिटर आफैं अफ भयो । फेरि जोडिएन । ब्ल्याङ्केट अर्काे माग्ने सम्झना भएन । जाडाले निकै मुस्किल पार्‍यो । बिहान उठ्ता सम्पूर्ण परिवेश नै ओस भएर चिसिएको थियो । त्यस्तो जाडो त ४० वर्ष अघिको काठमाडौँमा सिरक किन्न नसकी हिउँद कटाउने हुँदा खपेको थिएँ । भोलिपल्ट फेरि हिटर तातेपछि मात्रै शरीर सोझो भयो ।

आज प्रथम दिवस, उद्घाटनका लागि छिट्टै तयारी थियो । नभन्दै ६ः३० मै तयार भइसकेका थियौँ । आसामको वासनादार चियाका कप लिएर हामी तल झर्‍यौँ । हाम्रो वास शिलाङबजारमा थियो । कार्यक्रमस्थल धेरै कि।मि। टाढा शिलाङको शिरतिर पर्ने पूर्वोत्तर पर्वतीय विश्वविद्यालय (नेहु) को परिसरमा थियो । त्यस कारण शहरका तीनवटा गेस्ट हाउसबाट तीन गाडी सहभागी बोकेर ७ः१५ मा वाहनहरू नेहुतिर लागे । पुरानो शहरबीचको साँघुरो मार्ग, सल्लाका वृक्षमुनिबाट दम्स्याइलो उचाइतिर हेर्दै पुग्न एक घण्टा लाग्यो । यस्तो जाडो छ । उचाइमा एउटा ससानो धानखेत पनि देखापर्‍यो । कसरी यस्तो सम्भव छ ? यत्रो उचाइमा धानबाली ? मेरो जिज्ञासा यसै रह्यो ।

माथि पुगेपछि लाखौँ सल्लेरीका बीचमा निर्मित अनेक भवन छन् । उँभो हेर्दा आकाश सबै उदाङ्गो भएर सबैभन्दा नजिकै ओर्लिएजस्तो लाग्छ । अथवा यो भूमि आकाशमा पुगेर ठोकिएजस्तो लाग्छ । त्यहाँ अतिथिका स्वागतार्थीहरू शिक्षक–विद्यार्थी–अधिकारी लहरै उभिएका थिए । एफ्लुको आँगनमा कलिलो घाम चोबिएका बेला कतै सल्लाका बीचबाट पहेँला धर्का छिरेर तलको आँगन टाटेपाटे भएको बेला मिलनको यो सुन्दर क्षण बडो हार्दिक लाग्दथ्यो । डाइरेक्टर प्रा. कैलास बराल, श्रीमती डा. बराल तथा एफ्लु परिवार । नयाँ भेटको उत्सुकता, जिज्ञासा र उत्साह थियो ।

एक छिन न्यानो घाममा उभियौँ । अदुवा बास्ना आउने चिया खायौँ । दर्तामा एक छिन उभियौँ । त्यसपछि प्रोग्राम बुक खोलेर हेरेपछि यस कार्यक्रमको व्यवस्थापन एवं विद्वद्वर्गको उपस्थितिबारे थाहा भयो । विशेष गरी उनीहरूको सङ्क्षिप्त परिचय पुस्तिकामा आफू पनि मिसिएको पाउँदा धेरै खुसी र आनन्द लाग्यो ।

त्यसो त यसमा भारत, बंगलादेश र नेपाल गरी त्रिदेशीय उपस्थिति मात्र थियो । भुटान, पाकिस्तान र श्रीलङ्का अनुपस्थित थिए । विदेशका केही शोधार्थी थिए । तर उपस्थितहरू प्रतिष्ठित चिन्तक/प्राध्यापक थिए ।

यो विशाल भारतका परिपक्व विद्वान्हरूको बीचमा हामी तीन नेपालीको उपस्थितिले आत्मसम्मान एवं गौरवको भाव उत्पन्न गर्‍यो । साथै एक किनारमा उभिएर एक छिन विशाल केन्द्रसँग जोडिन खोज्यौँ । मसिनो बोलीमा हामी पनि छौँ भन्न खोज्यौँ । यता भारतीय नेपालीमा पनि आइबी राई, लीलबहादुर क्षत्रीजस्ता टावरिंग फिगर कम्ती छन्; अघि थिए । तर त्यस बेला उनीहरू भारतीय बन्न नसकी बितेर गए । यद्यपि भारतीय पहिचानको लडाइँमा उनीहरूको श्रम–पसिनाको बीज रोपिएको छ । तर जता हेरे पनि लामो दासता र गरीबीका कारण अशिक्षा र यायावरीय श्रमिकझैँ हिँड्ने नेपालीको सानो संख्या मात्र सचेत छ । बल्ल यति बेला सगौरव उठ्तै छ । त्यसको उपस्थिति साहित्य आकादमीसम्म भएको देखिन्छ ।

यो चिनारीको समयमै मैले प्रोग्राम बुक खोलेर हेरेँ । त्यहाँ तीन दिनका १५ सेसनमा १८० जना प्रस्तोता सहभागी छुट्ट्याइएका थिए । प्रत्येक दिनका पाँच सेसन, औसतमा बीस कार्यपत्र र दुईवटा प्लेनरी । केही छोटा प्रवचन र सांस्कृतिक कार्यक्रम भए । सेसनका चेअर र खास गरी प्लेनरी वक्ताहरू चुनिएका व्यक्ति थिए, चिनिएका विशिष्ट विद्वान् थिए जस्तै प्रा. वेङ्कट राओ, प्रा. मकरन्द परान्जपे, प्रा. बीएन पटनायक, प्रा. जसवीर जैन, प्रा. लीलाप्रसाद, प्रा. मस्बा कमाल आदि ।

कार्यक्रम ९.३० मा आरम्भ हुने कुराको उल्लेख थियो । भर्खरै खुलेको विश्वविद्यालय एफ्लुको शिलाङ कलेजका एमए, एमफिल र पिएचडीका विद्यार्थीहरू पङ्क्तिबद्ध रूपमा तैनाथ थिए । अतिथि स्वागतमा, जलपानगृहमा लान, हल देखाउन, बाथरुम पुर्‍याउन, दर्ता गर्न अरू सहयोगमा । यस्तो तत्परता र यस्तो विनम्रता भएका विद्यार्थी आजसम्म मैले देखिनँ र सुनेको पनि थिइनँ । गुरुकुलको मात्र कुरा सुनेको थिएँ ।

यता नेपालबाट हामी पुगेकामा शिष्टाचार भेट गर्न र क्याम्पसलाई एउटा ससानो मयुरझ्याल उपहार प्रदान गर्न भनी म डाइरेक्टरको कार्यालयमा पसेँ । म पस्ने बित्तिकै तीनवटै (शिलाङ, लखनऊ, बैंगलोर) क्याम्पस हेर्ने एफ्लु भाइस चान्सलर आइपुगिन्— डा. सुनयना सिंह । भव्य व्यक्तित्व, डोमिनेटिङ पर्सनालिटीकी धनी, अग्ली मोटी विदुषी सुनयनासँग त्यहीं परिचय भयो र डा. बरालले हामी तीन जनालाई चिया मगाउनुभयो । वार्तामा तीन मिनेट मात्र बितेको थियो । घडी हेरेर चिया भएन ? प्रा. बरालले सोधे । खासी वस्त्रकी युवतीले भनिन्— पाकिसक्यो सर, खन्याएर ल्याउनु छ । त्यसपछि कुलपति सुनयनाले थपिन्— ‘९.३० मा उद्घाटन होइन ? अब दुई मिनेट मात्र बाँकी छ । चिया भरे खाउँला, हामी निस्कौँ ।’ नेपालमा यस्ता दृष्टान्त कहाँ देख्न सुन्न पाइन्थ्यो र ?

हामी तत्कालै बाहिर निस्कियौँ ढोकामा आइसकेको तातो चिया छोडेर । ९.३० मा ठ्याक्कै आसन ग्रहणमा पुग्यौँ । आसन ग्रहण भयो । यो वृत्तान्त दिनुको कारण हाम्रो नेपाली स्वभाव र अदक्षताले कसरी समय नष्ट गर्ने चलन छ भन्ने बुझाउन खोजेको हुँ । हाम्रोमा भए यत्रो सम्मेलनमा अध्यक्ष, उपाध्यक्ष, चिफ, सहायक आदि गर्दै अझ प्रत्येक पार्टीका प्रतिनिधिलाई बसाउँदै, फूलमाला गर्दै सरमलाग्दो सङ्ख्याले स्टेज भरिन्छ । यहाँ भीसी बसिन्, डाइरेक्टर बसे, बस त्यत्ति नै । विद्यार्थीले एक वन्दना प्रस्तुत गरे— बस त्यत्ति । त्यत्ति कर्म सकिएपछि एक छिनको मौनतामा मेघालयका राज्यपाल आए, उनले बत्ती सल्काए । तिनै तीन जना मात्र माथि बसे । पाँचपाँच मिनेट बोलेपछि उद्घाटन १५ मिनेटमा सकियो अनि प्लेनरी शुरू भइहाल्यो । नेपालका सारा ढर्रा, अव्यवस्था र अकर्मण्यतामा, राजनीतिक हनुमानको पूजामा कसरी व्यर्थ समय गइरहेको छ त्यसको तुलना होओस् भनी यो अनुभव प्रस्तुत गरको हुँ ।

समय नित्य त्यसै गरी पालना हुन्छ— हामी शहरबाट ७ः१५ मा बस चढ्छौँ । ८.१५ मा पुगेर चियानास्ता गर्छौं ।, भेटघाट गर्छौं । भव्य सल्लेरीमा ओर्लेका घाम ताप्छौँ । अरू आदान–प्रदान गर्छाैं र ठीक ९ बजे सेसन शुरू हुन्छ । दुई प्लेनरी, चार कन्करेन्ट; लन्चपछि एक प्लेनरी, चार कन्करेन्ट । अन्त्यमा आधी घण्टा सङ्गीत आदि गर्दा छ बज्छ । फेरि शहर पुग्दा झमक्कै साँझ पर्छ । प्रत्येक दिन यस्तो पालना भइरह्यो ।

त्यसो त सबै सम्मेलनको योजना उस्तै हुन्छ । तर हाम्रो देशमा भने अतिथि आसन र खाने समय प्रायः व्यर्थै जान्छ । आफ्नो पालो सक्तै भाग्दै गर्ने अर्काे रोग हुन्छ । त्यहाँ ती विशेषता देखिएनन् । यहाँ तोकिएको निर्दिष्ट समयभित्रै सो काम अनिवार्य रूपले सम्पन्न हुन्छ ।

यो सम्पूर्ण सम्मेलन स्मृतिविज्ञानमा थियो । प्लेनरी शुरू भयो स्मृतिविज्ञान (निमोनिक्स) के हो ? भारतभूमिमा कसरी यसलाई हेर्नुपर्छ ? वर्तमानमा यो विषय कसरी सङ्कटमा छ ? आदि कुराबाट आरम्भ भयो ।

भारतवर्ष महान् सभ्यताकी जननी भएर पनि बीचका अनेकौं आक्रमण, प्रत्याक्रमण र अनेक जाति–धर्मको प्रवेशले एउटा जातिको सभ्यता स्थापित भएका ठाउँमा अर्काको प्रवेश हुने, त्यसले फेरि केही मेटेर आफ्नो स्थापना गर्ने, फेरि अर्काे आएर आफ्नो स्थापना गर्ने यस्ता चक्रको निरन्तरता बीसौँ शताब्दीसम्म चलिरह्यो । जातिका दृष्टिले द्रविड, आर्य–अनार्य, मङ्गोल सबै भए । धर्ममा बौद्ध, हिन्दू, मुस्लिम, जैन र अन्त्यको क्रिस्चियन आदि भए । तैमुरलङदेखि अलेक्जान्डर, बाबर–अकबरदेखि अङ्ग्रेज । त्यत्रा विशाल निर्माण र आघात ! यी सारामाथि प्रेम राख्तै पनि आज प्रजातन्त्रका लागि उभिएको छ भारत, जसमा छेलिएका, किनारिएका मार्जिनलको आवाज जोडले उठेको छ । यो शक्ति अघिका साराभन्दा अझ तीव्र र भिन्न प्रभावकारी छ यस्तो किनारीकृत वर्गलाई जोड्ने । यस (वर्ग) लाई शासन, सत्ता र भूमि सबै चाहिएको छैन । तर आफ्नो उपस्थिति र पहिचानको स्पेस चाहिएको छ ।

पाश्र्वभूमिमा निरन्तर रूपले युद्धगर्जन सुनिन्छन्, धम्की सुनिन्छन् र आजको सरकार एउटा निष्प्राण यन्त्रझैँ सुतेर चल्नेवाला छैन । सधैँको गर्जन र आवाजले कतै सुधार भयो, कतै हुँदैछ, हुनेवाला छ । नेपालमा पनि आज ठीक यही परिस्थिति छ, यही विश्लेषण लागू हुन्छ । अतीतलाई बिर्संदै, त्यसका घाउहरू छोप्तै, एकअर्काका चोटहरू लुकाउँदै अब एउटा रियलाइजेसनको समय आएको छ— प्राचीन ऋचामन्त्र अनुसार— संगच्छध्वम्, संवदध्वम्, हामी सबै सँगै चलौँ, हामी सबै सँगै बोलौँ, चलौँ ।

भारतको जुनसुकै डिस्कोर्स पनि उपनिवेश कालको पृष्ठभूमि बेगर अघि बढ्दैन । तीन सय वर्षको संस्कृति विभञ्जन र अन्यताको उपस्थितिलाई उनीहरू एक प्रकारको पराजित अवस्था सम्झेर त्यसलाई जीर्णाेद्धार गर्न चाहन्छन्, आज त्यही गर्दैछन्, यता त्यही गर्दैछन् । तर त्यही उपनिवेशी कालमै आधुनिक भारतीय सभ्यताको जग बस्यो— शिक्षा, मार्ग, यातायात आधुनिकता यहाँ आयो भने त्यो कालखण्डभरि, संसारको उज्यालो पस्नुपर्ने अन्तिम एक सय वर्षभरि नेपाली जाति कालकोठरीमा थुनियो र हामी गतिहीन भएछौँ । उनीहरू भने गतिशील रहे परन्तु त्यो गतिशीलता त आज उभिएर हेर्दा कति अनिच्छित र विलोपनकारी (इरेजर) वा उच्छेदनकारी रहेछ । त्यस कालको रिक्तताको क्षतिपूर्तिमा उनीहरू उठेका छन् । हामीलाई त्यसरी उठ्नु–बस्नु, कुनै उन्नति मापन गर्नु पनि छैन । यति बेला भारतका सामु उभिँदा उनीहरूको सोचविचार, सिद्धान्त र चिन्तनको उचाइका तुलनामा आफू भर्खर बामे सर्न थालेको अनुभव हुन्छ । यस सन्दर्भमा आजको पहिलो सेसनको शीर्षक स्मृति : विश्व तथा उत्तरउपनिवेशित साहित्यपरम्परा अनि व्यक्तिगत स्मृति तथा किनारीकरण थियो ।

उपनिवेशले छोपेपछि परम्पराले सञ्चालित भारतवर्षमा त्यो अन्यताको प्रवेश भयो । त्यसले कत्रो हलचल र खलबल कसरी ल्यायो; लेखक, स्रष्टाले के लेखे, बौद्धिक चिन्तक धर्मगुरु कता पुगे र तल्लो वर्गको स्थितिचित्र के कस्तो भयो, त्यस बेलाका स्मृतिलाई कसरी केले सुरक्षित राखिदियो वा मेटियो— त्यस्तै विषयमा सेसन चले ।

यी सेसनका पत्रहरूका आज लेखिएका वा हिजोका स्मृतिमा अतीतलाई कसरी प्रस्तुत गरिएको छ ? कसरी त्यसलाई हेरिएको छ ? तिनै कुराको विश्लेषण भयो । हाम्रा पाठकले पनि थाहा पाएका कति स्रष्टा छन् जस्तै तुर्किस्तानी आख्यानकार २००६ को नोबेल पुरस्कारले सम्मानित ओर्हान पामुक जो दुई वर्षअघिको जयपुर लिटेरेरी फेस्टिवलमा आएका थिए, जसको प्रभाव भारतीय पाठक–स्रष्टामा व्यापक छ । एउटा स्मृति तिनै ओर्हान पामुकमाथि थियो । प्रसिद्ध जापानी लेखक काजुओ इसिगुरोको सामाजिक इतिहासमाथि थियो । अर्काे तसलिमा नसरिनको लज्जामाथि थियो । अर्काे खालिद हुसेनीको एन्ड द माउन्टेन इकोडमाथि थियो । खालिद हुसेनीको द काइट रनरमाथि अर्काे थियो । रोहिन्टन मिस्त्रीमाथि पनि थियो ।

भारतमा सिर्जित अंग्रेजी साहित्यको व्यापकता र प्रचुरताले गर्दा अहिलेका अध्यापक, पाठक र चिन्तक सबै त्यही साहित्यका आँखाले तत्कालीन विगत (इमेडिएट पास्ट) र वर्तमानलाई हेर्न चाहन्छन् । पाठकको ठूलो क्यान्भासमा पुग्ने र अंग्रेजी पुस्ताले बुझ्ने पाठकसामु तेलुगु, कन्नड, मलयालम, उर्दू, हिन्दी, बंगाली, असमिया आदि मातृभाषी सिर्जना ओझेल परेको हो कि ? म चकित भएँ । हाम्रो नयाँ पुस्ताले राम्ररी चिनेका अमिताभ घोषमाथि, राजारावको कण्ठपुरमाथि प्रस्तुति थिए । भारतीय सीमाबाहिरका रोहिन्टन मिस्त्री, काजुओ इसिगुरो र २००८ का नोबेल पुरस्कार विजेता गाओ जिन्जिआनका कृतिमाथि अध्ययन भए । तर नेपालका कुनै कृतिमाथि कसैले गरेन । हाम्रो अंग्रेजी माध्यममा भारतीयको सामुन्ने पहुँच र प्रभाव शून्य छ । यो स्वाभाविक छ किनभने भारतले आजभन्दा १०० वर्षअघि नोबेल पुरस्कार प्राप्त गरेको छ ।

यो सम्मेलन स्मृति–अभ्यास विषयक भएकाले स्मृतिका प्रमुख संवाहकहरूका रूपमा तत्कालीन साहित्य, कलाकृति, लोकगीत, संस्कार आधुनिक समयमा खास गरी फिल्म र अन्य सोसल मिडिया आदिको प्रयोगलाई लिइएको छ । धेरै कुरा त हाम्रा लोकस्मृति (फोक मेमोरी) बाट, देखि नै सर्दै आएका रहेछन् ।

साहित्यिक कृतिमा पसेर विश्लेषण गरिएको स्मृतिको म एउटा उदाहरण प्रस्तुत गर्न चाहन्छु । मियाजी हजामको एउटा पत्र छ— सङ्कटसितको समायोजन : तसलिमा नसरिनको लज्जामा स्मृतिको भूमिका (५०) । प्रस्तुत पत्रले राष्ट्रिय एवं जातीय पहिचानहरूलाई जोड्ने र छुट्ट्याउने ठाउँमा स्मृतिले कसरी कार्य गर्दछ भन्ने देखाइएको छ । स्मृतिले कसरी अलग स्पेस सिर्जना गर्छ, तिनीहरूलाई केले एकातिर राष्ट्रिय अस्मिताभित्र बाँच्नु छ भन्ने सिकाउँछ । अर्कातिर जातीयताले कसरी अन्य धेरै कुराको निर्धारण गर्दछ भन्ने देखाउँछ । जातीयतासँग नजोडिई अस्तित्व सम्भव छैन । जातीयतालाई प्राथमिकता दिनुको तात्पर्य राष्ट्रियता नचाहिनुको जस्तो स्थिति पनि हो । फेरि राष्ट्रियताका विरुद्ध उभिन पनि सकिँदैन । उपन्यासमा दत्ता परिवारको स्थिति–चित्रको वर्णन गर्दै सङ्कटमा कसरी राष्ट्रियता बाहिर उभिएर धार्मिक कट्टरताबाट जोगिने प्रयत्न हुन्छ भन्ने देखाइएको छ । यता राष्ट्रले धर्मनिरपेक्ष छौँ भन्छ तर त्यही राष्ट्र जातीयता, धार्मिकता जस्ता अनेक प्रकारका कट्टरता भिरेर अन्यलाई समाप्त गर्न उभिएको छ । यस्तोमा मार्जिनलताको सुरक्षा कसले, केले गर्छ भन्ने प्रश्न उठ्तछ । यस सम्मेलनका एक जना प्लेनरी वक्ता ढाका युनिभर्सिटीका एक्टिभिस्ट प्रो। मसव कमालले ठीक यही स्थिति प्रस्तुत गरे । तसलिमाका पात्रहरूलेझैँ चटगाउँका लाखौँ बंगालीले पनि एक भएर बंगलादेशको निर्माणमा (१९७१ मा) मुक्ति सङ्घर्ष लडे । लाखौँ बलिदान भए, तर पछि गएर कट्टरपन्थीहरू सरकारमा आएपछि ती मार्जिनल समुदायका योद्धाको अस्तित्व स्वीकार गरिएन । ती अझै लड्दैछन्, कति शरणार्थी भएर गए, कति परिक्षेपित छन् ।

त्यसो त यस्तो कुरा हरेक देशमा भएको छ । यतिखेर गोर्खाल्यान्डको वा अन्य ल्यान्डको मागका पछि यही राष्ट्रियता/जातीयता पहिचान, अस्तित्वको द्वन्द्व रहेको छ । नेपालमा पनि २००७ सालको क्रान्तिमा सबै जाति वर्ग होमिएर मात्रै त्यो सम्भव भयो । राष्ट्रिय सङ्कटमा सबै खनिएका थिए । पछिका वर्षमा फेरि फन्डामेन्टालिस्ट (यथास्थितिवादी) पसे— जाति भनौँ, राजनीतिक विचार भनौँ, धार्मिक विचार भनौँ, बहिष्करणका अनेक रूप भएर पसे । तिनैमध्ये एउटा सकृय भएपछि अन्य जाति, वर्ग र विचारसमूह सङ्कटमा पर्दाे रहेछ र उसले असन्तुष्टि, आवेग इत्यादि साँचेर त्यसलाई सोझ्याउने प्रयत्न गरिरहन्छ ।

नेपालको वर्तमान स्थितिसँग पनि धेरै कुरा यो सङ्केतमा मिल्दछ । एक थरी राष्ट्र भनेर किच्ने दल्नेहरू छन् भने अर्का थरी जाति भनेर स्वर उच्चा गर्नेहरू छन् । माओवादी सङ्घर्षले उत्पन्न गरेको यो चेतनाले नेपाली समाज र राजनीतिमा ठूलो हलचल उत्पन्न गरेको छ । स्वभावैले यसले कतिपय द्वेष, घृणा र चिन्ता उत्पन्न गर्न सफल भयो । एकपल्ट हुर्काइएको खस–बाहुन बहिष्करण चेतना पनि यसैको चरम रूप थियो । फेरि उठेको जातीय पहिचान र सङ्घीयता अर्काे उद्वेग थियो । अझसम्म पनि सबै सेलाएको छैन । आखिर अविवेकले र अन्धराजनीतिले देशभित्र अनेक द्वन्द्वका बीउ उमार्दोरहेछ । त्यस्ता दलहरूले तिनै अप्ठ्याराहरूलाई मलजल गर्दै फलाएर–फुलाएर खाइरहन्छन् ।

माओवादी आन्दोलनमा यस्ता अनेक बोटबिरुवाको बीजारोपण भयो । तर समग्र राष्ट्र स्वस्फूर्त नभई बाध्य र विवश बनाइयो । त्यो एकपक्षीय थियो । त्यस बेला दबाइएका स्वरहरू उठ्तैछन्, उठ्नेछन् । हिंसा र द्वेषले भरिएको, विखण्डन–अपखण्डनले बारम्बार रेटेको यस विश्वमा मानिसले आफ्नो स्पेस गुमाएका नयाँ ठाउँमा सम्झौता गर्न खोजेका कतिकति प्रयत्न छन् । वर्तमान कालका हाम्रा कति कलारचनाले सबै त्यस्तै स्मृति बोकेका छन् ।

मैले भाग लिएको अर्काे पत्रको ससानो उदाहरण दिन चाहन्छु । अमेक लिङ्दोको स्मृतिको संस्कृति : नदीम असलामको हराएका प्रेमीको चित्र भन्ने आख्यानमा विभाजनपछिका पाकिस्तानीको ससानो समूह एउटा काल्पनिक अंग्रेजी भूमिमा बस्तछ । त्यहाँ उनीहरूको मुस्लिम हुनुको पहिचान अत्यन्तै ठूलो सङ्कटमा पुग्दछ । आफ्ना सन्तानले इस्लामी संस्कार एवं मूल्यहरू बिर्सेलान् भन्ने ठूलो भय छ । उनीहरू बडो प्रयत्नले आफ्नो असुरक्षित समूहमा सांस्कारिक पहिचानलाई सुरक्षित गर्न चाहन्छन् र त्यसको विपरीत जानेलाई निष्कासित गरिदिन्छन् । यसरी सांस्कृतिक स्मृतिले कसरी दुईतिर धार भएको तरवारको काम गर्दछ भन्ने दृष्टान्त दिन्छ । एकातिर उनीहरूलाई अन्य भूमिमा एक्लै फ्याँकिनुपर्दा आफ्नो पहिचान जोगाउनुपर्ने कठिनाइ छ, अर्कातिर बाह्य असामाजिक शक्तिविरुद्ध लड्नुपर्ने झन् ठूलो समस्या छ । त्यसले उनीहरूको स्वत्व समाप्त गर्न खोज्छ । त्यस अवस्थामा उनीहरू संस्कृति–संक्रमण (एकल्चरेसन) को सङ्कटमा हुन्छन् । बिस्तारै त्यो अवस्था पार गरेर स्वाङ्गीकरण (एसिमिलेसन) तिर जान थाल्छन् । यस यात्रामा मिश्रण हुँदै विलयतिर अथवा बिस्तारै स्वाङ्गीकरणको यात्रामा जानुपरेको छ ।

यता आसाम, शिलाङ आदिका नेपालीले पनि यो अवस्था पार गरी स्वाङ्गीकरणको सम्भावित स्थिति भोगिसके तर ती स्वाङ्गीकृत छैनन् । तिनले आफ्नै संस्कृतिको निर्माण गरेका छन् । नेपालबाट हेर्दा त्यो उपसंस्कृति हो । भारतको परिदृश्यमा एक मार्जिनल संस्कृति जसका सम्पूर्ण तत्व–अङ्ग आफैंमा पूरा हुनेछन्, ती प्राप्त गरेका छन् । अन्य जाति पनि एकअर्कामा घुलित भएको देखियो । तीन दिनको सम्मेलनमा अन्य सात नेपाली भेटिए तर मेरो अग्लो ढाकाटोपी देखेर मात्रै उनीहरू मसित चिनिन आएका थिए । अघि एसके परदेशीले मलाई गोर्खाल्यान्डको चिन्हाङ्कित रातो धर्का भएको कालो टोपीले स्वागत गरेझैँ यता गुवाहाटीमा रोहित गौतमले खुकुरीको पिन अल्झाएको कालो टोपी लगाइदिएका थिए । यता शिलाङ बजारमा देख्छु, ऊनीका बुनेका टोपी छन् तर ढाका, काला वा अन्य टोपी लगाउने कोही छैनन् ।

संसारभरि छरिएका नेपाली— अनेक डायास्पोराकाहरू जातीय पहिचान र संस्कृति–सङ्क्रमणका बीचमा अनन्त द्वन्द्व छ, बिस्तारै बिस्तारै पहिरो लडेको ठाउँमा नयाँ झार बोटवृक्ष र वनस्पतिले ढाक्तछ, पुराना वर, पीपल, चौतारा, पँधेराहरू भत्किसकेका हुन्छन् । यसका सम्बन्धमा रुटलेज लन्डनबाट हालै प्रकाशित नेपाली डायास्पोरा इन ग्लोबल कन्टेक्स्टको सन्दर्भ लिनु आवश्यक छ । कति सन्दर्भ भारतीय नेपालीका छन् ।

त्यसरी पहिलो दिनका प्रस्तुति सक्ता एउटा नयाँ विश्व उघरेर आएझैँ भयो । अझ यी सबै सेसनमा भाग लिन पाए कस्तो हुन्थ्यो होला ! चारवटा लिँदा समय सकिन्छ । तर पनि जम्मा १६ पेपरमा बस्न सकियो । ‘प्लेनरी’ सहित, सुनेपछि के कुरा स्पष्ट भयो भने— अब आलोचनात्मक विश्व हेर्ने दृष्टिकोण बदलिएको छ । परम्पराले केही कुरा देख्न नसक्ने भएको छ । खास गरी कल्चरल स्टडिजको दृष्टिकोणले मात्र वर्तमान सामाजिक शक्तिको अर्थ हेर्नुपर्ने हुन्छ । अघिका ग्रान्ड न्यारेटिभ्स (महाख्यान) को अवसान भएको छ । अब सबै सानासाना संस्कृति उठेका छन् । पहिचानको खोजीमा उभिएका छन् । त्यसकारण तिनको अतीतप्रति संवेदनशील हुनुपर्छ । तिनको वर्तमानप्रति पनि संवेदनशील हुनुपर्छ । नयाँ वर्तमान आएको छ, सहअस्तित्वको, समान अस्तित्वको, सम्मान र प्रेमको समय छ । द्वन्द्व बढेर अन्तद्र्वन्द्व र हिंसामा परिणत भयो भने त्यो डढेलो निभाउन मुस्किल पर्छ ।

सम्मेलन सकेर एक बस अतिथि शहर झर्‍यौँ— थोरै टाढा छैन, एक घण्टाको चिसो बतास र सल्लेरी चिर्दै आकर्षक बंगलाहरू छिरेपछि बल्ल फ्रुट गार्डेन पुगिन्छ ।

क्रमश :

तपाइँको प्रतिक्रिया

फेसबुक