मंगलबार, असोज ९, २०८०

४६ वर्षअघिको ‘मुगलान’ तिर आज

रन्जु पाण्डे२०७८ जेठ १५ गते १९:३९

नेपाली साहित्यका अग्रज स्रष्टा प्राध्यापक गोविन्दराज भट्टराईद्वारा आजभन्दा ४६ वर्षअघि लेखिएको र छापिएको उपन्यास ‘मुगलान’ मैंले पहिलो पटक भर्खरै पढ्न पाएँ । पढिसकेपछि मनमा जुन हलचल उब्जियो । म थामिएर बस्नै सकिंन । उसो त कुनै पुस्तक पढेपछि त्यसबारे आफ्नो धारणा डायरिमा लेख्ने मेरो पुरानै बानी हो । तर, यतिबेला भने पहिलोपटक आफूलाई लागेको ‘मुगलान’ बारेको टिपोट उतार्दैछु, समीक्षाकै रुपमा ।

सामान्यतया पुस्तक लेख्दा लेखकले एउटा घटना विशेषलाई बुन्दै गएको हुन्छ, जहाँ प्रत्येक घटनाका थुप्रै आयामहरु हुन्छन् । पाठकले आफ्नो
क्षमता, मनस्थिति अनि काल–परिस्थितिअनुसार त्यसलाई अर्थ लगाइरहेको हुन्छ । एउटा पाठकले बुझेको त्यो अर्थ अर्कोका लागि अनर्थ पनि हुन सक्छ । अथवा अर्को पाठकलाई चित्त बुझ्न पनि सक्छ वा नबुझ्न पनि सक्छ ।

‘मुगलान’ उपन्यास पढिरहँदा यसले मलाई बेलाबेलामा चस्का दिइरहयो । कहिले उत्साहित त कैले द्रवित बनायो । अनि कहिले भने मलाई पढ्दापढ्दै पढ्न छोडेर त्यो हरफलाई मजासँग चपाएर घोल्न, अनि निल्न लगायो । ‘मुगलान’ कथासारमा घरगोठ गरी आनन्दले डुलेर खाएका, बाहिरी संसार नदेखेका, सिधासाधा गरिब युवाहरु सुतार र ठुले मुगलान गएर लाहुरेमा भर्ती हुने अनि पैसा कमाउने सपना बोकेर साथीभाइ र घरपरिवारहबाट छुटिन्छन् । ‘मुगलान’को पाँचौँ संस्करणमा समीक्षक कुमारप्रसाद कोइरालाले उल्लेख गरेका छन्—’एउटा जालबाट
फुत्कन खोजेका उनीहरु अर्को जालमा पर्दछन् । उनीहरुका सपना उनीहरु जस्तै निम्न वर्गका तर शोषकसँग लागेर आफ्नै वर्गलाई ठग्न पल्केका दलालहरुले निमोठीदिन्छन् …जब दलालहरुले भुटानको विकट पहाडमा बाटो खन्ने ठाउँमा पुर्याएर उनीहरुलाई ओराल्छन् र त्यस काममा लाग्न बाध्य पार्छन् तब उनीहरुका कहिलेदेखि साँचेर राखेका सपना भत्किन्छन् । उनीहरूको घरमा छँदाको मुगलान जाने, भर्ती हुने, लाहुरे बन्ने सपना चकनाचुर हुन्छ—उनीहरु एकै पटक काल्पनिक मनोजगतबाट यथार्थ धरातलमा पछारिन पुग्छन् ।’

पटकपटक बेचिएका कथाका यी पात्रले लगभग आधा शताब्दीअघिको यथार्थ सामाजिक चित्र झल्काउँछ जुनआज पनि छ । तर केही फरक रुपमा । समिक्षक कोइरालाले अर्को ठाउँमा उल्लेख गरेका छन्— “यो उपन्यास जतिबेला लेखियो, त्यतिबेला नेपाली युवायुवतीहरु मुगलानतिर कम जान्थे । तर आज वर्षैपिच्छे लाखौं युवायुवती मुगलान अर्थात काल्पनिक स्वप्नभूमिको यात्रामा निस्कन्छन् । तीमध्ये कति फर्कन्छन् र, कति उतै मर्छन वा उतै बस्छन् ।”

त्यस्तै ‘मुगलान’ उपन्यासको पहिलो संस्करणमा साहित्यकार पारिजातले लेखेको मूल्यांकन टिपोटको अंशमा भनिएको छ—”गोविन्द जि चाहे तपाईं मेरो निष्कर्षलाई मान्यता नदिनुहोस् अथवा आफ्नो अबचेतनाद्वारा ठगिइरहनुहोस् तर, यो उपन्यास शोषणको वर्णन हो जसले मुगलानप्रतिको एउटा तिखो विरक्ति दिन्छ…तपाइको कलमले देशभित्रका अरुअरु शोषणका अवस्थाहरुलाई यसरी नै नङ्याईदिनेछ ।”

यत्रो लामो कथानक र इतिहास बोकेको यो उपन्यास मैंले भने छैटौं संस्करण आइपुग्दा मात्रै पढ्न पाएँ । पुरा उपन्यास पढिसकेपछि यसमा महिला पात्र थोरै मात्र रहेको पाएँ । पुस्तकमा मैले पुरुषकै नियति बढी झल्किएको पाएँ । सुतार अनि ठुलेबाहेक कथामा देखिएका अरु थुप्रै पात्र र घटनाहरूको बेग्लै मतलब लगाउन सकिन्छ चाहे पुरुष बेचबिखनमा महिलाको संलग्नताको रुपमा राईनी दिदीको उपस्थिति होस् या विश्वास जितेर पछाडी बाट छुरा हान्ने रिक्सावाल । यी र यस्ता थुप्रै पात्र अनि घटनाहरुलाई एकातिर राखेर मैले केवल सुतार अनि ठुलेलाई प्रतिनिधि पात्र बनाएर हिजोआज अनि सम्भवतस् भोलिको पुरुषको दृष्य अवस्थालाई केलाउन चाहेँ ।

लोग्ने मान्छेको नियति आज पनि लगभग उस्तै छ । चाहे त्यो दबिएर होस् या खुल्लमखुल्ला । र, यस्तै स्थिती रहिरहे भोलि पनि नियति उस्तै रहन्छ । भन्नुको अर्थ यदि सधैं हामी स्वास्नी मान्छेको पीडा देखेर उनीहरूको मात्र बहस र पैरवी गरिरहन्छौ भने यहाँ पुरुषको पीडा, उनीहरूमाथिको हिंसा–शोषण र बेचबिखनको चर्चा बिरलै प्रकाशमा आएको पाइन्छ ।

कथाको मूल पात्र सुतार लगायत कार्की र ठूले जस्तै १६ जना पुरुषहरु पैसा कमाउन आफ्नो थलो छोडेर अन्त जान्छन् जहाँ अनन्त(बाहिरी संसार)को ज्ञान उनीहरुको लागि लाटोकोसेरोको लागि सुर्यको प्रकाश सरह हुन्छ । सपनामुखी युवाहरु निष्पट्ट अन्धकारमा जुन सपना बोकेर अगाडि बढेका हुन्छन्, त्यो साकार हुँदैन । बरु उनीहरुको चरम शोषण हुन्छ, शारीरिक, भावनात्मक अनि आर्थिक शोषण ।

पुरुष बेचबिखनको यो दृष्टान्त झल्काउने गरि आजभन्दा लगभग आधा शताब्दी पहिले लेखिएको यस उपन्यासले आजसम्म पनि उही र उस्तै कथानकका रुपमा निरन्तरता पाइरहेछ । त्यसैले आज पनि पैसा कमाउन खाडी मुलुक गएका थुप्रै युवाहरूमा हामी सुतारको चित्कार ध्वनि सुन्न सक्छौं । अझ भनौ— लोग्ने मान्छे बेचबिखन स्वेच्छाले होस् या बाध्यताले, आज पनि हामी शहरको सम्भ्रान्त गल्लीहरुमा यत्रतत्र भेट्न सक्छौं । तैपनि चेलीबेटी बेचबिखन जस्तै दाजुभाइ बेचबिखनको चर्चा भने त्यति हुने गरेकै छैन । यो आश्चर्यलाग्ने कुरा हो ।कथामा बताईएको ओढारको दृश्य अनि त्यहाँ व्यतित ठुले, सुतारको जीवन ठीक त्यस्तै लाग्छ । जस्तो कि कोठीमा बेचिएकि एउटी चेलीको । त्यहाँ पनि शरीर शोषण, यहाँ पनि शरीर शोषण । त्यहाँ पनि सपना र प्रलोभनले पुर्याएको हुन्छ । आज खाडीमा गैरहेका हजारौं नेपाली युवाहरुमा पनि त्यही सपना र प्रलोभन जोडिएको छ ।

लैङ्गिक चस्मा लगाएर हेर्दा पुरुषलाई परिवार पाल्नु पर्ने जिम्मेवारी हिजो पनि थियो र, आज पनि छ । केही अपवादलाई छाडेर । आज पनि एउटी सक्षम पढेलेखेकी छोरी लाई ज्वाइँ खोज्नुपर्दा आमाबाबुले पुरुषको सक्षमतालाई हेर्ने कसि भनेको ‘ज्वाईले छोरीलाई पाल्न सक्छ कि सक्दैनू भन्ने नै हुन्छ ।

तिमिले धेरै कमाउनु पर्छ । भोलिपर्सी आमाबाबुलाई पाल्नुपर्छ, बिहे गरेपछि स्वास्नी छोराछोरीको जिम्मेवारी बोक्नुपर्छ, दिदी त बिहे गरेर अर्काको घर जान्छे…”

काखमा राखेर हुर्काउँदै गर्दादेखि यस्तै सुन्दै आएको सुतारलाई पटकपटक मौका पाएर पनि घर फर्कनलाई पैसाले नै रोक्दछ । धन कमाएर परिवारको जिम्मेवारी निभाउन निस्केको आफू धन नकमाई कसरी फर्कनु ? धनकै लागि घर छोडेको सुतार अन्ततस् यसकारण बहुलाउँछ कि एउटा जरो गाडेको छ उसको मस्तिष्कमा कि आफू अशक्त भएर स्वास्नीको कमाइले मुखमा माड कसरी लगाउनु ? गरिबी, लाचारीसँगै हीनताबोधले उसलाई रातदिन चिथोर्छ । उसकी आमाले उसलाई यसरी नै हुर्काइ, ऊ के गरोस् ?

‘मुगलान’ एउटा प्रतीकात्मक शब्द हो । पितृसत्ताले जकडिएको यो समाजमा आज पनि पुरुषहरु पैसा कमाउन बाहिर निस्कन बाध्य छन्, चाहे त्यो घरबाट कार्यालय होस् या गाउँबाट शहर अथवा, देशबाट परदेश उनिहरु घिस्रिन करै लाग्छ । पुरुषले बनाएको यही समाजमा ‘केवल महिलाका लागि भन्दै’ आवाज उठाउने यहाँ थुप्रै संघसंस्थाहरु छन् तर विडम्बना पुरुष हिंसा विरुद्धको अभियान चलाउने संघसंस्था को चर्चा कहींकतै सुन्न पाइन्न ।

यसो भनेर महिलामाथिको हिंसा बेचबिखन र पीडालाई अवमूल्यन गर्न चाहेको पनि होइन । महिलाका हकमा प्रसस्तै आवाज उठिरहेका छन् र, अहिले त पीडित महिला स्वयं पनि अगाडि आउन थालेका छन्—न्यायिक अधिकारका लागि । तैपनि यथार्थ के छ भने यहाँ पुरुषको मुद्दा भने सितिमिति समाचारै पनि बन्दैन, न उनिहरु आफै नै मुख खोल्न सक्छन् । खोलुन् पनि कसरी ? जसलाई हुर्काइबढाइको संस्कारमैं ताल्चा लगाउन सिकाइएको छ—’छि, आइमाई जस्तो ! छोरा मान्छे भएर रुनु हुन्न…!’

यथार्थमा यो पनि पितृसत्ताको एउटा कल्पबृक्ष हो । पितृसत्ताको एउटा बीज हो । यो बीजलाइ नष्ट नगरेसम्म पुरुषको यो पीडा सधैंसधैं रहिरहने छ । हो, अब हराएको ठुले अनि बहुलाएको सुतारको यो कथा टुंग्याउनु छ । बेलैमा यो बीजको सुरक्षित पतन हुनु जरुरी छ । अनि मात्र लेखकले भनेजस्तै त्यो दिन आऊला कि— “एक दिन सुतार फिर्नेछ अनि बिजयसाथ कथा पनि टुंगिनेछ…!”

(लेखक रन्जु कथाकार पोषण पाण्डे तीर्थ सदनकी महासचिव हुन् ।)

तपाइँको प्रतिक्रिया