बिहीबार, वैशाख १३, २०८१

नेपालप्लस समाचार प्रभाव : कोइरालाले पठाए १३ लाखको स्वास्थ्य सामाग्री

नेपालप्लस संवाददाता / गैंडाकोट२०७८ जेठ १७ गते २३:०१

नेपाली कांग्रेसका महामन्त्री तथा नवलपुर क्षेत्र नं. १ बाट संघिय संसदमा निर्वाचित सांसद डा. सशांक कोइरालाले यस क्षेत्रका कोरोना प्रभावित जनताका लागि करिव १३ लाख बराबरको राहत सामाग्री पठाएका छन् । ति सामाग्रीहरु सोमवार नै बिभिन्न संघ संस्थाहरुलाई बितरण गरिएको छ ।

कोइराला बिगत १३ वर्ष देखि लगातार नवलपरासी क्षेत्र नं. १ को प्रतिनिधित्व गर्दै संसद सदस्य छन् । संसद बिकास कोषको रकमलाई छोड्ने हो भने डा. कोइरालाद्वारा जिल्लाका लागी ब्यतिगत रुपमा गरेको यो पहिलो र सबैभन्दा ठूलो सहयोग हो ।

नवलपुर क्षेत्रमा कोरोना संक्रमण तिब्र रुपमा बढ्दै गएपछी स्थानिय संघ संस्थाहरुकै पहलमा स्वास्थ्य सामाग्री संकलन तथा वितरण, लकडाउनका कारण काम गर्न नपाएका परिवारहरुलाई खाना वितरण र एम्बुलेन्स सेवालाई चौविसै घण्टा चलाइएको थियो । तर कुनै पनि ठाउँमा आफ्ना सांसदको उपस्थिती तथा सहयोग नदेखिएपछी जनस्तरबाटै उनको आलोचना शुरु भएको थियो ।

अझ गत जेठ ७ गतेको अंकमा नेपालप्लसले “खोइ कहाँ छन् डा. सशांक कोइराला ?” शिर्षकमा समाचार प्रकाशित गरेपछी डा. कोइरालाको विरोधमा विभिन्न टिकाटिप्पणी चलिरहेका छन् भने समाचार प्रकाशन पछी उनका केही समर्थकहरुले नेपालप्लसलाई धम्की पनि दिएका थिए ।

नेपालप्लसमा प्रकाशित समाचारका कारण आफूहरुले सहयोग प्राप्त गरेको कतिपय स्थानियको धारणा छ । एकजना फेसबुक प्रयोकर्ता चालिसे संजय लेख्छन- “खै कोइराला कता हरायो भन्नेहरुको प्रभावले यत्तिको ध्यान पुगेछ । नभन्या भए त पक्कै सम्झिने, पानी छम्किने हुन्थ्यो ! नोट : प्रतिद्वन्द्वीले के गर्न सक्दो रैछ भन्ने ज्ञान काङ्ग्रेसका वरिष्ठ मान्यजनहरुमा घुसोस् । सरोकारवालाहरुलाइ घच्घच्याउन र समयको माग अनुरुप चल्न दिशा निर्देश गर्न सिकोस् ।”

त्यस्तै अर्का फेसबुक प्रयोगकर्ता माधव पौडेलले लेखेका छन्- “ढिलै भएपनि सहयोग गरेकोमा धन्यवाद छ माननीय जिलाई” ।

त्यसो त, कोरोनाको यो दोस्रो लहर शुरु भएपछी नवलपुर अत्याधिक प्रभावित क्षेत्र मध्येको एक हो । मृत्‍यु र संक्रमण दर बढिरहेको यो बेलामा डा. कोइराला द्वारा पठाइएको सहयोगले स्थानियहरु खुशी भएका छन् । गैंडाकोटका एक युवा रामचन्द्र सापकोटा भन्छन्- सांसदको तर्फबाट आएको यो सहयोग थोरै भएपनि र ढिलै आएको भए पनि यसले मृत्‍युसँग जुधिरहेकाहरुलाई ठूलो राहत पुग्नेछ ।

कोइरालाद्वारा पठाइका ति सामाग्री उनका प्रतिनिधिहरुले गैंडाकोट नगर अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली, मध्यविन्दु जिल्ला अस्पताल, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, बुलिङ्गटार प्राथमिक स्वास्थ्य केन्द्र, नेपाल पत्रकार महासंघ नवलपुरलाई हस्तान्तरण गरेका थिए । त्यसमा ६ वटा अक्सिजन कन्सन्ट्रेटर, १० वटा अक्सिजन सिलिन्डर, २३ हजार सर्जिकल माक्स, ५ सय ६० वटा फेस शिल्ड, २ सय ३० लिटर सेनिटाईजर, २ वटा आईसियु बेड र पिपिई २ सय ५० थान छन् ।

तपाइँको प्रतिक्रिया