बुधबार, असार २, २०७८

जहाँ नेताको ठूलो खडेरी छ ‘उज्ज्वल नामजस्तै थिए, गए’

सुरेशचन्द्र कुईकेल / काठमाडौं२०७८ जेठ १८ गते २०:०७

photo source-Twitter, ujjwal thapa

कोरोना संक्रमणकै कारण विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्जवल थापाको ४४ वर्षकै उमेरमा मंगलबार भैंसेपाटीको मेडिसिटी अस्पतालमा निधन भएपछि उर्लिएको सम्वेदना र सहानुभुती अचम्मकै देखिएको छ ।

सही अर्थमा नेता हुनुको कारण र कारक नखुलाइकनै, कुनै प्रकारको निर्वाचनमा भाग लिएर बिजेता नबनी उज्जवल थापाले जे–जसरी नाम बनाए, यो आफैंमा आश्चर्यलाग्दो छ । एक साताअघि कोरोना संक्रमणकै संकटका माझ उपचारमा ग्रान्डी (धापासी) पुगेका उज्जवलको मंगलबार अपरान्ह मेडिसिटी (भैंसेपाटी) मा निधन भएको छ ।

कोरोना संक्रमणमाझ को बरिष्ठ वा को कनिष्ठको ज्यान गयो भन्ने हिसाब अहिले नगरे हुन्छ । ‘अम्बाको पात’ र ‘बेसारपानी’का भरमा कोरोना निको हुन्छ भन्ने प्रधानमन्त्रीले हाँकेको मुलुकमा अहिलेसम्म ७ हजार (रेकर्ड) का नेपाली जनसाधारणको मृत्यु भएको छ भने भित्री गाउँघर र कुनाकन्दरामा मर्नेको संख्या पनि झण्डै यही ७ हजार बराबरकै होला जसको रेकर्ड काठमाडौंसँग छैन ।

यहि बिचमा मंगलबार अपरान्ह ज्यान गुमाएका उज्ज्वल थापाको नामकाम खुबै छाएको छ, मिडिया संजालमा । आखिर किन त ? । एउटै कुरा मनन गरौं— ‘कोरोना संक्रमित भएर दुई सातादेखि उपचार गराइरहेका विवेकशील साझा पार्टीका पूर्वसंयोजक तथा विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाका लागि २४ घन्टामा ५० लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग संकलन ।’

के यो सम्भव कुरा हो ? अहिले चलेका र कथित राजनेता प्रचण्ड, केपी ओली वा देउवाकै नाममा यस्तै भैपरिआएमा यसरी सहयोग उठ्ला ? असम्भव छ । ठोकेरै भन्न सकिन्छ ।

नभन्दै विवेकशिल साझा पार्टीका पूर्व अध्यक्ष उज्जवल कहिंकतै थिएनन् । माइतीघरमा हुने जुलुसधर्नाहरुमा उनी सबैभन्दा पछिल्लो पंक्तिमा उभिएका हुन्थे— प्लेकार्ड बोकेर । उनी माइक्रोबसमा भेटिन्थे । र सीता राइको बलात्कार केसमा सारीचोलो लाएर मौन जुलुसकर्मी भएर कतै बसिरहेका हुन्थे । पछि विवेकशिल र साझा एकालाप हुनेभएपछि उनले सहस्र अध्यक्ष पद त्यागे— मिलन पाण्डेलाई दिएर । आज साझा विवेकशीलमा मिलन पाण्डे र रविन्द्र मिश्र सहअध्यक्ष छन् । हिजोसम्म उज्वल एक झोले कार्यकर्तासरह मात्रै थिए— पछिल्लो पंक्तिमा बिनयशिल भएर नारा साथैमा लिएर उभिने एक कार्यकर्ता ।

तर, यति भन्नैपर्छं— मिलन वा रविन्द्रको चर्को बोलीभन्दा यी उज्ज्वलको बिनयशिल मलिन स्वर निकै अर्थपूर्ण थियो । सबैभन्दा सुनिने स्वर यही थियो । ‘भ्रष्टाचारीलाई किरा परोस’ भन्नुभन्दा पनि ‘भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न’ भन्ने बोली कति बिनयशिल थिएछ आज उज्ज्वल बितेर गएपछि रविन्द्र मिश्र समूहलाई थाहा हुनुपर्छ । दाताहरुबाट सहयोग संकलन गरेर, टिसर्ट छपाएर र बिभिन्न कथित भ्रष्टाचारी नेताहरुलाई नै त्यो टिसर्ट पहिराउँदैमा केहि नापिन्न भन्ने पनि पुष्टी भैसकेको छ । लाखौंलाख मान्छेको मनमा निकै शान्तपूर्वक कसरी बस्न सकिने रहेछ भन्ने पुष्टी उज्ज्वलले आज गरेका छन् ।

‘कुरा कम, काम बढी’को नारा लिएर भीडमा जाने उज्ज्वल पार्टीगत कुरा गर्दा औंला भाँचेरै भन्न सकिन्छ । कांग्रेसमा गगन थापा मात्रै हुन् त नेता ? विवेकशिल साझामा रन्जु दर्शना मात्रै ? एमालेमा रामकुमारी झाँक्री अथवा विवेकशिलमा उज्जवल थापा(स्व) ? अथवा अहिले नाम लिन मन लाग्नेमा राप्रपामा नेपालगंजका मेयर धवलशमशेर वा राष्ट्रिय जनता पार्टीमा कोहि न कोहि ?

नेता भनेर नाम कसको लिने ? पर्खाल मन्त्री बलबहादुर केसी, पानी–टेंकी मन्त्री इश्वर पोखरेल, त्रिपाल मन्त्री रामशरण महत, कार्बनडाइअक्साइड मन्त्री प्रेम आले वा मुसा मन्त्री राजेन्द्र महतो ? अथवा कृषि मन्त्री हरिप्रसाद पराजुली ? साँच्चिकै आदर्श कसलाई मान्ने ?

विश्वमैं नाम कमाएका नेत्र चिकित्सक डा. सन्दुक रुइत भन्छन्— नेपाल एकदमैं सानो छ, यहाँ धेरै काम गर्नैपर्दैन । थोरै गरेपनि काफी हुन्छ । हो पनि । कांग्रेसका नवीन्द्रराज बितेर गए, तर तिनले उद्योग मन्त्री छँदा गरेको एउटै काम बन्द भएको सिटामोल कम्पनी संचालनमा ल्याएर नेपालीका घरघरमा सिटामोल औषधी पुर्याउन थालेका मात्रै हुन् । उनको नाम आज पनि काफी छ । जहिल्यै ब्रिदोह र बिद्रोही कुरा गर्ने (पूर्व) माओवादी नेता वावुराम भट्टराईले के पो गरेका हुन् र ? उनले काठमाडौंमा लालपुर्जा र कागजअनुसार नै सडक बिस्तार गरेका हुन्, उनको जति ननिको बानीबेहोरा भएपनि जनसाधारणले सम्झन्छन् नै ।

तर यो सम्झनामा राख्ने भन्नेबित्तिकै झापा आफ्नो निर्वाचन क्षेत्रमा संसारकै ठूलो बुद्ध मूर्ति बनाउने वा बाल प्रज्ञा प्रतिष्ठान उभ्याउन चाहने केपी ओलीलाई किन सम्झने ? खोइ त उनको सपनाको चुच्चे रेल ? घरघरमा ग्याँस र पूर्व–पश्चिम रेल्वे कहाँ छ ? पानी जहाज र नेपाली रकेट प्रक्षेपण कहाँ पुग्यो ? तर, केही कामै नगरी र जनमत बनाउनै नपाइ पनि उज्वलले जेजसरी जनजनको मनमा भिज्न सक्ने ‘अदा’ देखाएका थिए, त्यो आफैंमा उल्लेख्य छ ।

पत्रकार एवं हाल नागरिक अभियन्ता नारायण वाग्ले भन्छन्—‘अल्पायू रहेछ तर, उनको परिवर्तनको मूद्धाले प्रेरित युवा आगोलाई दिर्घायू दिनेछ । पार्टी छाडेपछि सडकमैं रहेका उज्जवल थापासँग पछिल्ला दिन हामी एकसाथ मार्चपास गर्दै थियौं, सधैं नियास्रो लाग्ने गरी उनलाई ४४ वर्षमैं कोभिडले चुँड्यो । सपनाझैं हुन पुगेका ती पाइलाको सम्झनासहित अलबिदा अभियन्ता ।’

अर्का मुटु चिकित्सक डा. रामेश कोइराला भन्छन्—‘निक्कै कुरामा सहमती तथा थोरैमा असहमतीका साथ केसीको आन्दोलनमा पटकपटक भेट भएका अनि भुईचालोपश्चात दिनरात घरलाई नै राहत संकलन केन्द्र बनाएर निस्वार्थ खटेका ती मानिस मेरा लागि ‘अपोलिटिकल आइडल’ (गैर–राजनीतिक आदर्श) हुन् र, तिनको यो देश बनाउने हुटहुटीको दियो जलिरहोस् ।’

तपाइँको प्रतिक्रिया

फेसबुक