मंगलबार, वैशाख ११, २०८१

एनआरएनको साख राख्यो अफ्रिकाले

नेपालप्लस संवाददाता२०७८ जेठ १९ गते १६:५२

दुरदराज र थोरै संख्यामा रहेका अफ्रिकाका विभिन्न देशका एनआरएनए शाखाहरुले भर्खरको कोरोना संक्रमणका बेला समग्र एनआरएनएको साख राखेका मात्रै छैनन्, जन्मभूमीलाई गाह्रोसाह्रो पर्दा तिनको दुखमा भित्रैदेखि साथ दिन्छन् भन्ने उदाहरणपनि देखाइदिएका छन् ।

अक्सिजन अभावको बिपतमा देशका ११ जिल्लाका २६ अस्पताल र स्वास्थ्य केन्द्रमा सोझै १२५ अक्सिजन सिलिन्डर खरिद सहित १०२५ रिफिल अक्सिजन सिलिन्डर गरि ११५० थान अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री सोझै अस्पताल र स्वास्थ्य चौकीहरुलाई हस्तान्तरण गरेका छन् ।

प्रत्यक्ष रुपमा बिरामीलाई सोझै पुगिसकेको एनआरएनएको यो पहिलो सहयोग हो । संघले इलाम, बाराको सिमरा, चितवनको रत्ननगर, पुर्व नवलपरासीको रजहर, पश्चिम नवलपरासीको परासी, चौपत्ता र चिसापानी, पाल्पाका तानसेन लगायत दसै पालिकाहरु, स्याङ्जाको वालिङ्ग र गुल्मीका जोहाङ्ग र भर्से अस्पताल र स्वास्थ्य चौकीमा अक्सिजन ग्याँस सहितका सिलिन्डरहरु हस्तान्तरण गरिसकेको छ ।

त्यसैगरी, कैलालीको टीकापुर अस्पताल, अछामको बयलपाटा र मङ्गलसेन अस्पतालमा ग्याँस सिलिन्डर र कैलालीको जानकी गाउँ पालिकामा स्वास्थ्य सामाग्री पुर्याएको संघका अफ्रिका संयोजक रोशन थापाले जानकारी दिए ।

आज बुधवार (जेठ १९) मात्रै संघले जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानमा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ । कर्णाली प्रदेशको जुम्लामा एनआरएनएको यो पहिलो सहयोग हो । संयोजक थापाका अनुसार यो हप्ता थप कर्णालीको मुगु, बाँकेको नेपालगन्ज र पर्सा जिल्लामा अक्सिजन सिलिन्डर पठाउने प्रयास गरिंदैछ ।

यो अभियानमा सेसेल्स अध्यक्ष रामप्रसाद पन्तले चितवन, कङ्गो अध्यक्ष अमृत क्षेत्रीले लुम्बिनी प्रदेश, बोत्स्वाना अध्यक्ष पदम भन्डारीले गुल्मी, मोजाम्बिक अध्यक्ष देवी पौडेलले पूर्व नवलपरासी, युगान्डा अध्यक्ष बिनोद थापाले बारा र पर्सा, आइभोरीकोष्ट अध्यक्ष कृष्ण डुम्रेले स्याङ्जा र अफ्रिका, एन आर एन ए अफ्रिका क्षेत्रिय संयोजक रोशन थापाले इलामको संयोजन र कर्णाली र सुदुर पश्चिम प्रदेशको संयोजन अफ्रिका महिला संयोजक मन थापाले गरिन् ।

उनीहरुले कसरि राहत सामाग्रि तत्कालै उठाए त्योपनि अचम्म लाग्दो छ । देशको नाम लिएपनि अफ्रिकाका कतिपय देशमा एनआरएनए समिति अत्यन्तै सानो छ । जस्तो, एन आरएनए मोजाम्बिकमा जम्मा २५ जना छन् । त्यहाँ सक्रिय ब्यक्ति एक सय जनापनि छैनन् । तर मोजाम्बिकको यति सानो एनआरएनएलेपनि पूर्व नवलपरासीमा ग्याँस सिलिण्डर पठाउने जिम्मेवारी लियो ।

एनआरएनएकै कुरा गर्ने हो भने अफ्रिका महादेशभरिमा करिब १० हजार सक्रिय सदस्य छन् । तुलनानै गर्ने हो भने एनआरएनए अमेरिकामा मतदाता नामावलीमै २५ हजारभन्दा बढि छन् ।

एनआरएनए अफ्रिकाले सातै प्रदेशमा कोरोना महामारीकोलागि सहयोग गरेको छ । एनआरएनए अफ्रिकाका बिभिन्न मुलुकमा नेपालको सातै प्रदेशका नेपालीहरु छरिएकाले आफ्नो आफ्नो ठाउँलाई प्राथमिकता दिएर बाँड्दापनि सातै प्रदेश पुगेको हो ।

अफ्रिका निवाशी एनआरएनएका पूर्व केन्द्रिय कोषाध्यक्ष हिकमत थापाका अनुसार एनआरएनए अफ्रिकाको तर्फबाट कोरोना महामारीमा ३५ लाख बराबरको अक्सिजन ग्याँस र सिलिण्डर एनआरएनए अफ्रिकाले सहयोग पठाएको छ । त्यसकालागि लाग्ने ढुवानी, ब्यवस्थापन र प्रशासनिक खर्च अलग्गै छ । एनआरएनए अफ्रिकाले यसरि हरेक क्षेत्रमा सहयोग पुर्‍याउँदा अस्पतालका जिम्मेवार कर्मचारी, स्थानिय प्रतिनिधी, पत्रकार, संघसंस्थाका नेत्रित्वकर्तासमेतको संलग्नतामा पारदर्शी ढंगले बितरण गरेको छ ।

स्मरणरहोस्, नेपालमा गत विशाल भूकम्पले क्षती पुर्‍याएका बेलापनि एनआरएन अफ्रिकाले करिब एक करोड रुपियाँ सहयोग गरेको थियो ।

“हामीले चुपचाप अप्ठ्यारो परेको बेला दुर दराजका अस्पतालहरुमा सकेको तत्काल अक्सिजन राहत पुर्याएर नै छोड्यौं । यो अफ्रिकावासी नेपालीहरुको देश प्रतिको माया हो । यसमा सहयोग गर्ने र सद्भाव राख्ने सबैलाई हार्दिक आभार छ” अफ्रिका वासी एनआरएनएका पूर्व कोषाध्यक्ष हिक्मत थापाले भने ।

तपाइँको प्रतिक्रिया

फेसबुक