शुक्रबार, वैशाख ७, २०८१

प्रम ओलीलाई ‘तानाशाह’ भन्दै गोरखापत्रमा छापिएपछि ज्वाई–सासुकै जागिर धरापमा

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ जेठ २० गते १२:१२

‘पार्टी चलाउनु र सरकार चलाउनु भिन्न कुरा हुन् । अध्यक्ष ओली जनकार्य गरेर आउनुभएको होइन । त्यसैले उहाँ उन्र्तपार्टी जनबाद दिनुहुन्न । उहाँ मार्क्सवादी पनि हुन सक्नुहुन्न । जति कोशिश गरेपनि उहाँबाट मार्क्सवादी हुने अपेक्षा नगरे हुन्छ । उहाँ स्टालिनबादी हुनुहुन्छ । स्टालिनकालिन विकास विश्वको नमूना हो । तर, कम्युनिष्ट पार्टीमा उहाँ साँच्चिकै तानाशाह हो । केपी ओलीलाई पनि त्यस्तै मान्छे मान्न सकिन्छ । त्यत्तिकै कसैले छाप्न नसकेको चुच्चे नक्सा छापिएको होइन नि । पछि त्यो चुच्चो लुकाइयो भनिन्छ । होला पनि ।’

बिहिवारको सरकारी मुखपत्र दैनिक ‘गोरखापत्र’ मा छापिएको पूर्व शिक्षा मन्त्री एवं एमाले नेता प्रदीप नेपालको ‘बजेटको सन्तुलित ब्याख्या’ शीर्षक आलेखले ‘ओलीमुखी’ सत्ता र व्यक्तिको निदहराम गरिदिएको छ । आफ्नो पार्टीका भक्त तथा सेवक–हुमानहरु त्यही गोरखापत्रमा भर्ती गरेर राखेकै बेला एउटा प्रुफ रिडरदेखि सम्पादकसम्म कसैले भेउ पाउन नसकेको ‘प्रधानमन्त्री ओली खुइल्याउने लेख’ एकाएक छापिएपछि कोरोना कहरमा धेरैजनाको सातो उडेको स्थिती छ ।

‘अहिले त दलाल पुँजीवादको नियन्त्रणमा छ राज्यसत्ता । कमिसन, ठेक्कापट्टा यस्ता काममा स्वयम नेता अथवा नेताका आफन्त लागेका छन्’,भन्दै लेखक प्रदीप नेपालले यस्तै कमिसनखोरलाई पोस्ने गरी अहिलेको बजेट आएको घुमाउरो भाषामा बताएका छन् । समस्या के भने राजनीतिदेखि अर्थनीति र पद, पोष्टिङ र जागिरका सबै कुरामा ‘नाताबाद–कृपाबाद’ले स्थान पाइरहेका बेलामा अब गोरखापत्रका केही मुख्य जागिरेको पनि दिनदशा सुरु भएको देखिन्छ । योबेला पनि उही नाताबादले पद–कुर्ची जोगाएमा मात्रै हो, अन्यथा गोरखापत्र संस्थाका प्रकाशनमा रहेका राजनीतिक नियुक्तीहरुले आजभोली बिदा लिने दिन आएको संकेत छ ।

समस्या के छ भने गोरखापत्रका सल्लाहकार सम्पादक गोपाल खनाल पनि नाताबाद–कृपाबादकै कारण २ वर्षदेखि पदमा अडेका छन् । अर्कातिर, उनका साढु दाइ डा. राजन भट्टराई प्रधानमन्त्री ओलीका कुटनीतिक मामला सल्लाहकार छन् भने अर्का झापाली आफन्त इन्द्र भण्डारी पनि प्रधानमन्त्री ओलीको निकटवर्ती सल्लाहकार नै छन् । ‘मोही माग्ने ढुङ्गो लुकाउने’ नाममा चर्चा कमाएका र प्रधानमन्त्री ओली तथा पुर्व संचार मन्त्री गोकुल बास्कोटाका विश्वासपात्र कृष्णमुरारी भण्डारी अहिले गोरखापत्रमा कार्यकारी अध्यक्ष छन् ।

बिहिवार गोरखापत्रमा नेता नेपालको लेख छापिनासाथै बालुवाटारका अधिकारी तथा संचार मन्त्रालयका पदाधिकारीले कार्यकारी अध्यक्षलाई सोधखोज गर्न चाहेका थिए । तर, कोरोना संक्रमणका कारण ३ सातायता कार्यालय नआइरहेका भण्डारीले सबै मामला र अनाधिकृत लेख छपाईको जिम्मा सल्लाहकार सम्पादक खनालतिर तेर्स्याइदिएका थिए ।

खनालले आफूलाई स्पष्टीकरण आउने र जागिरै जाने संकेत पाएर संचार मन्त्रालयमा प्रेस सल्लाहकार रहेका कान्तिपुर दैनिकका पुर्व दोलखा संवाददाता राजेन्द्र मानन्धरसँग पनि बिहिबार दिउँसो हारगुहार गरेका थिए । ‘तर, सल्लाहकार सम्पादक खनाल तथा उनका साढु डा. भट्टराईसमेतकी सासु सुमित्रा सुवेदीको नाम पनि यो प्रकरणमा तानिन सक्ने देखिन्छ,’ संचार मन्त्रालयका एक अधिकारीले भने—‘आफ्नी सासुलाई जेजुनै देशको भएपनि राजदूत बनाएर छाड्ने भन्दै लबिङ गर्नेमा बालुवाटारबाट ज्वाई डा. भट्टराई र बाहिरबाट अर्का ज्वाई सल्लाहकार सम्पादक खनाल थिए । एउटा माध्यमिक बिद्यालयकी अवकाशप्राप्त शिक्षिकालाई डेनमार्कको राजदूत सिफारिश गरिएपछि उब्जिएको विवादका बीचमा दुइ ज्वाई (खनाल र भट्टराई) को ‘लबिङ’ समेत कमजोर बनेको देखिन्छ । अब गोरखापत्रको लेखकै कारण ज्वाई गोपाल खनाल र सासु सुमित्रा सुवेदीसमेतको राजनीतिक पद खोसिने स्थिती देखिएको छ ।’

झापा घर भएका सल्लाहकार सम्पादक खनाल २०१५ डिसेम्बरमा प्रधानमन्त्री ओलीका विदेश मामला सल्लाहकार थिए । ओलीकै दोस्रो कार्यकालमा भने २ वर्षयता गोरखापत्रको सल्लाहकार सम्पादक रहीआएका छन् । उनी त्यसअघि कान्तिपुर दैनिकमा एक दशकदेखि सम्बद्ध थिए ।

यसैसित संवन्धित यो समाचारपनि पढ्नुस्

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारकी सासुलाई बक्सिसमा राजदूत पद : कुटनीतिमा फेरि सासु–राजदूत शुरु

तपाइँको प्रतिक्रिया

फेसबुक