बिहीबार, वैशाख १३, २०८१

ओली मन्त्रीमण्डल : हैसियत कामचलाउ, पदभार मनपरी

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ जेठ २१ गते १९:०३

Photo credit-nepalbahas.com

‘मलाई पद र शक्तिमा मोह छैन’ भनेर फलाकिरहने ६९ वर्षे प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ अचम्मै गरे । धेरैले नसोचेको र नठानेको स्वरुपमा मन्त्रीमण्डलमा हेरफेर गरे । खाँदैबस्दै आएका ९ मन्त्री र ३ राज्यमन्त्रीको पद खोसियो भने एमालेभित्रै क्याम्प फेर्नेहरु पनि मन्त्रीको भाग खान आइपुगेका छन् ।

यसपटक आश्चर्य के छ भने हिजोसम्म माधव नेपाल गुटका भनेर चिनिने रघुबीर महासेठ र शेरबहादुर तामाङ मन्त्रीको कुर्सीमा पुगेका छन् भने ‘म जहिल्यै एन्टी–करेन्ट’ भन्ने हावादारी कृष्णगोपाल श्रेष्ठको शिक्षा मन्त्रीको पद थामिएकै छ । राम्रो काम गर्नेमध्येका वसन्तकुमार नेम्वाङको भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको कुर्सी थामिएकै छ भने लीलानाथ श्रेष्ठको मन्त्री पद पनि कायमै रह्यो।

अल्पमतमैं भएपनि बार्गेनिङ र सत्ता खेलकुदमा पासो थाप्नका लागि ओलीले रक्षा, गृह, सञ्चार, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन जस्ता मन्त्रालय आफैसँग राखेका छन् । यसअघिसम्म माधव नेपाल समुहमा रहेका रघुबीर महासेठ बिशुद्ध ब्यापारी हुन् । तिनले परराष्ट्र मन्त्रालयमा गएर अब कोरोना भ्याक्सिनको ब्यापार गर्न सक्छन्, अरु त्यस्तै हो । यसअघिको टिममा रघुबीरकी श्रीमती जुली महतो महिला मन्त्री थिइन् ।

बिना बिभागीय भएपनि प्रधानमन्त्री ओलीका हतौडी बनेर निर्लज्जै बसिरहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल पनि पदबाट हटाइए । पछिल्ला समयमा राजदूत नियुक्ती र कुटनीतिक मर्यादालाई नाघेको अर्थमा बदनाम हुने क्रम सुरु भएपनि धेरथोर काम गर्ने परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली पनि हटाइने सूचीमा परेका छन् ।

आश्चर्य यो छ कि भारतले २०७२ सालमा नाकाबन्दी लगाउँदाताका पहिलोपटक प्रधानमन्त्री रहेका ओलीको पुत्ला जलाउने र संविधानका पाना च्यात्ने अग्रगामी नेता मध्येका एक थिए— राजेन्द्र महतो । आज तिनै महतो उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री बनेका छन् भने प्रधानमन्त्री ओलीले हतारमैं शुक्रबार साँझको बीबीसीलाई भन्न भ्याएका छन्—‘भारतसँग केही असमझदारी थिए, तर अब त्यो हटेको छ ।’

कतिसम्म भने परराष्ट्रजस्तो संवेदनशिल र अहम् महत्वको स्थानमा प्रधानमन्त्री ओली एउटा बिशुद्ध ब्यापारी रघुबीर महासेठलाई लगेर पदस्थापन गरेपछि यो सरकारको आकारप्रकार र ‘डिजाइन’ पनि स्पष्ट बनेको देखिन्छ । संयोगले जनता समाजबादी पार्टीको महन्थ ठाकुर पक्षका सबै मन्त्रीहरु बुझ्ने भाषामा ‘मालदार मन्त्रालय’मा पुगेका छन् भने अझै पनि आफ्ना विश्वासपात्र गोकुल बास्कोटा, महेश बस्नेत, रामबहादुर थापा (पुर्व माओवादी) सहितलाई मन्त्रीमण्डलमा ल्याउने योजनामा ओली रहेको उनकै पार्टीपंक्तिका नेताले बताएका छन् ।

अल्पमतको सरकारको हैसियतबारे अदालतमा मुद्धा चलिरहेका बेला र आगामी कात्तिक–मंसीरमा मध्यावधी निर्वाचन घोषणा भैसकेका बेला ओलीले आफ्नो पतनको बाटो आफैं रोजेको देखिन्छ—यो मन्त्रीमण्डलको आकारप्रकार हेर्दा । कहिले चुच्चे नक्सा त कहिले रामसीता मन्दिर र कहिले आफ्नै पानीजहाज त कहिले पुर्व–पश्चिम रेल्वेको कुरा गरेरै खोक्रो राष्ट्रबाद उभ्याइरहेका ओली यसरी ‘मकै ढोडको आड लिएर’ सरकारमा बसिरहेका छन् कि अब चुनाव भैहालेमा पनि ओली पक्षधर एमाले पार्टीको नामनिसान नरहने संकेत स्पष्ट भैसकेको छ ।

पद खोसिनेहरु

१-उपप्रधानमन्त्री इश्वर पोखेरल
२-परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली
३-स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्दयेश त्रिपाठी
४-भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फे
५-सूचना तथा संचार मन्त्री पार्वत गुरुङ
६-वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले
७-महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो
८-संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश ठकुन्ना
९-शहरी विकास राज्यमन्त्री रामबीर मानन्धर
१०-उद्योग राज्यमन्त्री बिमला बिक
११-स्वास्थय राज्यमन्त्री नवराज राउत
१२-संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री भानुभक्त ढकाल
१३-कृषि तथा पशुपक्षी विकासमन्त्री पद्य्माकुमारी अर्याल

कोको भए मन्त्री ?

१- केपी शर्मा ओली-प्रधानमन्त्री तथा; उध्योग, वाणिज्य तथा आपूर्ती, क्रिषी तथा पशुपन्छी विकास, ग्रिह, रक्षा, वन तथा वातावरण, संघिय मामिला तथा सामान्य प्रशासन, सन्चार तथा सूचना प्रविधी
२- विष्णु प्रसाद पौडेल- उपप्रधानमन्त्री- अर्थ
३- रघुविर महासेठ- उपप्रधानमन्त्री- परराष्ट्र

४- राजेन्द्र महतो- उपप्रधानमन्त्री- शहरी विकास

(मन्त्री)

५-शरदसिं भण्डारी- उर्जा, जलस्रोत तथा सिंचाई
६-क्रिष्णगोपाल श्रेष्ठ-शिक्षा, विज्ञान तथा प्रविधी
७-अनिल कुमार झा-खानेपानी
८-शेर बहादुर तामाङ- स्वास्थ्य तथा जनसंख्या
९-लक्ष्मणलाल कर्ण- भूमीब्यवस्था, सहकारी तथा गरिवी निवारण
१०-वसन्त कुमार नेम्वाङ-भौतिक पूर्वाधार तथा यातायात
११-लिलानाथ श्रेष्ठ- कानुन, न्याय तथा संसदिय मामिला
१२-विमल प्रसाद श्रीवास्तव- श्रम, रोजगार तथ्या सामाजिक सुरक्षा
१३-उमाशंकर अरगरिया-संस्क्रिति, पर्यटन तथा नागरिक उड्डयन
१४-चन्दा चौधरी- महिला, वालवालिका तथा जेष्ठ नागरिक
१५-एकवाल मियाँ- युवा तथा खेलकुद

राज्यमन्त्री

१६-चन्द्रकान्त चौधरी- उर्जा, जलस्रोत तथा सिंचाइ
१७-रेणुका गुरुङ-महिला वालवालिका तथा जेष्ठ नागरिक

तपाइँको प्रतिक्रिया