बिहीबार, वैशाख १३, २०८१

शनिवार- साहित्य / सृजना / नियात्रा

महासम्मेलनमा बाबु–छोेरीका प्रस्तुति

डा. गोबिन्द राज भट्टराई२०७८ जेठ २२ गते १७:४१

(शिलाङ, तेजपुर, गुवाहाटी यात्रा : काठमाडौंदेखि एनजेपीको पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, दोस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  तेस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  चौथो भाग हेर्न यहाँ क्लिक गर्नुहोला, पाँचौं भागकालागि यहाँ क्लिक गर्नुहोला र छैठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, सातौं भागकालागि यहाँ क्लिक गर्नुहोला, आठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, नवौं भागकोलागि यहाँ क्लिक गर्नुहोला )

चिसो बढेको छ । कति त बूढापाका छन् प्रस्तोताहरू ।तर तिनीहरू आनन्दले, नयाँ भेटघाटको हर्षले उत्तेजितझैँ छन् । कसैलाई आफ्ना बारेमा सबै कुरा खोलौँ हुन्छ । कसैलाई एक्लै बसौँ केही नबोलौँ हुन्छ । कोही अलिक उत्ताउलाजस्ता हुन्छन् । नवीनताको स्पर्शले, त्यसमाथि आतिथ्यको आनन्दले यस्तो पारेको होला ! मैले पनि अनगिन्ती यात्रा गरेँ हुँला– देहरादुन र शिलाङको यात्रासँग कुनै यात्रा तुलनीय छैन जस्तो लाग्छ ।

त्यो बेलुका अत्यन्तै सादा खाना दालरोटी–चावल–सब्जी खायौँ । त्यसपछि सुत्ने बेला त भएको थियो परन्तु मनमा एक प्रकारको चिन्ता र उद्विग्नता उत्पन्न भयो । यस्ता सम्मेलनमा प्रस्तुत हुन थालेको तीन दशक पुग्यो । तर जहिले पनि कार्यपत्र प्रस्तुतिको समय सम्झेपछि, त्यो नजिक आएपछि, परीक्षा दिने दिनको विद्यार्थीको जस्तो मनस्थिति हुन्छ । मेरो समय कम्ती हुन्छ कि ? श्रोताले हल्ला गर्ने हुन् कि ? पावरपोइन्ट बनाउन भ्याइनँ, अलिक बुझाउन मुस्किल पर्छ कि ? यी बूढा प्रोफेसरहरूले कडा प्रश्न सोधेर र्‍याखर्‍याख पो पार्छन् कि ? मेरो अध्ययन अझै पुगेको थिएन । त्यसमाथि मेरो भावना नबुझ्ने टिप्पणीकर्ता उभिने हुन् कि ?

यस्ता प्रश्न–लहरी निकै मडारिएपछि सोचेँ— नेपाली प्राज्ञिक जगतको, विश्वविद्यालयको र अझ देशकै इज्जतको कुरा छ । आजलाई सुतौँ । बिहान एकपल्ट फेरि दोेहोर्‍याउनुपर्छ । नित्य यस्ता तर्कनाको लहर चल्ने गर्छ । सुत्न खोज्छु; नसकिने गरी तरङ्ग चल्छ । ‘यो व्यर्थ हो साइँला, तैँले संसार विजय गरेर आइस्, किन काम्छस्’ भन्छ एक मनले । तर अर्काे मन मध्यरातसम्म पनि कम्पनमै हुन्छ । एक अग्निपरीक्षा— मूल कारणचाहिँ भारतीय/बंगलादेशी विद्वानका सामु उत्पन्न हुने मनोवैज्ञानिक अन्तर । हामीले ससाना नदीमा पौडी खेल्न सिकेका हुन्छौँ यहाँ । उता उनीहरू विद्यासागरमा पौडिनेहरू ।

वर्षौंदेखिका महासम्मेलनहरूमा आफ्ना उपस्थितिहरूका सम्झना गरेपछि मन अलि हलुङ्गो भयो र निद्रा उत्पादित विस्मृतिकेन्द्रमा डुबेँ । अनि एक झप्को लामो बेहोसी काट्नासाथ फ्रुट गार्डेनको चिसो प्रभातले ब्यूँझायो । उठेर हामी सल्लेरीको शिरको सम्झना गर्दै मात्र थियौँ । प्राङ्गणमा वाहन पसेको सूचना आयो । एकएक कप तातो चियापान पश्चात् हामी झर्‍यौँ र चढ्यौँ । म डाक्टर कमलसित बसेँ— उनी बंगलादेशका एक ठूला एक्टिभिस्ट र चटगाउँका सङ्घर्षशील जातिका पक्षधर रहेछन् । सन् १९७१ को बंगलादेश निर्माणमा उनीहरूको कत्रो बलिदानी सङ्घर्ष थियो ? पछि बंगलादेश निर्माण भएपछि उनीहरू (जातीय समूह) किन उपेक्षित भए ? कसरी आन्दोलनमा उत्रिए ? कसरी राज्यको अत्याचार खप्न नसकी लाखौँ व्यक्ति भारतका अन्य स्थानमा देशरहित भई भड्किएर पसे ? आज चालीस वर्ष पुगे तापनि तिनको सङ्घर्ष रोकिएको छैन । यद्यपि सन् १९९७ मा एक शान्ति सम्झौता भएको थियो । तर यस्ता विषयमा एक्टिभिस्टका र सरकारका अडान बेग्लाबेग्लै हुन्छन् । दुवै अर्धसत्य हुन्छन् । यो दृष्टिकोणको भेदले हो ।

यसरी उनले एक आन्दोलनकारीको दृष्टिले अत्यन्तै शान्त स्वरूप धारणा गर्दै बंगलादेश सरकारले उपेक्षा गरेका एक जातिको, तिनीहरूका सङ्घर्षको र तिनीहरूले गरेका परिचय खोजीको कथा सुनाउँदा डेढ घण्टा बित्यो । उनको मनमा कत्रो गुम्फन थियो । अन्त्यमा मलाई लाग्यो— सत्यको एउटा पक्ष र पाटो राम्ररी सुनेँ अनि देखेँ । परन्तु सरकारको दृष्टिकोण के कस्तो रहेको होला ? किन यो आन्दोलन र असन्तुष्टि नसेलाएको होला ? कि यिनीहरूको विखण्डनवादी (सेपारेटिस्ट) सङ्घर्षले राष्ट्रविरोधी रूप (समाजको दृष्टिकोणमा) लिएर पो हो कि ? ‘विखण्डन’ शब्दलाई फेरि कसरी हेर्ने ? यसका दुई पक्षीय परिभाषा छन् । यो विखण्डन र नवनिर्माण दुवै हो । ती कुरा मैले उनलाई सोधिनँ । तर उनले आफ्ना जातिमाथि सरकारले निरन्तर हत्या, बलात्कार, लुटपाट, अवज्ञा, आगजनी गर्दै, तिनीहरूलाई विस्थापित गर्दै समाप्त गर्न खोजेको बताए । तर के ती कर्महरू दोहोरै भएनन् होला ? हाम्रै देशमा भएको माओवादी सङ्घर्षमा दुवैै पक्षले गरेका अत्याचार र तिनीहरूले आफ्नो स्थितिबाट गरेको आआफ्नो भाषाको प्रयोगप्रति हामी अनभिज्ञ छैनौँ ।

अन्त्यमा उनले भने— हेर्दाहेर्दै एक दिन श्रीलंकामा प्रभाकरण समाप्त पारिए र उता शान्ति स्थापना भएको प्रचार गरियो । हाम्रोमा त्यही स्थिति दोहोरिने सम्भावना देखियो र त्यसैले नेपालको द्वन्द्वको स्थितिबाट शिक्षा लिएर हामी अघि बढ्नेछौँ । उनले नेपालको माओवादी सङ्घर्षको परिणामबाट शिक्षा लिनेछौँ भने । त्यसको आशय स्पष्ट पार्न भ्याएका थिएनन् । तर त्यसै बीचमा प्रसङ्ग उठाए— तपाईंको देशमा चुनाव आउनै लाग्यो, कसले विजय प्राप्त गर्ला ?

मैले भनेँ— म कसरी भन्न सक्छु ? एक महीनादेखि यताको कार्यपत्रमा डुबेको थिएँ । फेरि बहुदलीय प्रणालीको स्थापना न्यूनतम आधार भएकाले जसले जितोस् केही फरक पर्दैन । सबैको लागि जित्न–हार्न सक्ने सम्भावना र स्पेस सुरक्षित छ । अधिनायकवादमा मात्र ती सम्भावना टालिएका हुन्छन् । त्यहाँ दलहरू हुने छैनन् । सधैँ निर्दलको एकपक्षीय विजय भइरहन्छ । बहुदलीय संविधान भनेको प्रजातन्त्रको प्रवेशद्वार हो, स्वतन्त्रताको पनि । त्यसैले नेपालको स्थितिबारे मलाई चिन्ता छैन । प्रजातान्त्रिक प्रणाली स्थापित होस् । त्यसको विजय होस् । नेपाली कांग्रेसले नै जित्नु पर्दैन जस्तो लाग्छ । तर साम्यवादी दलहरूको गन्तव्य चाहिँ अधिनायकवाद नै भएकाले यो स्वतन्त्रतालाई उनीहरूले एउटा माध्यम मात्र बनाउँछन् । मानिसलाई झुक्याउन त्यसो पनि भन्दछन् । माओवादीले पनि जनतालाई त्यस्तै वचन र आश्वासन दिएर अघि लामो सङ्घर्षबाट अवतरण खोजेका थिए । यो हाम्रो तात्कालिक लक्ष्य हो । उनीहरूलाई थाहा थियो, जनताले खोजेको कुरा त बहुलता नै हो जहाँ प्रत्येक (व्यक्ति, जाति, वर्ग) ले आफ्नो स्पेस सुरक्षित गर्न सकोस् ।

तर प्रजातन्त्रका सामु सबै गल्छन् । ठूलाठूला सम्राट् लडेका छन्, साम्राज्य ढलेका छन् । त्यो देखेर नै माओवादीले चुनावी प्रतिस्पर्धामा भाग लिएका हुन् । भाग लिन बाध्य भएका हुन् । लिँदै छन् । अबको समयमा सामूहिक हिंसा र विद्रोहको अडान धेरै टिक्न सक्तैन । त्यस कारण ठान्नोस् नेपाली प्रजातन्त्रको स्थापना र त्यसको व्यवहारीकरण हुनेछ, अरू विकल्प छैन । तसर्थ यहाँ मैले भोट खसाल्ने पार्टीले जित्नुपर्छ भन्ने मूढाग्रह पाल्नु व्यर्थ छ । बहुलताको विजय हुनुपर्छ । बहुदलको हुनुपर्छ । बस त्यति ! मैले यत्ति बोलेँ ।

उनले ‘नेपालको माओवादी सङ्घर्षबाट शिक्षा लिएर’ भने तर त्यो शिक्षा के थियो भन्न सक्तिनँ । शायद यही शिक्षा थियो होला । अहिंसाको र प्रजातन्त्रको पक्ष रोज्नु, समन्वय र सर्वअस्तित्व स्वीकार गर्नु । त्यसो त उनीहरूले जनतालाई ठूलाठूला वाचा दिएका हुन्छन् । तत्काल तिनबाट विमुख हुन गाह्रो छ । भ्रमका वासना बिस्तारै कम हुँदै जालान् । तर तत्काल त तिनै मूल्यतिर सङ्केत गर्दै अन्य उपायको शरणमा जानुपर्छ । उनीहरू एक विरोधाभासपूर्ण स्थितिमा बाँचिरहेका छन् ।

त्यसको दुई महीना पश्चात् काठमाडौँ आएर प्रा. कमालले मलाई फोन गरे । भेट्न गएँ । त्यो त इन्डिया र बंगलादेशका एक्टिभिस्टहरूले काठमाडौँमै तीनदिने सम्मेलन गरी फर्किने दिन थियो । ती एक्टिभिस्ट मात्र थिएनन् आतङ्ककारीकै सूचीमा थिए । किन यस्तो ? मैले सोधेँ । उता (भारतमा पस्नलाई) भिसाको समस्या झन्झटिलो छ— उनले भने । मलाई लाग्छ कति भिन्न सार्क (तथा) अन्य मुलुकको भूस्वर्ग नेपालमा यस्तो भइरहँदो होला । यो बात परराष्ट्र जानोस् ।

प्राध्यापक कमालले शिष्ट वाणीमा, शान्त स्वरूपमा अझै वार्ता लम्ब्याउने इच्छा गरेका थिए । तर शिलाङ डाँडाको सल्लेरी कट्नै लाग्यो, हाम्रो एफ्लु भवन देखियो । घाम झलमलाएको आँगनमा नयाँ वस्त्रमा सहभागी देखिए । युवायुवतीहरू खासी, मणिपुरी, असमेली, बंगाली आदि परिधानमा देखिए । हामी ओर्लिएपछि हेर्‍यौँ— सामुन्ने टाँगिएको विशाल रंगीन पन्डालतिर अतिथिहरू ब्रेकफास्टको लाममा उभिएका थिए । हामी पछि लाग्यौँ ।

प्लेनरीबाटै सेसन आरम्भ भयो । पहिलोमा (चियापानको लाममा सहभागी) प्रा. वीएन पटनायकले आफ्नो प्रस्तुति राखे । एक घण्टापश्चात् मेरो पालो आयो । सरासर स्टेजमा चढेर म दृढतापूर्वक उभिएँ । नेपालबाट आएको वक्ता कस्तो होला भनी सबै सुन्न उत्सुक थिए । हल टनाटन भरिएको थियो । अघिल्लो दिनको प्रस्तुतिमा देखेँ— कसैको मोबाइल बज्दैन, बसेका कोही हल्लिँदैनन्, साउती गर्दैनन्, कोही उठ्तैनन्, खोक्तैनन्, भाग्दैनन्, थपिँदैनन् । निस्तब्धझैँ अनुशासनमा प्रस्तुति चलेको छ ।

आज ठीक त्यस्तै वातावरण स्थापित छ । तर मैले उठेर पहिले अलिकति आफ्नो स्थिति स्पष्ट पार्नु थियो र भन्दै गएँ (अंग्रेजीमा)—
आदरणीय सेसनाध्यक्ष, विद्वद्वर्ग, सम्पूर्ण सहभागीहरू म नेपाल देशका तर्फबाट त्रिभुवन विश्वविद्यालयको प्रतिनिधि भई यहाँ उपस्थित भएको छु । म त्यहाँको अंग्रेजी प्राध्यापक हुँ । सर्वप्रथम मेरो देशका तर्फबाट न्यानो अभिवादन र प्रेमपुष्प स्वीकार गर्नुहोला । त्यसो त मेरो शिलाङ आगमन यो प्रथमपल्ट होइन, यसअघि २००९ मा पनि यहाँ आएको थिएँ ।

यहाँस्थित पूर्वाेत्तर पार्वत्य विश्वविद्यालय (नर्थ इस्टर्न हिल युनिभर्सिटी— नेहु) द्वारा आयोजित भाषाविज्ञान विषयक एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने निमन्त्रणा प्राप्त भएकाले यहाँ आएको थिएँ । मार्च ८–२० मा भएको सो सम्मेलनमा विश्वभाषा एवं पूर्वाेत्तरका भाषा विषयक महासम्मेलनका अवसरमा भाग लिन आर्यभारोपेली भाषापरिवारमा साहित्यिक अनुवादको आदान–प्रदान शीर्षक कार्यपत्रसँग म यहाँ आएको थिएँ । यसका लागि मेरा सहकर्मी भाइ लेखनाथ शर्मा पाठकले प्रेरक र मार्गदर्शकको भूमिका खेल्नुभएको थियो । त्यस यात्राको अविस्मरणीयताको म व्याख्या गर्न सक्तिनँ । ती पाँच दिनका स्मृतिहरू अमर एवं जीवन्त भएर बसेका छन् । यो अतीव सुन्दर पार्वत्य प्रकृतिको मोहकताले प्रभावित भएँ । मेरो स्मृतिमा रहेको शिलाङको एउटा सूक्ष्म चित्र प्रस्तुत गर्न चाहन्छु (मैले उक्त यात्रामा आधारित केही निबन्ध प्रकाशित गरेको थिएँ; अंग्रेजी र नेपाली दुवैमा, सो सभामा पूर्वको स्कटल्यान्डमा शीर्षक एक निबन्धको निम्न अंश अंग्रेजीमा प्रकाशित ‘अ ड्रिमलेस नाइट इन द स्कटल्यान्ड अव् दी इस्ट’ शीर्षक निबन्धबाट पढेर सुनाएँ) ।

साँझ पर्दा गन्तव्यमा पुग्यौँ । दम्स्याइलो जमिनको दायाँबायाँ दुवैतिर अनन्तसम्म फैलिएको सल्लेरी, त्यसको भित्रभित्रै लुकेर बसेका राम्रा भवनहरू आधुनिक र स्थानीय लाग्ने रङ्गका, उचाइका । सल्लेरीको भित्रभित्रै कालो बाटो सुटुक्क छिरेर कुदेको । डाँडाको टुप्पामा बसेको भव्य गेस्ट हाउस । त्यहाँ स्वागतार्थी उभिएका थिए । ठूलो आँगन, पार्किङ, आधा ढाकेर बसेका गमला र बहुरङ्गी फूल । भित्रको हल त्यस्तै टकटकाउँदो र सफा । भव्य शैलीका थोरै फर्निचर, त्यस्तै रहस्य छोप्ने र उघार्ने जस्ता पर्दा । पस्न पनि धक लाग्ने जस्तो ठाउँ । छेउको डाइनिङ हलबाट बास्ना छुटिरहेको (नेपाली नियात्रा : पृ १३०) ।

त्यसपछि श्रोतापट्टि फर्केर प्रश्न गरेँ— यो कहाँको चित्र होला ? उनीहरूले भने— ‘दिश इज द पिक्चर अव् शिलोङ’ । यो मेरो प्रथम शिलाङ यात्रासम्बन्धी अनुभूतिचित्र थियो । त्यसपल्टको शिलाङ यात्राको अरू एक महत्वपूर्ण उपलब्धि छ । यहाँ मैले शिलाङस्थित नेपाली समाजका स्रष्टा, बौद्धिक एवं शिक्षाविद्सित पनि सम्पर्क गर्ने र एक साहित्यिक कार्यक्रममा भाग लिने अवसर पनि प्राप्त गरेको थिएँ । ती विद्वान् भाइ हुनुहुन्थ्यो— सलील ज्ञवाली । उहाँले लामो अध्ययन–अनुसन्धानद्वारा तयार पारेको ग्रेट माइन्डस् अन इन्डिया नामक सङ्ग्रह प्रकाशोन्मुख अवस्थामा थियो । विश्वविख्यात स्रष्टा, चिन्तक र दार्शनिकले भारतवर्षको विषयमा व्यक्त गरेका ती मत, धारणा र उक्तिहरू पढेर म अति प्रभावित भएँ । उहाँले पनि त्यसलाई नेपालीमा अनुवाद गर्न पाए यसबाट हाम्रो जातिको ज्ञान र चेतनाको विस्तारमा ठूलो सहयोग पुग्ने थियो होला भन्ने भावना प्रकट गर्नुभयो । मभित्रको अनुवादकले त्यसको हार्दिक प्रशंसा गर्‍यो र नभन्दै म त्यस कर्ममा संलग्न भएँ । मलाई पूर्वीय सभ्यता (शीर्षकमा कृति अनुवाद) सम्पन्न गर्न तीन वर्ष लाग्यो । त्यसको भूमिकामा नै मैले आफ्ना धारणा, उद्देश्य र प्राप्तिका विषयमा हर्षित हुँदै लेखेको छु—

हे विद्वद्वर्ग, मैले ग्रेट माइन्डस् अन इन्डियाको नेपाली अनुवाद गर्नुका पछि केवल नेपाली पाठकलाई ज्ञानको त्यो विपुल राशिको प्रकाश देखाउनु थिएन, अपितु त्यसको लक्ष्य त नेपाल र भारतलाई जोड्नु पनि थियो । हाम्रो साझा अतीत वैभवतिर एक दृष्टि पुर्‍याऔँ भन्ने निवेदन गर्नु थियो । यसमा भारतीय एवं नेपाली जनताको एक विशाल साझा अतीत थियो । त्यस आध्यात्मिक एवं सांस्कृतिक अतीतले जोडिएका हामी एक थियौँ । त्यस साझा सम्पदालाई विश्वले प्रशंसा गरेको छ । आज त्यसको महत्व बढेको छ । हामी अझ नजिक आऔँ र त्यो आध्यात्मिक, सांस्कृतिक अतीतमा जोडिएर फेरि सँगै बसौँ । अब एकपल्ट त्यो वैभवशाली अतीतलाई वर्तमानमा बुझौँ । त्यसको आभाले वर्तमानलाई उज्ज्वल पारौँ । हामी यस आर्यावर्तमा एक आत्मा भएर बसौँ । मानवतावादी ज्ञान र विवेकले यी भूमिलाई पुनः सिञ्चित गरौँ भन्ने थियो । यसरी मैले नेपाल र भारतलाई जोड्ने उद्देश्यले आफ्नो जीवनका अमूल्य तीन वर्ष व्यतीत गरेको थिएँ । त्यो सुनेर सम्पूर्ण श्रोतागण उल्लसित भए र लामो ताली बजाए । अब मात्र म विषयमा बोल्न उत्साहित भएँ । एक छिन पश्चात् सो प्रतिध्वनि शान्त भयो । त्यसपछि फेरि बोलेँ—

हे विद्वद्वर्ग, त्यति मात्र होइन, मैले नेपाल र भारतलाई जोड्नका लागि गान्धीको पनि नेपालीमा अनुवाद गरेँ । त्यसतर्फ पनि मैले आफ्ना अमूल्य तीन वर्ष अर्पित गरेँ । वास्तवमा हाम्रा समयका एक महान् चिन्तक ऋषि गान्धीका अमूल्य वचनलाई त्यत्रै निष्ठा र प्रेमले अनुवाद गरेँ । यस कार्यले हाम्रो एसियामा (कमसेकम भारतवर्षमा) अहिंसा, सत्य र प्रेमको दीप जलाउन मद्दत पुगोस् भन्ने लक्ष्य थियो । नयाँ पुस्ताले गान्धीको आदर्श र त्यागलाई फेरि चिन्न सकोस् भन्ने थियो । भारतका मात्र होइन, भारतवर्षका र एसियाका मात्र पनि होइन विश्वकै एक अनन्य अग्रणीबारे हाम्रो समयलाई ज्ञान दिनु थियो । उनका आदर्श र अहिंसावादी सिद्धान्तबारे हाम्रो देशलाई सुनाउनु थियो । प्रजातन्त्र प्राप्तिको अन्तिम तर कठिन उपायबारे फेरि अवगत गराउनु थियो । यता आफ्नो देशलाई हिंसाको आगोले निलेका बेला; द्वन्द्व र युद्धले भयङ्कर सन्त्रास एवं मृत्युलीला निम्त्याएका बेला मैले गान्धीको अनुवाद गरेको थिएँ । उक्त कार्यद्वारा नेपाल र भारतका जनतालाई म नजिक ल्याउन चाहन्थेँ । र सहअस्तित्वको अन्तिम अस्त्र अहिंसा र शान्तिको महत्व चिनाउन चाहन्थेँ । मेरो कार्यको महœव समाप्त भएको छैन, कदापि हुनेछैन । गान्धीको महत्व कदापि धूमिल हुने छैन, जसरी कि बुद्धको सन्देशले हामीलाई सदैव प्रेरित गरिरहन्छ । यी दुई कर्ममा मैले आफ्ना छ वर्ष अर्पित गरेँ । त्यसपछि पुनः हलबाट प्रशंसाका तालीहरू बजे ।

गान्धीको त्यस्तो अनुवादको उद्देश्यलाई कृतिको मन्तव्यमा मैले यसरी प्रस्तुत गरेको छु—
मानवले सधैँ मुक्ति खोजेको छ । सधैँ प्रकाशमार्गमा हिँड्न चाहेको छ परन्तु सभ्यताका पथमा अधिक अवरोध छन् । धेरैधेरै अन्धकार छ । बेग्लाबेग्लै मुक्तिदाताहरू जन्मेका छन् । प्रकाशपुञ्ज उदाएका छन् । हाम्रो समयका यस्ता एक विश्वविजयी महापुरुष हुन् महात्मा गान्धी । प्रस्तुत सङ्ग्रह तिनै महात्माका अमरवाणीको सङ्कलन हो ।  यसको मौलिक रूप अंग्रेजीमा थियो । धेरै अघि गान्धीभक्त किशनसिंह धामीले मलाई यी अमरवाणीका अनुवादको कर्म सुम्पेका थिए । गान्धीवाणीलाई अंग्रेजीबाट नेपालीमा अनुवाद गरिसक्ता मलाई यो जीवनमै सर्वाधिक महत्वको कर्म सम्पन्न गर्ने अवसर मिलेझैँ लागको छ । म यसलाई गान्धीगीता भन्दछु ।

गीताले आध्यात्मिक प्रकाश दिएको छ । यतिखेर मानिसलाई अनेक ‘प्रकाशन’को आवश्यकता छ— स्वराज, स्वतन्त्रता, नारीमुक्ति, अस्पृश्यतामुक्ति, अविवेक र अनेक प्रकारका अन्धकारबाट विमुक्ति । गान्धीले ती सारा मुक्तिको एउटै मार्ग बताएका छन्— सत्य र अहिंसामार्ग अनि चारित्रिक मनोबल । गान्धीले जोगीको भेषमा लडे, त्यो लडाइँमा केवल व्यक्ति उठाउने कुरा थिएन, राष्टै उठाउनु थियो । ती कुरा अघिल्लो पुस्ताका नेपालीलाई थाहा छ । उनीहरू गान्धीवादी आन्दोलनमा लागे, लडे, कति गान्धीसमर्थक भए । नेपालमा गान्धीको गहिरो प्रभाव अद्यावधि छँदैछ । पछिसम्म रहनेछ । २०४२ सालमा भएको सत्याग्रह आन्दोलनमा गान्धी यहीं थिए । हालै सम्पन्न जनआन्दोलन–२ पनि गान्धीकै विचार–नेतृत्वले सम्पन्न भयो । विजय प्राप्त गर्‍यो । तर नयाँ पुस्तामा गान्धी–पाठकहरू कम हुँदैछन् । गान्धीप्रेमी घट्तै छन् । उनका विचार र दर्शनको आभा मधुरो हुँदैछ ।

यति बेला गान्धीको पूर्णकद चाहिएको छ । गान्धीगीतामा प्रस्तुत उनका एकएक वाणीले यति बेला आपसी द्वन्द्व र द्वेषको राँको निभाउन ठूलो सहायता गर्नेछ । मानवता, सत्य र ईश्वर चिनाउन मद्दत गर्नेछ । किनभने गान्धीले यिनै शब्दास्त्रको प्रयोगद्वारा राष्ट्रको मनोबल उठाएर मानवताको गौरव गाए र मानिसलाई मुक्ति दिलाए । सङ्ग्रहमा उनका यस्ता वाणी छन्—

-शारीरिक क्षमताबाट शक्ति उत्पन्न हुँदैन, यो त दुर्दमनीय इच्छाशक्तिबाट उत्पन्न हुन्छ ।
-नारीलाई कमजोर वर्ग ठान्नु भनेको उनीहरूको अपमान हो, यो पुरुषले नारीप्रति गरेको अन्याय हो ।
-जहाँ प्रेम छ प्रभु पनि त्यहीं छन् ।
-मानव नै सर्वाेच्च विचारणीय तत्व हो । यन्त्रले मानवअङ्गलाई क्षीण गराउन दिनु हुँदैन ।
-सत्य र सदाचारभन्दा ठूलो कुनै धर्म छैन ।
-मैले संसारलाई सिकाउनुपर्ने कुनै नयाँ कुरो छैन, सत्य र अहिंसा पर्वत जति नै पुराना कुरा हुन् ।

यस्तो सूक्तिसङ्ग्रहलाई अंग्रेजीबाट नेपालीमा अनुवाद गराउने आकाङ्क्षा लिएर धेरै दुःख, कष्ट र धैर्य गर्ने मित्र किशनसिंह धामीको म अत्यधिक प्रशंसा गर्दछु । उनको यस परिकल्पनाको अन्तिम लक्ष्य लोककल्याण थियो । मानव मात्रको मुक्ति र स्वतन्त्रता थियो । राष्ट्रले गर्नुपर्ने कार्यको अभिभारा बोक्ने किशनसिंहप्रति हामी सबैले प्रशंसा, प्रेम र सहयोगको भावना प्रकट गरौँ— म सबैसँग पुकारा गर्दछु । यो कृति प्रत्येकले पढौँ, पढाऔँ, प्रेरणा ग्रहण गरौँ— म अनुरोध गर्दछु ।

म विश्वस्त भएको छु— गान्धीगीताले हजार मनलाई परिवर्तित गरिदिन सक्छ । तिनीहरूलाई शान्तिकामी, उद्यमशील, राष्ट्रप्रेमी र सत्यप्रेमी बनाउन सक्तछ । सत्यवचन केवल सूत्रमा हुन्छ, यहाँ त्यही छ । त्यसैले मैले जीवनभरिको सम्पूर्ण निष्ठा लगाएर यो अनुवाद कार्य सम्पन्न गरेको छु । यसलाई मित्र कुमारप्रसाद कोइरालाले माझ्ने र परिष्कार गर्ने कार्यमा ठूलो सहयोग पुर्‍याउनुभएको छ । म कल्पिन्छु— यो कृति प्रत्येक नेपालीका घरमा पुगोस् । प्रत्येक नेपालीका आँखामा पुगोस् । प्रत्येक नेपालीका कानबाट हृदयमा पुगोस् । यसले जीवनपथलाई मङ्गलमय बनाउँछ । सुवासित गर्दछ । यति पृष्ठभूमि प्रस्तुत गर्दा मेरा १५ मिनेट समाप्त भएका थिए । तर मेरो शिलाङ यात्राको एउटा प्रधान उद्देश्य त भारतीय मित्रहरूलाई यी कुरा बताउनु पनि थियो ।

अब म फेरि कार्यपत्रकै विषयतिर जान चाहन्छु– यो “निमोनिक्स” भन्ने विषयमा छ । यो मेरा निमित्त अतीव नौलो हो । मेरो पठनपाठनका क्षेत्रमा यो परेको थिएन । तर पचास वर्षदेखि भाषाविज्ञानका क्षेत्रमा समर्पित पूर्वका महान् विद्वान् प्रा. डीबी पटनायकले आफ्नो क्षेत्र छोडेर यता प्रवेश गरेको देख्ता मेरो मनमा पनि केही साहस पलाएकाले यो कार्यपत्र तयार गरेको हुँ । त्यसै गरी भारतवर्षकी एक विख्यात विदुषी प्रा. जसवीर जैनले तयार पारेको कल्चरल न्यारेटिभ्ज् जस्तो कृति पढेपछि मैले यता प्रवेश गर्ने साहस बटुलेको हुँ । नेपाली शैक्षिक प्राज्ञिक जगत्मा ‘निमोनिक्स प्राक्सिस’ भन्ने क्षेत्र अपरिचित छ ।

मानव सभ्यतालाई एकरूपता दिने; स्मृतिपरम्परालाई जीवन्त राख्ने समाजहरू (संस्कृतिहरू) आजको ग्लोबलताले विखण्डित छन् । त्यस कारण स्मृतिका स्थल भत्किएर स्मृतिस्रोत विखण्डित भएकाले सभ्यतामा ठूलो खलबली छ । खास गरी प्रवासनबाट त्यस्तो मिश्रित संस्कृति जन्मिन्छ । आफ्नो मूल संस्कृति क्रमशः विलोपनतिर जान्छ । परिणामस्वरूप एक नवीन तर खण्डित उपसंस्कृति पलाउँछ । त्यस्ता विषयको अध्ययन आरम्भ ‘डायास्पोरा तथा संस्कृति अध्ययन’ ले गर्दछ । तर यी दुवै विषय नेपाली प्राज्ञिक जगत्मा अझ अपरिचित छन् । अझ डायास्पोराको अपव्याख्या भएको छ र यसको उपस्थितिका निन्दक पनि सकृय छन् । त्यस कारण हे विद्वद्वर्ग ! भारतीय विद्वत्ता, प्रज्ञाचेतनासँग म नेपालको तुलना गर्न चाहन्नँ । तपाईंहरूको ज्ञान आदान–प्रदानको संस्कार अत्यन्तै सुदीर्घ परम्परामा स्थापित छ । त्यसले गर्दा यहाँ खुला समाजको स्थापना भइसकेको छ । म आज एउटा निकै सङ्कीर्ण परिस्थितिबाट उम्केर यहाँ आई हाम्रा परिस्थितिजन्य केही कुरा प्रस्तुत गर्दछु । मूलतः म तपाईंहरूबाट सिक्ने चाहनाले टाढादेखि आएको एक विद्यार्थी हुँ ।

त्यति भनिसकेपछि उता फर्कें— भित्ताको इलेक्ट्रोनिक स्क्रिनमा मेरो सामूहिक स्मृतिको क्षयलाई क्षतिपूर्ति गर्न प्रयुक्त रणनीतिहरू : नेपाली डायास्पोराको एक सन्दर्भ शीर्षक कार्यपत्र मेरो नाम डिजिटली चिमचिम गर्दै थिए । यसलाई डिजिटल झिल्का जोडेर पावरपोइन्टमा प्रस्तुत गर्नेहरू पनि थिए । तर त्यसतर्फ मेरो लक्ष्य थिएन । उनीहरूलाई मेरा कुरा वा विषयवस्तुको मात्र जानकारी दिने उद्देश्य थिएन, त्यसलाई बोक्ने भाषा पनि सुनाउनु थियो । त्यसको शैली र लेखन पद्धतिमाथि मलाई अलिकति सन्तुष्टि प्राप्त थियो । मैले पावरपोइन्टको तयारी गरेको थिइनँ । त्यसको सट्टा म कार्यपत्रै वाचन गर्न चाहन्थेँ । त्यसैले बिस्तारै स्पष्ट गरी मेरो बोली राम्रो गरी सुनियो कि सुनिएन भन्नेमा सचेत हुँदै माइकको कोण र मेरा मौखिक प्रवचन एवं यसको श्रवणीयता बीचको दूरत्वप्रति पनि सचेत हुँदै बोल्न थालेँ । प्रत्येक अनुच्छेद पाठ गर्दै श्रोताले राम्ररी ग्रहण गरे कि गरेनन् होला ! मेरो नेपाली टोनले श्रवणीयतालाई केही अन्तर पो पार्‍यो कि ! भन्ने विषयमा सचेत हुँदै बिस्तारै अघि बढेँ ।

सारा शान्त छन् । चुपचाप, धैर्यपूर्ण, कोही नहल्लिएका । नेपाली प्रस्तुति र दृष्टिकोणतिर तानिएका । कस्तो उत्साहजनक वातावरणको आविष्कार भएको लाग्यो । माथि स्टेजमा मेरा सेसनाध्यक्ष मेरा वाणीको विचार वा कथ्य नोट गर्दै थिए (अरू कोही माथि बस्तैन, सबै तल) । म सचेततापूर्वक एक प्लास्टिकको आकर्षक पोडियम अघिल्तिर उभिएर पाठ गरिरहेँ । बेलाबेलामा हात हल्लाएँ हुँला । श्रोताको ध्यान निरीक्षण गर्न पिलिक्क त्यता दृष्टि दिएँ हुँला । तर सबैको ध्यान यो नेपाली ढाका टोपीमाथि केन्द्रित छ भन्ने निश्चय गरेपछि शान्त रूपले बोल्दै गएँ । एक लयमा बोल्दै गएँ । छेउमा पानी–कप राखिदिएका थिए । बेलाबेला एक घुड्की पिएँ हुँला । सर्वत्र मौनताजस्तो एक तत्वको व्याप्ति छ । म तिर्खा लाग्छ कि, घाँटी सुक्छ कि, खोकी लाग्छ कि, बोल्दा शरीरले कुनै प्रतिकृया देखाउँछ कि भन्नेमा भित्री मनले सचेष्ट छु । छेउमा उभिएको एक बोतल मिनेरल वाटरतिर हेर्दछु— सङ्कटमा त्यसले मेरो रक्षा गर्नेछ भन्ने ठान्दछु । पर बस्नेहरूले सुट–टाई र नयाँ ढाका टोपीमा उभिएको नेपाली प्रोफेसरको व्यक्तित्व वा उसको प्रस्तुतिलाई कसरी लिए होलान् भन्ने पनि लाग्छ । तर त्यहाँ व्याप्त मौनताले मेरो मनोबल सुदृढ भयो । र लाग्यो, यी ग्रहणशील छन्– मेरो प्रस्तुतिमा शायद कुनै नवीनता र जीवन्तताको अंश प्रतिबिम्बित भयो होला । मेरो प्रस्तुति सेसनलाई एक घण्टा छुट्ट्याइएको थियो । तर मोडरेटरले शुरूमै निकै उपभोग गरिदिनाले ४५ मिनेटमा सम्पन्न गरेँ । तीन घुट्का पानी पिएर सोफामा थचक्क बसेँ । अनि मेरा सत्राध्यक्ष उभिए ।
क्रमश

तपाइँको प्रतिक्रिया