शुक्रबार, वैशाख १४, २०८१

चाकडी गर्नेलाई हाताहाती पद : ‘प्रधानमन्त्री–राष्ट्रपति वरपर सल्लाहकारका नाममा लठैत–भीड’

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ जेठ २२ गते १७:४०

‘केपी ओली व्यक्ति मात्र होइन, विचार हो । सही बिचार र दृष्टिकोण भएकै कारण दक्षिण एशियाकै प्रभावशाली नेता बनेका छन् । सही बिचार कहिल्यै हार्दैन । संख्यामा यताउति भयो भनेर कर्लनुभन्दा सही बिचार समाएर ओलीजस्तै उच्च कद बनाउनतिर लाग्नू ।’

कुनै मोक्षप्रप्त साधुबाबाको वाणीजस्तै लाग्ने यो भनाइ अरु कसैको होइन, चाकडी–चाप्लुसीकै भरमा हालै नेपाल प्रेस काउन्सिलमा अध्यक्ष बनेका पत्रकार बालकृष्ण बस्नेतको हो । चाकडीकै बलमा केहीअघि नेपाल टेलिभिजनको संचालनक समिति सदस्यमा पदासिन भएका उनी दोलखाली संचार मन्त्री पार्वत गुरुङ र उनका सल्लाहकार राजेन्द्र मानन्धरको स्तुतीगान गाएरै प्रेस काउन्सिल पुगेका छन् ।

केही वर्षसम्म कान्तिपुर दैनिकमा कानून विषयको रिपोर्टिङमा रहेका बस्नेत एमाले युवा संगठनको भित्री कार्याकर्ता समेत थिए । ‘केपी ओलीलाई दक्षिण एशियाकै अब्बल नेता’ भनेर गान गरेको केही दिनमैं प्रेस काउन्सिल अध्यक्षमा पुगेका यी कामचलाउ पत्रकारको आफ्नै बिशिष्ट पहिचान र कार्यगत योग्यता भने कहींकतै देखिएको छैन ।

‘दुरदर्शी, स्वप्नद्रष्टा राजनेता केपी शर्मा ओलीलाई हार्दिक बधाई पुन : प्रधानमन्त्री हुनुभएकोमा’ भन्दै स्वस्ती चढाउने अर्का रंग पत्रकार हुन्— फूलमान बल । एक दशकभन्दा बढी कान्तिपुर दैनिकमा काम गरेका तामाङ मूलका यी पत्रकार बढी जातीय र बर्गिय कुरामा आफूलाई जानकार देखाउन चाहन्थे ।

काभ्रे, तिमाल घर भैकन एमाले राजनीति र सुरुमा अनेरास्वबियुका गतिबिधि सम्बद्ध यी पात्रले २ महिनाअघि एकाएक नेपाल टेलिभिजनको महाप्रबन्धकमा नियुक्ती पाएपछि धेरैले अचम्म माने । भन्नका लागि खुला प्रतिष्पर्धा भनिएपनि यिनको ल्याकत पनि यही ‘दूरदर्शी–स्वप्नद्रष्टा’ भनाएरै काम लिने प्रकारको रहेछ भन्ने स्पष्ट भैसकेको छ ।

अर्कातिर, प्रधानमन्त्री ओली र राष्ट्रपति बिद्यादेवी भण्डारीकै वरपर यस्ता लठैत सल्लाहकारको घेराबन्दी रहेको स्पष्ट भैसकेको स्थिती छ । गत सातामात्रै अमेरिकाले एशियाली १६ मुलुकका लागि पठाउने भनिएको ७० लाख कोरोना खोपको सूचनाबारेमा धेरै कुरा नबुझी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र राष्ट्रपतिका संचारविद् टीका ढकालले यस्तै ‘हविगत’ देखाइदिए ।

‘राष्ट्रपति बिद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जोन बाइडेनलाई पत्र लेखेकै कारण नेपालले तत्कालै ५० लाख भ्याक्सिन पाएको छ’ भन्दै ट्वीट गरेर राष्ट्रपतिका सल्लाहकारले आफ्नो मात्रै होइन, सूचना प्रणाली र प्रेस जगतकै पनि हुर्मत लिए । केही वर्ष अघिसम्म जर्मन दूतावासको प्रेस हेर्ने झापाली ढकालले राष्ट्रपति र ओली सरकारको निकट हुन चाकडी शैलीमा ‘हाम्रो राष्ट्रपतिको पत्रका कारण’ भन्दै छिनभरमैं माफी माग्नुपर्ने ट्वीट गरेका थिए । भरे यो तथ्य पहिल्याउदै जाँदा बाँढचुडमा नेपालले मुश्किलले २ लाख भाइल खोप नेपालले पाउने देखिएको छ ।

यही हौवाको सूचनालाई ट्वीट गर्दै प्रधानमन्त्री ओलीका अर्का भित्रिया सल्लाहकार सूर्य थापाले चीन, भारत, अमेरिकााबाट आएको खोपका कारण अब ३ करोड नेपालीले आगामी चुनावअगावै कोरोना खोप लगाइसक्ने दावी गरे ।

भरेभन्दा अहिलेसम्म मुश्किलले १५ लाख नेपालीले यो खोपको सुविधा पाएकोमा अरु करोडौंको अनुपातमा खोप कहाँबाट, कहिले आउने हो– कुनै ज्योतिषीले पनि भन्न सक्ने स्थिती छैन ।

‘प्रधानमन्त्री र राष्ट्रपति आफैंमा खराब होइनन्, तर यिनका वरपर रहेका चाकडीवाज र लठैत सल्लाहकारले ओली र भण्डारीलाई निकम्मा बनाइरहेका छन्,’प्रधानमन्त्रीकै एक पुर्व सल्लाहकार भन्छन्—‘फेसबुक वा ट्वीटरमा चाकडी शब्दावलीका फूलगुच्छामा मात्रै प्रधानमन्त्री वा राष्ट्रपतिले यसैगरी भर परिरहने हो भने यी आफैं पतित र पत्रु सावित हुने दिन त्यति धेरै टाढा छैन ।’

 

तपाइँको प्रतिक्रिया