शुक्रबार, वैशाख ७, २०८१

‘माधव कमरेड’ तपाईंको पार्टी पुरानै अवस्थामा फर्क्यो भने नेपाली जनताले के पाउँछन ?

थानेश्वर सापकोटा२०७८ जेठ २३ गते १७:५८

विपक्षी पार्टीहरु सँग अहिले मुद्दाहरु खुम्चिंदै गएका छन् । धेरै मुद्दा यस्ता छन् जसमा उनिहरु बोल्न चाहँदैनन् । जुन मुद्दामा बोल्छन् तिनिहरु त्यती दमदार छैनन् । र ति जनताका पक्षमा पनि छैनन् । नेपालका सबै पार्टीको द्वैध चरित्र छ । सरकार बाहिर रहँदाको चरित्र र सरकारमा हुँदाको चरित्र । सरकार बाहिर रहँदा त्यहि राष्ट्रघाती देखिने मुद्दा सरकारमा पुगेपछी कसरी राष्ट्रको पक्षमा आइपुग्छ ? अथवा किन सेलाउँछन विषयहरु ?

राजनीतिक पार्टीहरुले राष्ट्रियताका मुद्दामा नेपाली जनतालाई ठगेका धेरै उदाहरण छन् । कोशी, गण्डक र महाकाली सन्धि सम्झौताका बारेमा नेपाली जनताले धेरै बुझिसकेका छनन् । यि सबै सम्झौता केका लागि भएका थिए भन्ने कुरा पनि छर्लंङ्ग छ । देशलाई चिरा पारेर बग्ने नदीहरुबाट देशले के फाईदा पायो भन्ने विषय धेरै पुरानो भएको छ । सिमा मिचिएर साँधका किला उखलिएका घाऊले पनि देशलाई दुखिरहेकै होला । तर कुनै पनि दलको लागि यि मुद्दाले तिनिहरुको बैठकसम्म नितिगत प्रवेश पाएकै छैनन् ।

मुद्दाहरु नउठेका होइनन् उठेका छन् । महाकालीलाई राष्ट्रघाती कदम भन्नेहरु अहिले पनि छन । अहिले त्यो राष्ट्रघाती कदम कहाँ पुगेर सुल्झियो भन्ने प्रश्नको जवाफ नेपाली जनताले पाउन सकेका छैनन् । कुरा उठ्छन क्षणिक रुपमा र राष्ट्रियता उर्लिन्छ । तर यस्ता विषय उठाउनेहरु कहाँँ पुगेर बिलाउने गरेका छन, के कुरामा तिनको अभियान साटिएको छ भन्ने विषय रहस्यमय तरिकाले हराउँछ ।

अस्ती भर्खरको कुरा, चुचे नक्सा अचानक जोडतोडका साथ आयो । सरिता गिरीले आफ्नो सांसद पद गुमाइन । तर के भयो त ? कुरो जहिंका त्यहिं अड्कियो । स्कुलका किताबमा छापिएको चुच्चे नक्सा केटाकेटिका हातमा नपुग्दै पानीले भिजाएर बोरामा हालियो । के यस्ता विषय विपक्षी पार्टीहरुले मुद्दा बनाउन काफी छैनन् ? चुच्चे नक्साको कुरो सरिता गिरिको संसदबाट बहिर्गमनको मात्रा मुद्दा थियो ?

अहिले चुरे दोहनको विषयले राष्ट्र तातेको छ । विपक्षी पार्टीहरुले भारतीय फाईदाका लागि ल्याइएकोले तत्काल चुरे दोहनको मुद्दा बजेटबाट हटाउन माग गरेका छन् । तर यो विषयलाई उनिहरुले नितिगत रुपमै पार्टीको सुचिमा राख्ने कुरा कुनै हालतमा पनि सम्भव देखिंदैन । किनभने सबै पार्टीहरु पटक पटक सरकारमा पुगेका छन् र कहिल्यै पनि उनिहरुले यि मुद्दा देश र जनताकालागी उठाएका छैनन् । पार्टीको साख जोगाउन भनिने कुरा र देशको आत्मसम्मान जोगाउन भनिने कुराहरु अलग अलग हुन् । पार्टीहरुले देशको सम्मानमा कहिल्यै कुनै विषयलाई उठान गरेका छैनन् ।

शेर बहादुर देउवालाई फेरी प्रधानमन्त्री हुन परेको छ । माधव नेपाललाई आफ्नो पार्टी पुरानै अवस्थामा फर्काउनु छ । ओलीले आफ्नो अहम जोगाउनु छ । देश र जनताका लागि कुनै कोणबाट सोच्ने फुर्सद छैन यिनिहरुलाई । माधव नेपालको एकोहोरो रटान हामीले एक वर्षदेखि सुनिरहेकै छौं- पार्टीलाई पुरानै अवस्थामा फर्काइदिन पर्‍यो ! सोध्न मन लागेको कुरा- “माधव कमरेड तपाईंको पार्टी पुरानै अवस्थामा फर्क्यो भने देश र जनताले के पाउँछन” ? केही त छ होला नि ! देशका लागि या तपाईंहरुको जुँगाको लडाँइमा देशलाई सधैं च्याँखे थापिरहने ?

केपी ओलीले जसरी राष्ट्रियताको पक्षमा बोलेर शक्ती प्राप्त गरे, त्यसरी नै उनको पतन राष्ट्रियता बिरोधी नेताको रुपमा हुँदैछ । उनले देखाएका सबै खाले हर्कत देश र जनताका पक्षमा छैनन् ।

ओलिका कुरा छोडौं । शेरबहादुर देउवा, माधव नेपाल कमरेड यो तीन वर्षमा तपाईंहरुले देश र जनताका पक्षमा कती बोल्नु भयो ? तपाईंहरु प्रधानमन्त्री बनेर वा एमाले पार्टी पुरानै अवस्थामा फर्केर तीन करोड नेपाली जनताको पक्षमा वा देशको स्वाभिमानमा कुनै तात्विक फरक आउँछ ? देश र जनताका लागि केही हुँदैन भनेर ठोकुवा गर्ने पर्याप्त आधारहरु छन् । तपाईंहरु शक्तीमा पुग्दा त्यहाँ तपाईंका स्वार्थ समुहहरु सक्रिय भैसकेका हुनेछन् । अहिले एउटाले पाउँदै गरेको ठेक्का अर्कोले पाउँछ । सरकारी निकायहरुमा एउटा हटेर अर्को कुनै तपाईंहरुकै कारीन्दाले नियुक्ति पाउँछ । यती र ओम्नी समुहका बाकसहरु त्पाइँहरुका डेरा तर्फ सोझिन्छन । अहिले र पछीमा हुने फरक यत्ती हो ।

तपाईंहरु अहिले सरकार बाहिर बसेर पनि जनताका पक्षमा सरकारलाई दवाव दिन सकिने दर्जनौं समस्याहरु छन । एकछिन सुन्नुस्- अबको एक महिनामा, वर्षाद शुरु भएपछी तराइको आधा भूभाग डुबानमा पर्ने छ । हजारौं घर परिवार विस्थापित हुने छन् । त्यसपछी फेरी सबैको बिज्ञप्ती एकै पटक आउने छ । माधव कमरेड, शेरबहादुरजी तपाईंहरुलाई थाहा नभएको विषय हो र यो ? हरेक वर्ष भारतले सिमावर्ती क्षेत्रमा बाँध बाँधेको छ । दुबै देशको पन्ध्र पन्ध्र किलोमिटर भूभाग भित्र कुनै पनि संरचना निर्माण नगर्ने पाटना सहमति भारत सरकारले उल्लंघन गरेर कसरी भौतिक संरचना निर्माण भैरहेको छ । भारत सरकारले कुन आधारमा बाँधकै झल्को दिने गरी दुइ देशिय सिमामै समानान्तर रुपमा मोटर बाटो निमाण गरेको छ ? हेल्सिन्की कन्भेन्सनका कुरा खोइ ? जमीन डुबेर जनता विस्थापित भएपछी बिज्ञप्ती जारी गरेर मात्र कसरी जिम्मेवारी पुरा हुन्छ ? तपाईंको पार्टी पुरानै अवस्थामा फर्क्यो भने त्यहाँका जनता डुवानमा पर्दैनन्? वा के पाउँछन नेपाली जनताले ?

भारतले नेपालको सिमानामा ठड्याएका बाँधको संख्या १८ पुगेको छ जसका कारण वर्षादमा ८ हजार २ सय हेक्टर जमिन डुवानमा पर्छ भने तिनै बाँधका कारण १ हजार ८ सय ८० हेक्टर जमीन सधैंका लागि डुवानमा परेको छ । गण्डक, कोशीबाट हुने कटानले कती नेपाली जमीन कटानमा परेको छ भन्ने कुराको हेक्का न तपाईंहरुलाई छ न सरकारलाई । कोशी ब्यारेजको दक्षिणतिर २८ नम्बर ढोकाअगाडी भारतीयले १७ किलोमिटर लामो पाइलट च्यानल खोल्न थालेपछि कोशी नदी पश्चिमतर्फ सरेर सप्तरीको हनुमाननगर, छिन्नमस्ता, राजबिराजसहितका क्षेत्र उच्च जोखिममा परिसकेका छन् भने योजनाअन्तर्गत उदयपुर बेलका नगरपालिकाको पूर्वी भाग र बरहाक्षेत्र नगरपालिकाको पश्चिमी भागले छाडेको बोचिहीमा ११ सय मिटर जग्गा कोशीले कटान गरिसकेको छ ।

पछिल्लो वर्षमात्रै सुनसरीको श्रीलंका, उदयपुरको गरैया र चिलैया टापु समेत ३ किलोमिटर जग्गा कटानमा परिसकेको छ । यहाँबाट ४ हजार घरपरिवार बिस्थापित भएका छन् । त्यस्तै गण्डक बाँधका कारण ३ हजार ९ सय ६३ बिघा जमिन डुबानमा र ५ सय ६३ बिघा जमीन कटानमा परेको पछिल्लो तथ्यांक छ । वर्षेनी हजारौं मान्छेहरु बिस्थापित हुन्छन् । तिनिहरुले आफ्नो जमीनमा खुट्टा टेकाउन पाएका हुँदैनन । यि र यस्ता मुद्दाहरुले तपाईंहरुका पार्टी बैठकहरुमा किन नितिगत प्रवेश पाउँदैनन ? माधव कमरेड तपाईंको पार्टी पुरानै अवस्थामा फर्क्यो भने नेपाली जनताले के पाउँछन ? देशको स्वाभिमान फर्किन्छ ?

तपाइँको प्रतिक्रिया

फेसबुक