बिहीबार, चैत १५, २०८०

नेपाली जनसंपर्क समिति जर्मनीद्वारा पत्रकार दिपक धितालमाथि धम्की र निकृष्ट गालीगलौज

नेपालप्लस संवाददाता२०७८ जेठ २३ गते २३:४१

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सन्जाल (ईन्जा युरोप) का महासचिव तथा डिसी नेपालका युरोप संयोजक दिपक धितालमाथि नेपाली कांग्रेसको जनवर्गिय संगठन नेपाली जनसंपर्क समितिले धम्की दिँदै निक्रिष्ठ गाली गलौजसमेत गरेको छ ।

केहि दिन अघि डिसी नेपालमा ‘एनआरएनए अधिवेशनः जर्मनीमा काँग्रेस र एमालेबीच चुनावी भिड़न्त शुरु’ शिर्षमा प्रकाशित समाचारको विषयलाई लिएर धिताललाई नेपाली कांग्रेसको प्रवासी भातृ संस्था नेपाली जनसम्पर्क समिती जर्मनीले अपमानजनक र निकृष्ट शब्द प्रयोग गर्दै गालिगलौज तथा धम्कीपूर्ण विज्ञप्ती निकालेकोप्रति इन्जाले आज प्रेस बिज्ञप्ती जारि गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

इन्जाको विज्ञप्तिमा भनिएको छ “जनसंपर्क समिति जर्मनीले बिज्ञप्तीका नाममा आफ्नो गल्ती कमजोरी ढाक्न पत्रकारमाथि अमुक पार्टिको छाप भिराइदिएर, षडयन्त्रको पर्दाफास र सत्य नपचेपछिको कुण्ठा पोखिएको छ । पत्रकारमाथी यस किसिमले प्रस्तुत हुनु आफैंमा निन्दनीय, प्रजातान्त्रिक मूल्य मर्यादा, आचरणबिरुद्द र प्रेस विरोधी कदम हो ।”

गैर आवासीय नेपाली संघ, जनसम्पर्क समिति जर्मनी लगायत अहिलेको राजनीतिक तथा चुनावी परिस्थितिलाई गम्भिर विष्लेषण गरी डीसी नेपालमा लेखिएको उक्त समाचारलाई लिएर पत्रकार धिताल माथि गलत आक्षेप लगाउँदै धम्कीपूर्ण शैलीमा उत्रनु नेपाली काग्रेस जस्तो पार्टिका भातृ संगठनका लागि शोभनिय विषय नभएको भन्दै इन्जा युरोपको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ “सामान्यतया प्रकाशित एवं प्रसारित समाचार प्रति कुनै असहमति भए सोही मिडियामा खण्डन गर्ने अन्तर्राष्ट्रिय प्रचलन र अधिकार हुँदा हुँदै, राजनीतिक पार्टी नेपाली कांग्रेसको भातृ संस्था जनसंपर्क समिती जर्मनीले समाचारको विषय लाई लिएर धम्कीको भाषा प्रयोग गर्नु भनेको सिंगो नेपाली प्रजातान्त्रिक विरासतलाई उपहास गर्नु हो ।”

नेपाली जनसंपर्क समिति, जर्मनीले जातिगत कुरो उठाएको भन्दै भ्रम छर्ने काम गरेकोपनि ईन्जाको प्रेस बिज्ञप्तीद्वारा बुझिन्छ । उल्लेखित समाचारमा कहिं कतै धार्मिक र जातीय कुरा उल्लेख नगरिए बरु जनसंपर्क समिति जर्मनीले आफ्नै ढंगले विश्लेषण गरी समाचारलाई जातीय र धार्मिक रंग दिन खोजेर उल्लेख गर्दै बिज्ञप्तीमा भनिएको छ “जनसम्पर्क समिती जर्मनीले मिलेर बसेको नेपाली समुदाय र एनआरएनए जर्मनीको आगामी अधिवेशनलाई कुन बाटोतर्फ लैजान खोजेको रहस्यमय छ ।”

यस्ता गालीगलौज र धम्किदिनेहरुसित पछि नहट्नेपनि ईज्नाले बिज्ञप्तीमार्फत स्पष्ठ पार्दै भनेको छ “निर्भीक रुपमा सत्यतथ्य समाचार सम्प्रेषण गर्ने पत्रकारको कर्मलाई धम्कि र गालीगलौजले कुनै फरक पार्ने छैन ।”

पत्रकार धिताल प्रति राखिएको दुर्भावको फेरी पनि घोर निन्दा गर्दै यस कार्यमा उत्रनेहरुले यो कदम गलत भएको र आगामी दिनमा यस प्रकारका गल्ती गर्ने छैनौ भनि माफि माग्न ईन्जा युरोपले गम्भीर आग्रह गरेको छ ।

यस प्रकारका गतिविधी जारी रहेमा सम्बन्धित मुलुकको कानून बमोजिम पत्रकार धितालको सुरक्षाको निम्ति आवश्यक कानूनी सहयोग खोज्न ईन्जा युरोप अघि बढ्नेपनि ईन्जाले बिज्ञप्तीमार्फत जनाकारि गराएको छ ।

पत्रकार दिपक धितालमाथिको यो धम्कि बिरुद्दको जानकारि ईन्जाले बिभिन्न देशका नेपाली जनसंपर्क समितिहरु, नेपाली काग्रेस केन्द्रिय कार्यालय,नेपाली कांग्रेस विदेश विभाग, सानेपा, ललितपुर र जर्मनीको नेपाली दुतावासलाई बोदार्थ दिएको छ । नेपाली जनसंपर्क समिति जर्मनीका सभापती शिखर खड्का हुन् ।

यसैबिच ईन्जा ग्लोबलका अध्यक्ष गुणराज लुइटेलले ईन्जा युरोपका महासचिव दीपक धिताल माथि गरिएको गालीगलौजप्रति ईन्जा ग्लोबलका तर्फबाट घोर आपत्ति प्रकट गर्दै भनेका छन् ” संचार जगतमाथि भएको यस्तो हस्तक्षेप र निन्दनीय ब्यवहार दण्डनीय हो ।” उनले सम्बन्न्धित क्षेत्रबाट कारवाही र क्षमायाचना गराउने काम होस् भन्ने माग समेत गरेका छन् ।

दिपक धितालले डिसी नेपालमा यस्तो रिपोर्ट गरेका थिए

एनआरएनए अधिवेशनः जर्मनीमा काँग्रेस र एमालेबीच चुनावी भिड़न्त शुरु

दीपक धिताल

प्रकाशित : २०७८ जेठ २० गते ०:४०

बर्लिन। गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जर्मनीको सातौं अधिवेशन आगामी २५ जुलाईमा हुने भएको छ। आगामी कार्यकालका लागि नेतृत्व चयन गर्न ५ सदस्यीय निर्वाचन आयोग पनि गठन भएको छ। पूर्व अध्यक्ष हरेन्द्र वनेम प्रमुख आयुक्त रहने गरी अर्का पूर्व अध्यक्ष डा. नवराज रोस्यारा, आईसीसी सदस्य प्रेम पोमु, कमला दाहाल र शरण केसी आयुक्त रहेको निर्वाचन आयोग कार्यसमितिले सर्वसम्मत रुपमा पारित गरेकोे महासचिव लोकमणी ढकालले जानकारी दिए।

नयाँ नेतृत्वका लागि सतहमा देखिने गरी ४ जनाको नाम चर्चामा आएको छ। वर्तमान कार्यसमितिका उपाध्यक्षद्वय मिलन पन्त र निनम्मा राई, आईसीसी सदस्य टंक लम्साल र वर्तमान अध्यक्ष हरि न्यौपानेको नाम आगामी कार्यकालको अध्यक्षका लागि सर्वाधिक चर्चामा रहेका नाम हुन्।

दुईदुई पटक उपाध्यक्ष भैसकेको, जर्मनीका राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुसँग राम्रो सम्बन्ध रहेको कारण नेपालमा सहयोग भित्र्याउन, संस्थाका लागि आर्थिक, नैतिक, सामाजिक सहयोग गर्न सदैव तयार र पद्धती अवलम्बन गरेर अघि बढ्ने पक्षको वकालतकर्ता रहेकाले आफू बलियो दावेदार रहेको पन्तको दावी छ।

स्थानीय स्तरमा नेपाली समुदायसँग सक्दो सम्पर्कमा रहने प्रयास जारी रहेको, कोरोनाका कारण त्यति सहज नभएको भन्दै सदस्यता लिन सबैलाई आग्रह गरेका छन्। संघको नेतृत्वमा राजनीतिक संस्थाहरुको गन्ध आउन नहुने भन्दै उनले आफू फरक ढंगले स्वतन्त्र रुपमा अघि बढ्ने बताए। स्वतन्त्र रुपमा रहेका आममतदाता र एनआरएन एक साझा र स्वतन्त्र संस्था भएको देख्न चाहनेले आफूलाई नेतृत्वमा लैजाने उनको विश्वास छ।

वर्तमान अर्का उपाध्यक्ष निनम्मा राई आफू ठूला कुरा र आश्वासन बाँड्न नजान्ने भएकाले स्थानीय स्तरमा रहेका नेपालीहरुलाई छुने खालका साना तर महत्वपूर्ण एजेण्डाहरु आफूसँग रहेको बताउँछिन्। आफू ठूला नेताको आशिर्वाद लिएर भन्दा पनि जनस्तरमा भिजेर नेतृत्वमा जाने पक्षमा रहेको उनको भनाइ छ। प्रत्येक जर्मनीवासी नेपालीहरुले एनआरएनएलाई आफ्नो संस्था हो भनेर आभास दिलाउने गरी काम गर्ने बताउँदै प्रत्येक क्षेत्रका नेपालीसँग सम्पर्कमा रहेकाले उनीहरुको इच्छा पनि महिला नेतृत्व देख्ने चाहना आफूले पाएको भन्दै राई पछि हट्ने परिस्थिता देखिन्नन्। प्रवासी नेपाली एकता मञ्च, जनसम्पर्क समिति, विभिन्न नेपाली संघसंगठन, महिला एनआरएनए अभियन्ताहरु, विद्यार्थी वर्गहरु आफ्नो पक्षमा भएकाले र आफू संस्थाका लागि समय, सहयोग, परोपकारी अभियानमा संलग्न हुन कुनै बाधा नभएकाले पनि नेतृत्वमा आफ्नो स्थान सुरक्षित रहेको उनको दावी छ। साथै सहमतिको नाममा कुनै बाध्यकारी परिस्थिति बनाएर थन्क्याउन खोजे आफूलाई मान्य नहुने र निर्वाचन नै हुने गरी लाग्न सबैलाई आग्रह गर्दै उनले सदस्यता लिनको लागि सबै समक्ष आग्रह गरिन्।

अर्का प्रत्यासी एवं वर्तमान आईसीसी सदस्य टंक लम्साल एनआरएनए सुधार अभियान अघि बढाउन र संस्थामा सहि र सक्षम नेतृत्व भएमामात्र परिवर्तन सम्भव हुने भएकाले आफू आईसीसीमा रहे पनि समयको मागअनुसार पछि हटेर अध्यक्षमा आउनुपर्ने परिस्थिति आएको बताउँछन्। राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा एनआरएन जर्मनीले महत्वपूर्ण स्थान ओगट्न सक्ने भए पनि नेतृत्वले जति काम गर्नुपर्ने थियो, त्यो हुन नसकेकाले अब आफैं एकपटक नेतृत्वमा आएर कायापलट गर्ने इच्छा व्यक्त गरे। वौद्धिक, विद्यार्थी, एकेडेमिक लेभलका मान्छेहरुको एनआरएनप्रति त्यति मोह नभएको आफूले पाएको र त्यो परिस्थिति तोडेर सबैजना अट्ने र सबैले अपनत्व महसुस गर्न सक्ने एनआरएन बनाउने अभियानमा आफू बलियो प्रतिष्पर्धी भएको लम्सालको दावी छ।

वर्तमान अध्यक्ष हरि न्यौपाने आफू कोरोना कालीन अध्यक्ष भएको बताउँदै चाहे जसरी काम गर्ने वातावरण बन्न नसके पनि मिले र सकेसम्म एनआरएनए गतिविधि अघि बढाउने क्रममै रहेको बताउँछन्। कतिपय साथिहरु र स्थानीय समन्वय समितिहरुले फेरि कार्यकाल दोहोर्याउन गरेको आग्रहलाई आफूले सकारात्मक लिएको बताउँछन्। जर्मनीका रहेको सातवटा एलसीसीहरु मध्ये बहुमत एलसीसीका नेतृत्व पंक्तिले कोरोनाका कारण गतिविधि हुन नसकेका, काम गर्ने कमिटी र नेतृत्व रहेको भए पनि चाहे जति मौका नपाएको, अहिले जारी राखेका काम पनि अत्यन्तै प्रभावकारी भएको भन्दै कार्यसमितिनै दोहोरिदाँ कोरोना कालमा नयाँ र राम्रो सन्देश जाने बताउँदै आफूलाई यहि कार्यसमितिले नयाँ कार्यकाल पनि हाँक्नुपर्छ भन्ने पक्षमा आग्रह आएकाले आफू त्यो अवस्थामा पनि तयार रहेको न्यौपानेको भनाइ छ।

अहिले चर्चामा रहेका र सम्भावित अन्य सबै उम्मेदवारहरुले हरि न्यौपानेको नेतृत्व दोहोरिने परिस्थिति आएमा आफ्नो सम्पूर्ण समर्थन न्यौपानेको पक्षमा रहने बताएका छन्।

एनआरएनए एक परोपकारी, गैर राजनीतिक संस्था भनिए पनि नेतृत्व चयनमा राजनीतिक दलका भातृ संगठनहरुको ठूलो हालिमुहाली रहने गरेको छ। एमाले निकट प्रवासी नेपाली एकता मञ्च, काँग्रेस निकट जनसम्पर्क समिति, विभिन्न जातीय संघसंगठनको विशेष भूमिका रहने गरेको छ। वर्तमान उपाध्यक्ष शंकर डाँगीलाई जनसम्पर्क समितिको तर्फबाट एनआरएनमा अध्यक्ष उम्मेदवार बन्न आग्रह गरे पनि डाँगीको इच्छा भने जनसम्पर्क समितिको सभापतिमा छ। जर्मनीमा जनसम्पर्क समितिको गिरेको गरिमा र साख पुनर्जीवित गर्न र सबै प्रजातान्त्रिक धारलाई काँग्रेसको छाता मुनि ल्याउनको लागि बर्तमान सभापति शिखर खड्काको बहिगर्मन आवश्यक रहेको नेताहरु बताउँछन्। काँग्रेस समर्थक शरण केसीको त खड्कासँग बोलचाल समेत छैन। त्यसैगरी टंक लम्साल, रामजिवी पन्थहरु खड्काले काँग्रेस समर्थक पनि भड्काएको भन्दै उनीसँग नजिक हुन चाहँदैनन्। प्रजातान्त्रिक विचारधारा बोकेका र काँग्रेसलाई मायाँ गर्नेहरुको जमात फुट र अराजक शैली अवलम्बन गरेर फेरि पनि नेतृत्व हत्याउने प्रयासमा रहेका खड्कालाई प्रतिस्थापन गर्न चाहन्छ। शालिन र कुशल नेतृत्व आउनुपर्ने मागका कारण असल काँग्रेसीहरु डाँगीको नेतृत्वमा जनसम्पर्क समिति अघि बढ्नुपर्ने पक्षमा रहेको देखिन्छन्।

तर खड्का भने डाँगीलाई एनआरएन अध्यक्षको उम्मेदवार बनाएर जनसम्पर्क समितिको नेतृत्व फेरि दोहोर्याउँदै कब्जा गर्ने पक्षमा देखिन्छन्। पार्टी राजनीतिलाई शुद्धिकरण गरेर अघि बढ्न आवश्यक देखिएकाले एनआरएनभन्दा जनसम्पर्क समिति प्राथमिकतामा राखेको डाँगीको भनाइ छ। डाँगी भन्छन्, “एनआरएन अध्यक्ष उम्मेदवार हुनु गौरवको विषय हो तर के र कुन कारणले मलाई त्यो प्रस्ताव गरिँदैछ भन्ने मुल कुरा हो, त्यो मैले राम्रोसँग बुझेको छु, बुझेकै कारण म जनसम्पर्क समितिकै सभापतिको पक्षमा छु।“

अहिले परिस्थिति हेर्दा सहमतिमा एनआरएन अध्यक्ष पाइहाल्ने अवस्था पनि नदेखेको र चुनाव हुँदा अर्को पक्ष बलियो देखिएकाले डाँगी तत्काल एनआरएनको नेतृत्वमा जान हिचकिचाएको देखिन्छ। सफल र सक्षम एनआरएन बनाउन आफूमा अझै नेतृत्व विकासको क्षमता बढाएर एक कार्यकाल जनसम्पर्क समितिमा लाग्ने र एनआरएनमा उपाध्यक्षमै दोहोरिएर आउँदो ८ औं अधिवेशनमा बलियो एनआरएन अध्यक्षको दावेदार भएर उदाउने उनको तयारी देखिन्छ।

जनसम्पर्क समितिको बैठकमा वर्तमान महासचिव लोकमणी ढकालको पनि नाम अध्यक्षको दावेदारको रुपमा चर्चामा ल्याइएको छ। पार्टीले आफ्नो उम्मेदवारी दिदैं उपस्थिती जनाउनुपर्ने परिस्थिति आएमा पछि नहट्न ढकाललाई निर्देशन समेत दिइसकिएको छ। ढकाल काँग्रेसका क्रियाशील सदस्य हुन्। महासचिवको कुशल भूमिका निभाएका कारण अध्यक्षको एक बलियो दावेदार हुन सक्नेबारे उनको चर्चा चल्न थालेको हो। यद्यपी डिसी नेपालसँगको कुराकानीका क्रममा आफू अध्यक्षको दावेदार नरहेको र अहिले चर्चामा आएका उम्मेदवारहरुलाई समर्थन गरेर अघि बढ्नुपर्ने पक्षमा रहेको ढकालले बताए। पार्टीले उम्मेदवार बनाए पनि जितिहाल्ने परिस्थिति कम रहेका कारण ढकाल रक्षात्मक बाटो रोज्दै बरु आईसीसी सदस्यमा आफ्नो दावी प्रस्तुत गर्ने पक्षमा छन्।

शिखर खड्काकै कारण जनसम्पर्क समिति छोडेको र पार्टी राजनीतिमा निष्क्रिय रहने घोषणा गरेका टंक लम्साल पनि उम्मेदवारको रुपमा अघि सरेपछि काँगें्रसीजनहरु लम्साललाई साथ दिएर सबैको समर्थन जुटाउन लाग्नुपर्ने पक्षमा देखिन थालेका छन्। जनसम्पर्क समितिको बैठकमा लम्सालले एनआरएनमा आउने भित्री तयारी गरिरहेको विषयले बहस पाएपछि एकाथरी काँग्रेसीजनहरु यो मौकालाई क्यास गरेर लम्साललाई आधिकारिक उम्मेदवार बनाउन सकिएमा जित निश्चित हुने भन्दै हौसिएका छन्।

यसरी जनसम्पर्क समितिबाट लम्साल, डाँगी र ढकाललाई अध्यक्षमा उठाउन नसकिए निनम्मा राईलाई समर्थन गरेर अघि बढ्नुपर्छ भन्ने पक्षमा एनआरएन जर्मनी र जनसम्पर्क समिति जर्मनीका संस्थापक अध्यक्ष दिल गुरुग,ं जनसम्पर्क समितिका पूर्व सभापती एवं एनआरएन पूर्व अध्यक्ष विजय मोक्तान, सदस्य दिपक लामा, विनय गुरुगंहरु रहेका छन्। निनम्मा राईको पारिवारिक पृष्ठभूमी एमाले हो तर जर्मनीमा काँग्रेससँग निकट रहेका कारण उनलाई कतिपय ठाउँमा सजिलो त कतिपय ठाउँमा अप्ठेरो पर्ने गरेको छ। प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई र एमाले नेता पारुहागं राईको पारिवारिक सदस्य रहेकी निनम्माको जर्मनीमा भने कट्ट्र काँग्रेसहरु दिपक लामा, विजय मोक्तान ज्वाईं नाता पर्ने भएकाले उनी काँग्रेस निकट हो भन्नेहरु पनि छन्। तर उनी आफ ैंभने पारिवारिक पृष्ठभूमि मेरो एमाले हो जर्मनीमा मेरा प्रायः आफन्त र साथीभाई काँग्रेस छन्, त्यसैले म दुबैको हो भन्दै स्पष्टीकरण दिने गरेकी छिन्।

उता प्रवासी नेपाली एकता मञ्चले पनि एनआरएनको अधिवेशन मिति तोकिएसँगै अध्यक्ष नेपालमा रहे पनि बारम्बार जुम बैठक राखिरहेको छ। एनआरएनएको चुनावी समिति गठन भैसकेपछि पार्टीको तर्फबाट उम्मेदवार उठाउनुपर्ने परिस्थिति आए को हो त ? उम्मेदवार भनेर बहस सुरु भएको छ। अहिलेका उम्मेदवारमा एमाले पृष्ठभूमिकी राई र एमाले होइन तर वामपन्थी विचारधारा बोक्छु भन्ने मिलन पन्त मध्ये एकलाई समर्थन गरेर जाने कि भन्ने विषयमा पनि छलफल भएको छ। तर मञ्चको बैठकमा दुवै खुलस्त हुन नसक्ने, एमाले पनि हो भन्न नसक्नेहरुलाई किन समर्थन गर्ने भन्दै संगठित र सक्रिय कार्यकर्ता नै एनआरएनको नेतृत्वमा ल्याउनुपर्छ भन्ने बहस चर्को रुपमा उठ्न थालेको छ। अहिलेका यी चर्चामा आएका उम्मेदवारहरु मध्ये जसले आफू एमाले रहेको र प्रवासी नेपाली एकता मञ्चको तर्फबाट आधिकारिक उम्मेदवार हुँदै एनआरएनको नेतृत्व गर्छु भनेर लिखित रुपमा आउँछन् उसैको पक्षमा संगठन उभिने मञ्चले जनाएको छ।

राईले आधिकारिक एमाले हुँ भनेर भन्ने अवस्था तत्काल देखिएको छैन। किनकी काँग्रेस निकट जनसम्पर्क समितिको बैठकमा दिल गुरुगंले उनी काँग्रेसको सदस्यको रुपमा आधिकारिक तवरले प्रवेश गराएर उम्मेदवार बनाउने लविगं शुरु गराएका छन्। उता उनी काँग्रेसको आधिकारिक उम्मेदवार हो भनेर आएमा एमाले पक्षले पनि आफ्नो उम्मेदवार उठाउने तय गरेर अघि बढ्ने जनाएको छ। त्यसमा लिखित रुपमा एमाले हुँ र मञ्चको तर्फबाट उम्मेदवार हुन्छु भनेर आएमा पन्त पनि हुन सक्ने नत्र वर्तमा नएनआरएन उपाध्यक्ष डा यज्ञ अधिकारी सम्भावित अध्यक्षको उम्मेदवार हुन सक्ने देखिएको छ। स्वार्थको लागि मात्र आफू एमाले हो, वामपन्थी हो भनेर आउने नत्र अघिपछि पार्टी राजनीतिमा हामीलाई चासो छैन, हामी स्वतन्त्र हौं भनेर हिड्ने भएकाले अहिलेका दुवै पन्त र राई प्रवासी नेपाली एकता मञ्चको प्राथमिकतामा परेको देखिदैंन। त्यसकारणले यदि पार्टीले उम्मेदवार तय नै गर्नुपर्ने परिस्थिति आएमा बर्तमान अध्यक्ष हरि न्यौपानेलाई दोहोर्याउन आग्रह गर्ने नत्र डा. अधिकारीलाई अघि सार्ने पक्षमा मञ्चको भित्री तयारी छ। तर राईले दुवै पक्षको आधिकारिकता नलिई अघि बढेमा काँग्रेसको एक बलियो मोक्तान पक्षले पनि उनैलाई समर्थन गर्ने र नेपालबाट प्रवासी नेपाली एकता मञ्चलाई राईको पक्षमा सहयोग गर्न दवाव आउने आँकलन गर्न सकिन्छ। यदि परिस्थिति बदलिएर निनम्मा राईलाई पछि हट्न बाध्य बनाउने खेल भएमा उपाध्यक्ष राधा किरण सिग्देल अध्यक्षको रुपमा आफ्नो दावी रहने बताउँछिन्। महिला नेतृत्व आउनुपर्छ भन्दै राईको पक्षमा खुलेर लागेकी सिग्देल परिस्थितिले अर्को बाटो लिएमा आफू पनि अध्यक्षको लागि निवार्चन लड्ने बताउँछिन्।

यसैगरी अर्को महत्वपूर्ण र कार्यकारी पद महासचिवम ाभने अहिलेसम्म बर्तमान सचिव राजेश सुनारको दावेदारी देखिन्छ। अब्बल र कुशल नेतृत्व क्षमता भएकाले सचिवपदमा झैं महासचिवमा पनि उनको प्रतिष्पर्धी उम्मेदवार नहुने एनआरएन कार्यसमिति भित्रकै अधिकांश पदाधिकारी र सदस्यहरुको बुझाई छ। यद्यपी कसैले बार्गेनिगंको लागि उम्मेदवारी दिए पनि सुनारको विकल्पन भएको ती पदाधिकारीहरुको भनाइ छ। बर्तमान प्रवक्ता दिनेश गौतम पनि महासचिवको बलियो दावेदारको रुपमा आउने चर्चा चलेकै बेला सुनारले इच्छा देखाएकाले उनको पक्षमा समर्थन गर्ने आपसी सहमतिभएको बुझिएको छ।

गतआइतबार बसेको एनआरएन एनसीसी र एलसीसीहरुको संयुक्त बैठकबाट निर्वाचन आयोग बनेको आधिकारिक निर्णयसँगै जर्मनीमा एनआरएनको नयाँ नेतृत्वको चर्चा एकाएक चुलिएको हो। निर्वाचन आयोगलाई आवश्यक तयारी सुरु गर्न आग्रह गर्दै बैठकले सदस्यता बनाउन सबै एलसीसी र सदस्यहरुलाई आग्रह गरेको छ। निर्वाचन आयोगमा सवल र सक्षम आयुक्तहरु रहेको बताउँदै निर्वाचन हुने गरी तयारी थाल्न सदस्यहरुले आग्रह गरेका छन्। यद्यपी नेपाली काँग्रेस निकट जनसम्पर्क समितिले भने निर्वाचन आयोगमा रहेका आयुक्तहरुका कारण असन्तुष्टि जनाएको छ। संगठन भित्रको आन्तरिक राजनीतिले निर्वाचन आयोगमा जनसम्पर्क समिति खेल्न खोजेको देखिन्छ। अहिले गठित निर्वाचन आयोगका प्रमुख आयुक्त एवं काँग्रेस समर्थक हरेन्द्र वनेमले २०१७— १९ को कार्यकालका लागि एनआरएनको चुनाव हुँदै गर्दा जनसम्पर्क समितिको तर्फबाट उम्मेदवार रहेका विजय मोक्तानलाई सहयोग नगरी विपक्षी उम्मेदवार डा. नवराज रोस्यारा पक्षमा लागेको भन्दै जनसम्पर्क समितिको बैठकमा दिल गुरुगं, मोक्तानलगायतले वनेम र रोस्यारा नै आयुक्त रहेको निर्वाचन आयोग बनेकोले आपत्ति जनाएका हुन्। सभापति शिखर खड्कासँग बोलचाल नै बन्द गरेका शरण केसी पनि आयुक्त रहेका कारण खड्का खेमाकाले पनि निर्वाचन आयोगको विरोध गरेका छन्।

तपाइँको प्रतिक्रिया

फेसबुक