शुक्रबार, चैत १६, २०८०

विश्वभरिका एनआरएनको सय चोट, घलेको एकैचोट

जितेन्द्रदेव ढकाल२०७८ जेठ २४ गते १७:३६

नेपालीमा एउटा उखान छ, ‘सुनारको सय चोट, लोहारको एकै चोट’ । एनआरएनए प्रवाशका नेपालीको अब्बल संस्था । त्यो भन्दा बढि अझ नेपालका नेपालीको ढुकढुकी । उसको नारानै ‘नेपालीकालागि नेपाली’ । अर्थात् नेपालका नेपालीकालागि एनआरएन, प्रवाशी नेपाली । त्यसैले त, कोरोना भाईरसको संक्रमणले मुलुक गाँजेका बेला एनआरएनए जुरुक्कै उठ्यो । उठिरहन्छ । पछिल्लो संक्रमणमापनि उठ्यो । उसले संक्रमणमा तत्काल सहयोग गर्न भनेर १३ करोड उठायो । थोरै हो र १३ करोड ? तर करोडमा गन्ति गर्दा १३ भएपनि पठायो कति ? आज जुन ७ सम्ममा ६ करोड ८० लाख बराबरको सामाग्रि । यो सामाग्रि मध्येपनि आधाभन्दा बढि त महामारीको चक्र चुलिएका बेला पुगेन, दुई करोड हाराहारीमा मात्रै पठायो ।

रकम सुन्दा सानो त होइन ६ करोड ८० लाख । तर यो ६ करोड ८० लाखको दान दिने कति छन् ? लगभग ८२ देशका झण्डै एक करोड एनआरएनए । यसलाई भन्छन् सुनारले बुलाँकी, औंठी, तिलहरी बनाउँदा ठिक्री ठिक्री हानेको घन जस्तै ।

उता अर्का एनआरएनए छन्, शेष घले नामका । उनले एक्लै कति पठाए ? तिन करोड । हाहु, आनाकानी, आसन र भाषण, जुम बैठक फेसबुके हल्लाखोर नगरि पठाए । ६ करोड ८० लाख ८२ देशका एनआरएनएले पठाउँदा जस्तो एक दर्जन पटक पत्रकार सम्मेलन गरेनन् । अनेक नामका एनआरएनए पत्रकार टोलीपनि ति घले नामको घनले निर्माण गरेन । अनेक हल्ला र सयौं समाचारको लेखोपनि गरेन । रातबिरात अनेक बैठक र पठाउनुपूर्व यति पठाउँदै छौं भनेर मेडियाका ढोकापनि चहारेन । चुपचाप एकैचोटी तिन करोडको घनले हान्यो । दुलोबाट फुत्त निस्केको कुनै जिवझैं शेष घलेको घन बाहिर निस्किएर तिन करोडले हान्यो र कतै अलप भएझैं हरायो । उसलाई यति गर्दापनि कुनै प्रचार चाहिएन । बैठक बस्नु परेन ।

यता ८२ देशको एनआरएनले मातृभूमीका लागि मल्हम लगाउन मनिषा कोइरालादेखि पूर्व अर्थसचिवसम्म राखेर सामाजिक सहयोगको ट्रस्ट खोल्यो । समिति गठन गरेको एक डेढ महिनामा मुस्किलले बैठक त बस्यो । एक करोड सहयोगको घोषणापनि पत्रपत्रिकामा त आयो । तर त्यो एक करोड कहिले जाने हो । कुन क्षेत्रमा जाने हो । कोरोना काल उत्कर्षमा पुग्दापनि त्यसले पिडितलाई कसरि सहयोग गर्ने हो भन्नेसम्म मेलोमेसो छैन । प्रचार भने हुनसम्म भयो ।

यता ८२ देशका एनआरएनको बलियो संस्थालाई नेपालको स्वास्थ्य स्थिति थाह नभएरपनि त होइन । छिनछिनमा कति नेपालीको बिजोग भयो भनेर पलपलको तथ्यांक दिने स्वास्थ्य समितिपनि छ । स्वास्थ्यको अवस्था कस्तो छ र कतिलाई सहयोग आवस्यक छ भनेर ८२ देशको एनआरएनए पुरै अपडेट रहन्छ । कोरोना संकट टार्ने भन्दै विश्वभरिबाट १३ करोडको बलियो थैलीपनि छ । तर त्यो थैलीको अलिकति मुख खोलेर आजबल्ल ६ करोड ८० लाखको सहयोग पुर्‍याएको घोषणा गरेको छ । यसैमापनि आइेएलओको सहयोगमा जस्तै पेड भोलेन्टियर्सहरु खटाएको हो कि तोकिएको सबै सहयोग पुगेको हो भन्ने आइएलओको घटनाले शंकालु बनाइदिन्छ ।

एनआरएनलाई पर्दा सहयोग दिने ब्यक्ति नभएका होइनन् । शेष घले तिनका लागि केहिपनि होइनन् । जीवा लामिछाने,  डा. उपेन्द्र महतो, राम प्रताप थापा, भवन भट्ट, डा. हेमराज शर्मा, कुमार पन्त, सोनाम लामा, गौरी जोशी, कुल आचार्य, महेश श्रेष्ठ, डा. बद्री केसी कति हो कति । डाक्टरै डाक्टरको भिडपनि यहिँ छ । यि नाम मध्ये एनआरएनएको संस्थागत संरचनामा अलि निस्कृय भनेकै शेष घले हुन् । बाँकिको सकृयाता लोभलाग्दो छ । तर देशलाई सहयोग गर्नेबेला शेष घलेमात्रै फलामको घन जस्ता !

तर सहयोग साँच्चै दिनुपर्दा बाँकि कहाँ छन् ? कूल आचार्य पर्वत जिल्लाको लागि सहयोग बटुलेर दंग छन । गौरी जोशीलाई एनआरएनए अमेरिकाको निर्वाचनमा आफ्नो प्यानल जिताउन भोटर बढाउँदै दगुरादगुर थियो, एक साता अघिसम्म । डा . उपेन्द्र महतोका बैनी ज्वाई रघुविर महासेठ उपप्रधानमन्त्री भएकाले उनैलाई दिक्षित बनाउन भ्याइनभ्याई छ । उता मेडिसिटी अस्पतालमा विरामी भरिभराउ छन् । उनलाई सामाजिक सेवा गर्ने अवशर अस्पतालले दिएकै छ । कुमार पन्त एनआरएनएको विश्व सन्जालबाट ६ करोड सहयोग, ६ करोड भनेर करोड गन्ने र बैठक बस्दा ठिक्क हुन्छ । भवन भट्टलाई यसमा मतलव हुनेनै भएन, उनलाई एक पटक एनआरएन अध्यक्ष हुनुथियो । त्यो ईतिहास बनेसँगै उनी दङदास छन्, पुगिहाल्यो । डा . बद्री केसी आइेएलओको सहयोगतिरै ब्यस्त छन् । जीवा लामिछानेले एनआरएनएको परोपकारि कोषको नेतृत्व गरेलगत्तै एक करोड घोषणा गरिहाले भलै त्यो करोड कतै पुगेको नदेखियोस् । डा. हेम शर्मा त भाषण गर्ने र प्रचारप्रसारमा माहिर भए । पेशापनि त उनको मास्टरी भएकाले बोल्न अब्बल हुनेनै भए । उनले त्यो काम गरिरहेकै छन् । राम थापालाई सधैं अध्यक्ष बन्न पाईन भन्ने रोइलो गाउँदा पर्याप्त छ । पासाङ शेर्पा शेष घलेका भित्रिया भए । घलेले तिन करोड दिएपछि उनैको हेरेर दंग परे पुग्छ । खासमा परेको बेला चुपचाप लोहा हान्ने को ? शेष घले ।

तर एनआरएनएको हरेक सम्मेलनमा हेर्नुपर्छ । भाषण र आसन गर्नेमा यिनै माथि उल्लेखित ब्यक्तिहरु छन् । गएको एक दशक भन्दा लामो समयदेखि नेतृत्वको अनेक तहमा यिनैको नाम सुनिन्छ । भेला सम्मेलनका अघिल्ला लहरका कुर्सीमा यिनैको अनुहार गजधम्म परेर बसेको हुन्छ । माईक तिनैले समात्छन् । विज्ञान,संस्कृती, लगानी, भाषा, साहित्य, पत्रकारिता हरेक विषयका ज्ञाताकारुपमा तिनै प्रस्तुत हुन्छन् । ‘अरब अरबका लगानी गरे अरे’ भन्नेमा जता जे खोलेपनि नाम यिनैको जोडिन्छ । आखिर सामाजिक कर्मकालागि संस्थाका नाममा दान दिने ८२ देशका एनआरएनए छँदै छन् भने केको टण्टा ?

आजै घोषणा गरिएको सहयोग हेर्दापनि भाषण गर्ने र काम गर्ने को हो भनेर बुझिन्छ । एक लाख भन्दा बढि नेपाली भएको एनआरएनए बेलायतले १५० सिलिण्डर अक्सिजन । केन्द्रिय अध्यक्ष कुमार पन्त, पूर्व केन्द्रिय अध्यक्ष जीवा लामिछाने, संरक्षक रामप्रताप थापा र सधैं भाषणमा उत्रिने दिल गुरुङ भएको जर्मनीले जम्मा ३० वटा अक्सिजन । अफ्रिकामा कामदार बन्न गएका नेपालीको सहयोग भन्दा केन्द्रिय अध्यक्ष, पूर्व अध्यक्ष र हुनेखाने नेपाली बसेको देशको सहयोग झन चुत्था ? के यो लज्जास्पद होइन ?

साँच्चै कुन देशका एनआरएनए साँच्चै सहयोगी र कुन देशका एनआरएनए गफाडी हुन् भन्ने उदाहरण अर्कोपनि छ । समग्र एनआरएनएनै हाँक्ने महासचिव डा. हेम शर्मा भएको एनआरएनए बेलायतमा जति सदस्य छन् त्यो भन्दा कम सदस्य समग्र एनआरएनए अफ्रिकामा छैनन् । तर बेलायतका तर्फबाट अहिले १५० अक्सिजन सिलिण्डर सहयोग गरिएको छ । त्योपनि कोरोनाकाल भरि अनेक अनेक प्रचारबाजी र दर्जनौं जुम बैठकको भाषणपछि । तर अफ्रिकाका तर्फबाट ? २६ अस्पताल र स्वास्थ्य केन्द्रमा १२५ अक्सिजन सिलिन्डर र स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकेको छ । तर जब एनआरएनएको राष्ट्रिय भेला, सम्मेलन वा कुनै कार्यक्रम हुन्छ त्यो बेला एनआरएनए अफ्रिकाका तर्फबाट कोहि भाषणमा उत्रिन्न । तर बेलायतको ? हरेक भाषण र आशनमा भने बेलायतका नेपालीलाई कसैले भेट्दैन ।

कोरोना महामारी र संकट टार्न भनेर एनआरएनएले उठाएको १३ करोड केकालागि हो ? महामारीका नाममा उठाएको रकमले स्वास्थ्य सामाग्रि खरिद गरेर किन तत्कालै नेपाल नपठाइएको हो ? स्वास्थ्य संकट टार्न गास काटेर उठाएको रकम यसरि एनआरएनएका बडे हाकिम, करोडपतीहरुले होल्ड गरेर राख्न मिल्छ ?

एनआरएनएले सातै प्रदेशमा अक्सिजन प्लान्ट बनाउँदै छ भन्दै हरेक दिन जसो प्रचार गरिएको छ । त्यो कुन कहाँको रकम हो ? त्यो रकम कसले जुटाउने हो ? कुन पद्दतीबाट बनाउने हो ? कि ब्यापारीहरुले लगानी गरेर अक्सिजन प्लान्टको ब्यापार शुरु गर्ने हो ? कि स्वास्थ्य संकट टार्न उठाइएको १३ करोडलाई रोकेर राख्ने र अक्सिजन प्लान्टका नाममा अर्को प्रचारबाजी र चुनावी चारो बनाउनकालागि हो ? अभियन्ताज्युहरु मुख नखोल्ने ?

तपाइँको प्रतिक्रिया

फेसबुक