बिहीबार, वैशाख ६, २०८१

प्रम ओलीले डाकेको चिकित्सा शिक्षा आयोग बैठक बिरुद्ध नागरिक समाजले बालुवाटार पिपलबोटमा प्रदर्शन गर्ने

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ जेठ २८ गते ०:०२

(अघिल्लो आन्दोलनको तस्विरलाई प्रतिकात्मकरुपमा राखिएको)

प्रधानमन्त्री केपी शर्मा ओलीले आजै प्रधानमन्त्री निवास बालुवाटारमा डाकेको चिकित्सा शिक्षा आयोग बैठकको बिरुद्धमा नागरिक समाजले बालुवाटार पिपलबोटमा आकस्मिक प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही अन्य मेडिकल कलेजहरुलाई सम्बन्धन दिनका निमित्त यो बैठक डाकेको बालुवाटार श्रोतले जनाएको छ ।

श्रोतका अनुसार शुक्रबार नै केही नयाँँ मेडिकल कलेजहरुलाई सम्बन्धन दिने निर्णय हुन सक्दछ । नागरिक आन्दोलन समितिले वर्तमान सरकारले चलाएको स्वास्थ्यको ब्यापारिकरणका बिरुद्दमा शुक्रवार बिहान एघार बजे प्रदर्शन गर्न लागेको जनाएको छ । आन्दोलनमा साहित्यकार खगेन्द्र संग्रौला, पत्रकार नारायण वाग्ले, लेखक संजीव उप्रेती लगायतका अगुवाहरु छन । उनिहरुले भनेका छन “स्वास्थ्य सेवा जनताको मौलिक हक र राज्यको जिम्मेवारी हो । तर बिद्यमान कोरोना महामारिमा जनताको यो अधिकारको ब्यापक हनन भएको छ र राज्य आफ्नो जिम्मेवारीबाट च्युत भएको छ ।”

“अझ सर्वोच अदालतको निर्णय विपरित केही नजिकका ब्यक्तिहरुका मेडिकल कलेजहरुलाई सम्बन्धन दिने तयारी गर्नु गैर कानुनी त हुँदै हो, यसलाई रोक्नु नागरिकको कर्तब्य पनि हो” आन्दोलन समितिले भनेको छ ।

स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा गोविन्द केसीले दुई दर्जन भन्दा बढी पटक अनशन बसीसकेका छन भने सरकारले हरेक पटक माग पुरा गर्ने प्रतिवद्धता ब्यक्त गर्दै आएको छ । तर देश महामारी र अन्य विषयमा रुमल्लिईरहेको बेला बलजफ्ती चिकित्सा शिक्षा आयोगको बैठक बोलाएर केही आसेपासेहरुको फाईदाका लागि मात्र निर्णय गराउन खोज्नु दुराशयपूर्ण हो” अगुवाहरुले भनेका छन ।

उनिहरुको भनाई छ “चिकित्सा शिक्षाको होस् वा जनस्वास्थ्य पुर्वाधार वा निती निर्माणको सवाल होस्, जनताको मौलिक हक र समुदाय केन्द्रित स्वास्थ्य सुनिश्चित हुनु पर्दछ । कुनै पनि मेडिकल कालेजलाई सम्बन्धन दिंदा सरकारले जनता प्रतिको उत्तरदायित्व भुल्न मिल्दैन । सिमित ब्यक्तिको फाईदाका लागि सरकारले कसरी पुरै देशबासिको स्वास्थ्यमा खेलवाड गर्न सक्दछ ?” नागरिक आन्दोलनद्वारा जारी बिज्ञप्तीमा भनिएको छ ।

बिज्ञप्तिमा अगाडि उल्लेख छ “जनस्वास्थ्यको बजारिकरणलाई एक कदम अगाडि बढाउने यस्ता कृयाकलापको नागरिक आन्दोलन घृणापुर्वक भ्रत्सना गर्दछ । लोकतान्त्रिक प्रकृया र संविधानलाई नै घातक प्रहार गर्ने उद्यत ओली सरकार चिकित्सा शिक्षा आयोगको स्वायत्ततामा समेत अंकुश लगाउने तयारीमा छ ।” नागरिक आन्दोलनले डा गोविन्द केसीको अभियान प्रती ऐक्यवद्दता जनाउँदै जनस्वास्थ्यमा ओली सरकार स्वेच्छाचारीका बिरुद्दमा उत्रिन स्वास्थ्यकर्मी, पेशाकर्मी तथा नागरिक हरुलाई अपिल गरेको छ । आन्दोलनका एकजना अगुवाका अनुसार शुक्रवार बालुवाटारमा हुन लागेको प्रदर्शनमा सामाजिक दुरि कायम गरिने छ ।

तपाइँको प्रतिक्रिया