बिहीबार, साउन २१, २०७८

शनिवार- साहित्य / सृजना / नियात्रा

ज्ञानको नूतन धारा : स्मृतिविज्ञान-भाग ११

डा. गोबिन्द राज भट्टराई२०७८ जेठ २९ गते ११:५६

(शिलाङ, तेजपुर, गुवाहाटी यात्रा : काठमाडौंदेखि एनजेपीको पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, दोस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  तेस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  चौथो भाग हेर्न यहाँ क्लिक गर्नुहोला, पाँचौं भागकालागि यहाँ क्लिक गर्नुहोला र छैठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, सातौं भागकालागि यहाँ क्लिक गर्नुहोला, आठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, नवौं भाग हेर्न यहाँ क्लिक गर्नुहोला र १० औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला)

वास्तवमा कार्यपत्रको पृष्ठभूमि निर्माणमा मेरो निकै समय बितेछ । त्यसले गर्दा यता कार्यपत्रका अन्तिम दुई पृष्ठको चाहिँ सारतत्व मात्र बताएँ । पाठ गर्न सकिनँ । त्यसपछि प्रश्नोत्तरले पन्ध्र मिनेट खायो । बिहानका सहभागीले अनेक जिज्ञासा प्रकट गरे; मन्तव्यहरू थिए । सेसनाध्यक्ष कमालले थपे— यो मानव इतिहासको एउटा पक्ष सदा भयावह छ । बंगलादेशमा हामीले भोग्यौँ । आज धेरै ठाउँमा एक देशबाट जनतालाई बलात् निष्कासन गर्ने प्रकृयाको अन्त्य भयो र आज त्यो केवल स्वैच्छिक छ भनेर डा. भट्टराईले भन्नुभएपनि हाम्रा हजारौँ बंगलादेशी राष्ट्रनिर्माणमा संलग्न थिए । तर पछि राष्ट्रनिर्माण भइसकेपछि उनीहरूको भूमिका समाप्त भयो । ती तिरस्कृत भए । जातीय समस्यामा परे र हाल युरोपका भयावह भूमितिर कतै विस्थापित छन् । डा. परान्जपेले भने— यो एक सार्विक विषय हो । स्मृतिको इतिहासमा ठूलो विखण्डनकारी अन्तर्वेधन हो । मैले सबैको उत्तर दिएपछि भूटानी नेपालीको निमित्त देशहीनताको स्थितिले यायावर भई अनेकतिर भौँतारिँदा त्यस भोगाइले र स्मृतिलोपका सम्भावनाको गतिलाई तीव्र पारेको छ भन्ने दृष्टान्तसाथ म रोकिएँ । सम्पूर्ण भारतले यस्तो भोगे–देखेको छ । अर्काे दृष्टिले यसको आज सिद्धान्तीकरण हुन थालेको छ ।

यसरी एक घण्टा व्यतीत गरेर म तल ओर्लिएँ । मलाई अपार सन्तुष्टि मिल्यो । यो विद्वत् मण्डलीसमक्ष अलिकति आफ्नो देशको परिचय दिन सकेँ हुँला भन्ने लाग्यो । यद्यपि अनेक विविधताले भरिएको बहुरंगी इतिहास बोकेको भारतमा यो केवल एक सूक्ष्म सङ्केत थियो ।

त्यसपछि एउटा टी–ब्रेक भयो । अनेक मित्रमण्डलीसित त्यहाँ त्यसबारे प्रश्नोत्तर भए । त्यसपछि अरू महत्वपूर्ण सेसनहरू (ती चारतिर एकैचोटि चल्छन्) मा पस्तै निस्किँदै हामी रमाइरह्यौँ । त्यो दिनको सेसनान्त सेवा छोरीको थियो— जेन्डर रोल्ज् इन फोक टेल्ज् विद प्रोसेक्युटिड चिल्ड्रेन अर्थात् “अभियुक्त वालवालिकाका दन्त्यकथामा लैङ्गिक भूमिका” । सेवा छोरीको चयन कसरी भयो, उनी कसरी अघि बढिन्, कसरी अञ्जना र मसँगै उनी शिलाङ आइन् यसको अर्काे कथा छ । तर बाबु र छोरीले एउटा सम्मेलनमा एकैचोटि भाग लिन पाएको यो अवसर अपूर्व थियो । त्यसलेगर्दा मानिसले ठूलो उत्साह र जिज्ञासाले उनको उपस्थितिलाई हेरे । उनको प्रस्तुति पनि बडो स्पष्ट, निर्भीक र बौद्धिक थियो । बीस मिनेटको छोटो प्रस्तुतिमा पनि सेवाले सहभागीमाथि गम्भीर प्रभाव पारिन् । सकेपछि उनलाई बधार्ई दिँदै हात मिलाएर मैले आफ्नोे हर्ष प्रकट गरेँ र अञ्जनाले पनि त्यसै गरिन् ।

अन्त्यको प्लेनरी जसवीर जैनको थियो । सत्तरी कटेकी ती विदुषीको व्यक्तित्व ओज र विद्वत्ताले सबैलाई थिचेकाले सबै मन्त्रमुग्ध भई सुन्यौँ । छलफलमा पस्यौँ र अन्त्यमा घाम डुबेको दोछाँयामा बल्ल बाहिर निस्कियौँ । हाम्रा गन्तव्य ताकेर वाहनहरू उभिएका थिए ।

प्रस्तुति सकिएपछिको आनन्दले हाम्रो परिवार निश्चिन्त र हल्का भयो । परन्तु भोलि फेरि छुट्टिने दिन आएको छ । अञ्जना र सेवा गुवाहाटी हुँदै नेपाल फर्किने योजनामा थिए । रेल्वे टिकट भइसकेको थियो । मेरो काम शिलाङमा अझै बाँकी छ । त्यस कारण फ्रुट गार्डेनमा पुगेपछि अबेरसम्म सामान मिलाएर बल्ल सुत्यौँ ।
……

९ नोभेम्बर २०१३

भोलि आमाछोरी गुवाहाटीका लागि आफ्नो समयमा प्रस्थान गर्नेछन् । त्यहाँबाट रातको नौ बजे राजधानी एक्सप्रेस पक्रेर एनजेपी उत्रिने छन् । त्यहाँबाट बिहानको १० बजे भद्रपुर तरेर काठमाडौँ उड्नेछन् । त्यहाँबाट सोही दिन आआफ्ना कार्यालय भ्याउनेछन् । म भने तेस्रो दिनको गोष्ठीमा पनि सहभागी हुनेछु, …… यस्तै कल्पना गर्दै त्यो रात म एथ्निक ओछिनमा पल्टेको थिएँ ।

प्रातः कालमै उठेर अञ्जना र सेवालाई बिदा गरेँ । म पनि बिस्तारै तयार परेर साथीहरूसँग सङ्गोष्ठीको वाहन चढेँ । आजका प्रस्तुति झन् गहिरा छन् । त्यसको लोभले पनि म रोकिएको थिएँ । त्यसको लोभ मात्र होइन भोलि (१० नोभेम्बरका दिन) शिलाङ बजारमा १०४ औँ देवकोटा जयन्तीका उपलक्ष्यमा एक साहित्य गोष्ठी आयोजित एवं प्रचारित छ । त्यसको निमन्त्रणाको सम्मानमा पनि म रोकिएको हुँ ।

नेहु सम्मेलनमा तेस्रो दिनका प्रस्तुतिहरू संस्कृतिसित कसरी जोडिएका थिए भन्ने कुरा स्पष्ट्याउन म एक दुई दृष्टान्त थप्न चाहन्छु । उदाहरणका लागि सारा हिलालीको एक पत्र छ— मृत्यु संस्कारमा स्मृति : अरुणाचल प्रदेशका आदिम आत्माको यात्रासम्बन्धी विश्वासको उद्घाटन ।

स्मृति भन्ने कुरा संस्कृतिमा खोपिएको हुन्छ । यसले समाजहरू साक्षर हुनुपूर्वको स्थितिको अध्ययन गर्न महत्वपूर्ण साधनका रूपमा काम गर्दछ । इतिहासलाई मौखिक परम्पराका रूपमा लिँदा यसले सामूहिक स्मृतिको महत्वपूर्ण स्रोतको रूपमा काम गर्दछ । लिखित स्मृतिविज्ञानले निरक्षर समाजहरूका विषयमा अध्ययन गर्ने एउटा महत्वपूर्ण स्रोत एवं परिपूरक सामग्रीका रूपमा पनि काम गर्दछ । इतिहासको अभावमा त्यो स्रोत महत्वपूर्ण हुन्छ । त्यसैले मौरिस हलबाखले सामूहिक स्मृतिको अध्ययनलाई ठूलो महत्व दिएका छन् । उनले भनेका छन्— एउटा रहस्यवादीदेखि लिएर सामूहिक स्मृतिसम्मको कुरा गर्दा के देखिन्छ भने स्मृति भन्ने कुरा समाजनिर्मित अवधारणा रहेछ ।

एउटा समूहको सदस्यका रूपमा रहेका समधर्मी र समविचारकको समूहले सामाजिक रूपमा निर्माण गर्दै स्मृतिमा राख्तै इतिहासलाई प्रदान गरेको यो स्मृतिविज्ञान अत्यन्तै महत्वपूर्ण साधन हो । एक पुस्तादेखि अर्काे पुस्तासम्म स्मृतिको सञ्चार गर्नमा अनेक माध्यम प्रयुक्त हुन्छन् । समाजमा विद्यमान भजन, कीर्तन, संस्कार, परम्परा, लोककथा, लोकगीत, सवाइ, उखान यी सबै स्मृतिसंवाहक साधन हुन् ।

प्रस्तुत कार्यपत्रमा पुरोहितहरूले कुनै व्यक्तिको मृत्युपश्चात् कस्ता मन्त्र–स्तोत्रहरू गाएर पृथ्वीबाट आत्माको यात्रा स्वर्गतिर गराउँछन् भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु । यी मन्त्रहरूले आदि पुर्खाहरूको भूमिदेखि जीवित आत्माहरूको बीचमा अनेक प्रकारका काल्पनिक लोकहरूको निर्माण गर्दछन्— मृतात्माहरू अघि यस लोकमा अस्थायी रूपले बसाइँ सरेर आएका थिए । यस्तै अवस्थामा उताका आत्माहरूले उनीहरूको जीवनलाई प्रभावित पारेका हुन्छन् । हामीले वर्णन गरेको समाजमा त्यस्तो एउटा आदिपुरुषको चर्चा छ जसलाई उनीहरूका भाग्यले वा लेखान्तले जीवात्माको निर्देशक बनाएको हुन्छ । यस पत्रमा म अरुणाचल प्रदेशका आदि जातिको मृत्यु संस्कारमा प्रयुक्त मनोजगत् र यथार्थ भूदृश्यको चर्चा गर्न चाहन्छु ।

त्यति भनेर यस पत्रमा प्रस्तोताले थपेकी छन्— विगत तीन दशकदेखि अतीतका सम्बन्धमा लोकप्रिय संवाद–विमर्शहरू बढेका छन् । त्यस कारण स्मृतिको एक व्यक्तिसित अथवा सामूहिक स्थानसितको सम्बन्धको विषयअन्तर्गत समाजले किन बिर्सन्छन् । फेरि किन सम्झिन्छन् भन्ने चर्चा उठ्तछ । प्लेटोदेखि चलेको यो विषय हो । परन्तु ज्याक ली गोफको आगमनपश्चात्, उनले आर्काइभको निर्माण गरेपश्चात् हाम्रा संवादहरू ‘स्मरण’ र ‘विस्मरण’ को राजनीति वरिपरि केन्द्रित हुँदैछन् । यस विषयमा मौखिकभन्दा साक्षर परम्परालाई ध्यान दिँदै आइएको छ ।

अन्त्यमा जेएनयुका प्राध्यापक भाषा, साहित्य र संस्कृति विभागका प्रमुख प्रा. मकरन्द परान्जपेले अध्यक्षता गरेको सम्मेलनको बिदाइ (भ्यालेडिक्टरी) सेसन राखिएको थियो । उनले भारतीय परम्परा खण्डित हुँदै जोडिँदै गरेको अतीत र वर्तमानको संयोजन छ भन्नेबारेमा विद्वत्तापूर्ण प्रस्तुति दिए । उनले सबै जाति, धर्मले भोगेका चोटहरू छन्, तर अब सबै अतीत बिर्सेर नयाँ समयमा नयाँ र सौहार्दपूर्ण समाजको निर्माण गरी बाँचौँ भने । सुन्नेहरू उनको विद्वत्ताबाट अति प्रभावित र स्तब्ध भयौँ ।

त्यसपछि सांस्कृतिक कार्यक्रम थियो । त्यहींका छात्रछात्राले गर्ने प्रस्तुति थियो । विविध जाति र संस्कृति, सांस्कृतिक परम्परा र वस्त्र–आभूषणसित जोडिएका एउटा विविध रंग र झल्काले निर्मित मिश्रित इन्द्रेणीझैँ थियो ।

अन्त्यमा संक्षिप्त मन्तव्यको पालो आएपछि मैले भनेँ— ‘मैले आजसम्म भारतवर्षमा पाँच र विश्वका अनेकौँ देशमा गरी दर्जनौँ, नेपालमा झन्डै तीन सय कार्यपत्र प्रस्तुत गरेँ । महासम्मेलनमा भाग लिएँ । परन्तु प्रस्तुत सम्मेलन सर्वाधिक महत्वको र अत्यन्तै संयमित, सन्तुलित लाग्यो । यहाँका विद्यार्थीको अनुशासन, मर्यादा र संलग्नता देखेर, कतिपय उनीहरूका प्रस्तुतिमा सहभागी हुँदा मेरो मनमा प्रश्न उठेका छन्— कसरी यस्ता विद्यार्थी उत्पन्न हुन सक्छन् । विद्यार्थी एवं शिक्षकका बीच कसरी यस्तो सम्बन्ध निर्माण गर्न सकिन्छ ? हाम्रो विश्वविद्यालयले पनि यस्तो संस्कार सिक्न, सिकाउन सके कस्तो हुन्थ्यो होला ? मैले यस सम्मेलनबाट प्रचुर मात्रामा नयाँ ज्ञान प्राप्त गरेँ । भारत र बङ्गलादेशका प्राज्ञसित गहिरो परिचयात्मक सम्बन्ध स्थापित गर्न सकेँ । ज्ञानका प्रसङ्गहरू यहाँ कसरी विकसित हुँदैछन्, समयको आह्वान के छ भन्ने कुरा सुन्न र बुझ्न पाएँ ।

तीन दिनको यो सम्मेलनको सारतत्वले म आफू लाभान्वित हुनेछु र आफ्नो देशको शैक्षिक र प्राज्ञिक वृत्तमा पनि यसबारे सूचित गर्नेछु । यो अवसर जुटाउन समर्पित प्रा। कैलाश बरालज्यूप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु ।’

यसरी सकियो शिलाङ सम्मेलन । विद्यार्थीहरूले मेमेन्टो (चिनु) प्रदान गरे । र हामी फिर्ती यानमा चढ्यौँ । कुनै बिदाइ पार्टी भएन । भोज भएन । फेरि सबै अप्सरामा भेला भयौँ । दाल–रोटी–पनीर सेवन गरेर कोठातिर लाग्यौँ ।

(क्रमश : आगामी शनिवार १२ औं भाग प्रस्तुत हुने छ )

तपाइँको प्रतिक्रिया