मंगलबार, वैशाख ११, २०८१

कोरोना: छिछि दूरदूर, ‘कोरोना कहरका २१ दिन’

डा. तुलसी भट्टराई२०७८ जेठ ३० गते ११:४०

डा. तुलसी भट्टराई

“कठिन समयलाई कमजोर पार्न नसकिएला तर आफ्नो मन बलियो पार्न सकिन्छ ।”

मन बलियो पार्नेले कठिन परिस्थितिसँग पनि जुध्न सक्छ । कमजोर मन लिएर कठिन यात्रा गर्न सकिँदैन । सकारात्मक सोच र मानसिक ऊर्जा नै सबभन्दा ठूला साथी हुन् ।

२०७६ माघमा पहिलोपटक चीनको वुहानमा कोरोना शुरु भएको खबरसँगै त्यहाँका नेपालीरुलाई विशेष वायुयानबाट स्वदेश ल्याइयो । काठमाडौँस्थित खरीपाटी सशस्त्र क्याम्पमा ठूलो स्वागत सम्मान, निशुल्क भोजन समेत दुई साता बिताएर आफ्ना अफ्ना घर भित्रिएका थिए ।

त्यसपछि इटाली, अमेरिका र युरोपतिर कोरोना फैलिएको समाचार व्यापक भयो । चैतको पहिलो साता काठमाडौँको सनसिटी अपार्टमेन्ट पेप्सीकोलामा विदेशबाट आइ बसेका दुई जना महिलामा कोरोना पुष्टि भएको खबर छ्यापछ्याप्ति भयो । काठमाडौँ नै हल्लिएको थियो।

अनि लकडाउन शुरु भयो । सिमा क्षेत्र, उद्योग धन्दा, यातायात सबै बन्द भए । क्रमशः कोरोनाले च्याप्तै लगेर निकै ध्वस्त पारेपछि २०७७ बित्यो । २०७८ त राम्रो हुँदैजाला भनेकै बेला अर्थात् नयाँ वर्ष मनाउँदै गर्दा कोरोनाको दोस्रो लहर सुरु भएर निकै फैलियो । अहिले निषेधाज्ञा लकडाउन भोग्दै जेठ २२ सम्म आइपुगेका छौँ ।

यतिबेला कोरोनाको महामारी सँगसँगै देशका अधिकांश जनता दैनिक भोकतिर्खासँग कसरी जुध्ने भनेर चिन्ताग्रस्त भएको बेला छ । रोग लागेकाहरुले औषधि उपचार पाउन सकेका छैनन् । सरकार र जनसरोकार राख्ने पार्टीहरु, नेताहरु प्रायः मृत अवस्थामा छन् । केही धुकुधुकी बाँकी रहेकाहरु आफ्नो पार्टी कसरी जोगाउने र सत्तामा कुन उपायले पुग्ने दाउपेचमा व्यस्त छन् । मन्त्री हुन घम्साघम्सी छ । तर जनता पशुपतिनाथकै कृपामा भर पर्नुपर्ने अवस्थामा छन् ।

यसपटकको कोरोना निकै फैलियो । गत वर्ष फाट्टफुट्ट वरपरका खबर सुन्दै गरिन्थ्यो । उसलाई लागेछ । त्यस टोलमा आएछ । निकै जनालाई थला पारेछ । होसियार रहनू । मास्क लगाएर मात्र बाहिर निस्कनू । साबुन पानीले हात धोइरहनू । स्वास्थ्य सफा रहनु । समाजिक दूरी बनाइराख्नू । भीडभाडमा, सभा सम्मेलन र पार्टीहरुमा नजानू । काम नपरी लखरलखर नहिँड्नू…..”  यस्तै यस्तै महावाक्य सुन्ने गरियो र वर्ष पनि बितेथ्यो । हिँडडुल र सामान्य भेटघाट पनि चलिरहेकै थियो ।

२०७७ को प्रारम्भ देखि नै कोरोनालाई आफ्ना छेउछाउ आउन नदिन विभिन्न उपायहरु सुरु गरिएका थिए । ‘अजासु’ बाट प्राप्त जानकारी र अर्ती अनुसारका कतिपय घरेलु औषधिका प्रयोग पनि भएका हुन् । हामी घरघरै डाक्टर भएथ्यौँ । यस्ता डाक्टरहरु ओखतीहरुमा असुराको पात पकाएर पानी पिउने, पारीजातको पात–फूल उमाल्ने खाने । अम्बाको पात, करीपत्ताको पात… दिनमा दुई तीनपटक बाफ लिने । तातोपानी अटुट ……. ‘गुर्जाे, तुलसी पात, मञ्जरी, ल्वाङ, सुकमेल, ज्वानो, जीरा, मेथी, अदुवा, बेसार, बीरेनून…… तुलसी चिया… सबै सबै प्रयोग गरिएकै हो । शक्तिवद्र्धक अस्वगन्धा, शिलाजित, च्यवनप्रास आदिका निकै वटा बट्टा रित्याइयो । लसुन र टिम्मुर पनि निकै धुल्याईयो ।

त्यसो त, भिटामिन डी, सी, र माछाको तेलका बट्टाहरु पनि भ्याइयो । यसैबीच खोप लगाएपछि दरो भइन्छ भनेर हामी श्रीमान श्रीमती दुवैले २७ फागुन (२०७७) का दिन खोप लगायौँ । निकै आत्मबल बढ्यो ।

२०७८ वैशाख १६ गते छोरो प्रमोद ‘मेरो त कोरोना पोजिटिव आयो’ भन्दै घरभित्र पसेपछि झसङ्ग भइयो । छोराले त दुईटै खोप लगाइसकेको हुँदा बलियो भएको होला भनेको …..भएन ।

घरमा कोरोना पसेपछि सबै सजग हुनैपर्‍यो । एक साता नबित्तै पत्नी सुधाजीलाई ज्वरो आयो । पीसीआर पोजिटिभ आयो । उनलाई निकै चापेपछि सातौं दिन छोरी प्रभा, ज्वाइँ अनिल र छोरो प्रमोद बुहारी रास्मिहरुले प्रहरी अस्पताल पुर्‍याएर राखिदिए । छोरी प्रभा आमालाई रुङ्न अस्पताल मै बसिन् । लूना छोरीले पनि अस्पताल पुगेर आमाको सेवा गरेकी हुन् । आठ दिन अस्पताल बसेर ‘कोरोना’ मुक्त भएको प्रमाण–पत्र सहित घर फर्किइन् । सुधा (उनी) अस्पताल जाँदा म पनि बिरामी नै थिएँ । २७ वैशाखमा मेरो पनि पीसीआर पोजिटिव आयो । थन्किएँ म पनि । पाँच छ दिन त सामान्य जस्तै बितेको हो । सातौँ दिन एक्सरे गराउँदा डाक्टरले अप्ठ्यारो देखाए । भाइ देवेन्द्रको प्रयासमा ह्याम्सका कोरोनाविद डा. अनुप सुवेदीको भेट निरीक्षण र विभिन्न जाँचबुझ पछि औषधिहरु शुरु भए । एक सातासम्म म बोल्न, उठ्न नसक्ने अवस्थामा रहेँ । दस दिन जति एक प्रकार खानापिना बहिष्कार जस्तै भयो । यसबीच डा. रविन्द्र समीरको दैनिक फोन वार्ता र म्यासेजबाट सरसल्लाह र औषधी एवम् अन्य खानपानबारे कुरा भइरहन्थे । डा. रवीन्द्रको सौजन्य सदा स्मरणीय छ ।

छोरी मनिषाले क्यानाडाबाट अनुगमन गरिरहिन् । सानी छोरी प्रभा र छोरा प्रमोद एवं बुहारी रश्मिको सेवा त छँदैछ । पत्नी सुधा भर्खर अस्पतालबाट फर्किएकी भए पनि मेरो हेरविचारमा नै खट्नुपर्‍यो । भाइ बहिनीहरु देवी भान्जी र ज्वाइँ एकनाथ तिमसिना एवम् अन्य आफन्त इष्टमित्र सबैको चिन्ता र चासो अनि शीघ्र स्वास्थ्य लाभको कामनाको पात्र बनेँ । अहिले अमेरिकामा रहेका सम्धी रविनाथ उपाध्यायले त दैनिक मेरा निम्ति स्तोत्र र भगवान पुकार गरेको कुरा अविष्मरणीय रहनेछ ।

त्यसो त, दर्जनौँ मित्रजन र शुभेच्छुहरुको मप्रति गरेको चिन्ता र छिटै निको हुन गरेको पुकार महत्वपूर्ण छ । ज्यो. पं. देवीप्रसाद खनालले मोबाइलमा महामृत्युन्जयपाठ सुनाउने गरे । यस पाठको श्रवणले रोगमुक्त हुन सघाउ पुग्छ भन्दै सुनाउने गर्थे । बहिनी हेमु पाण्डेले प्रत्येक दिनजसो बिरामीले खाने चीजबिज ल्याइदिने गरिन् । मनिषाले पनि चिन्ता चासो राख्थिन् । २०७७ को ‘कोरोना’ भोगेका भाइ लक्ष्मण गाम्नाङे परिवार, भाइ राम, भाइ कमल परिवार र अन्यबाट पनि कोरोनासँग जुध्ने उपाय थाहा पाउँदै गरेँ । कोरोना भोगिसकेकी बहिनी यमुना भट्टराईले पनि बिराटनगरबाट आफ्नो पीडा अनुभव बताउँदै गरिन् ।

यसपटकको कोरोनाबाट हाम्रो घरपरिवार आफन्तजन ज्यादै ग्रस्त बन्नुपर्‍यो । दमकमा माहिलो भाइ कमल, बुहारी निर्मला, छोरा–बुहारी जय–टीकाहरु कोरोनाग्रस्त बनेर उठेका छन् । त्यस्तै काहिँलो भाइ पुत्र डिल्ली डेढ हप्ता जति दमक, बेलडाँगीस्थित कोभिड अस्पतालमा बसेर रोगमुक्त भयो । साहिली बुहारी प्रा.डा. अञ्जनाले पनि कीर्तिपुरमै कोरोना भोग्नुपर्‍यो । ससुराली पक्षमा इन्दु ढुङ्गाना र छोरी बुनु, छोरा, गौरवले पनि निकै दरो पाराले कोरोनासँग जुध्नुपर्‍यो । अन्तरे साला विष्णु ढुङ्गाना— संगीता र छोरा अंकितसमेतले कोरोनासँग लाप्पा खेलेर उम्किएका छन् । भान्जी देवीमायाँ र ज्वाइँ एकनाथ तिमसिना पनि थला परे । भान्जा भाइ–बुहारी खगेन्द्र र भोला घिमिरे दुवै जोडी कोरोनाबाट ग्रस्त बने ।

दमकस्थित साहिँली बहिनी गंगा नाति सुलभले पनि निकै तपस्या गरेर निगेटिव आर्जन गर्‍यो । चन्द्रा बहिनीकी छोरी हिमाल पनि थला परिन् । कोरोनाको पहिलो लहरले कान्छी बहिनी शशी परिवार पनि थला परेर निको भएको हो । यस्तै यस्तै यो सूचीपत्र निकै लामो छ ।

अन्ततः यसरी हामी कोरोनाग्रस्त बनेर आराम पीडा भोग्दै रहन थालियो । एक सातासम्म बोल्नै नसक्ने अवस्था सिर्जना भयो । आठ नौ दिन फोनमा कुरा गर्न सकिएन । बोल्न खोज्दा घाँटी ख्याप्प हुन्थ्यो । यस्तो बेलामा साथीभाइ, शुभेच्छुक र हितचिन्तकका फोन–सल्लाहहरु पाइरहन्थेँ । औषधी र खानपानसम्बन्धी सुझाव पाइरहेँ । यिनै सुझाव सल्लाहरु प्रेरणाप्रद भएका छन् । अझैपनि हिँडडुल गर्न र खानपानमा सावधानी राख्ने सुझाव पाइरहेकै छु । यी कुराहरु गरिहाल्नुपर्छ— पर्खिनु हुँदैन । तिर्खा लागेका बेला पानी पिइहाल्नु । निद्रा लाग्दा सुत्नु ढिलो नगर्नू । थकाइ लाग्दा आराम गरिहाल्नु । बिरामी हुँदा डाक्टर र औषधीबारे परामर्श लिइहाल्नु र आत्मविश्वास दरो बनाइराख्नू । सधैँ सकारात्मक र राम्रो भविष्यबारे सोचेर ईश्वरमाथि भरोसा र विश्वास गरिरहनु । यसो गर्दा जीवनबाट निराश बन्नुपर्दैन ।

बिरामी भएर सुतेका बेला यस्ता कुराहरु सम्झिइँदो रहेछ । धेरैतिर सोचेँ । हलो सर, कस्तो छ ? राम्रै छ नि । ए सरलाई पनि कोरोनाले भेटेछ ? त्यस्तो गारो पारेको त छैन नि ? ठीकै छ हैन …. ? अनि खाना खाँदैहुनुहुन्छ नि । यस कोरोनालाई चाहिँ खानाले नै पेल्नुपर्छ है । खानाचाहिँ दरोसँग हुनुपर्छ, खाइरहनुपर्छ । यो खानुपर्छ । यस्तो खानुपर्छ, यसरी खानुपर्छ । यो यो कुरा खाने भन्नेबारे अनन्त फोन सल्लाह पाइरहेँ । अनि माछामासु त खाने गरेको होला । खसी खुट्टीको सुपमा चाहिँ बल गरौँ है । लोकल कुखुराको सुपले पनि काम गर्छ । पाइयो भने ट्राउट माछाको सुपले पनि तङ्ग्रिन मदत पुग्छ । अँ साँच्ची ‘बट्टाइ’ भन्ने थाहा छ, छैन । त्यो बजारतिर पाइन्छ । यसको सुप सारै उपयोगी हुन्छ । मसरुम सुप, भेज सुप, चिकेन सुप… यसमा ज्यादै बल गरौँ । ध्यान र प्राणायाम, स्वासप्रस्वास संचालनको पनि उपाय राम्रो हो । हुन चाहिँ यो कोरोना भन्ने त्यस्तो कुनै जटिल रोग होइन । अलि कडा खालको रुघाखोकीजस्तो हो । आत्तिनु पर्दैन । यसबारे हल्ला मात्रै ठूलो हो । हल्ला चलाए जस्तो चाहिँ होइन । सामान्य नै हो ।

खाना रुचे पनि नरुचे पनि पानीसँग निल्ने । पेटमा पुगेपछि काम गर्छ । तपाईं धेर चिन्ता गर्नुहुँदो रहेछ । केही नसोच्ने आफूले होसियार रहेर प्रयत्न गर्ने हो । प्रत्येकले एक दिन त माथि जानैछ, किन यसबारे धेरै सोचिरहने ?

“अँ एउटा कुरा पनि बुझ्नुपर्छ है दाइ ! यो कोरोना त बल्झिएर फेरि पनि आउने रहेछ । मैले जानेका दुईतीन जना व्यक्तिले निको भइयो भनेर यताउता गर्न थालेछन् । सारो परेर अस्पताल पुर्‍याए तर फेरि घर फर्किएनन् । यस्तो पनि देखियो । ल, टेक केयर…..” यसो भनेर फोन राख्ने शुभेच्छुक पनि फेला परेका हुन् ।

एक जनाले फोन गरेर सोधे— ‘कस्तो छ ?’ अहिले ठीक हुँदैछ— मैले भनेँ । “त्यस्तो गाह्रो अप्ठ्यारो त परेन नि ! ठीक हुन्छ ।” यो फोन सुनेका बेला म बोल्न सक्ने स्थितिमा थिइनँ । तर पनि यस्ता कुरा सुन्दासुन्दा दिक्क लागेर होला, मेरो मुखबाट खोकीसँगै बोली निस्कन्थ्यो । “हो त्यस्तो सारो परेन । सारो पर्नु भनेको त सेतो प्लास्टिकमा बेरिएर घाटमा पुर्‍याइनु हो क्यार, त्यो चाहिँ बाँकी छ ।”

“केही पर्‍यो भने भन्नुहोला है” भनेर फोन राख्ने पनि थिए । “केही परेपछि ता भन्नै पर्दैन…. फेसबुकतिर आइहाल्छ नि” भन्नुजस्तो पनि लागेको हो, त्यो चाहिँ भनिएन ।

“हैन, हजुरलाई कसरी भेट्यो कोरोनाले ! कतै पार्टीसार्टीतिर, सभा समारोहतिर त गइया थिएन । न भेट्नु पर्ने हो ।”

कसरी भेट्यो, कहाँनेर भेट्टायो भनेर मैले कसरी जवाफ दिनु ? तिथिमिति, समय, ठाउँका बारेमा टिपोट गरिएको थिएन । यस्ता प्रश्नमा मौन बस्नुमै कल्याण हुन्थ्यो ।

कोरोना: छिछि दूरदूर

मलाई आफू केटाकेटी हुँदा पन्ध्र सोह्रको उमेरसम्म नै अस्पताल र औषधिबारे जानकारी थिएन । यसबीच पनि धेरैपटक बिरामी परियो । हातखुट्टा भाँचिए । पिलो र विभिन्न घाउ खटिरा आएर थला परियो । तर यी सबै गाउँले जडीबुटीकै भरमा निको भएको, पार लागेको सम्झना गर्दै म लडिरहेँ ।

गत वर्षकै कोरोनाकालमा हाम्रा प्रधानमन्त्री ओलीजीले समेत यस कोरोनालाई बेसार, अदुवा, लसुन, ज्वानो, तुलसी, गुर्जाे आदिकै सेवनले भगाउन सकिन्छ । सबैले यसैमा बल गर्नु भनेका थिए । त्यो पनि सम्झिएँ । हो त, हामी नेपालीहरु प्रकृतिप्रधान मुलुकका बासिन्दा हौँ । प्राकृतिक उपजकै सेवनबाट धेरै बिरामहरु जाति हुन्छन् । त्यसमा पनि हाम्रा रक्षक भनेका त साक्षात पशुपतिनाथ नै हुन् । उहिलेदेखि नै राजामहाराजा र शासकहरुले आफ्ना सम्बोधन र घोषणाको अन्त्यमा “पशुपतिनाथले हामी सबैको कल्याण गरुन्” भनेर टुङ्ग्याउँने चलन रहीआएको कुरा सबैलाई थाहा छ । हाम्रो समाजमा प्रायः रोग लागेका व्यक्तिलाई भेट्ने, सान्त्वना दिने र परेका बला सरसहयोग गर्ने चलन हो । तर यस पटकको यो कोरोना भन्ने व्याधि पूरै असामाजिक तत्वका रुपमा जन्मिएको रहेछ ।

प्रारम्भमा नै कोरोनाबाट बच्ने मुख्य उपाय सोसल डिस्ट्यान्स– समाजिक दूरी भनेर प्रचार भयो । व्यक्तिगत दूरी भन्दा पनि हुन्थ्यो होला । तर, सामाजिक दूरी भनिएकाले वल्लोपल्लो घर, छिमेक मात्र होइन— टोलटोलमै कोरोना संक्रमितलाई छिछि दुरदुर गर्ने भए ।

अझ गत वर्ष त एउटा घरमा कसैलाई कोरोनाले भेट्टाएछ भने ‘यो घरमा कोरोना छ’ भनेर कतिपयले बाहिरपट्टि लेखेरै टाँसिदिने गरेका थिए । मानौं, आफूलाई कहिल्यै भेट्तैन झैं गरेर । त्यो यस्तो थियो, उस्तो थियो । झगडालु थियो, घमण्डी थियो…. के के थियो । त्यसैकारण भेट्टायो कोरोनाले, भन्नेहरु पनि थिए ।

तर २०७८ पछि चाहिँ यस्तो स्थिति रहेन । प्रायः प्रत्येक घरमा कोरोना पसेकाले कसैको कसैका बारेमा टिकाटिप्पणी गर्ने स्थिति रहेन । हाम्रो टोलमा प्रायः घरघरै जस्तो कोरोना बिरामी भाएकाले यो घर कोरोना लागेको घर भनि लेखेरै टाँस्नुपर्ने अवस्था आएन । यसपटक चाहिँ निकै सामान्य बन्यो ।

भेटघाट र कसैका घरमा आउजाउ त सामाजिक दूरीका कारण हुने भएन, स्वाभाविक थियो । परपरैबाट जानकारी लिने दिनेमा भइयो प्रायः सबै । ‘फेसबुक’का कारण मुख हेराहेर पनि हुने गर्‍यो । कुनै दिन कसैले फेसबुकमा हेराहेर गर्दा पनि कोरोना सर्छ । यो भाइरस आवाजमा पनि छिर्छ भनिदियो भने यस्ता सामाजिक सञ्जाल पनि बन्द हुन बेर छैन । अहिलेसम्म यो फेसबुके माध्यम भेटघाटकै जस्तो साधन बनेको छ । देशविदेशमा जहाँ पनि पुगे एकै ठाउँ बसेर कुराकानी भेटघाट गरेजस्तो सहज माध्यम भएको छ ।

यही पृथ्वीको मानिस चन्द्रमा र मंगल ग्रहमा पुग्न सक्ने भएको छ । चन्द्रलोकमा मानव बस्ती बसाल्ने समेत कुरा गर्दैछ । प्रकृतिमाथि नै विजय गर्दै आएको विज्ञानको चमत्कार देखाउने मानिस । हाम्रो हातमा सबथोक छ भनेर हाँक्ने मानिस किन, कसरी कहाँनेर चुक्यो ? यही पृथ्वीमा चाहिँ कसरी राम्रोसँग बाँच्न सकिन्छ, निर्भय जिउन सकिन्छ भन्ने कुरा किन जानेन, किन सिकेन ? अणु परमाणु सूक्ष्मातिसूक्ष्म जीवाणुको उत्पादन गर्ने मानिसले आफ्नै जीवनरक्षाका निम्ति कोरोनाजस्ता महामारी उत्पन्न हुन नदिने र उत्पन्न भइगए पनि तुरुन्तै रोकथाम र समाधान गर्न किन नसकेको होला ? पृथ्वीमा नै निश्चिन्त, निर्भय विचरण गर्ने परिस्थिति निर्माण गर्न नसक्ने मानिसले चन्द्रलोक र मंगलग्रहको बस्ती बसाल्ने खोजमा किन समय र धन खर्च गरेको होला ? धेरै तिरबाट कोरोनाबारे चिन्ता र चासो नराख्ने सल्लाह पाउँदा पनि मैले यसपटक सुतेकै बेला यस्तो सोचेको हुँ ।

बाँकि अर्को भागमा…….

तपाइँको प्रतिक्रिया

फेसबुक