बिहीबार, साउन २१, २०७८

केपी ओली खसेको काँधबाट कृष्णचन्द्र मुख्यमन्त्री, होला र सहज ?

नेपालप्लस संवाददाता / पोखरा२०७८ जेठ ३० गते २०:०१

कृष्णचन्द्र नेपाली गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका छन्। एक हिसाबले दिनभरिको धर्नापछी उनले यो सौभाग्य प्राप्त गरेका हुन । मुख्यमन्त्री बन्ने धेरै अघिदेखिको उनको कसरत बल्लतल्ल पुरा भएको छ । तै पनि उनको बाटो त्यती सहज भने छैन । दिपक मनाङ्गेको काँध त्यती बलियो छैन । केपी ओली खसेको काँध हो त्यो । कृष्णचन्द्र अडिन मुस्किल छ ।

अर्को कुरा कृष्णचन्द्रका अगाडि त्यती ठूलो मैदानपनि छैन । भर्खरै आफ्नो प्रदेशलाई केही ठोस् रुपमा अगाडि बढाउने योजना पनि छैनन् । उनी संसदिय दलको नेता चुनिंदा प्रदेशको मुख्यमन्त्री बन्छु भन्ने उनैलाई कुनै छनक थिएन । संसदिय दलको नेताका रुपमा उनको कार्य क्षमतामा पटक पटक प्रश्न उठिरहेका थिए । यदि नेकपा भित्र कुनै गन्जागोल हुन्नथ्यो भने गण्डकी प्रदेशको मुख्यमन्त्री अर्कै कोही बन्ने थियो । कृष्णचन्द्र नेपाली असफल संसदिय दलको नेताका रुपमा भुतपूर्व बनेर प्रदेश सभाको कतै कुनामा बसिरहेका हुन्थे । भाग्यले साथ दियो, एमाले भित्रको झगडा रोकिएन ।

नेपालीलाई थाहा छ, उनी पनि एक दिन पृथ्वी सुब्बा गुरुङ्ग जस्तै भुतपुर्व बन्ने छन । नामा र पद भनेका क्षणिक हुन । मुख्यमन्त्री हुनु पनि क्षणिक नै हो । त्यसैले उनको मन्त्रिमन्डलको पहिलो निर्णय भुतपुर्व मुख्यमन्त्रीलाई सुविधा गरी आयो । देश कोरोनामय भएको छ । हजारौं मजदुरहरु र दिनभरिको काम पछी रोजिरोटिको जोहो गर्ने एउटा ठुलो वर्ग दैनिक छाक टार्ने स्थितिको तह भन्दा तल छ । यदी कृष्णचद्र मन्त्रीमण्डलको पहिलो छलफल गरिव र मजदुरहरुको पक्षमा भएको भए त्यसले उनको ब्यक्तिगत जीवनलाई मात्र होइन समग्रमा नेपाली कांग्रेसको छविलाई पखाल्ने सेतु हुने थियो । तर देशमा राजनीति कसले जनताको लागि गरेको छ र कृष्णचन्द्र नेपाली अपवाद हुनुपर्ने ?

सामान्य जनताले सोच्ने सतही प्रश्न के हो भने प्रदेश सभा बिघटन भएको भए के हुन्थ्यो र नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेर के हुन्छ ? त्यसो त कृष्णचन्द्र नेपाली प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा रहँदा केही कुरा नउठाएका होइनन् । बजेट बाँडफाँडको विषय, समानुपातिक सांसदलाई गरिएको विभेद र कोभिड नियन्त्रणमा एक घर एक पिसिआरदेखि प्रत्येक जिल्लामा पिसिआर मेसिन राख्नका लागि गरिएको माग सुनुवाइ नभएपछि उनकै नेतृत्वमा प्रदेश सभामा संकल्प प्रस्ताव पेस गरियो। प्राविधिक रुपमा संकल्प प्रस्ताव फेल भएपनि नेपाली कांग्रेसले उठाएका मुख्य मुद्दा हुन् । यसमा दुई मत छैन । यसको नेतृत्व गर्ने नेपाली कांग्रेस नै हुन् । तथापी मुख्यमन्त्री बनेपछी के आयो त सरकारको निर्णय ! कृष्णचन्द्र नेतृत्वको प्रतिपक्षले जतिबेला एक घर एक पीसीआरको मुद्दा संसदमा उठाएको थियो अहिले पनि त्यो समस्या उस्ताको उस्तै छ । तर सरकारको पहिलो निर्णय मुख्यमन्त्रीको सुबिधामा केन्द्रित रहेर आयो । नेपाली जनताका लागि खोइ त सुबिधा ?

अली पहिलेको कुरा गरौं जतिबेला कृष्णचन्द्र नेपाली बसाई सरेर नवलपरासी सदरमुकाम आए त्यतिबेला संगठनका हिसावले पुरै जिल्ला नेपाली कांग्रेसको पकडमा थियो । सुर्यभक्त अधिकारी, तिलक सापकोटा, हेमराज कोइरालाहरु पार्टीको संगठनका लागि दिन रात खटिएका हुन्थे । यिनिहरुले जिल्लालाई मजबुत तरिकाले नेपाली कांग्रेससँग बाँधेर राखेका थिए । नेपालीलाई संगठनका हिसाबले त्यती कसरत गर्न परेन । दाजु रामचन्द्र पोख्रेल केन्द्रमा थिए । सुशिल कोइरालाका निकटस्त । केन्द्रिय नेताहरुको हिमचिमका कारण यिनलाई जिल्लामा सजिलो भयो । २०४८ को संसदिय निर्वाचनमा टिकट लिएर नवलपरासी ४ नं क्षेत्रमा उत्रे । चुनाव हारे तथापी यिनको दबाव कम भएन । तर खुमबहादुर खड्काको छत्र छायाँमा हुर्किंदै गरेका देवेन्द्रराज कँडेलसँग पन्जा लडाउन सक्ने यिनको पहुँच पुगेन । ४ नं क्षेत्रमा बसेर कँडेलसँग प्रतिस्पर्धा गरिरहनु फलामका चिउरा चपाउनु जस्तै थियो । नेपाली त्यहाँबाट बाहिरिएर क्षेत्र नं ३ मा पुगे । चुनाव जित्न सकेनन । यिनको समस्या भनेकै कांग्रेसको तल्लो तहसम्म भिज्न नसक्नु हो । “कांग्रेस भनेर मात्रा हुँदैन मतदाताले चिन्नु पर्दछ” जिलाका एकजना नेता भन्छन ।

खासमा कृष्णचन्द्र नेपाली मतदाताको तहसम्म भिज्न सकेका छैनन । ततपी यिनी नेपाली कांग्रेसको पटक पटक जिल्ला सभापति बनिरहे । पोजिशनमा रही रहनका लागि यिनको चतुर्याइँ सम्झिन लायक छ । धेरै समय यिनी महेन्द्र ध्वज जीसीको निकट रहे । सुर्यभक्त अधिकारी र तिलक सापकोटासँग आवश्यकता अनुसारको सम्बन्ध राखिरहे । यिनलाई कहिले सुर्यभक्तले हात दिए । कहिले महेन्द्र ध्वजले हात दिए । त्यसैले चुनाव हार्नु बाहेक यिनले पछी फर्केर हेर्नु परेन । जो जसले यिनको हात समाएर डोर्याए ति सबैलाई उछिनेर नवलपुर क्षेत्र नं १ पुगे र प्रदेश सभामा निर्वाचित भए । यो क्षेत्रका लागि नेपालीले धेरै वर्ष अघिदेखि आँखा लगाएका थिए । तर सशांक कोइरालाको परासी प्रवेशले सम्भव हुन सकेको थिएन । प्रदेशमै भए पनि मौका आयो छोडेनन् ।

जिल्लाका सामान्य राजनीतिक तिकडम र खिचातानिलाई छोड्ने हो भने कृष्ण चन्द्र नेपालीको छवी इमान्दार कार्यकर्ताकै रुपमा थियो । तर मुख्यमन्त्री बन्ने बाटोले यिनका पछील्ला इमान्दारितामा प्रश्न उठाएको छ । दिपक मनाङ्गेको काँध चढेर मुख्यमन्त्रीको कुर्सीसम्म पुगेको यात्राका बारेमा पक्कै पनि अब मतदाताले सोध्ने छन् । कृष्णचन्द्र नेपाली सरकारले गरेको पूर्व मुख्यमन्त्रीलाई सुबिधा दिने निर्णयको बारेमा अब उनको जीवनकाल भरी औंला उठ्ने छ । गाउँबाट निर्वाचित भएर जानेले समेत जनतालाई पहिलो प्राथमिकतामा किन राख्दैनन ? किन सामान्य जनता हरेक तन्त्रमा दोस्रो दर्जामा सिमित हुन्छन ?

गैंडाकोटबाट जापान पुगेका बाबुराम सापकोटाले सामाजिक संजालमा लेखेका छन- “गण्डकी प्रदेशमा निवर्तमान मु्ख्यमन्त्री श्री पृथ्वीसुव्वा गुरूङको जत्तिको पनि काम गर्ने छाँट वर्तमान मुख्यमन्त्री श्री कृष्णचन्द्र नेपाली पोख्रेलमा देखिएन । यसरी पदलाई तलव दिने भन्ने सोचाई पो निकाल्नु भयो । यही कारणले तपाई जनताको नेता हुन सक्नुहुन्न । यो राम्रो हुँदै होईन । जनताले औषधी उपचार गर्न नसकेको अहिलेको अवस्था छ । मु्ख्यमन्त्री ज्यु जनताको बारेमा सोच्नुस नेताको बारेमा त वर्षौं देखी सोचिरहनु भएको छ । यसरी पहिलो गासमै ढुङ्गा लाग्दा निल्न गाह्रो हुन्छ, यो निर्णय फिर्ता लिएको खबर चाँडै सुन्न पाउँ” ।

तपाइँको प्रतिक्रिया

फेसबुक