शुक्रबार, वैशाख १४, २०८१

नेपालप्लस समाचार प्रभाव : अमेरिका उड्नै लाग्दा महाप्रबन्धकको भ्रमण रोक्का, ‘कार्यसम्पादन शून्य, तलब गभर्नरको भन्दा बढी’

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ जेठ ३१ गते २०:०७

नेपाल वायुसेवा निगमका महाप्रवन्धक डिम प्रकाश पौडेल

कोरोना संकट र महामारीका बीचमा कुनै प्रकारको भेला, बैठक वा यात्रा गर्न नपाइने सरकारी प्रबन्ध रहेकैमाझ पुरानो जहाज बेच्ने बहानामा शनिबार साँझ अमेरिका उड्न लागेका नेपाल बायुसेवा निगमका महाप्रबन्धक डीमप्रसाद (प्रकाश) पौडेललाई अन्तिम घडीमा उडान भर्नमा रोक लगाइएको छ ।

नेपालप्लसले यस अघि ‘नेपाल एयरलाईन्स बोर्ड अध्यक्षको आकस्मिक राजिनामा : कोविड संकटका माझ महाप्रबन्धक डिम अमेरिका उड्न लागेकोमा ‘असहमती’ शिर्षकमा उनको अमेरिका भ्रमण र नेपाल वायुसेवा निगमको संचालक समितिका अध्यक्ष शुशिल घिमिरेले शुक्रबार आकस्मिक रुपमा दिएको राजीनामा बारे सोमवार समाचार प्रकाशित गरेको थियो । यो समाचारपछि पर्यटनमन्त्री उमाशंकर अरगरियाले जाँचबुझ गरेका थिए ।

शुक्रबार मात्रै निगम बोर्डका अध्यक्ष शुशिल घिमिरेले आफ्नो पदबाट राजिनामा दिएको अवस्था र महाप्रबन्धक डीमप्रसादलाई यो महामारीका माझ अमेरिका नजानका लागि दिइएको दबाबबारे नवनियुक्त पर्यटन मन्त्री उमाशंकर अरगरियाले जानकारी पाएपछि शनिबार अपरान्ह डीमप्रसाद अमेरिका उड्न नपाएका हुन् । बोइङ जहाज बिक्रीको कानूनी प्रबन्ध मिलाउन तय गरिएका कानून व्यवसायी आभाष पण्डित भने शनिबार राती अमेरिका उडेका छन् ।

यसैबीच, निगममा महाप्रबन्धक बनेर आएको ८ महिना बितिसक्दा पनि डीमप्रसादको कार्यसम्पादन केही नदेखिएको अवस्था र निगममा रहेको ३ अर्व रुपैंयाभन्दा बढीको ऋणको एउटै किस्तासमेत अहिलेसम्म महाप्रबन्धक पौडेलले तिर्न नसकेको ‘कमजोर कार्यसम्पादन’ भन्दै मन्त्री अरगरियालाई अवगत गराइएको छ । बोर्डका अध्यक्ष घिमिरेले राजिनामा दिएको र आफूलाई पनि पदीय असक्षमताका आधारमा मन्त्री अरगरियाले निष्कासन गर्ने संकेत पाएर महाप्रबन्धक डीमप्रसादले आफ्नै इच्छामा अमेरिका भ्रमण पर सारेको निगमका एक अधिकृतले बताए ।

नेपालमा राष्ट्र बैंकका गभर्नरभन्दा बढी तलब खाएर बसिरहेका महाप्रबन्धक डीमप्रसादले सम्पूर्ण ट्याक्स तथा सेवासुविधाको शुल्कसहित झण्डै ५ लाख रुपैंयाको तलब निगमबाट यसै महिनाबाट लिन थालेका छन् । २ साताअघि मात्रै तत्कालिन पर्यटन मन्त्री भानुभक्त ढकालले महाप्रबन्धक डीमप्रसादको तलब तथा अन्य सुविधा ३ गुणा बढाइदिएका थिए । तर, यसको कारण र कार्यसम्पादनको ततजिवी कहींकतै पनि मेल खाँदैन । बिशुद्ध एमाले कार्यकर्ता रहेका महाप्रबन्धक डीमप्रसादलाई अघिल्ला पर्यटन मन्त्री योगेश भट्टराईले ८ महिनाअघि निगममा ल्याएका थिए ।

मन्त्रीको ७ दिने ‘निर्देशन’

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री उमाशंकर अरगरियाले सुधारको ठोस कार्ययोजना ल्याउन नेपाल वायु सेवा निगमलाई निर्देशन दिएका छन् । सोमबार अपरान्ह नयाँसडकस्थित निगमको कार्यालय अनुगमन गर्दै मन्त्री अरगरियाले निगममा सरकारले आशा गरेजस्तो सुधारका लागि ठोस कार्ययोजना ल्याउन निर्देशन दिएका हुन् ।

‘निगममा देखिएको कमिकमजोरी सच्चाउन एक साताको समय दिएको छु, अन्यथा तपाईहरुको खराब पद्धती र प्रकृयामाथि हस्तक्षेप पनि हुन सक्छ’ मन्त्री अरगरियाले चेवातनी दिंदैं भनेका छन् ।

निगमसँग आन्तरिक उडानका लागि प्रयाप्त जहाज हुँदाहुदै पनि उचित प्रयोग नभएको भन्ने गुनासो आएको सुनाउँदै ‘विगत एक वर्षदेखि आन्तरिक उडान नहुनुको बस्तुनिष्ट कारण समेत आफूलाई तत्काल चाहिएको’ समेत उनले निर्देशनमा जनाए ।

मन्त्रीको निर्देशन बैठकमा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले पछिल्लो समयमा नेपाल वायुसेवाले भनेजस्तो सुधार तथा उपलब्धी देखाउन नसक्नुमा कोरोनासहितको संकटको कारण देखाएका थिए । उनले निगमको स्तरोन्नतीमा आवश्यक लगानी एबं पुँजीबृद्धिको जरुरी रहेको जिकिर गरेका थिए ।

यसैसित संवन्धित समाचार हेर्नुस्

नेपाल एयरलाईन्स बोर्ड अध्यक्षको आकस्मिक राजिनामा : कोविड संकटका माझ महाप्रबन्धक डिम अमेरिका उड्न लागेकोमा ‘असहमती’

तपाइँको प्रतिक्रिया