शुक्रबार, वैशाख १४, २०८१

जनप्रगतिशिल मोर्चाको आर्थिक सहयोगमा जनस्वास्थ्य भवन निर्माण

नेपालप्लस संवाददाता / कपिलवस्तु२०७८ असार १ गते १२:१२

नेपाल कम्युनिष्ट पार्टीको पहलकदमीमा कपिलवस्तु स्थित शिवगढीमा निर्माणाधीन जनस्वास्थ्य भवन निर्माणको लागि नेपाली जनप्रगतिशिल मोर्चा यूरोप र अमेरिकाले सहयोग गरेको छ । उक्त निर्माणाधीन भवनको प्रांगणमा आयोजित सभा र यूरोप मोर्चाको प्रायोजनमा संचालित भर्चुल कार्यक्रमद्वारा निर्माणाधीन जनस्वास्थ्य केन्द्र निर्माण समितीलाई करिब १६ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले कपिलवस्तुमा रिकभरी सेन्टर निर्माण गरी कोरोना संक्रमितहरुलाई एकान्तवास बसालेपछि कोरोनाको जोखिम कम भएको जानकारी गराएका थिए । उनले कम्तिमा एकपटकमा ३० जना बिरामी भर्ना हुन सकिने भवन निर्माण हुँदै गरेको र आफ्नो पार्टीले यस्तो कामहरु देशैभर गरिरहेको बताए । पार्टीको पहलमा सामाजिक भवन र स्कूलहरु बनाएको जानकारी गराउँदै मानवीय भावनाले सहयोग गर्नेहरु प्रति धन्यवाद व्यक्तपनि गरे ।

महासचिव विप्लवले वर्तमान राजनीतिक परिप्रेक्षबारे आफ्ना धारणा राख्दै नेपालमा भएको दलाल पूँजीवाद र वैदेशिक हस्तक्षेपको विरुद्ध लड्नुपर्ने अहिलेको मुख्य आवश्यकता भएको बताए । उनले आफ्नो पार्टीद्वारा परिवर्तन, न्यायको कुरा गर्दा, सबैखाले उत्पीडनका विरुद्ध आवाज उठाउँदा आफ्नो पार्टीलाई उग्रवादीको आरोप लाग्ने गरेकोमा गुनासो गर्दै भने “अहिलेसम्म बनेका सबै खालका संविधान र शासन व्यवस्थाहरुले जनताका समस्या समाधान गर्न सकेनन् । त्यसैले जनताले आफ्नो शासन व्यवस्था आफैले चुन्न पाउनुपर्छ । नेपालको राजनीतिक प्रणाली कस्तो हुने भन्ने विषय रोज्ने अधिकार जनतालाई दिनु नै उत्कृष्ट लोकतान्त्रिक व्यवस्थाको अभ्यास हो । यो भनेको पूँजिवादी ब्यवस्था रोज्ने कि बैज्ञानिक समाजवाद रोज्ने भन्ने विषयमा जनमत संग्रह नै हो ।”

उनले कोरोनाको पहिलो लहरका बेला आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाएको तर आफ्नो पार्टीले महामारीका बेला कुनैपनि पार्टीमाथि प्रतिबन्धित नगरि सबै पार्टी मिलेर महामारीलाई परास्त गर्नुपर्ने प्रस्ताब राखेकोसमेत बताए । “हामीले महामारी कुनै एक दल, पार्टी र सरकारले मात्रै परास्त गर्न नसक्ने हुँदा सबै मिलेर काम गरौं, जनतालाई सहयोग गरौं भनेका थियौं । तर सरकारले त्यसमा ध्यान दिएन” उनले भने ।

सरकारले प्रतिबन्ध लगाउँदापनि आफ्नो पार्टी, कार्यकर्ता, पार्टीको जनस्वास्थ्य बिभागले बिभिन्न सहयोग गरेको भनाई राख्दै बिप्लवले उल्लेख गरे “अस्पतालमा कोरोनाका बिरामीहरु देख्दा मानिसहरु भागाभाग गरेका थिए । त्यस्तो बेला जोखिम मोलेर हाम्रा कार्यकर्ता र जनस्वास्थकर्मीले गाउँ गाउँमा जनताको सेवा गरे ।”

बिप्लवले जनशक्तिमा विश्वाश गर्ने हो भने सानातिना विकास निर्माण, स्वास्थ्य चौकी र साना विकासका काम मात्रै होइन देशनै निर्माण गर्न सकिने भनाईपनि राखेका थिए ।

“जनतालाई दुख छ । तर त्यो दुख हटाउन सक्छौं । नागरिकहरु जुट्यौं भने ठूला दुखलाईपनि पार लगाउन सक्छौं” मन्तब्यका क्रममा बिप्लबले सुनाए ।

उनले जनतालाई शान्ति, स्थिरता, गाँस बाँस कपास, शिक्षा र स्वास्थ्य चाहिएको उल्लेख गर्दै सबैको लागि सुन्दर बगैंचा बनाउनुपर्ने खाँचो औंल्याए । “तर त्यो सुन्दर बगैंचा बनाउन सहि बिचार आवश्यक पर्छ” उनले भने “बिपीले बिदेशी दलाल बिरुद्द, राष्ट्रियता बिरोधीका बिरुद्द लड्नुपर्छ भनेका थिए, तर के त्यो पुरा गर्‍यो त उनको बिचार बोक्ने पार्टीले ? बरु अहिले सरकार बनाउने र गिराउने पनि बिदेशीहरुनै भएका छन्” उनले उल्लेख गरे ।

हालको भन्दा उत्तम खाले प्रजातन्त्र, जनवाद, कानुन, सुशासन, प्रशासन बनाउँदा लड्नेले मात्रै उपभोग गर्ने नभै सिंगै समाजलाई फाईदा पुग्ने भन्दै बैज्ञानिक समाजवादका बिरुद्दमा लाग्नुपर्ने कुनै कारण अनभएको बताए । जनताले आफूलाई कस्तो शासन ब्यवस्था आवस्यक ठान्छन् त्यसको निर्णय जनतालाई नै गर्न दिनुपर्नेपनि उल्लेख गरे । बैज्ञानिक समाजवादी ब्यवस्था वा हालको पूँजिवादी ब्यवस्था भन्ने विषयमा जनतालाई फैसला गर्न दिन जनमत संग्रह गर्नुपर्ने र आफ्नो पार्टी त्यसकोलागि तयार रहेको भनाई बिप्लवको थियो ।

उनले राजनितिनै नजानेका, नपढेका न्यायधिश र वकिलहरुलाई राजनितिक विषय, सरकारका प्रतिनिधी छान्न दिने गलत परिपाटी बसालेको उल्लेख गर्दै भने ” राजनिति नपढेकालाई राजनितिक निर्णय गर्न दिने होइन । कानुन जानेकालाई कानुनी विषयको ज्ञान हुनाले त्यहि विषयमा निर्णय गर्न दिनुपर्छ ।”

“जनतालाई अधिकार दिँदा आत्तिने नेता, शासक टिक्दैन । त्यसैले जनतालाई अधिकार दिने विषयमा पार्टी र नेता डराउनु हुँदैन” उनको जोड थियो ।

कोरोना महामारीका बेला शैक्षिक दलालहरुको महामारी चलेको, कसले कमिशन खाने भनेर कमिशनमा ध्यान गएको, स्वास्थ्य सामाग्रि र अस्पताल खोलेर कसले ब्यापार गर्ने भन्ने लुछाचुँडीले कोरोना भाईरसको खोप देशमा आ उन नसकेको आरोपपनि उनले लगाए ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा अन्तराष्ट्रिय विभाग प्रमुख कन्चनले सरकारले ग्रामिण इलाकामा बनाएको अस्पतालहरुको तुलनामा यो तीन गुणा ठूलो अस्पताल भएको दावी गर्दै भने “नेपाली जनप्रगतिशील मोर्चा यूरोप तथा अमेरिकाले गरेको सहयोगले ठूलो महत्व राख्दछ । घरको आँगन सफा गर्न पनि एनजिओ आइएनजिओहरु हावी हुने बेला विदेशमा रहेका नेपालीहरुबाट यसरी रकम सहयोग जुट्नु भनेको ठुलो उपलब्धि हो ।”

विदेशमा रहेका नेपालीले जनयुद्धलाई पनि धेरै सहयोग गरेको स्मरण गर्दै नेपालमा क्रान्ति सम्पन्न र शान्ति स्थापनाको लागि बिशेष भूमिका निर्वाह गरेको बताए ।

जनस्वास्थ्य सेवा केन्द्र शिवगढी निर्माण समितिका अध्यक्ष यादव चन्दलाई नेकपाका नेता क। कन्चनले मोर्चाले सहयोग गरेको १८ लाख १७ हजार ५ सय २९ रुपैया रकमा हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा नेपाली जनप्रगतिशील मोर्चा यूरोपका अध्यक्ष विष्णु भुजेलले अस्पताललाई सहयोग गरेर जनतालाई उपचारमा सहयोग पुगोस भन्ने विश्वास व्यक्त गरे ।

यसैगरी नेपाली जनप्रगतिशील मोर्चा बहराइनले पनि ६१ हजार रुपैयाँ नेकपाको अभियानलाई सहयोग गरेको थियो । यादव चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नेकपा विदेश विभाग सदस्य खगेश्वर केसीले गरेका थिए ।

तपाइँको प्रतिक्रिया