बिहीबार, वैशाख १३, २०८१

सभापतीमा उम्मेदवारी दिन परिस्थिती कुर्दै कांग्रेसका वरिष्ठ नेता

सुरेश चन्द्र कुइँकेल / काठमाडौं२०७८ असार २ गते १६:३०

Photo: RSS

तोकिएको समयमा भयो भने नेपाली कांग्रेसको चौधौं महाधिवेशन हुन अब १० हप्ता मात्र बाँकी छ । तर अझैसम्म महाधिवेशनको प्रकृया सकिएको छैन । करिब एक वर्ष अघिदेखि शुरु भएको कृयाशिल सदस्यता वितरण प्रकृया अझै टुङ्गोमा पुगेको छैन । नेताहरुका बिचमा रहेका पुराना विबाद उस्तै छन । साँढे चार वर्ष सभापति देउवाको कार्यकाललाई हेर्ने हो भने नेपाली कांग्रेसका लागि त्यति आशा लाग्दा वर्षहरु थिएनन् । उनको नेतृत्वको कांग्रेस ईतिहासमै कमजोर कांग्रेस बन्यो । आम निर्वाचन र स्थानिय निर्वाचनहरुमा नेपाली कांग्रेसको उपस्थिती चिन्ताजनक थियो । यो तीन वर्षभरी संसदमा कांग्रेसको प्रस्तुती शुन्य बराबर रह्यो ।

कोभिड महामारीमा गगन थापा र केही जिल्ला कार्य समितिको अग्रसरता भने उल्लेखनिय रह्यो । तर समग्रमा कांग्रेसले कुनै बाटो पहिल्याउन सकेन । ओली सरकारका गैर संबैधानिक कृयाकलापका विरुद्दमा जोडदार आवाज उठाउन सकिने प्रशस्त खाली ठाँउ भए पनि कांग्रेसले त्यसको उपयोग किन गरेन आश्चर्य लाग्दो छ । बरु सभापति देउबा सरकारी र संबैधानिक निकायहरुमा आफ्ना नजिकका ब्यक्तीहरुलाई भर्ती गराउन ओलीका गलत कृयाकलापका साक्षी मात्र बनेनन्, कतिपय निर्णयमा साथ पनि दिए । ओलीको पुष ५ को कदममा देउवाको पूर्ण समर्थन थियो जबकी कांग्रेसको अर्को पक्ष ओलीको कदम विरुद्द आन्दोलनमा उत्रेको थियो ।

प्रधानमन्त्रीले अहिले पुन: संसद विघटन गरेर मध्यावधी घोषणा गरेका छन् । यदि आफुलाई अन्य पार्टीहरुले प्रधानमन्त्री स्विकार गर्ने अवस्था नआएको भए शेरबहादुर देउवा अदालतसम्म जाने टोलीमा सामेल हुने थिएनन् । यही सेरोफेरोमा यदि महाधिवेशन भयो भने शेर बहादुर देउबा दोस्रो कार्यकालका लागि सभापतिका दावेदार हुन् ।

हुन त देउबा खेमाकै विमलेन्द्र निधी र गोपालमान श्रेष्ठले सभापतिका लागि आफूहरुले उमेदवारी दिने सार्वजनिक गरेका छन् । तर यि दुबैले वर्तमान सभापति शेरबहादुर देउवालाई ‘क्रस’ गर्न सक्ने सम्भावना न्युन छ । कांग्रेसका एक  प्रभावशाली नेता भन्छन- निधी र श्रेष्ठको आवाज एउटा ‘वार्गेनिङ’ को विन्दुमा पुगेर टुङ्गिन्छ । त्यो पार्टीको अन्य कुनै भूमिका हुन सक्दछ या नेपाली कांग्रेस सरकारमा पुग्यो भने त्यहाँ बाँडफाँड भूमिकामा सम्म पुग्दछ” ।

उनका अनुसार आगामी आम निर्वाचन पछी नेपाली कांग्रेसले यदि सरकार बनाउने अवस्था आएमा आफुलाई प्रधानमन्त्रि बनाउन देउवाको समर्थन हुनुपर्नेमा निधिको जोड छ भने श्रेष्ठको पनि महत्वपूर्ण भूमिकाका लागि वार्गेनिङ चलिरहेको छ । यदी यि दुबै जनाको मागमा सुनुवाई भयो भने यो खेमाबाट शेरबहादुर देउवा एक्ला उम्मेद्वार हुने छन् ।

अर्कोतर्फ देउवाका हरेक कृयाकलाप विरुद्ध मोर्चाबन्दी गरिरहेको रामचन्द्र पौडेल, कृष्ण प्रसाद सिटौला र कोइराला समुहका बिचमा अझैसम्म कुनै तालमेल हुन सकेको छैन । न त सभापतिको कुनै एउटा उम्मेदवार छान्ने छलफल नै भएको छ ।

रामचन्द्र पौडेल सकभर आँफै उम्मेदवार बन्ने कसरतमा छन् । यदि आफ्नो उम्मेदवारी स्विकार्य नभए उनी प्रकाशमान सिंहलाई अगाडि ल्याउने पक्षमा छन भने सिटौला आफैं उम्मेदवारी घोषणा गर्ने तयारीमा जुटेका छन् । सशांक कीरालाले आफूलाई भावी सभापतिको लागि प्रस्तुत गरिसकेका छन् । तर कार्यकर्ता तहबाट भावी सभापतिको उम्मेदवारको रुपमा हेरिएका शेखर कोइराला भने मौन छन् । उनले आफू सभापतिको दौडमा रहेको बताए पनि उम्मेदवारी घोषणा गर्न अझै समय रहेको उनको धारणा छ ।

नेपालप्लस सँगको संक्षिप्त कुराकानीमा उनले भने- “हामी छलफल गरिरहेका छौं । जो भएपनि एक जना उम्मेदवार हुन्छ । धेरै कुरा मिलाउनु पर्ने छ । कुराकानी चलिरहेको छ । तर अर्का नेता कृष्ण प्रसाद सिटौलाले भने को सभापति बन्ने भन्ने विषयमा कुनै छलफल नभएको बताउँछन । उनी भन्छन- सार्थक र अर्थपूर्ण छलफल अहिलेसम्म भएकै छैन । जताततै गन्जागोल छ” । कृयाशिल सदस्यताको विवाद सकिएपछी आफूले उम्मेदवारी घोषणा गर्ने सिटौला बताउँछन । कृयाशिल सदस्यता सम्बन्धी बिवाद छानविन गर्न गठित समितिले यहि महिनाको अन्त्यसम्म आफ्नो निर्णय दिने छ र महाधिवेशन भदौमा हुने नहुने टुङ्गो पनि लाग्ने छ । त्यसपछी मात्र परिस्थिती हेरेर उम्मेदवारी घोषणा गर्ने अथवा सहमतिमा अर्को कसैलाई उम्मेदवार बनाउने भन्ने कुराको निर्क्योल हुने सिटौलाको भनाइ छ ।

तर कतिपय नेताहरु कृयाशिल सदस्यता सम्बन्धी बिवाद समाधान नभएसम्म महाधिवेशन हुने कुरामा शंका ब्यक्त गर्छन् । एक जना नेता भन्छन्- खासमा सभापती शेरबहादुर देउवा अझैपनि महाधिवेशन गराउने पक्षमा हुनुहुन्न । अहिले समय पनि त्यस्तै छ । कोरोनाको महामारीलाई पनि ‘ईश्यु’ बनाउन सकिने आधार छन् । यदि महाधिवेशन पुन: पछाडि धकेलियो भने पार्टीमा बैधानिक संकट सुरु हुने छ । त्यसैले पनि भदौमा महाधिवेशन गर्नुको कुनै विकल्प छैन ।

सिटौला भन्छन्- “महाधिवेशन नगरेर मैले त अर्को कुनै उपाय नै देखेको छैन । जुनसुकै हालतमा पनि भौदौमै महाधिवेशन गराउनु पर्दछ” । यदि भदौमा नै अधिवेशन भयो भने देउवा इतर समुहलाई आफ्नो समुहका तर्फबाट एउटा मात्र उम्मेदवार बनाउन कठिन हुने छ । तर असम्भव भने छैन । यदी यो समुहले कुनै एउटा उम्मेदवारको नाममा समती जुटाउन सक्यो भने शेरबहादुर देउवालाई कडा चुनौती हुने छ ।

तपाइँको प्रतिक्रिया