बिहीबार, चैत १५, २०८०

कोराना मृत्यु–चिन्तन

डा. तुलसी भट्टराई२०७८ असार ३ गते १६:०५

(डा. तुलसी भट्टराईको कोरोना: छिछि दूरदूर, ‘कोरोना कहरका २१ दिन’ पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुस् !)

डा. तुलसी भट्टराई

“पीडा ग्रस्त मन र रोगग्रस्त शरीर भएपछि हाम्रो प्राचीन परिकल्पनाको कुबेरकै सम्पति भएर पनि त केही नुहने रहेछ । त्यसकारण नै भनिँदै आएको रहेछ— “स्वास्थ्य नै सबभन्दा ठूलो धन हो ।”

​प्रत्येक व्यक्तिको अनुहार, बोलीचाली र स्वभाव फरक भएजस्तै शारीरक संरचना पनि फरक फरक हुन्छ । सबैको एकै प्रकारको बनावट हुँदैन । त्यसैकारण विरामी पर्दा र एकै खाले रोग लाग्दा पनि प्रत्येकलाई भिन्नभिन्न प्रभाव र परिणाम देखिँदो रहेछ । यसपटक कोरोनाको प्रभाव पनि त्यस्तै भयो । कतिले सामान्य ठाने, कतिलाई निकै गाह्रो भयो । कति ख्यालमैं गए ।

कोरोनाले मलाई पनि “नमरी स्वर्ग देखिन्न” भन्ने उखान सम्झायो । किनभने कोरोना पोजिटिव पछिको दोस्रो साताभरि म एक प्रकार अनौठो स्थितिबाट गुज्रिँदै विक्षिप्तजस्तो बनेँ । शरीरमा कहाँ, के हुन्छ छुट्याउन नसकिने तर विचित्रको अवस्था । सपना हो कि विपना जस्तो । त्यसकारण जसले कोरोना भोग्यो, उसले मात्र थाहा पाउने कुरा रहेछ यो । अनुमान र सुनेका आधारमा यसबारे कसैले केही पनि भन्न सक्तैन । औषधी वा अन्य वनस्पतिजन्य औषधी गुणका वस्तुको प्रयोग र प्रभाव पनि प्रत्येक व्यक्तिमा फरक हुने भएकाले कसैले पनि यो प्रयोग गरेर रोग च्वाट्टै निको हुन्छ अथवा यसले रोग लाग्न दिँदैन, लागिहाले पनि निको पार्छ, यो चाहिँ रामवाण हो… भनेर भनिहाल्न नमिल्दोरहेछ ।

म कोरोनाग्रस्त भएको दोस्रो हप्तापछि अलि अप्ठ्यारो हुन लागेको भनेर एक्सरे र अन्य रिपोर्ट सहित छोरा प्रमोदले अर्कोपटक ह्याम्सका डाक्टर अनुप सुवेदीकहाँ लिएर गए । उनले एक विशेष औषधि लेखिदिए । १२ दिनसम्म त्यो खाएँ । यस औषधीले शरीरलाई निकै खँगार्दो रहेछ । तर काम पनि गरेको रहेछ । यो खाउन्जेल एक साताभन्दा बढी खाना खाना सकिएन । अर्काेपल्टको डाक्टरी निरीक्षणपछि अब राम्रो भएको बताएर उनै डाक्टरले ढुक्क पारे । आफू पनि अलि निश्चिन्त भइयो । बिस्तारै जीवन चक्र अघि बढ्न थालेको छ ।

​मानिसले आफ्नो जीवनकालमा सुख थोरै मात्र भोग्न पाउँछ । दुखहरुकै घेराभित्र अधिकांश जीवन बिताएको हुन्छ । तर दुःखहरुबाट कहिल्यै आत्तिनु र निरासिनु हुँदैन । जीवन भनेकै दुःख र सुखको प्रतिमूर्ति हो । दुःखमा नआत्तिने र सुखमा नमात्तिने व्यक्तिले मात्रै जीवनलाई राम्ररी चलाउन, बिताउन सक्छ ।

यी सबै थाहा पाएदेखि सुन्दै आएका कुरा हुन् । तर यसपटकको कोरोना पीडाले भने झन्डै झन्डै मेरो हंस उड्न खोजेको अनुभव भयो । सुतेका बेला घरिघरि अब जीवन यत्तिनै रहेछ भन्ने निराशा बोध पनि उत्पन्न भएको हो ।

एक साता जति मैले मोबाइल हेरिनँ, उठाइनँ । सुधाजीकै जिम्मा छोडेँ । यसबीच केही अति प्रिय र हितैषी व्यक्तिहरु कोरोनाको चपेटामा परेछन् । तीमध्ये रंगनाथ भट्टराई, जीवनचन्द्र कोइराला र राजेन्द्र सुवेदी मेरा ज्यादै घनिष्ट र आत्मीय थिए । अरु पनि दर्जनौं होनहार व्यक्ति गएछन् । यसबारे चाहिँ केही दिनपछि पत्नी सुधाले सुनाइन् । यस्ता दुखान्त घट्ना सुनेपछि केही बेर मौन रहेर उनीहरुमा आत्माको चिरशान्तिको कामना गर्नेबाहेक अरु के हुन सक्थ्यो र ?

‘सत्तरी वर्षे वृद्ध…फलानो…कोरोनाबाट मृत्यु’ भन्ने खबर सुन्दा झसंग हुन्थ्यो– ७१ वर्षे मेरो मन । ओहो म त वृद्धको गणनामा पुगेँछु । अब के रह्यो र जीवनको आश, वृद्धले बाँचिरहने आशा किन गर्नु ? अझ चालीस पचासका सयौँ व्यक्ति धमाधम गइरहेका छन् । लाउँ, खाउँ उमेरका, केही राम्रो काम गर्न सक्ने यो समाजका निम्ति उपयोगी धेरै व्यक्तिहरु कोरोनाबाट बिते । यस अर्थमा मजस्ता वृद्धको त त्यति प्रयोजन छैन होला । अनि किन जीवनप्रतिको मोह राख्ने ?

यस्तो सोच पनि बेलाबेला अन्तरकुन्तरबाट निस्कन्थ्यो । तर फेरि हैट यस्तो पनि सोच्ने … ? अझै आठ दस वर्ष मैले केही गर्नुपर्छ । आफ्ना अनुभव र जानेबुझेका कुराहरु लेख्नु छाप्नुपर्छ । निराशाको सोच त्यागिदे भन्ने कुराले जित्दै ल्याएपछि उठियो । निराश व्यक्तिको सभ्य समाजमा कुनै स्थान हुँदैन । निराशाभित्रैबाट आशा खोजेर निकाल्नुपर्छ । निराशाले मानिसको महत्वपूर्ण र मूल्यवान समय नाश गरिदिन्छ । निराशा भनेको मानिसको ज्यादै दुर्बल पक्ष हो ।

ए मनुष्य ! त्यसकारण तिमी सधैँ आशावान् र सकारात्मक भएर जीवनमा अघि बढ । वेद उपनिषद हुँदै स्वेट मार्टेनसम्मका विशिष्ट वाक्यहरुले मलाई निराश नबन भनेर सँधै झक्झकाइरह्यो । यो पनि मेरा निम्ति ऊर्जा हो ।

यसपटकको कोरोनाबाट अर्काे एउटा कुराको ज्ञान भयो— बिरामी भएका कसैलाई पनि फोन गरेर यति कुरा नभनिदिउन् भन्ने बोध भएको छ— “रोग कसरी लाग्यो, के गर्दा लाग्यो, अहिले कस्तो छ, खाना खाइन्छ–खाइँदैन, स्वाद, गन्ध छ छैन, नाक कान घाँटी ठिक छ छैन, पेट कस्तो छ, ज्वरो कतिको छ । आची पनि सारो, कमलो, गिलो के कसो छ, अब यसो गर्ने, उसो गर्ने, यो यो यसरी खाने, खानमा बल गर्ने, खाएरै पेलिन्छ । चिन्ता नगर्ने, ध्यान प्राणायाम सँगै सकारात्मक कुरा सोच्ने, यो यो खाएमा अस्पताल जानै पर्दैन, यो सामान्य रोग हो, पेलेरै निको भइन्छ । केही परे भन्नु होला ।”

कसैले पनि यस खाले कुरा बिरामीसँग नगर्दा राम्रो हुन्छ होलाजस्तो लाग्यो मेरो अनुभवमा । यो मेरो निजी अनुभव हुनसक्छ । किनभने मलाई चाहिँ यस्ता कुरा सुन्दासुन्दा ज्यादै झर्काे लाग्ने गर्थ्यो । बिरामी अवस्थामा ज्यादै झर्काे र झिँजो लाग्नेरहेछ । अरु कोरोना बिरामीको कस्तो अनुभव छ, त्यो अर्के कुरा हो ।

म चाहिँ सकेसम्म कसैलाई पनि यस प्रकारका नीति वाक्यहरु नसुनाउने विचारमा छु । बिरामीका आफन्त र हेरविचार गर्नेहरुसँग बिरामबारे, अथवा बिरामीको अवस्थाबारे बुझ्ने । बिरामीसँगै सोधेर दिग्दारी नलाउनुपर्ने रहेछ भन्ने पनि बोध भयो । कोरोना अथवा यस्ता महामारीहरुको सदाका निम्ति अन्त्य होस् । कोरोना पीडा कसैले पनि भोग्नु नपरोस् ।

विश्व ब्रह्माण्ड विजय गर्‍यौं भन्ने वैज्ञानिकहरुमा पृथ्वीलोक र प्राणीजगत्लाई कसरी संरक्षित गर्न सकिन्छ । मानवहितमा कसरी लाग्न सकिन्छ भन्नेबारे खोज अनुसन्धान र विविध उपाय पत्ता लगाउनेबारे बुद्धि पलाओस् ।

हे, महावैज्ञानिकहरु हो— पृथ्वी र पृथ्वीवासीको हित र कल्याण गर्न सक्ने कुराको आविष्कार गर्न नसकेसम्म तिमीहरुको विश्वविजयको तुजुकको केही काम छैन । नासाको अभियान र चन्द्रलोक मंगल ग्रहमा बस्ती बसाल्ने सपना पनि व्यर्थ छ । तिमीहरुको चुरीफुरीको केही काम छैन । यी सबै भ्रम र मिथ्या हुन् भनेर बुझ्न उपनिषद पढ्न थाले हुन्छ । यसो भन्न मन लागे पनि कसैप्रति मेरो नकारात्मक धारणा छैन । जसले जे गर्न मन लाग्छ गरोस् यो पनि व्यक्ति स्वतन्त्रता हो ।

न आशा न निराशा

कोरोनाकाल भोगिरहेका बेला मलाई लाग्यो, हामी आधुनिक वैज्ञानिक उत्तरवैज्ञानिक विकसित अतिविकसित अर्धविकसित, अविकसित, सहरिया, गाउँले धनी, गरीब, पठित अपठित, ज्ञानी अज्ञानी … केही पनि होइनौँ । हामी केवल एउटा निरीह र लाचार मनुष्य हौँ । आफ्नो हातमा, आफ्नो नियन्त्रणमा कुनै कुरा पनि नभएका पुङमाङे मानिस मात्र हौं । अहंकार र फूर्ति देखाएर आडम्बरका भरमा एक अर्कामाथि ठालु बन्न खोज्ने भ्रममा बाँचेका परजीवी हौँ । प्रकृतिमाथि आक्रमण गरेर आफैँमाथि बज्रप्रहार गर्न तम्सने पशुरूप हौँ ।

“ज्ञान मर्दछ हाँसेर रोइ विज्ञान मर्दछ” समजीको वाणी चरितार्थ भएको छ यतिबेला । वैज्ञानिकहरुको विज्ञान चमत्कारलाई कोरोनाले ध्वस्त पारिदिएको छ । विज्ञानले अब रुनु मात्रै त हो । विज्ञानले हाँस्ने दिन कहिले आउला त ? ​हामी प्रकृतिभित्रै रम्ने र प्रकृतिमै जम्ने प्राणी रहेछौँ ।

प्राकृतिक लीलाअनुसार जहाँ जस्तो आइपर्छ, झेल्ने भोग्ने । रोगव्याधि, बाढीपहिरो आगलागी, भूकम्प अतिवृष्टि, अनावृष्टि आदिको चपेटामा पर्दै बाँच्न सक्ने, बाँच्ने र नसक्ने मर्ने चक्रब्यूह झेल्दारहेछौँ । “म यसरी बाँचे, यस्तो गरेँ, उस्तो गरेँ, तिमी यो गर, त्यो गर” मात्र दिग्भ्रम रहेछन् ।

पाँचतरे होटलजस्तै सजधज र फूर्तिफार्ती भएका ठुलाबडा अस्पतालमा पच्चीसौँ लाख उपचारमा खर्च गरेर पनि धेरै कोरोनारोगी सेता प्लाष्टिक बेरिएर घाट पुगेको पनि देखियो । ठूलाबडा अस्पतालको मोह राख्नु पनि भ्रम मात्रै रहेछ ।

यस्तै हो दाइ, आफूले सकेको प्रयास गर्दैजाने हो । एकदिन त मर्नैछ, के को चिन्ता….आ दाइ ढुक्कसँग खाने सुत्ने । भनेर फोनमा सुनाउने मेरा एक जना शुभेच्छुक भाइको कुरा ठिक हो भन्ने लाग्दैछ यतिखेर ।

यो शरीर नाशवान् हो । जन्मिदै मृत्यु पनि सँगै लिएर आएको हुन्छ । जसको जति आयु छ, त्यति बाँच्ने हो । त्यसकारण कसैको मृत्युलाई उमेरसँग तुलना नगर । किन व्यर्थ चिन्ता गर्छाै । कोबाट किन डराउँछौँ । कसले तिमीलाई मार्नसक्छ, अघि जे भयो राम्रै भयो । अहिले जे भइरहेछ राम्रै भएको छ । पछि पनि जे होला राम्रै हुनेछ । वर्तमान त यसै चलेको छ । तिमीले के ल्याएका थियौ र के गुमायौँ । किन बिलौना गर्छाै, के पाएका थियौ र नाश भयो हरायो भन्छौ ?

तिमीले केही ल्याएका थिएनौँ, जे लियौ उसैसँग लियौ जे दियौ यहीँबाट दियौ । खाली हात आयौँ खाली हात नै जानेछौ । आज तिमीसँग जे छ, भोलि अरु कसैको हुनेछ । आज तिमी जसलाई आफ्नो ठान्दैछौँ, भोलि त्यही तिम्रो दुःखको कारण बन्न सक्छ । तसर्थ भूतको पश्चात्ताप नगर, भविष्यबारे नसोच । वर्तमानभित्र रमाउन प्रयास गर । गीता र अन्य विभिन्न शास्त्रीय वाक्यहरुको स्मरण गर्दै यतिबेला यस कोरोनासम्बन्धी चिन्तनमा अल्मलिएको छु ।

यतिखेर म एकप्रकार त्रिशंकु रुपमा छु । यो संसार, यो घर परिवार यो सबै भ्रम हो, मिथ्या हो भनेर पूर्ण वैरागी बन्न सक्ने आत्मबल पनि छैन । यो सबै ठिक हो, मेरो हो, म हुँ भनेर स्वीकार्न पनि गाह्रो भएको बेला छ । किनभने कोरोनाले त यस्ता चिन्तनहरु सबै समाप्त पारिदिने रहेछ । कोरोनाबाट मुक्त भएँ होला भन्नु पनि भ्रम नै हुन सक्छ । तर पनि अब मुक्त हुँदै गएको विश्वास बोकेर क्रमशः तंग्रिँदै जाने तर्खरमा छु ।

मेरो धोको धेरै बाँकी छ । मैले आफ्ना जीवनमा आर्जन गरेका केही, लेखन कला र अनुभवलाई लिपिबद्ध गर्ने कामको चाङ लागेको छ । विभिन्न विधा र विषयका एक दर्जन जति कृतिहरु छुट्याएर फाइलमा राखेको छु । त्यो टंकण गर्नुछ । कोही प्रकाशक भेटिएमा प्रकाशन गर्नुपर्नेछ ।

त्यसकारण पनि म पूर्ण आशावान छु । आगामी दिनमा स्वस्थ रहेर यी कामहरु पूरा गर्न समर्थ हुनेछु । मेरा सम्पूर्ण घरपरिवार, आफन्त, इष्टमित्र, शुभेच्छुक, हाम्रो बिरामी अवस्थामा स्वास्थ्य लाभको सद्भाव राख्नुहुने सबैमा धन्यवाद र कृतज्ञता व्यक्त गर्दछु । साथै, आगामी समयका निम्ति पनि यहाँहरु सम्पूर्णको शुभेच्छाको अपेक्षाका साथ यो कोरोनासँग संघर्ष कथा यहीँ टुंग्याउँछु ।

डा. तुलसी भट्टराईको ‘कोरोना: छिछि दूरदूर, ‘कोरोना कहरका २१ दिन’ पहिलो भाग हेर्न निलो अक्षरमा देखिएको शिर्षकको लिंकमा वा यहाँ क्लिक गर्नुहोस !

तपाइँको प्रतिक्रिया

फेसबुक