बिहीबार, साउन २१, २०७८

कोरोनाकालको सन्त्रास

योगेन्द्र तिमिल्सिना२०७८ असार ४ गते १४:५१

बिहान छ्याङ्ग उज्यालो भैसकेता पनि काठमाडौं उपत्यकाका शहरहरुमा सर्बत्र चकमन्न थियो । केही अघि बिहानीपख कुखुरा बासेको सुनिएको थियो । अहिले शहर सुनसान छ । सडकमा कतै भुस्याहा कुकुरसम्म पनि देखिँदैन । शहरको मुख्य सडकमा मुर्दा शान्तिलाई चिर्दै अचानक एउटा चर्को राक्षसी आवाज शहरभरि फैलिन्छ । शहरका मानिसहरु कोरोना फैलने भयले त्यसै सन्त्रस्त छन् । यस कर्कस राक्षसी आवाजले उनीहरुलाई झन् सन्त्रस्त बनाएको छ । कुनै तिलस्मी दन्त्यकथामा पढेको वा भारतीय भूतप्रेत सम्बन्धी सिनेमा वा अङ्ग्रेजी स्वैरकाल्पनिक वा हरर् सिनेमामा हिरो र उसको ग्याङ्गलाई लखेट्न राक्षेसले आफ्नो मुखबाट ओकल्ने आगो मिश्रित हुरीसँग योे आवाज ठ्याक्कै मिलेकोे आभास हुन्छ । शहरका सारा सभ्य नागरिकलाई यस आवाजले तर्साइरहकोे थियो । लखेटिरहेको थियो । मानौं सन्त्रस्त भएरै उनीहरु घरभित्र लुकेर बसेका थिए । कोरोनाकालमा निषेधआज्ञाको अवधिमा शहरका सभ्य नागरिकहरुलाई तर्साउन उपयोग गरिएकोे यो क्रुर आवाज थियो । यसको सङ्केत सबै नागरिकलाई बाहिर ननिस्क, घरभित्र लुकेर बस भन्ने थियो ।

कहिलेकाहीँ मनमा लाग्छ, सभ्य समाजमा नागरिकलाई घरभित्र थुन्नु अपराध त होइन ! विवादास्पद व्यक्तित्व पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्झना आउँछ । लोकतान्त्रिक मुलुक संयुक्त राज्य अमेरिकाको राष्ट्रपति प्रजातान्त्रिक सभ्य समाजमा लकडाउन उपयुक्त ठान्दैन । आजको मानिस सभ्य र शिक्षित मानिस हो । उसले सबै कुरा आफैं बुझेको छ । उनीहरुमाथि लकडाउन जस्तो अलोकतान्त्रिक, असभ्य र अपराधपूर्ण तानाशाही व्यवस्था किन थोपर्नु पर्‍यो ! नागरिकलाई सचेत गराउने हो । स्वास्थ्य सम्बन्धी नियम पालना गर्न सुझाव दिने हो । समूहगत भेटघाट र कार्यक्रममा रोक लगाउने हो । तर हिडडुल नै निषेध गर्नु भने नागरिक स्वतन्त्रामाथि गरिएको जघन्य अपराध हो ।

कोरोनाकालमा सरकारी निकायहरुले त लकडाउन र निषेधआज्ञा जस्तो मानवता विरोधी कदम चाले, चाले । वास्तवमा साथीभाइ, शुभचिन्तक, आफन्त, नातागोता र इष्टमित्रहरुबाट म झन् सन्त्रस्त र पीडित भएको छु । कोरोनाको पहिलो लहरमा शुभचिन्तकहरुले फेसबुक मार्फत सूचना जारी गरे, ‘तपाईं मेरो घरमा नआउनुहोस् । म पनि तपाईंको घरमा आउँदिन’ । कतिसम्म भयो भनें आफ्नै बाबु कोरोनाबाट सङ्क्रमित हुँदा छोराले कुनै वास्ता गरेन । कोरोनाको पहिलो लहरमा आवागमन निषेध गरिएका घरहरु बाहेक केही आफन्तहरुसँग भेटघाट गरी उनीहरुलाई सद्भाव र सहानुभूति व्यक्त गरी खुशी बाँड्न म उनीहरुको घर गएँ । मानिसहरुलाई भेट्नु अघि सेनिटाइजरको प्रयोग गरें । मास्क लगाएँ । र आवश्यक दुरी कायम राखें ।

भेटमा कोरोनालाई जित्ने एकजना आफन्तको अनुहारमा देखिएकोे उत्साह र खुशी बिर्सिनसक्नु थियो । आज कहाँ गयो मानवीय समवेदना र सद्भाव ! घरमा स्वस्थ जीवन बिताइरहेको सचेत मानिस पनि विज्ञ भनाउँदा र सरकारी अधिकारीहरुले दैनिक प्रयोग गर्ने ‘भयावह’ र ‘झन् भयावह’ जस्ता शब्दहरु र इष्टमित्रहरुको स्वास्थ्य सचेतनाका सुझाव सुन्दा सुन्दा कतै म आफैं पनि अस्वस्थ त भएको छैन भन्ने आशङ्का हुन थालेको छ ।

कोरोनाको दोश्रो लहर उच्च भएको वेला मलाई अचानक प्रोस्टेटको समस्या र पिसावको इन्फेक्सन भयो । मलाई १०१ डिग्रीभन्दा बढी ज्वरो आयो । घरमा मलाई अस्पताल लिएर जानसक्ने मानिस कोही थिएन । मैले आफ्ना छिमेकी र इष्टमित्र कसैबाट पनि सहयोगको अपेक्षा गरिन । त्यसैले मैले कसैलाई पनि यो कुरा भन्न सकिन । यस्तो अवस्थामा कसैले मलाई तुरुन्तै सहयोग गर्लान् जस्तो पनि लागेन । यदि कोही आँट गरेर अगाडि आएको भए पनि उसले मलाई सबैभन्दा पहिले कोरोना परीक्षण गर्ने थलोमा पुर्‍याउँथ्यो । ‘कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ ।

मलाई एउटा रोग लागेको छ । इन्फेक्सन भएको छ । हनहनी ज्वरो आएको छ । म त युरोलोजी वा प्रोस्टेट विशेषज्ञकहाँ पो जानु पर्ने । मैले कसैलाई खबर गरिन । आफैं ड्राइभ गरेर हुत्तिँदै ग्राण्डी हस्पिटल पुगें“ । सम्बन्धित डाक्टरसँग सम्पर्क राखें । मेरो उपचार भैरहेको छ । अहिले म क्रमसः स्वस्थ हुँदै गएको छु । स्वस्थ हुँदै गएपछि मैले आफन्तलाई फोन गरें । मैले आफूलाई सञ्चो भएन भन्ने बित्तिकै कोही कोही तर्से र शुरुमै ‘के कोरोना हो ?’ भनी प्रश्न तेस्र्याए । बिस्तारै कसैकसैले भन्न थाले, ‘त्यस्तो बेलामा हामीलाई भन्नु भएको भए हुन्थ्यो’ । बिचार गर्नुहोस् कोरोना कालमा मानवीय सहयोगको अभावमा र निषेधआज्ञाको कारणले उपचार गर्न नपाई कति मानिसले मुटुरोग, मिर्गौला, मधुमेह, उच्चरक्तचाप, टाइफाइड, क्यान्सर जस्ता घातक रोगबाट ज्यान गुमाउनु पर्‍यो होला ।

डा। गोविन्दराज भट्टराई आफ्नो संस्मरणमा यस्तो लेख्नुहुन्छ “जीवा लामिछानेलाई उध्दृत गर्दै नारायण गाउँलेले स्टाटस चढाएका छन् यसरी– इटाली, स्पेन, अमेरिका र फ्रान्समा हजारौं व्यक्तिको ज्यान गयो । बेलायतमा पनि पाँच हजारभन्दा बढीले ज्यान गुमाइसके । झट्ट सुन्दा यो चित्र निकै डरलाग्दो हुँदोरहेछ । मलाई चीन र इटालीको खवरले यस्तै डर लाग्थ्यो । विशेष गरी हस्पिटल र स्वास्थ्यकर्मी कसरी जुध्दै होलान् भन्ने कल्पनाले मनमा त्रास उत्पन्न गर्थ्यो । खबर पढेर जति डर लाग्छ, लौ सबैथोक सकियो कि जस्तो लाग्छ । तर वास्तविक जीवन भने त्यतिनै डरलाग्दो चाहिं हुँदैन रहेछ । हामी दुबै संयोगले बेलायतको हस्पिटलमा काम गर्छौं । जीवन पहिले जस्तो त अवश्य छैन । तर बाहिरबाट देखिने जस्तो कहालीलाग्दो पनि छैन । लकडाउन छ, तर दिनमा एकपल्ट हिँड्न, दौडिन या एक्सरसाइज गर्न बाहिर निस्कन पाइने हुनाले सडकमा मान्छेहरु आफ्नै गतिमा हिँडेका देखिन्छन् । किनमेल गर्न या घरबाटै गर्न नसकिने कामका लागि आवतजावत गर्न पाइन्छ । अलि भिडभाड बाहेक अरुलाई पुलिसले रोकेर फाइन गर्ने अभ्यास यहाँ छैन, सम्भव पनि छैन । अत्यावश्यक काममा जानेहरुलाई असुविधा नहोस् भनेर बस र रेलहरु चलेका छन् ……..सडकमा मान्छेले बाक्लै मास्क लगाएको पनि देख्न पाइन्न । फेसबुकमा जस्तो त्रास देखिन्छ, घरबाहिर निस्कँदा त्यो कत्ति महसुस हुँदैन ।”

“रोगभन्दा ठूलो चिन्ता नपालौं ।” डर रोगको होइन । सरकारी संंयन्त्र र शुभचिन्तकहरुको छ । यहाँ पछौटेपन यस्तो गञ्जागोल अवस्थामा छ । यसले नागरिकको मनोवल बढाउँदैन, सन्त्रास पैदा गर्छ र हतोत्साहित मात्र गराउँछ । कहिले डबल मास्क लगाउनु पर्छ भनेको छ, कहिले हावाबाट पनि कोरोना सर्छ, बाहिर ननिस्कौं ढोका थुनेर बसौं भनेको छ ।

उद्योगधन्दा, यातायात, उत्पादन र निर्माण कार्यमा संलग्न श्रमिकहरु कामबाट बञ्चित गराइएका छन् । काम नभएर सडक छेउमा मानिस भोको पेट लम्पसार परेको छ । घरधनीले भाडामा बस्ने मानिसलाई कोठा छोड्न बाध्य पारेको छ । सवारी साधनहरु ठप्प छन् । कृषि उत्पादनहरु बजारसम्म आउन पाउँदैनन् । कुहिएर फ्याँकिएका छन् । हिटलरले यहुदीहरुलाई मृत्युदण्ड दिन निर्बस्त्र पारेर ग्यास च्याम्बरमा हुले जस्तो एक्काइसौं शताब्दीको मानव सभ्यता यति कठोर नहुनु पर्ने हो । हुनेखानेको लागि रोग सबैभन्दा ठुलो कुरा होला । तर हुँदाखानेको लागि रोग भोकभन्दा ठुलो होइन ।

मानिसले खान पाएन भने उसलाई रोग लाग्छ । भोका मानिसलाई बन्द कोठामा थुनेर रोगी बनाउनुभन्दा रोगबाट बच्न सचेत गराउँदै क्रियाशील बनाउनु मात्र सभ्य समाजको दायित्व हुनसक्छ । के कोरोना कहरले समाजमा हुँडलेको मानवीय संस्कृति, सभ्यता र सद्भाव निकट भविष्यमा सङ्लेला ?

तपाइँको प्रतिक्रिया

फेसबुक