मंगलबार, वैशाख ४, २०८१

एनआरएनए ‘मेडिया टास्कफोर्स’ को नखोलिएको पाटो

ददि सापकोटा२०७८ असार ४ गते २३:३५

गैर आवाशिय नेपाली संघ (एनआरएनए) मा कति वटा समिति, टोली, कार्यदल छन् ? अलिबेर खोज्नै पर्छ । तर एउटा कार्यदल यस्तो छ जुन सबैभन्दा चर्चित छ । समग्र एनआरएनको मुख्य कार्य समितिलाईनै प्रभावमा पार्न सक्ने । हल्लाउन सक्ने । करोडौं खर्चेर निर्वाचन जितेका एनआरएनए अभियन्ता र अरबौंको लगानी गरिरहेका एनआरएन ब्यापारीलाईपनि संस्थागत रुपमै दबाएर हाईफाई मच्चाउन सक्ने । त्यो हो ‘एनआरएनए मेडिया टास्क फोर्स ।’ नेपाली शब्दकोशको सहारा लिएर भन्नुपर्दा यो टास्कफोर्स भनेको ‘मेडिया विशेष कार्यदल !’

त्यसो त, एनआरएनमा कार्य दल एक दर्जन भन्दा बढि छन् । ‘विशेष’ नाम जोडिएका अरु छैनन् । यो मात्र विशेष कार्यदल भएकाले यसको नामबाटै बुझिन्छ, यो विशेष हो । यो शक्तिशाली हो । त्यसैले त यसले विशेष भूमिका खेल्छ भन्ने आशा र भ्रम धेरैमा छ ।  तर के यो विशेष दलले गतिलो भूमिका खेलिरहेछ ? यसले एनआरएनको शिरलाई उँचो पार्ने काम गरिरहेछ ? एनआरएनको टास्क (कार्य) लाई फोर्स (शक्ति) दिने काम गरिरहेको छ ?

अन्तर्राष्ट्रिय श्रमिक संगठन (आइएलओ) ले कोरोना महामारीमा नेपाली मजदूरहरुलाई राहतका लागि दिएको सहयोगको प्रसंग कोट्याउँदा नै यथेष्ट हुन्छ । आइएलओले दिएको रकम हुनसम्म, सकेसम्म, मिलाउन भ्याएसम्म फर्जी बिलहरु बनाएर भ्रस्टाचार गरियो । जब यि मुद्दाहरु सप्रमाण एनआरएनए अभियन्ताकै नाकमा ठेस लाग्न आइपुगे त्यो बेला सम्मपनि जिम्मेवार नेत्रित्वले ढाँटछल गरिराख्यो । रिपोर्टहरु यति आए कि संस्था चरणम नांगो देखियो । यति हुँदापनि नेत्रित्वलाई संझाउनुको साटो एनआरएनए कोरोना टास्क फोर्सका संयोजकले पटक पटक ‘यस्तो हावा न्युज लेख्ने ?’ भन्दै राखे । समाचारहरु सप्रमाण एकपछि अर्को बाहिरिँदै गए । तैपनि यो टास्कफोर्सले केहि बोलेन ।

तिनले कहिँकतै त्यसलाई न्युज त बनाउन सकेनन् नै । नेत्रित्वलाई संझाउन, मेडियामा आएका समाचार के कस्ता हुन् । तिनले कस्तो प्रभाव पार्छ समग्र समाज र एनआरएनको छबीलाई भन्नेसम्म सुनाउन सकेनन् । बरु त्यो फोर्सका केहिले पत्रकारको बिल्ला भिरेर सप्रमाण आएका समाचारको खिल्ली उडाउने दुस्साहस गरिरहे । त्यो दुस्साहसले एनआरएनए केहि अभियन्ताको नाकमा दूर्गन्धमा फैलिने किराहरुले पहाड ठडिने गरि  बिष्ट्याएर हिँडे । तैपनि ति पत्रकारधारीले त्यसबाट जोगाउन सकेनन् ।

त्यतिलेपनि पुगेन बदनाम हुन । समाचारको चौतर्फी बाढीनै आयो । त्यसपछि केन्द्रलाई लाग्यो, ‘यो मेडिया टास्कफोर्सले अब नाकको डाँडीमा बसेको बिष्टा सफा गर्ने ह्याउ र हैशियत, सिप र पहुँच दुबै राख्न सक्दैन । त्यसैले हतार हतारमा हारगुहार गर्दै पत्रकार सम्मेलन गर्‍यो । एनआरएनएका भित्रिया पत्रकारले पत्रकार सम्मेलनमा सुनाईएका मनगढन्ते वाणी सबै मेडियाले पत्याउने कुरै थिएन । त्यसपछि कान्तिपुर दैनिकले खोजिपूर्ण तरिकाले भ्रस्टाचारको पर्दाफास गरिदियो ।  सम्पादकिय लेखेर झस्काइदियो ।

यतिलेपनि नपुगेर मेडिया टास्कफोर्सकै जिम्मेवार ब्यक्तिले कान्तिपुरका संपादकलाई आलोचना गर्दै लेखे ‘यदि यो संपादकिय कान्तिपुरकै संपादकले लेखेका हुन् भने उनी कान्तिपुरबाट राजिनामा गर्न योग्य छन् ।’  एउटा मेडियाकर्मीले यस्तो लेख्न सुहाउँछ ? यो आलोचना ब्यक्तिको नभएर एनआरएनको आधिकारिक मानिन्छ । यस्ता ब्यक्ति टास्क फोर्समा भएपछि एनआरएनको हालत हुने के हो ?

भ्रस्टाचारका एक एक पाटा सप्रमाण नेपालप्लसले बाहिर ल्याइराख्यो । अरु मेडियापनि छँदै थिए । भ्रस्टाचारको प्रमाणले ल्याएको बाढीले एनआरएनको सात गाउँ डुबिसकेको थियो । घाँटि डुबेर नाक नाक पुग्नै थालेको थियो । त्यसपछि बल्ल एनआरएनए माझीको सल्लाह भयो ‘डुंगा लिएर कन्दै नदीमा हेलिने ।’ यसपछि कारवाहि गरेको रोचकपूर्ण नाटक मन्चन गरियो ।

यसपछि एक अनौपचारिक कुराकानीमा एनआरएनए अध्यक्ष कुमार पन्तले पक्तिकारसित भने ‘कान्तिपुरले एनआरएनएको कमजोरीका कुरा लेख्छ, सम्पादकियनै लेख्छ भने एनआरएनएले गरेका अशल कामको बारेमा पनि त संपादकिय लेख्नसक्छ होला नी ?’ लेख्छ लेख्दैन विषयको गाम्भिर्यता हेरेर कान्तिपुरको संस्थागत कुरो भयो । तर पन्तले भनेको प्रसंग भने सहि थियो, सहि र असल हरेक कुरालाई बाटो देखाउन, प्रशंसायोग्य कर्महरुको उजागर गर्न मेडियाले संपादकिय बनाउन किन नसक्ने ?

तर त्यसको नेत्रित्व गर्नुपर्ने कसले हो ? मेडिया टास्क फोर्सले होइन ? गठन भएकै मेडिया टास्क फोर्स अर्थात् मेडिया विशेष कार्य दल छ । उसको कार्य के हो ? संस्थामा भएका राम्रा कुरा, असल कर्म, सराहनिय पहलहरुलाई मेडियाको मर्म बुझेर तिनको पहुँचमा पुग्नु । तिनलाई मिल्ने विषयलाई रोचक र प्राथमिकतामा पर्नेगरि मेडिया, मेडियाकर्मी परिचालित गर्नु ।

यसकोलागि के चाहिन्छ ? पहिलो शर्त हो, पत्रकार वा मेडिया टास्क फोर्समा भएका ब्यक्तिको पत्रकारिता, लेखनको छबी । उसको प्रस्तुति, उसले दिने समाचारको विश्वशनियता । जब मेडिया टास्क फोर्सका पत्रकारनै संस्थाका केहि ब्यक्तिको भर्जन किर्तन, स्तुतिगानमा लिप्त हुन्छन् तिनले दिएका अन्य समाचार पाठक, स्रोता, दर्शककालागि कहाँ विश्वाशयोग्य हुन्छन् ?  जब टास्क फोर्समा भएकाको छबीनै मन परेकाको स्तुतिगान गाउने र मन नपरेकालाई अष्टमीको बोको झैं खुइल्याउने भनेर परिचित हुन्छ तब न मेडियाले पत्याउँछ न उसले लेखेका समाचार पाठकलेनै विश्वाश गर्छ ।

यति प्रसंग कोट्याइसक्दा एउटा कुरा उल्लेख गर्नैपर्ने हुन्छ, एनआरएनएले यो महामारीका बेला के केहिपनि कामै गरेन ? केहिको टिप्पणी हुने गरेको छ,  कुमार पन्तको कार्यकालमा धेरै राम्रा कामपनि भएका छन् । ति कामको नालीबेली बाहिर आएन । वा संस्था त्यसमा चुकेको छ । यसमा सहमत वा असहमत हुँदा आफ्नै बुझाई र ब्याख्या होलान् । तर यो महामारीमा एनआरएनएको तर्फबाट राम्रा कामपनि भएका छन् । तिनलाई उजागर गर्ने काम कसको ? त्यहि मेडिया टास्कफोर्सको हो । तर छर्लंग छ, मेडिया टास्क फोर्सले त्यो काम गर्न त सकेन नै बरु बिनासित्तिमा एनआरएनएका केहि अभियन्तालाई थप बिवादमा ल्याउने र बदनाम गराउने काम गर्‍यो ।

अझ भुल्न नहुने पाटो अर्कोपनि छ । एनआरएनएले बुलेटिन निकाल्ने गर्‍यो । त्यो बुलेटिनको प्रधान संपादकनै पत्रकारिताको कुनै साईनो नभएका एनआरएनए प्रवक्ता रहे । महामारीको चपेटामा उनका हरेक जसो फेसबूक स्टाटस केपी ओली पक्षलाई गाली गर्ने, प्रचण्ड पक्षको तारिफ गर्ने देखियो । उहि दिन एनआरएनएका आधिकारिक वस्तु फेसबूकमा आउने । केहि बेरमै कुनै दल र नेता खुइल्याएको त कुनै नेतालाई पन्चाम्रित छर्किएको ।  एनआरएनए जस्तो गैर राजनितिक भनिने संस्थाको प्रवक्ताले ब्यक्तिगत धारण हो भन्दैमा त्यसरि कुनै नेता, दलको पक्ष र बिपक्षमा निरन्तर उत्रिन मिल्थ्यो ? आफ्नो ब्यक्तिगत संजालमा कुनै राजनितिक पार्टी र नेताको बदख्वाई गर्ने र अर्कोलाई गहुँत छर्किनेको संस्थागत धारणा निस्पक्ष कसरि हुनसक्छ ? र पत्रकारितासित नातानै नभएका ब्यक्तिलाई प्रधान संपादकमा शिरोपर गरेर वर्षौं पत्रकारिता गरेको हिङको टालो सुँघाउँदै हिँड्नेहरु कसरि राजि भए ?

अब घोत्लिउँ, आखिर गर्‍यो के त यो मेडिया टास्कफोर्सले ? यहि माहामारीका बिचमा एनआरएनए हेल्थ बुलेटिनपनि निस्कियो । तर त्यो स्वास्थ्य बुलेटिनमा ‘फालानो देशका यति नेपाली संक्रमित, ढिस्कानो देशका यति नेपालीको म्रित्यु, फलानो देशका यति नेपाली संक्रमणमुक्त’ । यो बाहेक कुनै रचनात्मक विषय आए ति बुलेटिनमा ? एनआरएनए हेल्थ संयोजक डा. सन्जिव सापकोटाले विश्वभरिका स्वास्थ्यकर्मीसित संयोजन गरेर जुन रिपोर्ट दिए त्यहि रिपोर्टलाई सार्वजनिक गर्न मेडिया टास्क फोर्स चाहिन्छ ? त्योपनि अरु कसैको संपादकत्वमा ?

किन यो टास्कफोर्सले यति ठूलो महामारीमा यो रोग र यससित संवन्धित अन्य पाटाहरुको कुनै खोजतलास गरेका चाख लाग्दा विषय उजागर गर्न सकेन ? भित्रि, खोजमुल्क समाचारहरु बाहिर ल्याउन सकेन ? अर्थात् किन एनआरएनको केन्द्रिय पदाधिकारीलाई मार्गनिर्देश, अक्किल, सुझाव दिन सकेन ?

त्यसो भए, यो टास्कफोर्सको हालत किन यस्तो ? ८३ देशमा फैलिएको अन्तर्राष्ट्रिय संस्थाको मेडिया टास्क फोर्स यस्तै हुनुपर्ने हो ? हो,  यसको बनावट, संरचना र हालको जुन उद्देश्य छ त्यस अनुरुप यो हुनेनै यस्तै हो । किनभने यो टास्कफोर्स गठन गर्दा एनआरएनएले कुनै खुला पद्दती अपनाएन । यो पारदर्शिनै थिएन । केन्द्रिय समितिमा भएकाहरुले आफ्ना पक्षमा छास्सछुस्स समाचार लेखिदिन सक्ने, आफ्ना पक्षमा जिउ हजुरी गर्न सक्ने, आफ्नो पक्षमा कोकोहोलो मच्चाउन सक्ने र देखाउनकालागि केहि सोझाहरुलाई खुसुक्क खुसुक्क छाने । ति सोझालाई देखाउनकालागि चटनीका रुपमा घोलिएको थियो । आफ्ना स्वार्थ अनुसार टपक्क टिपे र अन्तर्राष्ट्रिय संस्थाको बरिष्ठ पदको बाहु थमाईदिए । त्यो बाहुले केहि पत्रकारलाई विश्वकै अब्बल पत्रकार हुम् भन्ने भ्रम र अहंको पारो चढाइदियो । जसले हजुरी गर्न मानेन ति केहि समयपछि बाहिरिनुको कारण यहि थियो ।

नत्र अन्तर्राष्ट्रिय संस्था, सबै एनआरएनको साझा संस्थाको मेडिया कमिटीमा बस्न चाहने, त्यसमा बसेर संस्थालाई योगदान दिन सक्ने, चाहनासमेत बोकेकाहरुलाई समेट्ने कुनै खुला प्रस्ताब गर्‍यो ? कुनै पारदर्शी मार्ग अपनायो ? यि सबै १९ औं शताब्दिको दरबारका भित्रिया झैं छानिए । त्यसैले आफ्नै मेडिया टास्कफोर्स हुँदाहुँदैपनि एनआरएनएका केन्द्रिय अभियन्ताहरुलाई अप्ठेरो पर्दा मरिच चाउरिएझैं बाहिर बाहिर हार गुहार माग्दै हिँड्नुपर्ने अवस्थाको स्रिजना भयो ।

तपाइँको प्रतिक्रिया