सोमबार, मंसिर १३, २०७८

दियो मुनीको अँध्यारो बन्दैछ पालिका

मणिकुमार श्रेष्ठ ‘सिजन’२०७८ असार ५ गते १३:१८

हरेक विहानीले दिवाको संकेत गर्दछ । मेहनतले सुन्दर भविष्यको परिकल्पना गर्दछ । हरेक नेपालीले सुनौलो भविष्य कोर्नका लागि सदैब आफ्नो मेहनतलाई खुकुरीको धारमा राखेर काम गर्ने गरेका छन् । यसरी अहिले हाम्रो सुनौलो भविशष्यको बाटो कोर्नका लागि देशभरका स्थानीय तहहरुमा बजेट व्यवस्थापनको काम भईरहेको छ । हरेक वर्षको असार १० गतेसम्ममा आउने आर्थिक वर्षको बजेट गाउँसभा तथा नगरसभामा पेश गर्नुपर्ने स्थानीय सरकारको बाध्यता छ । यो नेपालको संविधानले परिकल्पना एउटा नियम हो ।

जनताको सुन्दर भविष्यको जिम्मा लिएका स्थानीय तहका जनप्रतिनीधिहरु अहिले विभिन्न टोल तथा बस्तीहरुका नागरीक समक्ष योजना तथा कार्यक्रमको खाका कोर्नका लागि तल्लिन भएका छन् । विश्वव्यापी कोरोना महामारीका कारण प्रत्येक स्थानीय सरकारले आफ्नो अभ्यासलाई सही ढंगबाट तथा घनिभूत रुपमा बहस र छलफल चलाउन नसकेता पनि अहिले टोल–टोलबाट योजनाको मागहरु आईरहेका छन् । स्थानीय सरकारको जनप्रतिनीधिहरुले गाउँ तहसम्मका योजनाहरु छनौट गरी दिगो विकासको लक्ष्य प्राप्तीको लागि अग्रसर हुनुपर्ने आजको आवस्यकता भएको छ ।

जनताले प्रत्यक्ष रुपमा सरकारको महशुस गर्न पाउने निकाय भनेकै स्थानीय तह हुन । त्यसमा पनि वडापालिका सबैभन्दा तल्लो तह हो जुन निकाय जनताको जनजिविकासँग प्रत्यक्ष जोडिएको छ । जनताले आफ्नो आवाज राख्ने निकाय नै वडापालिका हो । अर्थात आवाज विहीन जनताको आवाजको रुपमा वडापालिकाले काम गर्न सक्नुपर्दछ । जसरी एउटा आमाले बच्चालाई कसरी हुर्काउने भनेर जन्माउदा नै सोचेको हुन्छन । त्यसैले वडापालिकाले जनताको आमा भएर काम गर्नु पर्दछ । किन कि आमाले आफ्नो सन्तान आज भोको नहोस भनि सोच्ने गर्दछन र सोही तरिकाले आफ्ना कुरालाई परिवार सामु राख्ने गर्दछिन । ठिक त्यसै तरिकाले वडापालिकाले आफुलाई प्राप्त भएको बजेट जनताको दैनिक जिवनसँग जोडिएको क्षेत्रमा विनियोजन गर्न सक्नुपर्दछ । जसले चाँडै प्रतिफल दिन सकोस ।

हरेक स्थानीय तहले अहिले असार १० को योजनालाई मुख्य रुपमा अगाडी बढाएका छन् । आफ्नो गाउँपालिका तथा नगरपालिकालाई कस्तो बनाउने अनि कति रकम कुन–कुन क्षेत्रमा विनियोजन गर्ने हो सोको बारेमा लामो समय छलफल र भावि योजनाको समेत परिकल्पना गरेर अगाडी बढ्नुपर्ने हुन्छ । जसले एउटा असल अभिभावकको काम गर्न सक्नुपर्दछ । जसरी एउटा घरमा आमा र बुबाको बराबरी महत्व छ । यसरी बराबरी महत्व भएको भएतापनि बुबाले आफ्ना सन्तान भविष्यमा भोको नहोस भनि सोच्ने गर्दछन् । त्यसैले स्थानीय तहले आज आफ्नो स्थानीय तहका नागरीकको लागि कुसल अभिभावकको रुपमा आफुलाई अगाडी बडाउनु पर्दछ । जसरी एउटा घर बनाउँदा हरेक इटाको समान महत्व हुने गर्दछ त्यसैगरी स्थानीय तहले विकास निर्माणको कामलाई अगाडी बढाउँदा भविष्यका सन्ततीको लागि समेत सोच्नुपर्दछ । त्यसैले स्थानीय तहमा कार्यररत जनप्रतिनीधिहरुले आजको दिनमा मेरै कार्यकालमा सम्पुर्ण काम सक्नुपर्दछ भन्ने भावनालाई त्याग गरी राम्रो कामको थालनी गर्नु अपरिहार्य छ ।

एउटा घरमा परिवारको सबै सदस्यको महत्वपुर्ण भूमिका रहने गर्दछ । तर, पनि घरमुलीको विशेष अधिकार हुने गर्दछ । त्यसैले गाउँपालिका तथा नगरपालिकाको मुख्य व्यक्तिहरुले आफ्नो विवेकलाई अधिकतम रुपमा प्रयोग गर्नुपर्दछ जसले आफ्नो स्थानीय तहको भाग्य र भविश्य कोर्न सकोस । यसरी आफ्नो पालिकाको योजना तर्जुमा गर्ने क्रममा स्थानीय सरकारले विषय बिशेषज्ञहरुको सहायता लिइ आफ्नो पालिकालाई सुन्दर र सुनौलो दिशामा लैजानको लागि सर्वपक्षीय छलफल गरी सही निर्णयलाई पारित गराउन सक्नु नै स्थानीय सरकारको जनप्रतिनीधि तथा कर्मचारीको दायित्व हुन आउँछ ।

मानव जिवनमा विकास भनेको एउटा यस्तो विषय हो जुन हरेक मानिसको मानसपटलमा हुने गर्दछ । मानिसले आफ्नो जिवनमा नै मंगलग्रह जाने परिकल्पना गरेको हुँदो हो त आजको दिनमा रुस, अमेरिका र चीनले मंगलग्रहमा पुग्ने अवसर पाउँदैनन् थिए । साँच्चै भन्ने हो भने हामीले भविष्यको पुस्ताले दिगो विकासको अनुभव गर्न पाउन् भनेर अहिले देखिनै विकासको मेरुदण्ड बनाउन लाग्नु पर्दछ ।

हामी मानिसले आजको दिनको लागि मात्र सोच्ने गर्दछौं । किनकि अहिले हरेक सरकार चाहे स्थानीय सरकार होस, चाहे प्रदेश सरकार, चाहे केन्द्रीय सरकार नै किन नहोस सबैको सोचाइ मेरै पालाका सबै विकासका कामहरु हुनुपर्छ भन्ने सोचका साथ बजेट विनियोजन हुने गरेको छ । यो सोचाई भनेको नै नश्लबादी शैली र पुरातनवादी सोच हो । त्यसैले अबका दिनमा हामीले बजेटको व्यवस्थापन गर्दा हरेक योजना हाम्रो पालामा सम्पन्न गर्ने लक्ष्यको साथ अगाडी बडाउनु पर्दछ । जुन दिगो विकास भित्र समेट्न सकियोस् ।

आजको युग विकास र परिवर्तनको हो । मानिसले विकासको नाममा विश्वमा ठूला ठूला भवन र बाटाहरु निर्माण गरिसकेका छन् । पृथ्वीको गहिराईबाट बाटो निर्माण देखी पृथ्वीको बाहीरी तहमा अन्तरीक्ष यान राख्न सक्ने खालका छुट्टै ग्रहको निर्माण समेत भईसकेको छ । यो वैज्ञानिक तवरबाट कुरा गर्दा नविनतम युगको सुरुवात हो । यसले विकास निर्माणका कामलाई आज रोवर्ट युग तिर धकेल्दै छ । त्यो विकास निर्माणको काममा निरन्तर लागि रहने गर्दछ । आज वैज्ञानिक युगको सुरुवात भएसँगै हामीले विभिन्न प्रकारका अपत्यारिलो विकासको संरचनाहरु निर्माण भएको पाउँछौं । यसरी विकासको कुरा गर्दा विश्वको सबैभन्दा ठुलो हिन्दु मन्दिर इन्डोनेसियाको वालीमा रहेको छ । जसको निर्माण गर्न तीन सय वर्ष भन्दा बढि लागेको थियो जुन आज विश्व सम्पदा सुचिमा रहेको छ । त्यहाँको कलात्मक संरचनाले सताब्दीयौंको इतिहास बोकेको छ । त्यो मन्दिर निर्माणको काम अहिलेसम्म पनि सकिएको छैन् । त्यसलाई त्यहाँको स्थानीय सरकारदेखी केन्द्रीय सरकारलेसम्म निरन्तरता दिइहेको छ ।

हामीले विकास निर्माणको मुद्दालाई उठान गरिरहदा विश्वका विकसित देशहरुको विकासको चरणलाई हेरी सोही तरिकाले विकास गर्ने सोचका साथ अगाडी बढ्ने गर्दछौं । तर, आजको युगमा हामीले आफ्नो स्थानमा भएको हिरालाई चिन्न नसक्दा अरुले बनाएको सुनको टुक्रोको परिकल्पना गरेर आफ्नो देशलाई दियो मुनीको अँध्यारो बनाएर राखेका छौं । त्यसैले दियो मुनिको अँध्यारोलाई चिरफार गरी समुन्नत भविष्य निर्माणको लागि स्थानीय सरकार सदैब लागि परौं । अवस्य विकासको उन्नत तुफान आउनेछ ।

(लेखक साल्पासिलिछो गाउँपालिका, भोजपुरका योजना शाखा प्रमुख हुन्)

तपाइँको प्रतिक्रिया

फेसबुक