बिहीबार, साउन २१, २०७८

के अहिलेका राजनितिक पार्टी फुट्दा आकाश खस्छ ?

प्रतीक ढकाल२०७८ असार ६ गते १४:०१

लेखक प्रतीक ढकाल

नेपाली राजनीतिमा अहिले किसिम किसिमका रमाइला जात्राहरू निःशुल्क हेर्न पाइरहिएको अवस्था छ । मुलुकको जेठो राजनीतिक दल नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलका बीचमा कहिल्यै कुरा मिलिरहेको छैन । देउवाको मौनता र पौडेलको आक्रामकता दुवै रहस्यमय देखिन्छन् । जनता समाजवादी पार्टी (जसपा) का महन्थ–राजेन्द्र समूह र उपेन्द्र–बाबुराम पक्षहरू एकले अर्कोलाई सिध्याउने नै भनेर लागेका छन् । र आधिकारिकताको लाइसेन्स लिन निर्वाचन आयोग धाइरहेका छन् ।

राजनीतिक विवादको केन्द्रभागमा अहिले नेकपा एमाले रहेको छ । यसका नेताहरूले मन्चन गरेका दर्जनौं लज्जाहीन नाटकहरूले त अब नेपाली जनतालाई मनोरञ्जन दिनसमेत छोडिसकेको छ । सुनौलो इतिहास कायम गरिसकेको, पुष्पलालजस्ता निस्वार्थी नेताले स्थापना गरेको र मनमोहन अधिकारी तथा मदन भण्डारीजस्ता आदर्श व्यक्तित्वहरूले हाँकेर लोकप्रियताको शिखरमा पुर्‍याएको एमाले पार्टी अब करिब करिब विसर्जनको संघारमा पुगेको देखिन्छ ।

हुन त नेपालमा अब कोही पनि ‘कम्युनिष्ट’ बाँकी छ जस्तो लाग्दैन । सबैले नेपाली जनतामा रहेको ‘कम्युनिष्ट’ शब्दप्रतिको तिलस्मी आकर्षणलाई भजाएर खाएकै मात्र हुन् । तैपनि पार्टी सहि रहे जो प्रधानमन्त्री हुने हो, मन्त्री हुने हो, मुख्यमन्त्री हुने हो, सांसद हुने हो, मेयर हुने हो, गतिला गतिला नियुक्ति हात पार्ने हो, आफ्नै श्रीमती, भाइ, साला, साली, सासू, आमा, काकी, छोरा, सम्धी, प्रेमिका, दाजु, दिदी, भिनाजु, बुहारीजस्ता निकटतम् आफन्तहरूलाई राजदूत, जिएम, सञ्चालक बनाउने हो, ठूलाठूला ठेक्काबाट करोडौं कुम्ल्याउने हो … तिनीहरूलाई यो पार्टी नचाहिइरहेको अवस्थामा पनि आम कार्यकर्ता र शुभेच्छुकको पंक्तिमा भने अनौठो खालको चिन्ता व्याप्त भएको देखिन्छ । आफ्नो रगत र पसिनाले बनाएको यो पार्टी यस्तो हबिगतामा पुग्दै गएको देखेपछि तल्लो तहमा रहेका आम इमान्दार कार्यकर्तामा यस्तो निराशा, कुण्ठा र आक्रोश उत्पन्न हुनु स्वाभाविकै पनि होला । तर हामी आम कार्यकर्ताहरू पनि अब के कुरामा प्रस्ट हुनु जरूरी छ भने जसले पार्टीलाई कमाइखाने भाँडो बनाएका थिए, राष्ट्रको ढुकुटी दोहनको माध्यम बनाएका थिए, उनीहरूलाई नै अब यो पार्टी नचाहिने भएर च्याताच्यात गर्न उद्यत भएका छन् भने तपाईं–हामी ‘एक भोट’ हाल्ने बबुराहरू चाहिँ किन यसरी उफ्री–उफ्री पार्टी पार्टी भनिरहेका छौँ त ?

यो पार्टी नफुटे नै पनि हामी सर्वसाधारणले चाहिँ के पाउँछौँ ? के एमाले वा योजस्तै जनताप्रति पटक्कै जिम्मेवार नहुने अन्य पार्टीहरू फुटेर के देशै डुब्छ ? आकाश खस्छ ? नेकपा ‘एमाले’ भन्ने पार्टी नभएका देशहरूमा विकास भएको छैन ? अमेरिका, जापान, जर्मनी, अष्ट्रेलिया, नर्वे, स्वीजरल्याण्ड, बेलायतजस्ता देशमा पनि ‘एमाले’ भन्ने पार्टी छ र त्यसले गर्दा नै विकास भएको हो ? के त्यहाँ पनि स्वीजरल्याण्डको सपना बाँड्ने नेपाली कांग्रेस छ ? नागरिकताजस्तो संवेदनशील विषयलाई सत्ताको बार्गेनिङ्ग टूल बनाउने जसपा छ ? त्यसैले हामी जनता पनि यस्तो भ्रमबाट मुक्त बनौं अब । यी लडे पनि लडून् र जति पटक फुटे पनि फुटून् । जनताले यिनको यो भागबण्डे लडाइँमा चासो राख्नै चटक्कै छोडिदिऊँ । पत्रपत्रिकाले पनि खूब महत्व दिइदिई यिनीहरूका बारेमा अब कुनै समाचार नछापौँ । दर्शकहरूले हेर्न छोडेपछि मदारी पनि खेल रोक्न बाध्य हुनेछन् ।

हैन र हामीले अझै पनि चासो राखिरह्यौँ भने हामीलाई दर्शक ठानेर यी झन् उत्साहित हुनेछन् र जग हँसाइरहने छन् । यिनीहरूको यो बेमौसमी जात्रालाई जतिसुकै विधि, पद्धति र सिद्धान्तको जामा पहिर्‍याए पनि यो सैद्धान्तिक झगडा हुँदै होइन । हाल बेरोजगार बनेका ती एउटा कुण्ठाका रोगीले कुनै शानदार कुर्सी पाए वा २,४ वटा नियुक्तिको कुरामा भागबण्डा मिल्यो भने यी भोलि नै मिल्न पनि बेर लाउँदैनन् । अनि ङिच्च दाँत देखाउँदै अँगालो हालेको फोटो खिचेर फेरि हामीलाई नै बेबकूफ बनाउन पनि बेर लगाउँदैनन् ।

अब यिनीहरूको गाईजात्राले चिन्तित बनाएका तल्लो तहमा रहेका कार्यकर्ता अर्थात् तपाईंहरूकै कुरा गरौँ । अरू सामान्य अवस्थामा चाहिँ तपाईंले के पाउनुभएको थियो र बेकारमा यो पार्टीका लागि आफ्नो प्रेसर बढाउँदै हुनुहुन्छ ? किन तनावमा बस्नुहुन्छ ? भोट हाल्ने बेलामा बाहेक तपाईंलाई कहिल्यै कुनै नेताले बोलाएको सम्झना छ ? म धेरै साथीहरूका विचार सामाजिक सञ्जालमा पढिरहेको छु । तपाईंको चासो, चिन्ता र आक्रोश जायज हुँदाहुँदै पनि यहाँ काम गर्ने अवसर र वातावरणसमेत नपाएर विदेशिनु भएको होइन र तपाईं ?

अलि बौद्धिक र भाग्यले साथ दिएका केही साथीहरू युरोप, अमेरिका, जापान, जर्मनी र अष्ट्रेलियाजस्ता विकसित देशहरूमा श्वेतग्रीवी (ह्वाइट कलर) काममा हुनुहुन्छ होला । तैपनि मिनट मिनटको हिसाबले हाड घोट्नु पर्ने बाध्यता छँदैछ । पाखुरा बजारेर खाने बाँकी औसत युवा श्रमशक्तिले त खाडी र मलेसिया पूरै भरिएकै छ । तपाईंहरूले गास काटेर पठाएको रेमिट्यान्स (विप्रेषण) ले यो देशको अर्थतन्त्र धानिएको छ । जुन बेला यहाँका नेताहरू एकअर्काको लगौंटी तानातानमा व्यस्त छन्, ठीक त्यही बेला तपाईंहरू चाहिँ आफू भोकभोकै बसेर नेपालमा अक्सिजनका सिलिण्डरहरू पठाइरहनु भएको छ । तर पनि कोही बोलेको छ तपाईंहरूको यो भावनाका पछाडि रहेको मर्मका विषयमा ? कोही बोलेको छ तपाईंले विदेशी भूमिमा पसिना बगाएको श्रमको सम्मानमा ? आकाशमार्गबाट गएर बाकसमार्ग हुँदै फर्केका ती आम अधुरा र भाग्यले ठगेका सपनाहरूका विषयमा कुनै नेता बोलेको सुन्नुभएको छ ? तपाईंले कुनै नियुक्ति पाउनुभएको छ ? कुनै लाभको पदमा हुनुहुन्छ ? करोडौं आर्थिक सहायता बाँडिन्छ हरेक वर्ष । तपाईं वा तपाईंको दुखी परिवारलाई कसैले संझेको छ अहिलेसम्म ? कि औषधि उपचारको पैसो पाउनुभयो ? गहिरो गरी मनन गर्नुहोस्— यो देशका शासकवर्गले तपाईंलाई मान्छेमा गनेका छन् ? अनि के “खाई न पाई, छालाको टोपी लाई” भनेझैं बुरुक्क बुरुक्क उफ्रिनुहुन्छ पार्टी पार्टी भन्दै ? पार्टीले तपाईंलाई कहिल्यै सम्झेको छ ? छातीमा हात राखेर सोच्नोस् त— तपाईंको कुनै काम छ पार्टीमा ?

अझ तपाईं पनि मजस्तै पुरानो संगठित एमाले हो भने त अब झन् मजाले किनारा लाग्नुभए हुन्छ । कसैले खोज्नेवाला छैन तपाईंलाई अब । “वन साङ्लोले घर साङ्लोलाई खाइसक्यो” प्रिय कामरेड । तपाईंहरूका दिन सिद्धिए । अब त बादल र राजेन्दर कामरेडहरूका कुराहरू मात्र बढी सुनिनेछ पार्टीमा । उहाँहरूकै योगदानले मात्र पार्टी सुदृढ हुँदै गएको छ भनेर व्याख्या गरिनेछ अब । प्रचण्डले छोरीलाई मात्र हेरे भन्दै वादलले विमति जनाएर एमालेमा आएका होइनन् ? अनि उनले चाहिँ कसलाई हेरे नि ? के २, ४ दिन श्रीमतीलाई मन्त्री नबनाएको भए बादल भोकभोकै पर्थे ? के यसरी नै आउने हो जनवाद ?

गण्डकी प्रदेशमा कांग्रेसका मुख्यमन्त्रीले गरेको पहिलो ऐतिहासिक निर्णय पनि देख्नुभयो होइन ? पहिलो प्राथमिकतामा को पर्दोरहेछ ? भूतपूर्व मुख्यमन्त्रीको सुविधालाई व्यवस्थित गर्ने रे ! राजनीति पेन्सन पाक्ने ठाउँ हो ? भोलि यही सिको गरेर सबै पालिकाहरूले सबै भूतपूर्वहरूलाई यसरी नै पिण्डपानीको व्यवस्था गर्दै गए भने यो संघीयता भन्ने घाँडोलाई यो गरीव मुलुकले धान्न सक्छ ?

हामी असाध्यै ठूलो भ्रममा छौँ अझै पनि । यी कसैले पनि हाम्रालागि केही गर्दैनन् भनेर हामीले अझै किन बुझ्न नसकेको ? लौ केही बुद्धिजीवी भनाउँदाहरू त विवेक बन्धकी राखेर पनि मौन बसेका होलान् रे । “केही झर्ला र खाउँला” भन्ने आशामा । यो नग्नतालाई टुलुटुलु हेर्दै । तर हामी तल्लो तहका कार्यकर्ताहरू चाहिँ के आशामा विभाजित भएका नि ?

त्यसैले बरु चुनाव होस् । र, आगामी चुनावमा “हामी मूलधारका हौँ” भनेर घमण्डी बनेका सबै पार्टीका गरेर २०० जति यी कुरूप र थोत्रा अनुहारलाई तलै गाउँमै ठेगान लगाइदिऊँ । जमानत नै जफत हुने स्थितिमा पुर्‍याइदिऊँ । अनि बल्ल सुरू हुनेछ हाम्रो राजनीतिक शुद्धीकरणको अभियान । त्यसैले अब वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, डा. सुरेन्द्र केसी, डा. सुरेन्द्र भण्डारी, डा. रामप्रसाद उप्रेती, रवीन्द्र मिश्र, रवि लामिछाने, रमेश खरेल, रमेश प्रसाइं, पुण्य प्रसाईं, ज्ञानेन्द्र शाहीजस्ता जो जो पनि अभियन्ताहरू हुनुहुन्छ, अब अलग अलग समूहमा उभिनु जरूरी छैन । साझा कार्यक्रम बनाएर ठूलो मोर्चाबन्दी गर्नु जरूरी छ । भारतको आम आदमी पार्टीबाट हामीले पनि केही सिक्नु जरूरी छ । अब ‘हाम्रा’ लाई होइन, ‘राम्रा’ लाई उठ्न प्रेरित गरेर जिताउनु पर्छ ।

राजनीतिलाई फोहोरी खेल भनेर छोड्दै गइयो भने त झन् खराबहरूका हातमा देश पर्ने रहेछ । त्यसैले कर गरेर भए पनि राम्रा मान्छेहरूलाई यो क्षेत्रमा ल्याउनु पर्‍यो । अनि अहिलेको जस्तो “पद र गोपनीयताको” होइन, राष्ट्रदेव पशुपतिनाथको मन्दिरभित्र उभिएर “जिम्मेवारी र पारदर्शिताको” शपथग्रहण गरिनु पर्‍यो र कालभैरवका अगाडि सम्पति विवरण पेश गरी नागरिक आयोगले निरन्तर अनुगमन गर्ने व्यवस्था मिलाइनु पर्‍यो । हामी नै कस्सिएर नलागेसम्म यो बेथितिको अन्त्य हुनसक्ने स्थिति नै देखिएन ।

नेपालका लागि अब नेपालीले नै केही गर्नुपर्छ । यी “कम्फर्टेबल” १२ बूँदेका साझेदार र नागरिकताका व्यापारीहरूबाट अब केही हुनेवाला छैन । यी लेण्डुपहरूबाट अब यो देश जोगिँदा पनि जोगिँदैन । कुनै नेपालीले नागरिकता नपाएको रहेछ भने उसलाई नागरिकता दिनु राज्यको कर्तव्य नै हो । म आफैँले गृह मन्त्रालयमा लामो समय बिताएको हुनाले विदेशीसँग वैवाहिक सम्बन्ध भएका केही नेपाली महिलालाई साँच्चिकै अप्ठेरो समस्या परेको छ । यस्ता अपवादहरूलाई व्यक्तिगत ‘केस बेसिस’ मा राखेर पनि हेर्न सकिन्छ । कपिलवस्तुजस्तो सीमावर्ती जिल्लाको सिडिओ पनि भइसकेको हुनाले यसको संवेदनशीलताबारे मलाई पनि थोरबहुत ज्ञान छ ।

मैले बुझेसम्म नागरिकताको पसल खोल्ने चलन संसारका कुनै देशमा पनि छैन । यसको अर्को खतरनाक पक्ष के छ भने, पहिले नै नागरिकता हात पारिसकेका भारतीयहरूका सन्तानले अब वंशजको नाताले नागरिकता लिनेछन् र देश फिजीकरणको बाटोमा अगाडि बढ्ने हुन्छ । त्यसका अतिरिक्त भारतमा वृद्धभत्ताको व्यवस्था छैन । यदि हामी यसमा चुक्यौँ भने हाम्रै बा–आमाको भाग खोसिने पनि निश्चित नै छ ।

यदि आफ्नै हातमा ‘मताधिकार’ को मौका आएका बेला पनि हामीले चाहिँ उही पुरानै ठाउँमा भोट हाल्ने हो भने अब नेतालाई गाली गर्न पनि छोडौँ । मेरा कारणले नै यो देश खोक्रिँदैछ, म आफैँ मासुभात, केही दिनको ज्याला र १०, २० लिटर पेट्रोलमा बिकेका कारणले नै यो मान्छेले देश लुट्ने लाइसेन्स पाएको हो भनेर आफैँ चित्त बुझाऔँ, पछुतो मानौँ र अर्को पाँच वर्ष घरमै झोक्राएर बसिरहूँ ।

साइबर सेनाज्यूहरूले पनि आवेशमा आएर तत्कालै यसमा तातो टिप्पणी गरिहाल्नु जरूरी नहोला । जुन बेला मैले तत्कालीन नेकपा मालेको सदस्यता लिएँ, शायद त्यो बेला तपाईंहरूमध्ये धेरैजसो त जन्मनु पनि भएको थिएन होला । यही पार्टीमा ४१ वर्षसम्म रहेर लेबी बुझाएको र त्यो पञ्चायतकालीन समयमा पनि टाउकोमा कात्रो बाँधेर ज्यानै जोखिममा राख्दै सारा भूमिगत कामहरू गरेको हुनाले यो मेरो गहिरो अनुभूति बोलेको हो । कसैको प्रायोजित २, ४ पेगको राग बोलेको होइन ।

तपाइँको प्रतिक्रिया

फेसबुक