सोमबार, कार्तिक ८, २०७८

जीवन : एक भ्रम

लक्ष्मण देवकोटा२०७८ असार ६ गते २३:४१

रुसमा पढेर फर्किएका एकजना जनहितकारी विचारधारा राख्ने विद्वान जुगल भूर्तेललाई म पढिरहन्छु । उनले जुन २० को बिहानै रुसको अस्पतालमा कोभिडका बिरामीको भद्रगोल अवस्थाबारे सानो भिडियो फूटेज कुनै रसियाली श्रोतको माध्यमबाट हेरेर हामी नेपालीहरुले समेत देख्न मिल्नेगरी ट्वीटरमा राखिदिए । त्यो भिडियोको दूर्दान्त अवस्था देखेर म झसँगै भएँ । कतिपय मुलुकमा दानको रुपमा स्पुतनिक भि कोभिड खोप बाँडेका र दुनियाँको सर्वश्रेष्ठ दाबी गर्ने महाशक्तिसम्पन्न अमेरिकासँग आँखा जुधाएर कुरा गर्ने हैसियत राख्ने सोही मुलुकका राष्टपति भ्लादिमिर पुटिन मेरै आँखा अगाडि बडे बडे गुड्डी हाँकिरहेका थिए । यौटी अश्वेत महिला पत्रकारको प्रश्नमा उनले भनेका थिए ‘अमेरिकी पुलिसको बर्बरताको शिकार भएका अश्वेत जर्ज फ्लोयडप्रति सँकेत गर्दै, म ती अफ्रिकी मूलका अमेरिकी नागरिकको नियति मेरो मुलुकमा हुन दिन्न । कुनै पनि हालतमा हुन दिन्न ।’

भूर्तेलको ट्वीटपछि रुसी संचारमाध्यममा दबाइएका खबरहरु हेरें । मस्कोमा रहेका मेरा आफन्तजनहरुको कुराकानीबाट त्यहाँको भद्रगोलको बारेमा जानकारी पाइयो । मै हूँ भन्ने अमेरिकामा पनि कोभिडका बेला मेरै टोलका नर्स बहिनीहरुलाई पन्जासमेत घरैबाट लैजानुपर्ने अवस्था थियो । सँचारमाध्यमहरुले भने सबै कुरा ठीकठाक भइरहेको बताइरहेका थिए ।

दुनियाँमा जे भइरहेको छ, त्यो बाहिर आइरहेको छैन । जे आइरहेको छ, त्यो केवल विज्ञापनको रुपमा आइरहेको छ । दुनियाँको सर्वश्रेष्ठ प्राणी मानिस र जनावरको भिन्नता नै यही होला कि मानिससँग विवेक छ । उसले सोंच्न र निर्णय गर्न सक्छ । बाघ, भालु, सिंह जस्ता जनावरलाई तह लगाउन सक्छ । सिंह डोर्याएर हिंडेको मान्छे भने आफू भित्रको लालच र शक्तिको आशक्तिका कारण जे भन्छ त्यो गर्दैन । जे भन्दैन त्यो गर्छ ।

दुनियाँभरका शासकहरुको उस्तै उस्तै हो कथा । इजरायलीहरु आफ्ना खुफिया कमाण्डोहरु खटाएर इरानी न्यूक्लियर विज्ञानका पिता मोहसिन फरिकजादेहको हत्या गरिदिए । पुस्तौंदेखि बसिरहेका शेख जारेहका प्यालेष्टाइनीहरुलाई कसरी उठीवास लगाइरहेका छन् यहुदीहरुले, त्यो पनि देख्न सकिन्छ । इजिप्टमा ज्यूँदै जलाइएका किप्टो क्रिश्चियनहरुलाई कतिबेलै चैनले बस्न छैन । माक्र्स, लेनिन, पैगम्बर मुहम्मदको नाउँ लिएर होस् या पिता परमेश्वरको नाउँ लिएर होस् मानिस सर्वश्रेष्ठ हुने र आफ्नो अधिपत्य कायम गर्ने होडमा कुँदिरहेको छ ।

टाढा किन जानु पर्यो र ? कुनै बेला माओवादी वेगमा झापामा खड्ग बोकेर निस्केका खड्ग ओली, मार्क्सवाद मान्ने खड्ग ओली, कालान्तरमा ठोरीमा गएर १०८ रुद्राक्षका माला जपेर रामनामी भएर बसे भने पनि आश्चर्य नमान्दा हुन्छ । हेनोस् त बीपीको नाम भजाएर बाँचिरहेका काँग्रेसीहरुको चालामाला । सबैका मुखमा वीपी, गणेशमान र किशुनजीको बाहेक कसैको नाम आउँदैन । अलि पर गए भने उनीहरु गान्धीको आदर्शका कुरा पनि भट्याइहाल्न भ्याउँछन् । व्यवहारमा भाइ भाइको लडाइँ, सिद्धान्त भन्दा उल्टो काम, चाकडी चाप्लुसीले खिया परेको पार्टी र प्रतिपक्षमा बसेको निरिह शक्ति, पुँजिवादी अर्थतन्त्रको नाँगो वकालत गर्ने तर भन्दा कडा समाजवादी कुरा गर्ने समूहका रुपमा शेर बहादुर देउवाले धुलोपिठो पारेको पदका आसक्तहरुको भीड भन्दा केही बाँकी रह्यो र ? खड्ग प्रसाद ओली र शेर बहादुर देउवाको नग्न सत्तायात्रा जनताले देखे त । तुलोमा राख्दा केही कम हुने देखिंदैन दुवैको संसदीय सिद्धान्तमाथिको हमला । तर व्यवहारमा उनै गणतन्त्रका सेवकराम भएर नाटक मन्चन गरिरहेका छन् ।

यसो हेर्दछु म, धर्मनिरपेक्षताको वकालत गर्दै संसारैभरी पैसाको बिटो बोकेका युरोपेलीहरु । जसका नीति नियमहरु, धर्म संस्कृति र पर्वहरु उही क्रिश्चियन क्यालेन्डरहरुबाट चलिरहेका छन् । जन्मेदेखि मृत्युसम्म क्रिश्चियन धर्ममा लागिरहेको मानिस, जहाँ राज्यले छुट्याउने विदाहरु सबै सोही क्यालेन्डर अनुरुप हुन्छ र विधर्मीहरुको विदालाई स्वीकृत गरिंदैन, उसैले धर्मको बराबरीको कुरो गर्दै हिंड्छ । कोही छन् आफ्नो धर्म संस्कृति बाहेक बाँकी सबलाई बिधर्मी शत्रु मान्नेहरु । भाषा, धर्म र संस्कृति नै समाप्ति भएपछि देश भन्ने जिनिस कहाँ गएर बाँकी रहन्छ ? भनेर सोध्दै गर्दा वल्लो घर र पल्लो घरमा चल्ने फरक भाषाहरुले देशमा के मान्यता राखिरहेको छ ? भनेर सोध्न पनि भुल्नु हुँदैन होला ।

जीवनको यो कालखण्डमा देखिरहेका यावत् कुराहरुले मलाई धेरै कुरा भ्रम हुन् जस्तो लाग्यो । जस्तो मानवअधिकारको डंका बहुत भ्रम लाग्दछ मलाई । साउदी अरबबाट कसाहीहरु आएर टर्कीको राजदूतावासमा जमाल खसोग्जीको हत्या भयो, कोही बोल्यो ? अहँ बोलेन । अस्ती भर्खर छानी छानी प्यालेष्टाइनी इलाकामा रहेका अल जजीरा, एसोसियट प्रेस जस्ता संचारमाध्यमका भवनहरुलाई इजरायली रकेटले उडाइयो । कोही बोल्यो ? अहँ बोलेन । तिब्बतीको पिरलोले मर्न आँटेका पश्चिमाहरुलाई जर्ज फ्लोयडको घटना सामान्य लाग्दछ । अझ आँखा च्यातेर हेर्नु भयो भने यही कोभिड भ्याक्सिनको वितरणमा देखिएको पनपक्ष देख्न सक्नुहुनेछ । सम्भ्रान्तहरुका हातहातमा चाँडै पुग्ने, तन्नम देशका नागरिकहरु भने सिटामोल नपाएर मर्नुपर्ने । अनि यो दुनियाँमा मानवअधिकार नामको जिनिस सबैभन्दा ठूलो भ्रम नभए के हो त ?

पछिल्लोपटक खड्ग प्रसाद ओलीले काइदाको काम गरेका छन् । उनका कामहरुले जनतामा कम्युनिष्ट आए भने के के न गर्छन् भन्ने जुन भ्रम थियो, त्यो केवल भ्रम हो भन्ने प्रष्ट बुझाइरहेका छन् । यो हाहाकार, अन्धकार, कोभिडको कोलाहल, बाढी पहिरोको त्रास, गरिबीको भूखमरीको रुबावासी बीच उनलाई चुनाव नभई भएको छैन । जुन मान्छेलाई यो संघियता, समावेशिता, गणतन्त्रका कुरा गर्ने संसदनै मन परिरहेको छैन, उसैलाई हतार हतार के गर्न चुनाव चाहिएको हो ? मानिसले बुझ्ने मौका पाएका छन् । मौका पाए भने संवैधानिक अंग, अदालत, राष्टपति जस्ता सबै गरिमामय ठाउँहरुमा विष्ट्याउन आँट गर्ने काम कम्युनिष्टहरुबाट हुने रहेछ भनेर उनले देखाइदिएका छन् ।

आफ्ना भए लूट गर्न छुट, आफ्ना भए अयोग्य पनि योग्य, आफ्ना भए विधि विधान धरातधुरुत पारेर भए पनि अवसर प्रदान गर्न हिजोका कांग्रेस भन्दा एक कदम अगाडि बढेर कम्युनिष्टहरुले काम गर्ने रहेछन् भनेर छर्लँगैं देखाइदिएका छन् । राजावादी महोदयहरुका अभिनय त भन्नै परेन । ती महोदयलाई समेत अहिलेको कम्युनिष्ट सरकार लोकप्रिय हुन थालिसकेको अवस्थामा यहाँ को कताको सिद्धान्तनिष्ठ, को कुन विचार भन्ने कुरा सबै खर्लप्पै निलिसकिएको अवस्था छ ।

सारसंग्रहमा शक्तिमा पुग्नेहरुले सकेसम्म छर्नसक्ने र दिने भनेको भ्रम नै रहेछ । फरक यत्ति हो कि कसले बढि भ्रम छर्न सक्यो, कसले कम भ्रम छरेर शासन गर्न सक्यो । कहीं जहानूमा, जन्नत, स्वर्ग र नर्कको भ्रम, कहीं परमेश्वरको आँगनमा पुग्ने भ्रम । साम्यवाद, समाजवाद र बराबरीको भ्रममै यो जीन्दगी समाप्ति हुनेरहेछ भूइँमान्छेहरुको । एलिटहरुलाई त यी भ्रमहरुको खेती नै गर्ने दक्षता भएपछि जुन व्यवस्था आएपनि उनीहरु सधै नै लाभग्राही हुनै नै भए ।

सांगोपांगो यो उबडखाबड जीवनको खोंचमा आइपुग्दा जीवन केवल एक भ्रम पो रहेछ झैं लागिरहेछ । तपाईंलाई त्यस्तो लाग्दैन ?

२० जनवरी, जेनेभा

तपाइँको प्रतिक्रिया

फेसबुक