सोमबार, मंसिर १३, २०७८

अनुत्तरित प्रश्न : म किन जन्में ?

गुमनाम परदेशी२०७८ असार ७ गते ९:१७

यो मेरो सोच हो । सोच गलत हुन पनि सक्छन । तर जतिबेला मैले केही सोचिरहेको हुन्छु- हो त्यो बेला, त्यो एक्कौछिन अथवा समयको सानो मापनमा ति सोचहरु सत्य हुन । जस्तो कि हरेक मान्छेहरुको जिन्दगीमा एक पटक एउटा सोच पक्कै पनि आउँछ- ‘म किन जन्मे’ ? जन्मिनुको उपदेयता के होला ? मेरो जिन्दगीमा यस्ता सोचहरु पटक पटक आएका छन् । अझै म सोचीरहन्छु- म किन जन्में ?

मेरो लागि मेरो दिमागमा हरेक पटक घुमिरहने यो सोच नै सत्य हो । ईश्वर मेरो लागि अर्ध सत्य हो । मैले देखेको छैन । म उभिने एउटा इत्रुको परिधी छ । मैले हेर्ने त्यसैको वरिपरी मात्र हो । ईश्वर शायद त्यहाँ भन्दा पर छ । हुनसक्छ कतै नदेखिनु नै ईश्वर हो । महशुस हुने वस्तु होला ईश्वर । तर मैले ईश्वरलाई कहिल्यै महशुस गरेको छैन । महशुस नै नहुने कुरा मेरो लागि ईश्वर हुन सक्दैन । तथापी म मन्दिर जान्छु । किन जान्छु आँफैलाई थाहा छैन । यो त्यस्तै प्रश्न हो, म किन जन्मे भने जस्तै ! अनुत्तरित ! जसले जिन्दगीका हरेक मोडहरुलाई भयानक गर्तमा धकेलेको छ ।

सोचको उत्पती कहाँबाट हुन्छ ? जन्मिनु पुर्व कुनै सोच थिए कि थिएन ? अनगिन्ती प्रश्न छन टाउकामा अल्झिएका । शास्त्रले भन्छन- “जिवोत्पती ईश्वरद्वारा हुन्छ” । दुनियाँका अरवौं मान्छेहरुले विश्वास गर्ने त्यो ईश्वर कहाँ छ ? कस्तो होला ईश्वरको दुनियाँ ? दिमागमा निरन्तर गुमिरहने प्रश्नहरु हुन यि ! तैपनि मलाई ईश्वर प्रती अर्ध विश्वास छ । विश्वास र अर्धविश्वासको बिचमा जती दुरी हुन्छ त्यहींबाट मेरा सोच छरिन्छन- म किन जन्मे ? जन्मिनु र मर्नुलाई सामान्य प्रकृया मानिए पनि त्यती सामान्य छैनन यि । जन्माउने प्रकृया सामान्य भए पनि जन्मिने प्रकृया असमान्य छन । किन जन्माउँछन मान्छेहरुले मान्छे ! जन्मिने निर्देशिका कस्तो छ ? मान्छे विहिन यो पृथ्वी कती सुन्दर देखिंदो हो । मलाई एक पटक आफु जन्मदै नजन्मिकन प्राणीरहित पृथ्वीलाई हेर्न मन थियो ।

धेरै पुरानो कुरो याद छ मलाई । त्यतीबेला हनुमान मन्दिर बनेको थिएन । न त्यसको नामाकरण चक्रघाट नै भएको थियो । माथिबाट उर्लिएर आउने नारायणी त्यहाँ पुग्दा भने सुस्ताउँथ्यो । नारायणीको पानी त्यही खोंचमा फनफनि घुम्थ्यो । बडेमानका भुमरी पर्थे । एकपटक कुन्नी कसको गाईको बाच्छो त्यही घुम्ने पानीको भुमरीमा परेर अलप भएको छ । शायद त्यसैले होला त्यो ठाउँको नाम घुमाउनी राखिएको थियो । अहिले त्यो सबै क्षेत्र चक्रघाट भएको छ । मान्छेहरु घुमाउनी भन्न रुचाउँदैनन । पछी परेको महसुस हुन्छ रे ! तर मलाई भने घुमाउनी नै प्रिय लाग्छ । त्यही घुमाउनीको बगर हाम्रो अन्तिम संस्कारको थलो हो । अनन्त यात्रामा प्रस्थान गर्ने अन्तिम बिन्दु ।

त्यस दिन म बाको काँधमा बसेर घुमाउनी पुगेको थिएँ । हाम्रा आफन्त मरेका थिए । विहानै उदेकलाग्दोगरी शंख बजेको थियो । एकोहोरो शंख बजेपछी गाउँभरी सुन्यता शुरु हुन्छ । मुर्दा शान्ती भन्छन नि हो त्यस्तै । बाले मलाई काँधमा बोकेर हिंडे । म ति आफन्तको सबभन्दा कान्छो मलामी थिएँ । मलाई एक हिसाबले रमाइलो नै लाग्यो । गाउँभरिका मान्छे एकै ठाउँमा थिए । ठाउँँ ठाउँँमा आगो बलेको थियो । सुगन्धित धुप सल्काइएको थियो । यस्तो लाग्यो पूजा शुरु हुँदै छ अथवा मृत्‍यु उत्सव चलिरहेको छ । त्यही दिन मैले पहिलो पटक मरेको मान्छे देखें । त्यही दिन मेरो दिमागमा पहिलो पटक ‘म किन जन्में’ भन्ने प्रश्नले डेरा बसाल्यो ।

म बाको काँधमा गजक्क परेर बसेको थिएँ । त्यो इत्रुको दिमाग घुमाउनीको पानी जस्तै फनफनी घुमेको घुम्यै भयो । बालाई सोधें- ‘बा म किन जन्मेको ? कसले जन्माएको मलाई’ ? बा बोलेनन । मलाई काखमा उतारे र ट्वाल्ल मेरा आँखामा हेरे । कस्ता रहस्यमयी आँखा बाका ! शायद बालाई पनि थाहा छैन छोरो किन जन्म्यो भन्ने । भन्न त भने- “तँलाई भगवानले जन्माएका हुन” ।

मलाई लाग्छ, बा आँफै विश्वास गर्दैनन भगवानले मान्छे जन्माउछ भन्ने कुरामा । बाले भित्र मनमा कतै सोचे होलान्- “तेरी आमासँगको सम्भोग पछी मात्र तँ जमेको होस” । म जन्मिनका लागि बाले चार पटकसम्म बिहे गरेका छन् । म अल्ली ठुलो भए पछी थाहा पाएँ । जन्मनु पूर्व मेरो चेतनाले कतै काम गरेको हुन्थ्यो भने म कुनैपनि हालतमा जन्मिने थिइन । मेरो प्राप्तिका लागि बाको संघर्षलाई त्यही रुपमा पनि बुझ्न सकिन्छ । तर सम्भोगमा आनन्द नभएको हुन्थ्यो भने मेरा बाले मलाई जन्माउने पटक्कै कष्ट गर्ने थिएनन । न त चार वटी श्रीमती घरमा भित्र्याएर हेरेक हप्ता मृतुन्जय पाठ गरेर बस्ने जाँगर नै हुन्थ्यो । ‘मेधावी पुत्र जन्माउन कठिन छ बालाई’ सधैं यस्तै लागि रह्यो । तर मलाई हरेक पल के लागिरह्यो भने सन्तान जन्माउनका लागि सम्भोगको अतृप्त चक्र चलिरहेको हुन्छ । सम्भोगबाट बा तृप्त हुन सकेको भए म जन्मिने थिइन ।

अली वर्षपछी म बाको काँधबाट ओर्लिएर हातका औंला समातेर हिंड्न थालेको थिए । अब डर शुरु भएको थियो । चेतनाको विस्तारित रुप डर हो । बासँगको डर । चेतना बढ्दै जाँदा डरको दायारा पनि फराकिलो हुँदै जान्छ । तर के डरले जिज्ञासालाई सधैंका लागि मेटाउन सक्ला र ? फेरी सोधें- “बा म किन जन्मे” ? ‘होइन तँ बहुलाइस कि क्या हो ?’ बा झोक्किए । शायद म बहुलाएको थिएँ । अझै पनि बहुलाएको छु । मलाई लागि रहन्छ म किन जन्मे ? मेरो आगमनको प्रमुख कारण सम्भोग मात्र थियो या अरु नै छ ।

खासमा जन्मको परिभाषा अत्यन्त कठिन् छ । नत्र मेरा बाले यसको जवाफ दिइसक्ने थिए । बा यस्तो शब्द हो जोसँग हरेक प्रश्नको जवाफ हुन्छ । शास्त्रले के भन्छ त्यो अली परको कुरा हो । हाम्रो कुरा बाले के भन्छन् भन्नेमा सिमित रहन्थ्यो । जन्मको रहस्य उतिबेलै बाले सुल्झाइदिएको भए म त्यसैमा विस्वस्त हुन्थें शायद । सुल्झिएन । एक दिन फेरी गाउँका सबै मान्छेहरु त्यही घुमाउनीको बगरमा जम्मा भएका थिए । उस्तैगरी जताततै आगो बालिएको थियो । अगरबत्तिको सुगन्धले घुमाउनीको त्यो बगर मग्मगाएको थियो । म पहिलो पटक त्यही बगरमा पुदा बाको काँमा बसेर पुगेको थिएँ । यो पटक बालाई हामीले काँधमा बोकेर पुर्याएका थियौं । मेरो प्रश्न झन रहस्यमा पुग्यो । बा किन जन्मे ? बालाई यो पृथ्वीलाई प्राणी रहित हेर्न मन थिएन होला र ! मलाई छ । तपाईंलाई पनि होला । ईश्वरले प्राणीको परिकल्पना गर्छ भने सम्भोग केका लागि ? आनन्दका लागि हो भने मान्छे किन जन्मिन्छ ? सम्भवत सम्भोग नै सत्य हो । ईश्वर हो । मलाई विश्वास छैन वा भनौ अर्धविश्वास छ मान्छेहरु भन्छन नि- ईश्वर प्राप्तिको आनन्द भन्दा अर्को कुनै आनन्द छैन । के यो सम्भोगसँग जोडिएको छ ? आखिर सत्य भनेको के हो र ! मैले मेरा बाको घुमाउनिको बगरमा जल्दै गरेको चितालाई सत्य मान्न सकिन । जहाँँ मेरो मानसपटलमा हजारौं प्रश्न रहस्यमय रुपमा अल्झाएर निभ्यो ।

तपाइँको प्रतिक्रिया

फेसबुक