बुधबार, वैशाख १२, २०८१

पुटिन र बिडेनलाई स्विस घडी उपहार, अमेरिकाले दियो चस्मा र बाईसन

नेपालप्लस संवाददाता२०७८ असार ७ गते १०:४५

स्विजरल्याण्डले अमेरिकी राष्ट्रपति जो बिडेन र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनलाई स्विस घडी उपहार दिएको छ । जेनेभामा यस हप्ताको ऐतिहासिक शिखर सम्मेलनमा स्विजरल्याण्डले दुबै देशका राष्ट्रपतीलाई घडी उपहार दिएको हो ।

स्विजरल्याण्डको पब्लिक मिडिया रेडियो टेलिभिजन स्विस (आरटिएस) का अनुसार अमेरिकी राष्ट्रपती जो बिडेनले रुसी राष्ट्रपती भ्लादिमिर पुटिनलाई अमेरिकामा बनेको एभिएटर चस्मा र बाईसन (जंगली गाई) क्रिस्टल मूर्तिकला दिए । तर यि कुरा कसैको क्यामराले खिच्न पाएन । किनभने कूटनितिक प्रोटोकलका कारण यो उपहार दिने बेला कोहिपनि नजिक जान पाएन । “त्यसैले पुटिनलाई यि उपहार मन परे कि परेनन् र पछि न फिर्ता पो दिए कि त्यो पनि हामीलाई थाह छैन” आरटिएसको रिपोर्टमा उल्लेख छ ।

रुसी राष्ट्रपती पुटिनका तर्फबाट बिडेनलाई कुनै उपहार दिईयो कि दिईएन ? दिईएको भए के दिईयो भन्ने कुरा रिपोर्टहरुमा उल्लेख गरिएको देखिन्न ।

अमेरिकामा बाईसन जनावरलाई एकता, लचिलोपन र स्थिरताको प्रतीक मानिन्छ ।

यसैबीच, ल माताँ दिमस अखबारले शिखर सम्मेलनका केही तथ्यांकहरूलाई नियालेको छ । उसले उल्लेख गरे अनुसार अमेरिकीहरूले यस अवसरको लागि होटल बिलमा करीव १२ लाख डलर खर्च गरे । अमेरिकी कूटनितिज्ञ र यो सम्मेलनका क्रममा आएकाहरु थुप्रै जेनेभास्थित प्रतिष्ठित होटेलहरुमा बसेका थिए । होटेलको शीर्ष मध्ये इन्टरकन्टिनेन्टल थियो । राष्ट्रपती बिडेनले सबैभन्दा माथिल्लो तलाको ६५० वर्ग मिटरमा फैलिएको अति सुविधा सम्पन्न विशिष्ठ कोठा (सुईट रुम) लिएका थिए ।

सुरक्षाको लागि ४००० प्रहरी र सेनाका जवानहरू खटाइएका थिए । दुई किलोमिटर काँडेदार तारले भिला ला ग्रान्ज भवनको चारैतिर पार्कमा घेरा हालेका थिए जहाँ दुई नेताहरूको भेट भएको थियो ।

लेमेन लेक भनिने जेनेभाको ताल वरिपरिको क्षेत्र २० घण्टासम्म सर्वसाधारणकालागि बन्द गरिएको थियो । ल माताँ दिमसका अनुसार विश्वभरिका करिब तिन हजार पत्रकारहरु सम्मेलनको रिपोर्टिङ गर्न आएका थिए । द्विपक्षिय सम्मेलन १८० मिनेट चलेको थियो ।

स्विजरल्याण्डका लागि कूटनीतिक तवरले महत्वपूर्ण रहेको यस शिखर सम्मेलनले कुनै नाटकीय घोषणा त गरेन । तर केहि समय अघि देखि फूल फुलेर साना फल फलाएको पहिलो संकेतका रुपमा मस्कोले आइतबार वाशिंगटनका लागि आफ्नो राजदूतलाई फिर्ता पठायो । यो वार्ताको सबैभन्दा महत्वपूर्ण, तत्कालै देखिने साकरात्मक परिणाम यहि हो ।

तपाइँको प्रतिक्रिया