शुक्रबार, वैशाख ७, २०८१

ती अराजक दिन र छरिएका साथीहरू !

पदम गौतम२०७८ असार ९ गते १४:५४

‘कता हिँड्यौ यार ?’

‘त्यहीँ क्या त, सभापतित्वमा सम्पन्न गरेर समोसा खान हिँडेको । सरकार फेरिने विषयमा एकेजिबि आउने अरे ! साठी दिनको एक महिना बनाउने बुढाले पठाएको ।’

साठी दिनको एक महिना बनाउने बुढो अर्थात् उसको प्रकाशक, सम्पादकले एकेजिबि अर्थात् कांग्रेसका तत्कालीन चार शक्तिशाली अर्जुननरसिंह, खुमबहादुर, गोबिन्दराज र विजयले आफ्नै पार्टीको भट्टराई नेतृत्वका सरकार फेर्ने विषयमा केही बोल्दै थिए । कार्यक्रम स्थल थियो, समोसा खुवाउने र सभापतित्वमा सम्पन्नलाई मात्र केन्द्रित गर्ने ऋषि धमला क्लब ।

बडो अनौठा भाषा र शब्दमा बोलिन्थ्यो, ती दिनमा । संगत नभएको मान्छेले ठ्याक्कै थाहा नपाएर एकछिन ट्वाँ पर्ने । भाषा मात्र हैन, व्यवहार र चिन्तन पनि ‘अल्टर’ हुन्थ्यो हाम्रो । हामीलाई हिँडिरहेको बाटो मन पर्दैनथ्यो । तर त्यसको विकल्प पनि हामीसँग थिएन । हरेक दशकमा फेरिन खोज्ने व्यवस्था र तिनका विकल्पले पनि हामीलाई सम्बोधन गर्न सकेका थिएनन् । अहिले थोरै देखिएका जस्ता स्वतन्त्र काम गरेर बाँच्ने परिवेश थिएन । आफ्नो स्थितिका कारण पनि होला, राज्य संचालकहरुले कोरेको बाटो हामीलाई साँघुरो लाग्थ्यो । समाजले तोकेका बन्धन हाम्रा लागि उकुसमुकुस बनाउने यन्त्रजस्ता हुन्थे । त्यस अवस्थामा बाँचेको मान्छे विद्रोही बन्नुपर्ने वा कम्तीमा क्रान्तिकारी बन्नुपर्ने थियो । तर, क्रान्तिकारी बन्ने त्याग र धैर्य हामीमा थिएन । त्यसैले हामी केवल क्रान्तिप्रेमी मात्र बन्यौं ।

क्रान्तिप्रतिको प्रेम यस्तो थियो कि हाम्रो समूहका हरेक मान्छे माओवादीप्रति धेरथोर आशा गरिरहन्थ्यो । स्वयम् माओवादीबाट पीडितहरुमा पनि कताकता त्यो मनोविज्ञान झल्किन्थ्यो । जस्तो कि तत्कालीन अवस्थाको प्रजातन्त्रका नायक भनिने गिरिजाप्रसाद कोइराला विश्वास नगर्दा नगर्दै पनि माओवादीप्रति आशावादी देखिन्थे । यो मानसिकता हामी राजनीति नियालेर समाचार, कविता लेख्नेहरुमा नहुने कुरै भएन । हामी आफू संलग्न नभइकनै कतैबाट क्रान्ति हुने र एक दिन देश युटोपिया बन्ने कल्पना गर्थ्यौं ।

प्रचण्डको फोटो सार्वजनिक हुँदाको समयमा म प्रकाश साप्ताहिकको कार्यालयमा एक्लै बसिरहेको थिएँ । त्यो समयमा फर्किँदा अहिले सम्झन्छु–दुई जना विद्यार्थी उमेरका ठिटाहरु आएर मलाई एउटा खाम हातमा थमाए । पछाडि फर्किएर पनि नहेरी र मेरो प्रतिक्रिया नपर्खिइ उनीहरु बेगले आएकै बाटोतिर फर्किए । यो परिचित शैलीबाट त्यो सामग्री माओवादीकै हो भन्ने प्रमाणित भयो । अखबारको कार्यालयमा भएकाले पक्कै चन्दा या धम्की हैन भन्ने कुरामा ढुक्क थिएँ म । खोलेर हेरेँ–माओवादी सुप्रिमो प्रचण्डको फोटो रहेछ । मेरा केही साथीहरु माझ बारम्बार प्रचण्ड कस्तो होला भन्ने छलफल भइरहन्थ्यो । मैले तत्काल पेजर गरेर त्यस्ता छलफलमा उपलब्ध हुने केही साथीलाई खबर गरेँ । तीन जना बागबजार गल्लीको हाम्रो सस्तो चिया भट्टीमा आइपुगे ।

‘क्रान्तिकारी हुनका लागि हेण्डसम हुनुपर्ने रहेछ ।’

‘यो नक्कली फोटो हो, सक्कली फोटो दिएर तिनलाई मर्नु छैन ।’

‘जनयुद्ध शुरु हुनुअघि पनि भूमिगत भएको मान्छेमा फोटो मोह देखिनु भनेको यो मान्छेमा क्रान्तिमोह भंग भएको प्रमाण हो । अब उसले पक्का पनि क्रान्तिपथ छोडेर ग्ल्यामरको राजनीति गर्छ ।’

हाम्रा प्रारम्भिक प्रतिक्रिया यस्ता खालका थिए । केही साथीहरु थिए, जसले आफूलाई माओवादी र प्रहरी दुबैतिर नजिक राखेका थिए । समयभन्दा चलाख देखिन खोज्ने तीमध्ये एक जनाले त माओवादी नजिकको पत्रिकामा बेला बेला काम पनि गर्थे । दुबै धारमा टेक्न खोज्ने उनी केही समयपछि दुबैतिरबाट शंकाको घेरामा परेका पनि थिए । तर, अधिकांश साथीहरु सधैं विद्रोही चेतनालाई कायम राख्थे, उकुसमुकुस हुन्थ्यो । त्यसको निकाशमा अराजक काम गरिरहन्थे । माओवादीको खुलेर समर्थन गर्न पनि नसक्ने, अलिक टाढाका आक्रमणका खबर सुन्दा भित्रभित्र गदगद पनि हुने गर्थे । फेरि प्रहरी र अन्यमाथि माओवादीको व्यवहारका कतिपय समाचार पढेर दुःखी हुँदै ‘यसरी मान्छे मारेर पनि क्रान्ति हुन्छ ?’ भन्दै दुःख व्यक्त गर्ने पनि त्यही समूह हुन्थ्यो ।

त्यो समयका लागि हाम्रा केही काम अलिक अराजक र समाजको नजरमा बौलठ्ठीपूर्ण पनि थिए ।

–एक जनाले पहिला बिहेको मिति तोक्यो र पछि केटी खोज्न थाल्यो ।

–एक जनाले ओशो समाधिस्थल भनिने तपोवनको खुला ठाउँमा सम्भोग गरेर चर्चा कमायो ।

–एक जनाले बिहे गरेर छोरीको न्वारान गरेपछि बल्ल मेरो बिहे भयो भनेर भोज खुवायो ।

–एक जनाले नसोचेको पैसा हात परेपछि पछि विहेमा तिमीहरुलाई बोलाउन पाउदिनँ भन्दै नजिकका साथी बोलाएर विहे भोज खुवायो ।

–एक जनाले दाजु मरेको बेला लाश घर लान खोज्दा पनि तलब नदिएको झोँकमा सम्पादकलाई गोदेर रुवायो ।

अहिले यो र यस्ता गतिविधि गर्ने समूहका मेरा आधा जति साथी मिडियामा छैनन् । एक जना गेरु वस्त्र लगाएर हिँड्छ, पूरै जोगी छ । केहीले देश छाडे, मजस्तै । केही समयसँगै शालीन बने र समाजको गतिमा आफूलाई समाहित गरे, प्रचण्ड शैलीमा । हाम्रै समूहबाट त्यो समयमा निस्किएको थियो–सिर्जनशील अराजकता र शालीन विद्रोह । साहित्यमा पहिलो जोडी शब्द केही वर्ष चर्चित् पनि बने । राजन, उपेन्द्र र हाङ्युग स्थापित भए, शब्द स्थापित गराए । कतै न कतै ऊ बेला नै हाम्रो समूहले समावेशी मान्यताका कुरा उठाएको थियो । अघिल्लो पुस्ताले काठमाडौं ल्याएर अलपत्र छाडेका कान्छा, रामे र बाटुलीहरुको निरीहतामा हामी चेत खोज्थ्यौं । अराजक कुरा नगर्ने र कम्तीमा हाम्रो कुरा नबुझ्नेसँग अलिक परै रहन्थ्यौं, औपचारिक सम्बन्ध मात्र राख्थ्यौं ।

आर्थिक अभाव, मनमा विद्रोह र अनिश्चित भविष्यका माझ हाम्रै समूहको एउटा साथी र मेरो एक दिनको ‘काम’ यहाँ उल्लेख गर्छु । पाँच रुपैयाँ कपको चिया पाइने बागबजारको उही पुरानो चिया–भट्टीमा ऊ र म चिया खाएर आजको बाँकी समय कसरी कटाउने भन्ने सोच्दै थियौं । उसले नयाँ आइडिया फुरायो, ‘यार ! ऊ पर दोबाटोमा उभिएर नचिनेका मान्छेलाई नमस्कार गरेर बसौं ।’ हामी सरासर उठेर लाग्यौं अखिल कार्यालयको पूर्वपट्टी, भक्तपुर बसपार्कको अगाडि ।

‘नमस्कार बा ! सञ्चै ?’

एक जना अपरिचित र करिब ७० का जस्तो देखिने बालाई उसले नमस्कार गर्दै भन्यो । बा खुसीले दंग परे । हाँस्दै गए र जानुअघि सोध्न पनि भ्याए, ‘सञ्चै छु बा ! नानीलाई कस्तो छ बरु ?’ उनको भनाइले मैले यी बाको मूलघर पूर्व हो भन्ने लख काटेँ । पूर्वतिर मात्रै केटा र केटी दुबैलाई नानी भन्ने चलन छ, काठमाडौंतिर नानी छोरीलाई मात्र भनिन्छ र छोरालाई बाबु भनिन्छ ।

‘देख्यौ त ! मेरो एउटा नमस्कारले यी बाबैले आज एक गाँस भात बढी खान्छन् । आफू दुःखी भए पनि उनलाई त खुसी बनाइयो नि ।’

‘नमस्कार दिदी !’ हामी त्यो समयमा २२–२३ को उमेरका थियौं । हामीभन्दा थोरै दिदी लाग्ने एक महिलालाई उसले आजको दोस्रो नमस्कार टक्र्यायो । उनले एकछिन मेरो साथीतिर हेरिन् र सोधिन, ‘तिमी राजेशको साथी हैन त ?’

‘हजुर हो त । दिदीले बिर्सिनुभएको रहेनछ ।’ कलाकारले अभिनयको स्क्रिप्ट पढेभन्दा धेरै स्वाभाविक पाराले फ्याट्ट जवाफ दियो । एकछिन भलाकुसारी गरेपछि दिदी बाटो लागिन्, उसलाई घरमा डाक्दै ।

उनी हिँडेपछि मेरो साथीले हाम्रै उमेरको देखिने एक युवकलाई नमस्कार गर्यो । तर, उसको नमस्कार चाहिँ सकुसल फिर्ता आएन । त्यो युवक अपत्यारिलो नजरले ऊतिर हेर्दै एक्लै फत्फताउँदै गयो । अहिले त्यसरी दोबाटोमा नचिनेका मान्छेलाई नमस्कार गरेर दिन कटाउने साथी जिम्मेवार ठाउँमा छ । म परदेशमा छुट्टीको दिन यो लेखिरहेको छु । मनमा अचानक त्यस दिन नमस्कार खाने मान्छेहरुको याद आयो–कहाँ होलान् तिनीहरु ? फेरि जीवनमा उनीहरुले अर्को त्यस्तै वेवारिसे नमस्कार कहिल्यै भेटे कि भेटेनन् होला ?

त्यो समयमा हाम्रो समूहले गरेका काम अहिलेका युवाहरुलाई अलिक सहज लागेपनि निकट विगतमा त्यस्ता काम अलिक चुनौतिपूर्ण हुन्थे । अहिलेभन्दा बढी नै अर्काको कुरामा चासो राख्ने चलन थियो ऊ बेला । जति बेवास्ता गरे पनि परिवार र कामसम्म त्यस्ता गतिविधिबारे स्पष्टीकरण दिनुपर्ने अवस्था आइरहन्थ्यो ।

अहिले पछाडि फर्किएर हेर्दा लाग्छ, चेतना र परिवेश दुईवटा कुराले मान्छेको मुख्य व्यक्तित्त्व निर्माण हुन्छ । त्यो र ती परिवेश नै यस्ता थिए र हामी त्यस्तै बन्यौं । हामीले जिन्दगी बाँच्न खोज्यौं, समाजले अनेक देखिरह्यो । अहिले फर्किएर हेर्दा कुनै गुनासो छैन । बरु, कतैकतै चाहिँ ‘अँ ! अहिले भए यसो गरिनेथ्यो र अलिक सिर्जनशील तरिका निकालिन्थ्यो होला’ भन्ने चाहिँ हुन्छ ।

देश छाडेको साढे सात वर्ष भएको छ । राजनीतिले द्वन्द्वको समयमा भन्दा बढी बाटो बिराएको छ । भाइ–बहिनी र भतिजा–भतिजी पुस्ताको अराजकता सञ्जालभर छताछुल्ल छ । समयले यिनलाई हामीभन्दा बढी अराजक बनाइरहेको छ । माटोमा या देशमा हुने दीर्घकालीन योजनामा नयाँ चेतना बोक्नेहरुको अराजकता कम गर्ने अझै कुनै कार्यक्रम बनेको छैन । फेरि त्यो समयलाई सम्झन्छु र महान कवि वैरागी काइँलाको यो कवितामा आफ्नो तत्कालीन अराजकता खोज्छु ।

।।।।यसर्थ, म हुकुम गर्दछु

ए सडक हो !

अझै च्यात्तिदेऊ, अझै फाट्टीदेऊ।।।।

जति खाडल बन्दछ त्यत्ति नै

रक्सीको तरलताले भिजाएर

म, मेरो सद्भावनाले रसाइदिन्छु

म मेरो विशालताले ढाकिदिन्छु

नत्र ता म यहाँ अटाउनै सकिनँ ।

तपाइँको प्रतिक्रिया