बुधबार, कार्तिक ३, २०७८

बाँसझ्याङ् आडैको मेरो घर !

देवेन्द्रराज भट्टराई२०७८ असार १० गते १८:२९

हिजो राती सपनीमा मेरा बा मेरै छेवैमा आउनुभो र, भन्नुभो— भाइ, सन्चै छस् ?

म हठात निन्द्राबाट उठें । उठेर बसें, चिसो पानी एक घुटुक पिएँ । बा बितेको २२ वर्ष भएछ, म कान्छो छोरो बीसे छेक उमेर नाघेपछि बाले यो धर्ती छाड्नुभएको हो । यतिका वर्षपछि, उस्तै हाउभाउ–लय र बान्कीमा बा मेरो सपनीमा आउनुभो र, भन्नुभो— बाँसझ्याङ् आडैको हाम्रो घर कस्तो छ ?

अनि म सुत्नै सकिंन । रातभर झ्यालबाट बाहिर हेरेरै कहिले अनेक कल्पँदै, कहिले भुल्न खोज्दै मैंले रात बिताएँ । यतिका वर्षपछि बा उसैगरी हँसिलो चेहरामा मेरो आडैमा आएर ‘भाइ’ भनेकोमा म रोएँछु पनि क्यार, बिहान आफ्नै सुन्निएका आँखाले मात्रै लख काटिहेरें ।

यो सपनीको मीठो तन्द्रा नकाट्दै कोरोना कहरको यो चपेटामाझ र महिनौंको अन्तरपछि आज साँझ मात्रै भाङबारी घरबाट तामाको कलिलो टुसा कोशेलीमा आइपुग्यो । केही दाना काँचा आँप, कानेपोखरीको निगुरो र मिलन पाउरोटीको कोकिश पनि कोशेली पोकोमा थियो नै । इतिहासदेखि गुवापानका पारखी आदरपुरुष पीपी नेपाल (चक्रघट्टी) र डी यादव(शिवगंज)को आग्रहमा केही काँचा सुपारीका गेडा पनि घरबाटै आइपुगे ।

संयोगले देश–दुनियाँका सज्जनहरु ‘ह्यापी फादर्स डे’ भन्दै अंग्रेजी टोनमा शुभकामना सन्देशहरु एकअर्कामा बाँढ्नैमा ब्यस्त थिए, एकाबिहानैदेखि । आश्चर्य, यही बुबाकै मुख हेर्ने साइतमा दमकेली आफन्त जंगबहादुर श्रेष्ठ मेरा बितेर गएका बाबुको दैनिकी र स्वाद सम्झाउने तामा–निगुरो लिएर त्यति टाढाबाट मेरा चुनीखेल घरआँगनमैं आइपुगेछन् । यसरी यो साइतमा मैंले बुबालाई होइन, बुबाले मलाई सम्झेजस्तो भयो, एकाएक ।

अर्को संयोग के आइपर्यो भने यही साता विहिबार (तिथीको एकछाकी) र शुक्रबार बुबाको श्राद्ध परेका कारण पनि २२ वर्षअघि यो धर्ती छाडेर जाने मेरा बा पं टेकनाथ भट्टराईलाई सम्झिरहेको छु— उद्धिग्न मन लिएर ।

पिता पं टेकनाथ भट्टराईका साथ लेखक देवेन्द्र भट्टराई ।

अब सम्झना गरौं— बा र बाँसझ्याङको ।भाङबारी गाउँमा हरियालीको हराभरा केही कुराको थियो भने पनि बाँसघारीकै थियो । रुमालजस्तो आकारमा मिलेको हाम्रो १ बिगाहा जमिन पनि बाँसघारीले घेरिएको थियो । त्यसमा पनि हरसाँझ आउने काग, बकुल्ला, रुप्पी, भँगेरा, ढुकुर, फिस्टे चराको कोकोहोलो रमाइलो सुनिन्थ्यो । कतै झडप देखिन्थ्यो, कतै मिलाप ।

त्यही बाँसको झ्याङबाट अलिक छिप्पिएका घना बढो मिहिनेत र अपनत्वसहित निकालेर बुबाले घरमा ल्याउनुहुन्थ्यो— दिनहुँजसो एउटा, दुइटाको खेपमा । एकैचोटी धेरै घना बाँस निकालेमा यो बाँसको परिवार बिथोलिन्छ, पलाएका तामा पनि मर्न सक्छन् । बाँसको झ्याङमा घर बनाउने कर्मी चरो वा काग, रुपी पनि हच्कन सक्छन् । त्यही भएर बिस्तारै एक–दुइवटा मात्रै बाँसका घना निकाल्नुपर्छ भन्नुहुन्थ्यो बुबा । निकालिएको बाँसको घना घरआँगनमा राखिएको हुन्थ्यो । भोलीबाट आफूलाई चाहेअनुसारको जिनिस त्यही बाँसबाट निस्कन सुरु हुन्थ्यो । चोया हो कि सोते (ढुङ्ग्री) हो ? अथवा, बाख्रा खोरको टाटी अथवा कतै त टाटी अड्याउने खाँबो पनि यही बाँस हुन्थ्यो । मान्द्रो वा भकारी ? सिर्कनाको मुठो वा बिहानै दाँत माझ्ने घरेलु–ब्रस ? घुम हो कि चोयाको डोको ? अनेक आइटम बाँसबाट निस्कन्थे । पर्तिर सुब्बा काकाले बाँस चोयाकै भरमा बर्खामा ओड्ने छत्रे टोप बनाएको पनि म अझै सम्झन्छु ।

योभन्दा पर्तिर बाँसको त्यही टुसालाई उसिनेर बनाएको तामा–भुटुवा वा त्यसकै झोलको तिर्सना मेरा बुबाको सबैभन्दा तिख्खर स्वादको कुरा थियो । तामाटुसा अलिक छिप्पिएको छ भने कुनै शिसाको भाँडो वा बाँसको हर्पेमा खाँदेर राखिने तामा केही दिनमा अमिलो हुन्थ्यो । र, यो खान्की वर्षभरकै लागि तिहुनको जोहो बन्थ्यो ।

बाँसको पातघाँस बाख्राले खुबै मन पराएर खान्थे । हामी केटाकेटीलाई चाकाचुली खेल्न वा बाँसझ्याङकै आडमा पिङ बनाउन पनि यही बाँस भरथेग हुन्थ्यो । आज मेरो सानो छोराले मोबाइलमा पान्डाको फोटो देखाउँदै ‘बाबा, यसले बाँस मात्रै खान्छ नि’ भन्दा पनि स्मृतिलोकको बाँस–यात्रामा म पुग्छु ।

धेरैपछि बा र आमा दुबै बितेर गएपछि आफ्नो अंशमा, पितृप्रसादका रुपमा त्यही एउटा बाँसझ्याँग आइपर्यो— १ कठ्ठा जतिको । मेरो भागको बाँसघारीमा अहिले पनि खरायो, दुम्सी, सर्प, मुसाको रजगज कायमैं छ भन्ने सुन्छु । घरबाट बेलाबेला आउने बाँसको तामा वा टुसा मेरै बाँसघारीबाट आउने हो भन्ने थाहा पाएर सन्तोषको श्वास फेर्छु ।

यता काठमाडौंमा लामो समयसम्म संगीतज्ञ अम्बर गुरुङसँगको संगत रहेका बेला केही वर्षअघि नगरकोटको उधुममा रमिरहेकै बेला एकसाँझ अम्बर सरले सोध्नुभएको थियो—‘अनि देबेन्द्रजी, तपाईको नाममा सरसम्पत्ति केकति छ नि ?’

यो जिज्ञासामा मैंले धेरैबेर नसोचीकन ‘खासै केही छैन’ भन्दै (अलिकति खुइ काढेर) आफ्नो नाममा १ कठ्ठा जमिन रहेको र त्यसमा पनि बाँसघारी मात्रै भएकोबारे अम्बर सरलाई सुनाएँ ।

‘ओहो, तपाई त क्या भाग्यमानी । बाँचिन्जेल कहिले बाँसकै मुरली बजाउने, कहिले पिपा बनाएर तोङ्वा खाने । अनि, बाँसको तामा र टुसा त भैगयो… अझ मरेपछि पनि घरआँगनमीमा बाँसका घना पाएर आफन्तहरु पनि खुशी हुने भए नै…’,अम्बर सरको ख्यालख्यालको कुरो थियो । तर, यो कुरोमा साँच्चिकै दम थियो है ।

ओहो, आज सम्झँदा बाँसझ्याङकै आडमा मैंले पाएको पितृप्रसादका खातिर म जानीनजानी अहिले आएर मेरा बाआमाप्रति अझ कृतज्ञ बनेको छु, नतमस्तक छु ।

कस्तो स्वादको कुरा भने अस्ति जंगबहादुरले ल्याइदिएको तामाको टुसा मैंले उसिनेर फ्रिजमा राखेको छु । मेरा केही निकटस्थ आफन्तजन र अरु आगन्तुकहरु यो टुसाले ‘घरै पो गनायो’ भन्छन् । ओहो, यो त मैंले जानेको र मेरा बा ले थाहा पाएको माटोसँग जोडिएको सुगन्ध पो हो त । यो मामलामा म अलिक ‘अतिबादी’ पनि छु— जोजसले बाँसका तामाको यो सुगन्ध मन पराउँदैन, म ती सबैसबैलाई ‘पराइ’ भन्ठान्छु, माटोको सुगन्ध थाहै नपाएका ‘आउटसाइडर’ । अथवा, अहिलेको चलनचल्तीको भाषामा ‘बर्गशत्रु’ !

यी तामाटुसा र तामा खान्कीको स्वादमा मेरा बाले चाहेको स्वाद गढेको छ । थाहा छैन— बाको श्राद्धकर्म वा पून्यतिथीमा मेरो मुलघरमा उहाँलाई मनपर्ने यो खान्की प्रसादमा चढाइएला अथवा नचढाइएला ? म चाहन्छु— अझ मेरो भागभोगमा परेको बाँसघारीकै तामाटुसा बुबाको श्राद्धतिथीमा प्रसाद रुपमा चढाइयोस् ।

यो स्मृति भन्ने चिज गजबकै हुन्छ । कवि मीनबहादुर बिष्टले भनेझैं यो स्मृति ‘जरसाहेबको कुकुर’ जस्तै छ जो हावाको हलुका झोंका आइगए पनि भुक्न थाल्छ । कतै भुईको पात उडाएपनि भुक्न थाल्छ । आज घरबाट आइपुगेको बाँसको टुसा पाएर मेरो मन–मष्तिष्क हुँडलिएको छ यसैगरी । म हरक्षण बुबा सम्झिरहेको छु । यदाकदा बुधबारे हटिया भर्न जाँदा केही रुपैंया हातमा राखिदिएर बुबा भन्नुहुन्थ्यो— ‘माथि घुर्विसे–पंचमीतिरबाट आएको तामा–टुसा पाइस् भने ल्याउनु । अथवा, कानेपोखरीको निगुरो पाइस् भने नि ल्याउनु ।’ यो मेरा बाको स्वाद र अपनत्वको तिर्सना थियो जुन थाहै नपाइ मभित्र पनि गढेको छ । यो बिरानो लाग्ने शहरमा जब म आफ्नो तिर्सनाको कुरा कल्पन्छु अनि, मेरा बा मेरो सपनीमा आउनुहुन्छ र, मेरो कुममा हात राखेर सोध्नुहुन्छ— भाइ, सन्चै छस् ?

यदाकदा सबै घरधन्दा भ्याएपछि र बेलुकीपख खेतको आलीबाट चुहिएको बर्खेपानीको कुलेंसो टाल्न बुबा फरुवा बोकेर पर कुनाको बाँसझ्याङसम्म जानुहुन्थ्यो । म बुबाको पछिपछि आलीआली कुदिरहेको हुन्थें । त्यहाँ बढर पाकेको हुन्थ्यो । सुपारे–आँप (चुसेर खाने) पनि पाकेको भेटिन्थ्यो । तिनै फलफूलको रखवाली गर्ने निहुँमा बाँसझ्याङकै फेदमा बा बस्नुहुन्थ्यो, कुनै बाँसे जराठुटामा । म भने आँप चुस्नमै रमाइरहेको हुन्थें । अनि बा गाउनुहुन्थ्यो, भित्री ह्दयको स्वर निकालेर, धेरै परपरसम्म सुनिने गरी ।

हो त, यतिका वर्षपछि बाको २२ औं पुन्यतिथी मनाइरहेका बेला र, अझ म आफू पनि एक छोराको बा बनेपछिको हत्तुहैरानीमाझ बाले त्योबेला गाएको गीतको शब्दार्थ म खोजिरहेको छु, तर अहँ ! अझै ठम्याउन सकिरहेको छैन । बाले त्यसबेला गाएको गीतको ‘इको’ मेरो मन–मष्तिस्कमा अहिले गुन्जिरहेको छ— केही अर्थमा ‘अर्थ’ बोकेर र केही अनर्थ–अनर्थमैं—

‘ए मन, तैंले के दुःख पाइस्
फर्की–फर्की मायाँमा भुलेर …!’
….
स्वप्न जस्तो संसार यो देह स्वप्न सरी,
मेरो–मेरो भन्दाभन्दै जानुपर्छ मरी ।
चार दिनको चाँदनी झै बिलाइजाने चोला
आखिरीमा बर्सनेछ यमराजको गोला ।
….
‘ए मन, तैंले के दुःख पाइस्
फर्की–फर्की मायाँमा भुलेर…!’

दमक, भाङबारी ।

तपाइँको प्रतिक्रिया

फेसबुक