बिहीबार, साउन २१, २०७८

कांग्रेसभित्र नाटकै नाटक मन्चन : कोहि अंशको खोजि गर्दै कोहि बार्गेनिङमा

थानेश्वर सापकोटा२०७८ असार १० गते ११:५५

Photo Credit-The Kathmandu Post

दुनियाँमा सत्ता प्राप्तिको ईतिहास निकै भयानक छ । लाखौंं करोडौ मान्छेहरु मारिएका छन । कतिपय क्रान्तिका नाममा त कतिपय विद्रोहका नाममा । सत्ता प्राप्तिको माथिल्लो लडाईंले सास्ती भोग्ने जनताको कुरै नगरौं- यो एउटा देश, क्षेत्र र समुहमा मात्र सिमित छैन । सत्ता प्राप्त गर्न खोज्नेहरुको लडाईंमा पिसिएर सास्ती पाउनेहरु दुनियाँभर मै छन । अझ नेपाल जस्ता मुलुकहरु यसबाट अछुत रहने कुरै भएन । नेपाल राज्यको स्थापना सँगै सत्ता प्राप्तिका लागि गरिएका संघर्ष र विद्रोहका कारण कुनै न कुनै बेला सबै नेपालीलाई छोएको छ ।

नेपाल राज्यको कुनै पनि अन्तरालमा ‘मैले देशलाई समृद्ध बनाउनुपर्छ’ भन्ने नेता देखिएन । बीपी कोइरालालाई मान्छेहरु दुर्दर्शी नेताको रुपमा हेर्ने गर्दछन । तर तिनको जग पनि त्यस्तो थिएन । नत्र २०१७ साल आउने थिएन । सिद्दान्त लेखिनु र त्यसलाई शारिरिक रुपमा महसुस गर्न मिल्ने बनाउनु दुई फरक कुरा हुन । सिद्दान्तले देश बन्दैन भन्ने तथ्य नेपालमा पटक पटक प्रमाणित भैसकेको छ । देश बन्नका लागि एउटा दह्रो राजनेता चाहिन्छ । खराव मान्छेको हातमा देश गयो भने सिद्धान्तले देशको दुर्गातीलाई रोक्न सक्दैन । यदि सिद्दान्तले देश बन्थ्यो भने नेपालमा जती सिद्धान्तको प्रयोग अरु कुनै देशमा विरलै गरिएको छ । मार्क्स, लेनिन, ऐंगेल्स र स्टालिनका फोटाहरुले वर्षौ देखि नेताहरुका घर भरिएका छन । तर जनताका घर कहिल्यै भरिएनन ।

धेरै टाढा पुग्नै पर्दैन । सिंङ्गापुरलाई हेरे हुन्छ । त्यहाँका पिता भनेर चिनिने ली कुआनले देशलाई तीन दशक भन्दा अलिकती बढी नेतृत्व दिए । जुन समयमा सिङ्गापुरले दुनियाँलाई चकित पार्नेगरी काँचुली फेर्यो । सन १९५९, जतिबेला पिपल्स एक्सन पार्टीले चुनाव जितेर कुवानले देशको नेतृत्व सम्हाल्दै थिए त्यतिबेला बेलायती उपनिवेसले थालिएको देश तङ्ग्रिएला भनेर कसैले सोचेकै थिएन । तर उनको राज्य कुशलता देखिन एक वर्ष पनि लागेन । उनले ३० वर्ष लगातार देशको नेतृत्व गरे र उनको कार्यकालको दुई दशक नवित्दै सिङ्गापुरले आर्थिक दौडमा विश्वलाई उछिनीसकेको थियो । ६ वर्ष अघी सन २०१५ मा जब उनको देहावाशान भयो एक हप्तासम्म पुरै सिङ्गापुरका आँशु थामिएनन् ।

कुआनले सन ८० को दशकमै दुनियाँलाई भनेका थिए “देश बनाउने शिद्धन्तले होइन सोचले हो ।” यो कुरा नेपालका नेताहरु सँग छैन । त्यसैले ढुक्क भए हुन्छ, यि नेताहरुले देश हाँकुन्जेल देशमा केही हुनेवाला छैन । यिनिहरुको सत्ता प्राप्तिको संघर्षमा नेपाली जनताले सास्ती खेपिरहनु पर्ने छ ।

एक्कैछिन पछाडि फर्केर हेरौं । नेपाल राज्यले बितेका लगभग ३ दशक प्रजातन्त्रलाई नै बोकेर हिंडेको छ । कुआनले सिंङ्गापुरलाई शिखरमा पुर्याएको समय भन्दा नेपाली जनताले सम्पन्नताको सपना ओढ्न लागेको समय बढि भयो । तर देशलाई विश्वको आर्थिक मानचित्रमा हेर्ने हो भने २०४६ सालको भन्दा अझै पर धकेलिएको छ । ०४६ साल पछीका यि ३० वर्षमा अहिलेका सबै नेता सत्ताको शिखरमा पुगेका छन या प्रतिपक्षमै बसेर भए पनि सत्ताको स्वाद लिएका छन । नत्र सत्ताको लागि निरन्तर संघर्षरत छन । यि मध्येमा एउटा मात्र दुरदर्शी सोच भएको नेता हुन्थ्यो भने देशले उहिल्यै काँचुली फेरेको हुने थियो । सधैंभरी यिनै नेता शेरबहादुर देउवा, माधव नेपाल, केपी ओली, पुष्प कमल दाहालहरु नै सत्ताको वरिपरी छन् । सता नभएका बेला लडिदिने यिनिहरुकै प्रशिक्षणप्राप्त कार्यकर्ताहरु छन् । जसलाई सत्तामा पुगेपछी नेताहरुले पाल्नुपर्ने हुन्छ । कार्यकर्तालाई ठेक्का दिने, नियुक्ति दिने र सरकारी सम्पत्ति आफूहरुको नाममा बनाउने बाहेक जनताले खासमा यो ३० वर्षमा के पाए ?

अब नेपाली कांग्रेसको अधिवेशन हुन दुई महिना बाँकी छ । अहिलेका सभापति शेरबहादुर देउवाले आफू पुन: सभापतिको उम्मेद्वार बन्ने घोषणा गरिसकेका छन् । यिनै देउवाले प्रधानमन्त्री बन्नका लागि अदालतमा निवेदन पनि हालेका छन् । २ सय ७५ सदस्य रहेको संसदमा शेरबहादुर देउवाले नेतृत्व गरेको नेपाली कांग्रेस पार्टीको जम्मा ६३ सदस्य संख्या मध्ये मोहम्मद आफ्ताव आलम र पार्टीका उपसभाती बिजय कुमार गच्छदारको संसद पद खारेजीमा परेपछी ६१ सदस्य संख्या छ । संविधानका अथवा प्रजातन्त्रका जुनसुकै धाराहरुलाई आधार मानेर निवेदन हालेको भए पनि यो निवेदनले देउवाको नैतीकता प्रष्ट पार्छ । प्रधानमन्त्री बन्नका लागि सबैभन्दा नैतीक उपाए भनेको जनताको काम गर्ने, देश बिकासका लागि खटिने, भ्रष्टाचार नगर्ने देश अनुसारको सादगीपूर्ण जीवन बिताउने । यती भयोभने कुनैपनि पार्टीलाई देशको सबैभन्दा ठूलो पार्टी हुनबाट कसैले रोक्न सक्दैन । जनताले विश्वास गर्छन् । प्रधानमन्त्री बनाउनका लागि जनताले नै घोढा चढाएर सिंहदरवार पुर्याउछन् ।

प्रजातान्त्रिक मुल्य मान्यताको वकालत गर्ने र पुरानो प्रजातान्त्रिक पार्टीको सभापति रहेका देउवालाई थोरै भए पनि लाज लाग्नु पर्ने हो, प्रधानमन्त्री बन्न अदालतमा निवेदन हाल्न । कुनैबेला माधव नेपालले तत्कालिन राजा ज्ञानेन्द्रकहाँँ राजा बन्नका लागि निवेदन दिएर विन्ती चढाए जस्तै हो प्रधानमन्त्री बन्न देउवाले अदालतमा बुझाएको निबेदन । अब नैतीकताको कसिमा देउवालाई कसैले राख्नै पर्दैन किनभने यिनी नैतीक रुपमा स्खलित भैसकेका छन् । यिनै देउवा फेरि सभापतिको उम्मेद्वारको रुपमा पनि ठडिएका छन् । यिनले अझै पनि देश र जनताका लागि केही गर्छन् भन्ने लाग्दो हो नेपाली कांग्रेसका कार्यकर्तालाई ? प्रजातन्त्रका तीन दशकमा केका लागि यिनको भूमिका देख्छन् कुन्नी कार्यकर्ताले ! देउवाले भनेछन -“मैले गर्न खोजेको काम अझै पुरा भएको छैन । त्यसैले म पुन: सभापतिमा उम्मेद्बारी दिदै छु” । के काम बाँकी छ देउबाले गर्न नपाएको ? साँच्चिकै देशको उन्नतिको लागि यिनले के गर्न खोजेका थिए ? र साँढे चार वर्षसम्म गर्न पाएनन् !

तिस वर्ष यता भएका अधिकांश भ्रष्टाचारमा देउवाको नाम जोडीएको छ । सरकारमा जोसुकै भएपनि यिनी आफ्नो हिस्सा माग्न कहिल्यै पछी पर्दैनन् । सोच नै आफू केन्द्रित भएको मान्छेले देशलाई वा पार्टीलाई के दिन सक्छ ? वर्षौदेखि देउवाका मतियार बनेका विमलेन्द्र निधिको अर्को नाटक मन्चन हुँदैछ । निधिलाई सभापति हुन्छु भन्ने नै छैन । वार्गेनिङमा छन् दुबै पक्षसँग । संसदिय दलको नेता चाहिएको छ यिनलाई ।

अर्कातिर सशांक कोइराला उम्लिएका छन् । तिनलाई पनि देश र जनताका लागि केही गर्नसक्छु भन्ने चिन्तन छैन । न तिनले जाँगर गरेर कुनै सोच अघि ल्याएका छन् । आफ्ना बाबुले हुर्काएको पार्टीमा खास गरेर कोइरालाले अंश खोजिरहेका छन् । कुनै नविन सोचको जरुरी भए न नाम राख्नुपर्ने हो । के अब नेपाली कांग्रेस भित्र देशलाई डोर्याउन सक्ने अलिकती सोच भएको कुनै मान्छे छैन ?

यत्रो पार्टीले देश र पार्टीलाई डोर्याउन सक्ने एउटा पनि नेता जन्माउन सकेको छैन भन्दा उदेक लाग्छ । तर यथार्थ यहि हो । विरासत थामेर बसेकाहरुले पार्टीभित्र मुन्सी हुर्काएका छन् जो बिहानै मालिकको दर्शनका लागि टाउको झुकाएर ढोका नजिकै उभिएका हुन्छन् । यहाँँ भन्दा अघि उक्लिनसक्ने सोच भएको नेता पैदा गर्न नसक्नु नेपाली कांग्रेसको दुर्भाग्य हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक