सोमबार, मंसिर १३, २०७८

गोधुली साँझमा देखिएको एउटा अनुहार

रन्जु पाण्डे / मिनभवन, काठमाडौं२०७८ असार १० गते १५:२६

भर्खरै कलेज सकाएर बसेकी । भर्खरै वैवाहिक बन्धनमा बाँधिएकी । भर्खरै आफ्नो अभिभावक गुमाएकी । सबै ताजा–ताजा । त्यसमा थपिन गएको अर्को रहर भनौं विद्यार्थी जीवनबाट पेशागत जीवनमा होमिन चाहेकी म ।

म त उही थिएँ । तर मेरा सबै अनुभव नयाँ थिए । बाटो उही तर यात्रा नयाँ । मन उही तर रहर नयाँ । आफ्ना यी इन्द्रियका रहर, हिँड्दाहिँड्दै अचानक बुवा भेटिनुहुन्छ कि भन्ने झझल्को आँखालाई । अरु कसैको पनि ‘बुबा बित्नुभयो रे नि’ भनेको सुन्ने चाहना कानलाई । स्वार्थी होइन बरु ‘आफू जस्ता अरु पनि रहेछन’ भनेर मन बुझाउन लुब्ध मानवीय स्वभाव थियो त्यतिबेलाको मेरो त्यो शायद ।

यी त भए भित्री ‘म’ को कुरा । बाहिरी ‘म’ आफू आर्थिक रूपमा सक्षम बन्न चाहन्थें । घर व्यबहार चलाउन आफ्नो सहयात्रीलाई बराबरीमा रहेर सहयोग गर्न चाहन्थेँ । आफुलाइ पढाउँदाको मिहेनत र संघर्षको गुरु दक्षिणा बाबुआमालाई चढाउन चाहन्थेँ ।

छदम दाइ, उहाँ आफैंमा एउटा लामो कथा बन्नसक्ने पात्र । हाम्रो पारिवारिक ‘सर्कल’मा उहाँले अत्यन्तै श्रद्धा गरेको मान्छेको निकट थिएँ । आफूले श्रद्धा, प्रेम, आदर गरेको मान्छेको त टाढा–टाढासम्मको वस्तु, व्यक्ति जो ऊ सँग जोडिएको हुन्छ ती सबैको माया लाग्दो रहेछ । हो त्यस्तै मा परेकी थिएँ म पनि र उहाँको म प्रतिको परवाह ।

एकदिन छदमदाइले मलाई लिएर जानुभयो एउटा मान्छेलाई भेटाउन । यद्यपि चिनजानको मान्छेबाट जागिरमा छिर्ने चलन त अहिले पनि नभएको होइन । त्यतिबेला अझै बढी थियो । जसलाई उहाँले भेटाउनु भयो, उनी नाम चलेको सरकारी कार्यालयको प्रतिष्ठित ओहोदामा थिए । संयोगवश उनी पाण्डे नै थिए ।

बिहान त्यस्तै १०।३० बजे तिर हामी उनको कार्यकक्षमा पुग्यौं । “पाण्डे नै हुनुहुँदो रहेछ त्यो पनि मैले धेरै आदर गर्ने साहित्यकार पाण्डेकी छोरी । हुन्छ म तपाईलाई अवश्य कतै न कतै काममा राखिदिन्छु ।” उनले यसो भनिरहँदा मलाई अत्यन्त सन्चो महसुस हुन्छ । बुवा गुमाउनु पर्दाको आलो घाउ बोकेर हिंडेको मेरो मनमा उसको शब्दले मलहम लगाइदिएको भान हुन्छ । “भोलि १ बजे तिर आउनु म तपाईलाई एउटा अफिसमा लैजान्छु । त्यो एउटा राम्रो चलिरहेको ‘रिसर्च सेन्टर’ हो जुन अहिले बन्द छ गर्ने मान्छे नभएर । त्यसैलाई तपाईले ’लिड’ गरेर ’कन्टिन्यु’ गर्नु” उनले थपे ।

घर फर्केर परिवारमा सबै कुरा ‘शेयर’ गरें । भर्खर अर्थशास्त्रमा ‘मास्टर्स’ सकाएर नतिजा पर्खिएर बसेकी मलाई यो राम्रै ‘अफर’ र अवसर लाग्यो । राती राम्रोसँग निदाउन पनि सकिन । कहिले भोलि होला र त्यहाँ जाउँ, त्यो कामको बारेमा अझ बढी बुझौं भन्ने तिर्सनाले ।

भोलिपल्ट भनिएको समयमा म उनको अफिसमा पुगेँ । त्यहाँबाट हामी दुई न्युरोड गयौं जहाँ उनले भने अनुसारको बन्द अफिसको कार्यालय कक्ष साँघुरिएर एउटा कोठामा सिमित थियो । त्यहाँ ती सबै सामग्री उपकरण थिए जुन एक अफिस सञ्चालन गर्न आवश्यक हुन्छ ।

उनले सरसर्ती बताए, मैले सरसर्ती हेरें । धेरै सुन्नु, बुझ्नु नै के थियो र । पेशागत रुपमा नितान्त काँची म, टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर भएपछि मेरा लागि अफिस भै गए । म खुशीका सपनाहरु बुन्दै गइरहेकी थिएँ मन मनै । “अब अहिले फर्कौं भोलि म साँचो दिन्छु, आएर यो मिलाउन, ’सेटिङ’ गर्नतिर लाग्नु“ उनले भने ।

फर्कने बेला हामी टेम्पोमा चढ्यौं । १० सिटको टेम्पो १२ जना राखेको । त्यो पनि ढोकामा उभिएको खलासी ठिटोले बाहिरबाट आउने उज्यालो ठ्याप्पै छोपेको थियो । म दुइजनाको बिचमा थिएँ । एकातिर उनै थिए जसले मलाई अफिस देखाउन लगे, जसले मलाई रोजगारी दिलाउँदै थिए । शायद यसले पनि मलाई विश्वस्त तुल्यायो कि ‘पाण्डे त्यो माथि पनि मेरो बुवा, मेरो आदर्शलाई आदर गर्छु भन्ने व्यक्तित्व । कोचिएर रहेका हामी काठमाडौंको (त्यसबेलाको) उबडखाबड बाटोमा क्षमता भन्दा बढी भार बोकेर टेम्पो गुडिरहँदा एकअर्कामा छोइनु, टासिनु, घचेडिनु स्वभाविक नै थियो । बेला बेलामा उसका कुहिनाले मेरो छातीको देब्रे भाग छुन पुग्थ्यो । टेम्पोको घडघडाहटले केही बोल्ने सुन्ने काम त थिएन । त्यसैले मनमनै आफैसँगै कुरा गर्नु बाहेक थियो नै के र ? अरूको मनमा के के सोच र योजना थिए खै मेरो मनमा भने ’ … यो घोचाइ अन्जानमा टेम्पो हल्लिँदा को हो वा नियतवश ?….

हैट ! के सोचेको मैले । यति ससाना कुरामा आफूलाई अल्झाउन थालें भने मैले केही गर्न सक्दिन जीवनमा ।’ फेरि आफैं एक पल्ट मिलेर बसे झैं गरी आफ्नै हातका पाखुराले छातीलाई सुरक्षा दिएँ । एकाध पटक फेरि पनि छोएरै छोड्यो । बिचरो उसले पनि के गरोस् टेम्पोले मान्छे नै यसरी राखेको थियो कि नचाहँदा–नचाहँदै पनि हामी यात्रुहरु एकअर्कालाई सुघ्न अनि आँखैले मात्र भए पनि भोगिन बाध्य हुन्थ्यौं । यस्तै भयो त्यतिबेला । कसले के के महसुस गरे । तर मेरो मनमा त एउटै कुरा थियो कि अब मैले केही गर्नुपर्छ । राम्ररी यो अफिस सम्हाल्नु पर्छ ।

टेम्पोबाट ओर्लेर हामी फेरि त्यही ठाउँ आइपुग्छौं जहाँ उनको अफिस र क्वार्टर थियो । ओर्लेपछि बल्ल मैले उनका कुरा सुन्न सक्ने भएँ । “अब तपाईले यो रिसर्च सेन्टरको सबै डकुमेन्टहरु लिएर जानु र राम्ररी अध्ययन गर्नु । यो कसरी चलिरहेको थियो र अब कसरी लैजान सकिन्छ”

मैले “हुन्छ” भनेँ र हामी उनको क्वाटर भए तिर लाग्यौं । बाटोमा उनले “एक मिनेट है ” भनेर एउटा पसलमा गए । फोन गरेछन । फर्केर आउँदै बताए “ट्युसन पढ्न आउनेलाई आज नआउनु भनेर खबर गरेको । तपाईलाई ‘डक्युमेन्ट’को बारेमा केहि बताईदिन्छु । “आहा ! कस्तो राम्रो मान्छे, कति सहयोगी मन भएको मान्छे, मनले सपना बुन्दै बुन्दै गयो । दिनले पीठ फर्काइसकेको थियो । उनको क्वार्टरमा पुग्दा साँझ परेको थियो । गोधुली साँझ । एउटा यस्तो प्रहर मान्छेले आफ्नो अनुकूलता अनुसार अर्थ र व्याख्या गर्न सक्ने । बत्ती बाल, बाहिरको उज्यालोलाई ओझेल पारिदिन्छ । बत्ती नबाल, त्यति उज्यालो पनि धूमिल अनुहारलाई चिन्न पर्याप्त हुन्छ । कोठामा दुईवटा खाट सेतो सुकिला तन्ना सरकारी सेवाले दिएको सुबिधा । एउटा खाटमा छरपष्ट किताबहरु, मोटा मोटा अङ्ग्रेजी, नेपाली किताबहरु । त्यसलाइ पढेर, बुझेर लेख्न रातो, कालो, हरियो बेग्लाबेग्लै रङ्गको कलम ।

उनले मलाई त्यहिं बस्नु भन्दै आफू पानी लिन भनेर गए । उनी कोठाबाट निस्केपछि सोच्न थालेँ ‘ओहो कस्तो राम्रो संयोग, पेशागत जीवनको सुरुमै यति ‘विद्वान’ मान्छेसँग भेट भयो । अब त्यो अफिसलाई सुरुदेखि राम्ररी चलाउँछु । केही राम्रै गर्छु जिन्दगीमा ….’ सोच्दै थिएँ । उनको कोठाभित्र प्रवेश भयो । “पानी पिउनुहुन्छ?” जवाफमा भनेँ “होइन ठिक छ ।” उनले छरिएका किताबतिर इंकित गर्दै मलाई भने “अब म तपाईलाई केहि डकुमेण्ट दिएर पठाउँछु । अहिले एकैपल्ट सबै नलग्नु , पढेर ल्याउनु अनि अर्को लैजानुहोला । एकैपटक तपाईंलाई बुझ्न गाह्रो हुन्छ । बिस्तारै म पनि अर्थ बताउँदै गर्छु तपाईलाई ।”

“मैले ’हुन्छ’ भनेँ ।

एउटा किताब लिएर म भए ठाउँमा सँगै बस्न आए । र त्यो मलाई दिंदै उनले भने “हामीले पाँच वर्षमा यो रिसर्च सेन्टरलाई कति उचाइमा पुर्याएका थियौं त्यसको समग्र रिपोर्ट हो यो । यसैको आधारमा अब तपाईले यसमा तला थप्दै जानुपर्छ । “

म त्यो किताब हेर्नतिर लागेँ । त्यसको पानाहरु पल्टाउँदै गएँ । चिल्ला कागजमा लेखिएका अक्षरहरु रंगीन फोटोहरु, डायग्राम, चित्रहरु । त्यतिबेला मैले त्यसलाई पढ्न भन्दा पनि छामेर महसुस मात्र गरिरहें । मैले त्यहाँ आफ्ना अक्षर, आफ्नो नाम देख्न थालेँ । यत्तिकैमा अचानक उनले आफ्नो हत्केलाले मेरो ढाड सुम्सुम्याउंदै मलाई प्रश्न गरे, “अनि, कत्तिको ‘फ्र्याँन्क’ हुनुहुन्छ त तपाई ?” एक्कासि मलाई हजार भोल्टको झट्का लाग्या जस्तो भयो र म जुरुक्क उठेँ, त्यो चिल्लो अनि रंगिन फोटोहरु भएको किताब फ्यात्त भुइँमा खस्यो । बिजुलीको झट्का जति ठूलो हुन्छ चिच्याहट पनि त्यत्रै न निस्कन्छ ।

“हो म एकदम फ्र्याँन्क छु । तर तपाईंले चाहे जस्तो होइन ।“ । आफ्नो चोर औंला उ तिर ठडाउँदै मैले आक्रोसित मुद्रामा जवाफ फर्काएँ । र दौडेर एकैपल्ट तल आइपुगें । मेरो आक्रोश देखेर हो वा किन म पछि पछि उनी पनि तल आए । एक श्वासमा म क्वार्टरको आँगनमा आइपुगेछु । यहाँसम्म पुगेपछि होस आएछ । झसङ्ग भएँ । जुत्ता त माथि नै छोडेर आएँ । पछि पछि आएको उनलाई कराउँदै मैले भनेँ “के यहि हो तपाईंले मेरो पितालाई गरेको आदर ? के सबै स्वास्नीमान्छेले उचाइमा पुग्न यस्तै बाटो भइ जानुपर्छ ? मलाइ घृणा छ तपाईं जस्तो दोहोरो चरित्र बोकेको मान्छे देखि ।“

म त्यो आँगनमा यसरी चिच्याइरहँदा उ केही आत्तियो । कहिँ कसैले सुने उसको पद प्रतिष्ठामा दाग लाग्नेछ । कोठाभरि छरिएका ती पुस्तकहरुसँग आँखा जुधाउन लाज लाग्नेछ । त्यसलै उसले मलाइ चुप लगाउन खोज्दै बिन्ती गर्न थाल्यो “सरी प्लिज चुप भै दिनु, आइ एम सो सरी ।”

मैले अझ चर्को स्वरमा झट्का फ्याँकें “सरि वरि मलाइ थाहा छैन । खुरुक्क मेरो जुत्ता ल्याइदिनु । कि अझै पुगेन तपाईलाई देख्न कि म कतिको फ्यांन्क रहिछु भनेर ?”

उनी दौडेर माथि गए । हातले समातेर मेरा दुबै जुत्ता लिएर आए । जुत्ता लगाएर म एउटा घातक नजर उसलाई दिएर त्यहाँबाट निस्किएँ ।

बाटोमा हिडिरहँदा त्यो अघिको गोधुली साँझ मज्जाले बाक्लिसकेको थियो । अरुले नदेख्ने त्यो साँझमा म मजाले रुँदै घर फर्कदै थिएँ । हिजो देखि मात्रै बुन्न सुरु गरेको त्यो सपनालाइ उधार्दै ।

तपाइँको प्रतिक्रिया

फेसबुक