मंगलबार, वैशाख ११, २०८१

पुटिनसित शिखर सम्मेलन गर्ने फ्रान्स-जर्मनीको प्रस्ताव ईयु नेताहरुद्वारा अस्विकार

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ असार ११ गते १८:०३

रुसी राष्ट्रपती भ्लादिमिर पुटिनसित शिखर सम्मेलन गर्न फ्रान्स र जर्मनीले गरेको प्रस्तावलाई युरोपेली युनियन (ईयु) का नेताहरुले अस्विकार गरिदिएका छन् ।

पोल्याण्ड र बाल्टिक देशहरूले पूर्व-पश्चिमी सम्बन्ध बिग्रँदै गएकाले यस्तो अवस्थामा पुटिनसितको वार्ताले गलत सन्देश पठाउने तर्क गर्दै ईयु नेताहरुले रुससितको वार्तालाई अस्विकार गरिदिएका हुन् ।

अमेरिकी राष्ट्रपति जो बिडेनले जुन १६ मा स्विजरल्याण्डको जेनेभा शहरमा रूसी राष्ट्रपति भ्लादिमीर पुतिनसँग वार्ता गरेपछि फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोनले जनवरी २०१४ पछि पुटिनसँग पहिलो ईयू सम्मेलन गर्नुपर्ने बताएका थिए । यो सम्मेलन ईयुको हित रक्षा गर्ने वार्ता हुने उनले उल्लेख गरेका थिए छ। उनको जोड थियो ‘रूससँगको कूटनीतिमा ईयू मात्र प्रतिक्रियावादी हुन सक्दैन ।’

तर ब्रसेल्समा ईयु नेताहरुबिच बिहिवार राती बैठक बसेको थियो । उक्त छलफल पछि २७ देशका ईयूका नेताहरू पुटिनसँगको शिखर वार्ता सम्झौता हुन नसकेको जर्मन चांसलर एन्जेला मर्केलले आज शुक्रबार विहानै सार्वजनिक गरेकि हुन् ।
“एकदम गहन छलफल भएको थियो र सजिलो थिएन” उनले पत्रकारहरुलाई भनिन् “तत्काल बसेको नेताहरूको बैठकमा आज कुनै सहमति हुन सकेन ।”

मार्च २०१४ मा रुस युक्रेनको क्रेमिया प्रायद्वीपमा संलग्न भएपछि र पश्चिमले रुसमाथि प्रतिबन्ध लगाएपछि रसियासँगको इयु सम्मेलन भंग भएको थियो ।

अस्ट्रियाका चान्सलर सेबास्टियन कुर्जले फ्रान्को-जर्मन प्रस्तावलाई समर्थन गरेको तर अन्य धेरै नेताहरूले विरोध गरेको उल्लेख गरेका छन् ।

“धेरै नेताहरूको साझा धारणा रुसप्रति आफ्नो धारणा बदल्न नहुने भन्ने थियो” लिथुआनियाली राष्ट्रपति गीतानास नौसेडाले बैठक सक्किएपछि भने “यो विचार भालुलाई महको एक भाँडो सुरक्षित राख्न दिने प्रयास गर्नु जस्तै थियो”।

लातभियाका प्रधानमन्त्री कृजानिस करिन्सले ईयूले रूसलाई शिखर सम्मेलन गरेर पुरस्कृत गर्ने खतरा मोले पनि ईयुसितको रुसी कूटनीति असफल भएको बताएका छन् । पूर्वी युक्रेनमा रुसी समर्थित प्रिथकतावादीहरुसितको द्वन्द्व अन्त्य गर्न नसकेकोले रुस र इयु बिचको कूटनिति असफल भएको उनले उल्लेख गरेका हुन् ।

शिखर सम्मेलनको सट्टा ईयूका नेताहरू रुसमाथि अझ बढि प्रतिबन्धको चेतावनी दिनुपर्छ भन्ने तर्कमा उत्रिएका छन् । रुसी निति भनेको गलत सूचना प्रवाह गर्ने, साईबर आक्रमण जारि राख्ने, गुप्त आक्रमण गरिराख्ने र ईयु ब्लकलाई बिभाजन गर्ने रुसी हस्तक्षेपको बिरुद्द उत्रिनुपर्ने उनीहरुले तर्क राखेका छन् ।

शिखर सम्मेलनको ईयु बयानमा नेताहरूले युरोपियन आयोग र ईयूका शीर्ष कूटनीतिज्ञ जोसेप बोररेललाई “रूसको बिरूद्ध आर्थिक प्रतिबन्ध लगायत थप प्रतिबन्धात्मक उपायका विकल्पहरू प्रस्तुत गर्न” आग्रह गरेका छन् ।

ईयूले रूसी उर्जा, वित्तीय, हतियार क्षेत्र र मानवअधिकार हनन गरेको आरोप लगाउँदै रुसमाथि प्रतिबन्ध लगाएको छ । साथै रासायनिक हतियार प्रयोग गरेको आरोपमा रूसीहरुलाई व्यक्तिगत प्रतिबन्ध समेत लगाएको छ।

म्याक्रोनले सेप्टेम्बर २०१९ मा पुटिनसँग अलि न्यानो सम्बन्ध बनाउन कोशिस गरेका थिए । तर उनी सफल भएका छैनन् । जर्मनीका चान्सलर एन्जेला मार्केलले जनवरी २०२० मा मस्कोमा पुटिनलाई भेटेकि थिईन् । त्यसपछि पुटिनले जुन ७ मा भएको ईयु सिखर सम्मेलनको अध्यक्षता गरेका युरोपेली परिषदका अध्यक्ष चाल्स मिशेललाई फोन गरेका थिए ।

फ्रान्स र जर्मनी रुससँग मौसम परिवर्तनको बिरूद्धमा काम गर्न र सम्बन्ध स्थिर पार्नका लागि उपायहरू खोज्न चाहन्छन् । मार्केलले शिखर सम्मेलन बिना पनि रुससितको वार्ताकालागि केहि तरिकाको खोजि गर्ने र वार्ता शुरु गर्न सकिने बताएकि छन् ।

धेरै ईयु नेताहरु रुसले ईयु ब्लकलाई गम्भिरताकासाथ नलिएको भन्दै सतर्क रहनुपर्ने सोचमा छन् । युरोपेली युनियनका बैदेशिक मामला हेर्ने उच्च कूटनितिज्ञ जोसेफ बोरेललाई गत फर्वरीमा रुसले सार्वजनिक रुपमा अपमान गरेको भन्दै यसलाई गम्भिररुपमा लिनुपर्ने बह्नाई धेरै ईयु नेताको छ । किनभने बोररेलको मस्को भ्रमणको बेला रूसले ईयु कूटनीतिज्ञहरुलाई कुनै चेतावनी बिना नै निष्कासन गरेको थियो ।

लिथुआनियाका नौसेडाले भने “हामी अत्यन्त सतर्क हुनुपर्दछ । यो अमेरिकासित रूसको सम्बन्ध जस्तो छैन ।”

फ्रान्स आणविक शक्तिसम्पन्न देश भएपनि ईयू आफ्नो क्षेत्रीय प्रतिरक्षाको लागि नाटोमा निर्भर रहन्छ । र ईयु देशहरुको निर्णय २७ देशहरूको बीचमा हुन्छ । यहि कारणले गर्दा रुसलाई यि २७ देशबिच विभाजन गरेर शोषण गर्न रुसलाई सजिलो बनाएको बुझाई ईयुका धेरै नेताको छ ।

यसभन्दा अघि रुसले शिखर सम्मेलनको विचारलाई स्वागत गर्दै भनेको थियो “ब्रसेल्स र मस्को दुबैलाई वार्ता आवश्यक छ ।” तर रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले वार्ताकालागि आफूहरुलाई अझ बढी जानकारी चाहिने बताएका थिए ।

रुसले युक्रेन र बेलारुसमा अवरोध गरेको र मानवअधिकार हनन गरेको आरोप ईयुले लगाउँदै आएको छ । यस सम्बन्धी विवादमा ईयू र रसियाले एक अर्कामा बाल्टिकदेखि ब्ल्याक सि (समुद्र) सम्म सुरक्षा र स्थायित्वको लागि खतरा रहेको आरोप लगाएका छन् ।

युरोपियन युनियनले बिहीबार रूसको सहयोगी बेलारुसलाई आर्थिक प्रतिबन्ध लगाएको छ । रूस र नाटो बीचको बफर स्टेटको रूपमा रुसले लिने हुँदा ईयुको यो कदमलेपनि ईयु-रुस संवन्धमा थप तिक्तता छाएको छ ।

तपाइँको प्रतिक्रिया