शुक्रबार, वैशाख ७, २०८१

शनिवार- साहित्य / सृजना / नियात्रा

शिलाङका कविता र महाकविको प्रसंग

डा. गोबिन्द राज भट्टराई२०७८ असार १२ गते १०:५८

(शिलाङ, तेजपुर, गुवाहाटी यात्रा : काठमाडौंदेखि एनजेपीको पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, दोस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  तेस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  चौथो भाग हेर्न यहाँ क्लिक गर्नुहोला, पाँचौं भागकालागि यहाँ क्लिक गर्नुहोला र छैठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, सातौं भागकालागि यहाँ क्लिक गर्नुहोला, आठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, नवौं भाग हेर्न यहाँ क्लिक गर्नुहोला र १० औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, ११ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १२ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला )

यो केवल संयोग हो, शिलाङ पुग्दा त्यहाँका अनेक भाषाभाषी स्रष्टालाई जोडेर नेपालीहरूको छाता संस्थाअन्तर्गत बहुभाषी साहित्य गोष्ठीको आयोजना गरिएको रहेछ । त्यो दिन चन्द्रमणि अधिकारीद्वारा उद्घोषित कार्यक्रम ठीक ११ बजे आरम्भ भयो । अनि सातवटा भिन्न भाषाका २२ जना कविले दुई दुई कविता वाचन गरे ।

शिलाङका पूर्व सांसद महेन्द्र रापसाङको अध्यक्षतामा भएको सो गोष्ठीमा खासी भाषाकी प्राध्यापिका एवं अन्य भाषाभाषी विद्वान् विदुषी स्रष्टा देख्ता लाग्यो, नेपाली समाज अन्तर्मिश्रणतिर अर्थात् अन्तः सांस्कृतिक परिघुलनतिर सहअस्तित्वको आवश्यकता महसूस गरी तीव्र रूपले अघि बढ्न थालेछ ।

कार्यक्रमको अन्त्यमा प्रमुख अतिथिको आसनबाट म उठेर बोलेँ— यस गरिमामय मिलन समारोहका स्रष्टा–सञ्चालक बन्धुबान्धवहरू, यस अवसर एवं स्वागत–सम्मानका निमित्त म यहाँहरूप्रति आभारी छु । साथै सर्वप्रथम त यस्तो बहुभाषिक प्रतिभाको प्रस्फुटन संयोजन देखेर हर्षले म अभिभूत छु । भानुभक्त द्विशतवार्षिकी समारोह समितिले वर्षभरि चल्ने अनेक कार्यक्रमलाई भानुभक्तको समारोहभित्रै पारेर सञ्चालन गर्नुभएको देख्ता अपार खुसी लाग्यो । तपाईंहरू आदिकवि भानुभक्तलाई कत्रो महत्व दिनुहुन्छ भन्ने तथ्यको यो साक्षी हो । भानुभक्तको स्मारक जडित यस भवन परिसरमा सञ्चालित प्रत्येक कार्यक्रमले उनकै स्मृतिलाई अमर पार्ने जस्तो लाग्दछ ।

भानुभक्त हाम्रा आदिकवि एवं जातीय कवि । आज जहाँ नेपाली जाति पुगेको छ त्यहाँ यी सबैका माझ ती जातीय पुर्खा पुगेका छन्; उनले रोपिदिएको नेपाली भाषाको बीजले आज विशाल वृक्षको रूप लिएको छ । यसका शाखा–प्रशाखा फैलिएका छन् । पचासौँ देशमा आज भानु पुगेका छन् । नेपाली वाङ्मयको चर्चा, चिन्ता र आराधना हुनु नै भानुको आराधना हो । भानुभावले जाति, भूगोल, वर्ग, भाषा र संस्कृतिका अन्तरहरू पार गरी आज त अन्तर्देशीय स्वरूप लिएको छ । हिजो मात्र मलाई अवगत भयो— तेजपुरकी बहुमुखी स्रष्टा गीता उपाध्याय भानुभक्तीय रामायणको भानुभक्तीय रामायण शीर्षकमा असमिया भाषामा अनुवाद गरी पुरस्कृत भएकी छन् । यो बंगाली हिन्दी, अवधी, मैथिली, मगर र लिम्बूलगायतका भाषामा समेत अनूदित छ भने हालै मात्र कृणप्रकाश श्रेष्ठले भानुभक्तका फुटकर कविताको रुसी भाषामा अनुवाद गरेका छन् ।

लोकको गरौँ हित् भनी (२०७०) पुस्तकमा निम्नलिखित शीर्षकका भानुभक्तका कविता रुसी भाषामा अनुवाद गरिएका छन्— परिचय, घाँसी, बालाजी, कान्तिपुरी नगरी, इजहारपत्र, बिन्ती डिट्ठा–विचारीसित, आग्रह, लामखुट्टेहरू गाउँछन्, बिन्तीपत्र, तारापतिलाई, वधूशिक्षा, प्रश्नोत्तरमाला, भानुभक्त भनी प्रसिद्ध जगमा, लोकको गरूँ हित् भनी जम्मा १३ वटा कविताको अनूदित सङ्ग्रह प्रकाशित छ ।

विश्वसाहित्यमा नेपाली साहित्यको यो आद्य ग्रन्थ पुग्न सकेको थिएन । सार्क संस्कृति केन्द्रले यो वर्ष सार्कभरिका क्लासिकल ग्रन्थको अनुवाद गर्ने, गराउने निर्णय गरेअनुसार मेरो भागमा भानुभक्तीय रामायणको अंग्रेजी अनुवाद परेको छ । मैले त्यसको अनुवाद कार्यको आरम्भ गरेको छु । अब हाम्रो रामायण अंग्रेजीमा आउनेछ । यो प्रथम अंग्रेजी अनुवाद हुनेछ । त्यसले हाम्रो साहित्यको विस्तार हुनेछ ।

महाकविका सम्बन्धमा कुरा गर्दा नेपाली विश्वले उनलाई नेपाली वाङ्मयका सर्वाेच्च निधिका रूपमा सम्मान गरेको छ । उनको समय कठोर थियो । जनता अशिक्षित थिए । त्यसैले जीवनकालमा महाकविको समुचित कदर हुन सकेन । आज मात्र नेपाली जगत्ले उनलाई चिन्दैछ । नेपालदेखि भारतवर्ष हुँदै विश्वका अनेक मुलुकमा खास गरी नेपालीभाषी पुगेका ठाउँमा देवकोटा जयन्ती महोत्सवका रूपमा मनाइन्छ । मानवतावादी देवकोटाको योगदान भारतवर्षको पहिचानमा अझ गहिरो छ । महात्मा गान्धीको अवसान हुँदा महाकवि भारतवर्षमै (बनारस) थिए । तत्काल बापू एन्ड अदर सनेट्स नामक शोक कविता (अंग्रेजीमा) रचेर छोडेका थिए । हालै त्यो प्रकाशित छ । त्यहाँ गान्धीको देहान्तलाई एक महान् नेपाली स्रष्टाले कसरी हेरेका थिए त्यो देख्न पाइन्छ ।

त्यति मात्र होइन, राजस्थानका शूरवीर योद्धा अकबरसित वीरतापूर्वक लड्ने नायक महाराणा प्रतापका बारेमा पनि उनले महाराणा प्रताप महाकाव्य रचे । उनी प्राचीन भारतीय सभ्यताका पुजारी थिए । भारतीय विद्वान् स्रष्टासमक्ष भन्छु– तपाईंहरूले महाकविका यी विशिष्ट योगदानका विषयमा परिचित गराई महाकविको मानवतावादलाई व्यापक र विस्तार गर्नुहोस्, हामी पनि साथमा हुनेछौँ ।

आजका कविता श्रवण गर्न पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ । शिलाङजस्तो मेट्रोपोलिटन सिटीका बासिन्दा–स्रष्टाबाट बहुभाषी कविता पाठ गरिनु एउटा नयाँ दिशाबोध हो । अबका जाति र भाषाहरू एक्लाएक्लै उठ्ने वा चिनिने वा बाँच्ने कार्य असम्भव हुनेछ । यता अनेक जनजातिले सहअस्तित्वको स्थापना र उत्थानप्रति सचेत हुनुपर्दछ ।

यहाँ वाचित कवितामध्ये फाल्गुनी चक्रवर्तीका बंगाली कविता, पुष्पनाथ शर्मा र मञ्जु लामाका नेपाली कविता, डा। जीन एस डाकर र सुस्मिता दासका हिन्दी कविता तथा डा। स्ट्रिम्लेट डाकरको अंग्रेजी कविताको स्तर उच्च छ । यी कवितामा नारी स्रष्टाहरू उदाहरणीय रूपले प्रस्तुत भएका छन् । बहुभाषिकता र सहअस्तित्व अहिलेको विश्व–आवाज हो । यहाँ यसको अभ्यास भएको देख्ता म अति प्रसन्न छु । त्यसमा पनि प्रमुख अतिथि महेन्द्र रापसाङ र खासी विभागकी अध्यक्ष प्राध्यापिका डा। स्ट्रिमलेटले महाकवि देवकोटाबारे व्यक्त गर्नुभएको विचारले हामी सबै सम्मानित भएका छौँ । प्राध्यापक डा। स्ट्रिमलेटले भनेका कुरा स्मरणीय छन्— तपाईं हामी मिलेर खासी भाषाको, बंगाली वा कुनै हिन्दीको नेपाली वा निकट भाषाको विशेष जयन्ती मनाउने वा दिवस मनाउने कार्यमा सहकार्य गरौँ । एकअर्कालाई चिनौँ, चिनाऔँ । यो सराहनीय छ ।

हालै शिलाङमा आयोजित एफ्लुको तीनदिने सम्मेलनमा पनि साना संस्कृति, साहित्यको पहिचान र सहअस्तित्वका कुरा उठेका थिए । यो घरी शिलाङको नेपाली समाजले देखाएको यो मार्गनिर्देशनदेखि म प्रभावित भएर फर्किने छु ।
…….

सम्मेलनमा सलील ज्ञवालीलगायत तीन जना नेपाली स्रष्टा सम्मानित भएका थिए । अनेक नृत्य, गायन र झाँकीले गर्दा कार्यक्रम अत्यन्तै रोचक भएको थियो । कवितावाचनका लागि उद्घोषित नामहरूले नै बहुभाषिक स्थितिको चित्र प्रस्तुत गर्दछन्—

१- पुष्पनाथ शर्मा (नेपाली)
२- उमेश सुब्बा (नेपाली)
३- भागवत आचार्य (नेपाली)
४- टेकनारायण उपाध्याय (नेपाली)
५- हरिप्रसाद जोशी (नेपाली)
६- बीबी क्षत्री (नेपाली)
७- सागर सापकोटा (नेपाली)
८- एसपनि (यशपति ?) अधिकारी (नेपाली)
९- मञ्जु लामा (नेपाली)
१०- दिनेश शर्मा (हिन्दी)
११- श्रीमती जीन एस डाकर (हिन्दी÷खासी)
१२- सीताराम पौडेल (हिन्दी÷खासी)
१३- यमु पौडेल (हिन्दी)
१४- कैलाशचन्द्र दास (उडिया)
१५- सुस्मिता दास (हिन्दी÷बंगाली)
१६- फाल्गुनी चव्रम्वर्ती (बंगाली÷हिन्दी)
१७- स्ट्रिम्लेट डाकर (अंग्रेजी)
१८- मिसरज अहद (उर्दू)
१९- गीता लामा (हिन्दी)
२०- उमेश सुब्बा (नेपाली)
२१- सृष्टि अधिकारी (नृत्य)
२२- सामूहिक नृत्य (रातो रुमाल हल्लाउँदै)

………

म त्यस दिनका केही कवितांश प्रस्तुत गर्दछु । इतिहासका पृष्ठमा यी अमर रचना देखिने छन्—

निज जीवन निज कहाँ रहा ?
विवाह के प्रथम दिवस से ही
सबकुछ पराया–सा लगने लगा,
पाकर अपना जीवन साथी

वह खुश थी वास्तव में ही
किन्तु उसे क्या पता था,
यह तो पल भर की खुसी थी
जिसे संजोये रखा था
उसने मन के किसी कोने में ।

वास्तविकता तब सामने प्रकट हुई,
जब असली चेहरा सामने आया
उसी जीवन साथी का
मीठी वाणी प्रस्फुटित होती थी,
पर एक–दो दिन ही कायम रहती
शेष जो बचा था सुनने को
वह था कटु वचनों की बौछार ।

हाय स्त्री ! क्या इसलिए तुझे
सपना सर्वस्व त्यागकर
सौंपना पडा औरो को अपना जीवन !
कितना प्रदूषित वातावरण है
हाय ! यह तथाकथित सभ्य आचरण है !

हे नर ! क्या तू भूल गया
यह तेरी अर्धाङ्गिनी है ?
जबसे वह तुझसे जुडी है
उसका तन–मन सब हुआ तेरा ।

पर तू स्वार्थी इतना है
कि उसकी खुसी तेरे पावों तले है ।
आदेश मानती, वह तेरा आदर करती,
तेरे लिए अच्छे–अच्छे पकवान बनाती ।
तेरी खुसी हेतु अपना मन मारती है ।
पर तू अंधों की भाँति जीवन जीता रहा
हर क्षण उसकी अपेक्षा करता रहा ।
ऐसे में उसका जीवन निज जीवन कहाँ रहा ?
—डा. जीन एस डाकर
…………………

A Poor She  

Is she not a human in your eyes ?

what does she err ?

That she is being bashed with violence

She has never raised her voice

nor her head

But believe in what you said

If black you say is red

Yes she agrees and nods her head

She has no weapons of words

nor a shield of trust

that will protect her

why do you torture her ?

you will have loved her instead

And her painful memories

Will be erased

Prof. Streamlet Dakar

……………..

अतीत अनि वर्तमान

अतीतलाई नियालेर हेर्दा
स्वतन्त्र प्रकृतिमा बन्धनमुक्त थियौँ
न कुनै बन्धनमा बाँधिनु पथ्र्याे
खुल्ला हावा स्वतन्त्र घुमफिर
निलो आकाश प्रकृति सुन्दरको काखमा
खुसी नै खुसीको साम्राज्य थियो ।

दस्तावेजका नाउँमा प्रमाणपत्र चिना हुन्थ्यो
त्यसैका आधारमा ग्रह, नक्षत्र, दिन–बार हुन्थ्यो
रिस्ता, बिहा पूजाआजा, ग्रह शान्ति सबै
चिनाकै आधारमा प्रमाणित हुन्थ्यो
शिक्षा, घुमफिर चिना नै हुन्थ्यो
चिना नै सबैको मूल दस्तावेज बन्थ्यो ।

वर्तमानले अहिले काँचुली फेरेको छ
भ्रमण कार्डको अनिवार्यता छ
स्कुल, कलेजमा पढ्न परिचय कार्ड
अठार वर्ष पुग्यो कि भोटर कार्ड
पेट भर्नलाई राशन कार्ड
एटीएम, अरू धेरै क्रेडिट कार्ड
गाउँमा बस्न रजिस्टेशन कार्ड
नभएका खण्डमा पाइँदैन बास ।

कार्डै कार्डहरूको थुप्रो रास
मानिस बाँच्नलाई कार्डकै आस
विदेश जान भिसा कार्ड
कार्ड नभए जीवन निराश
यी जम्मै कार्डको जेठो अर्काे कार्ड आउने रे
जसद्वारा सबैले सहुलियत पाउने रे
त्यो कार्डको नाउँ हो आधार कार्ड
समयले बताउला आधार कार्ड कि निराधार कार्ड
बाँच्नलाई कार्ड भए पनि निराश
नभए झन् निराश ! नभए झन् निराश ।
—पुष्पनाथ शर्मा
……

क्या तुमने महसूस किया ?

धूप की छवि को आँचल में समेटे,
चलते चलती विराग की अटूट,
चुपके से नयन की सब्र में,
छुपा लेती सारी गरमाहट
क्या, तुमने कभी महसूस किया !

जलती अंगार में रोटी के साथ,
कुछ स्वप्नों को भी वह सेंक लेती
सावन के झुलों के भीगते बूंदों में
आशा भी कुछ उस की बह जाती,
क्या, तुमने कभी महसूस किया !

न कभी उसकी हृदय को जाना किसी ने,
न रूह को उसके किसी ने पहचाना,
समय को कितना उसने कातिल किया
कितने अरमान उस के मरे, न कोई जाना,
क्या, तुमने कभी महसूस किया !

कितने ढाल–चर्म चढा ली उसने,
आधुनिकता का चादर ओढ ली कितने,
खिडकी से दरवाजे तक का सफर,
कितने युग उसने गुजार दिए,
क्या, तुमने कभी महसूस किया !
—सुष्मिता दास
……..

टुक्रिएको मान्छे

मान्छे टुक्रिँदैन
मात्र कुनै हतियारले
बम वा कुनै मिसाइलले
मान्छेलाई टुक्र्याउन खाँचो छैन,
कुनै युद्ध वा हतियारहरू

मान्छे टुक्रन्छ
एउटा सानो शब्दले,
एउटा सानो वाक्यले
एउटा सानो घटनाले
नित्य जीवनमा कति पटक
यस्तो भएको हुन्छ
टुक्रिएको मान्छेको

अस्तित्वको टुक्रा छरपस्टिएर
पर….पर… फैलिएका हुन्छन्,
तर त्यो टुक्रिएको मान्छे
एकाएक जोडिएर
तयार हुन्छ
जीवनमा घट्ने
अर्काे एउटा घटनाका निम्ति
—मञ्जु लामा

……………

टुटा आदमी

आदमी टुटता नहीं
केवल किसी हथियार से
बम या किसी मिसाइल से
आदमी को तोडने के लिए
जरुरी नही कोई युद्ध या हथियार !

आदमी टुटता है
एक छोटा सा शब्द से,
एक छोटा सा वाक्य से,
एक छोटी सी घटना से ।

नित्य जीवन में
कई बार ऐसा होता है
टुटे हुए आदमी का अस्तित्वका टुकडा
बिखर कर दूर–दूर तक फैलाता है,
पर वह टुटा आदमी
एकाएक जुडकर
तैयार होता है
जीवन में घटते
एक ओर घटना के लिए ।
—मञ्जु लामा

………….

आज की समस्या

लोग ग्रस्त हैं, त्रस्त हैं,
शायद छिननेका डर उन को सता रही है
क्योंकर विलीन होगा तुम्हारा वंश
यहाँ तो सबकुछ तुम्हारा अपना है

हम भारतीय हैं यह शायद भूल गए वो,
जातीय दंगोंमे अपनेको झूलस रहे हैं
वसुधैव कुटुम्बकम् यह हमारी संस्कृति हैं
फिर क्योंकर लोग अलग जातीय खिचडी पका रहे हैं ।

ऐसे तो न थे हम,
प्रेम से गले हम मिलते थे
क्या हुआ जो ऐसे भाव जगे
सब ही अपनेको दुशमन लगे !

भटक गए लोग दिशाहीन डगरों में
पतवारके बिना नाव घुम रही है बीच भँवर मे,
ऐसे में चारों ओर द्वन्द्व हाहाकार मचा
कुछ एक तावे में अपनी रोटी सेक रहा हैं

तोडफोड से क्या होगा ?
अपने ही राष्ट्रिय धरोहरका नुकसान होगा
असल मुद्दोंको अगर सहज रखोगे तुम,
तुम्हारी समस्याओं का मिनटों में समाधान होगा ।
क्या नहीं है यहाँ ?
बस सबको साथ लेकर चलना है
शस्य श्यामला बनेगी यह धरती
बस ‘मै’ को भूल एकता का पाठ हमें पढना हैँ ।
—दिनेश शर्मा (ज्ञवाली)

………………….

महाकविको जीवनकालदेखि लिएर मृत्युशैयामा उहाँलाई भेट्ने डम मोरेले भनेका थिए— महाकविको जन्म गलत भूगोलमा, उनको प्रतिभा नचिन्ने मुलकमा भएको थियो अर्थात् यथासमयमा उनको प्रतिभा चिनिएन । उनका कृति विश्वभाषामा अनूदित-प्रचारित हुन सकेको भए रवीन्द्रनाथ ट्यागोरपश्चात् नोबेल पुरस्कार प्राप्तकर्तामा महाकवि हुने थिए होलान् । तर त्यो भएन । समयले सारा सम्भावना समाप्त गर्‍यो ।

प्रा. जयराज आचार्यले भनेका छन्— ‘हामी सबैले स्वीकार गरेका छौँ । आधुनिक नेपालको भूगोलनिर्माता पृथ्वीनारायण शाह, यस भूगोलका रक्षक दूरदर्शी देशभक्त जङ्गबहादुर राणा, आधुनिक नेपालका भाषानिर्माता भनुभक्त आचार्य, आधुनिक नेपाली साहित्यका निर्माता महाकवि देवकोटा, आधुनिक नेपालका प्रजातान्त्रिक विचारका निर्माता विश्वेश्वरप्रसाद कोइराला हुन् ।’

संयोगले यसवर्ष विश्वेश्वरप्रसाद कोइरालाको जन्मशताब्दी वर्ष पनि परेको छ । नेपाल–भारतका मैत्री सम्बन्धका एक आदरणीय प्रतीक वी.पी. कोइरालाको शतवार्षिकी कार्यक्रम पनि यताका नेपालीले मनाउनु होला । यसले गर्दा नेपाली जातिले भारतभूमिको स्वतन्त्रतामा समेत कत्रो योगदान गरेका थिए भन्ने कुरा अवगत भएपछि हाम्रो सीमाहीन सम्बन्ध अझ सुदृढ र व्यापक हुनेछ ।

वास्तवमा एउटा ठूलो संयोग छ— विश्वेश्वरप्रसाद कोइरालाको प्रधानमन्त्री काल (विक्रम संवत् २०१६) मा महाकविको देहान्त भएको थियो । प्रधानमन्त्रीका नाताले देवकोटाप्रति उनले समवेदना प्रकट गरेका थिए । त्यसको बीस वर्षपश्चात् उनै वी.पी. कोइरालाले बानेश्वरमा स्थापित देवकोटाको सालिक अनावरण गर्दै उनीबारे आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए । सो दुर्लभ मूल्याङ्कन अभिव्यक्तिलाई आज पुनः यहाँ पाठ गर्ने अनुमति चाहन्छु—

साथीहरू,
म धेरै कराएर बोल्न सक्तिनँ, त्यो तपाईंहरूलाई थाहा छ । आज देवकोटाजीको जन्मदिवसमा उहाँको मूर्तिको अनावरण गर्न पाउँदा मलाई बडो गौरवको अनुुभव भइरहेछ । देवकोटाजीका सम्बन्धमा अहिले मोहन कोइराला र अरू वक्ताहरूले जुन मार्मिक किसिमबाट भन्नुभयो, त्यस्तो किसिमबाट म भन्न सक्तिनँ ।

मलाई देवकोटाजीको बडो लामो सहवासको (सँगै बस्ने) मौका मिल्यो । म उहाँलाई धेरै आदर गर्थें । किनभनेदेखि, सबभन्दा मुख्य कुरा नेपालमा जुन परिवर्तनको लहर आएको छ यो व्यापक छ । म त राजनीतिमा लागेको व्यक्ति हुँ, राजनीतिले परिवर्तनको एउटा पक्ष मात्र अँगालेको हुन्छ । तर देवकोटाजीले हाम्रो सामाजिक संवेदनशीलता, हामीहरूको भावुकता, हामीहरूको मनोविज्ञानलाई नै छोएर, परिवर्तनपट्टि देशलाई लैजाने, समाजलाई लैजाने, उहाँको प्रक्रिया भएको थियो ।

मैले भन्न खोज्या के भन्देखि जब एउटा नयाँ सभ्यता आउन खोज्दछ, त्यो सभ्यताको रूपचाहिँ सर्वव्यापी हुन्छ । रिनेसाँ जस्तो, पुुनर्जागरण जस्तो, नेपाल हठात् एउटा नयाँ व्यवस्थापनमा प्रवेश गर्न खोजेको जस्तो, त्यसको सबभन्दा ठूलो प्रतीकका रूपमा उहाँ आउनुभएको थियो, साहित्यका जगतमा । उहाँ हामीहरूको निश्चल भएको (राजनीति या अरू दृष्टिबाट पनि) अगाडि बढ्न थालेको समाजमा एउटा बिजुली चम्क्या जस्तो गरीकन अवतीर्ण हुुनुुभयो, समाजलाई एउटा नयाँ रूप दिन ।

पहिल्यैका जति कविहरू थिए, जति साहित्यकारहरू थिए, उनीहरूको एउटा रूढिगत धारणा थियो । बडा राम्रा–राम्रा साहित्यकारहरू पनि भए, ठूला–ठूला पनि भए, हाम्रा भानुुभक्तहरू भए । तर उनीहरूको जुन चिन्तन थियो, जुन संवेदनशीलता थियो, त्यो संवेदनशीलताले यो भन्न मिल्दैन कि पुुनर्जागरणमा मद्दत गरेको थियो । एउटा रूढिसम्बन्धी, रूढिगत संवेदना थियो त्यो । उहाँहरूको लय पनि एउटा रूढिगत । तर महाकवि देवकोटाले एउटा नितान्त नयाँ प्रयोग दिनुभयो, नितान्त नयाँ भावना जनता (पाठक) का अगाडि राख्नुभयो जसबाट म भयानक प्रभावित भएको थिएँ ।

उहाँसँग कुरा गर्दाखेरि म पनि आफूलाई लेख्ने मान्छे भन्ठान्थेँ, त त्यही साहित्यकारको हैसियतले आज तपाईंहरूले मलाई बोलाउनुुभयो र उहाँको मूर्तिको अनावरण गर्न लाउनुभो— म कुुनै राजनीतिक व्यक्ति भनेर होइन र मलाई पनि लाग्दथ्यो, साहित्यको निम्ति मैले पनि केही सेवा गरेको छु । तर उहाँसँग कुुरा गर्दाखेरि मेरो र उहाँको कुरामा एउटा बडो फरक कुरा म पाउँथें । म यसलाई राम्रो किसिमको फरक थियो भन्न खोज्दैछु । एउटा कुरा के भन्देखि, एउटा राजनीतिक दृष्टिकोणबाट या भनूँ एउटा प्रशासकीय दृष्टिकोणबाट या भनूँ आर्थिक दृष्टिकोणबाट नै मेरो संवेदनशीलता जागेको थियो । तर उहाँको संवेदनशीलता यति व्यापक थियो कि धनी मान्छेहरू पनि गरीब छन् भन्ने पनि उहाँले बुुझ्या थियो । त्यो अभावग्रस्तता ! केवल भौतिक क्षेत्रमा मात्रै मान्छे अभावग्रस्त हुुँदैन, संस्कृतिको क्षेत्रमा पनि, उसको मनोवैज्ञानिक क्षेत्रमा पनि ऊ अभावग्रस्त हुुन्छ । त, उहाँको विचार र साहित्यको पकडचाहिँ सर्वव्यापी थियो । जहाँजहाँ सुकेको त्यो मरु–हृदय छ, अभावको जीवन छ त्यसमा उहाँले रस दिँदै जानुुभयो ।

एकचोटि उहाँसँग मेरो कुरा भयो— बहसजस्तो कुुरा भयो, बहस त उहाँ गर्नुहुन्नथ्यो । मचाहिँ आफ्नो मार्क्सवादको विचारलाई लिएर उहाँसँग बडो अग्रसर हुन्थें बहस गर्न । मैले उहाँलाई, अन्त्य–अन्त्यतिर भन्नुपर्‍यो, एकचोटि भनेँ— “तपाईंले भन्न खोजेको कुरा के हो ? कतापट्टि दिशा दिन थाल्नुभइरहेको छ ? तपाईंको फिलोसफी के हो ?” भन्दा उहाँ चकित जस्तो हुनुभयो । अनि उहाँले भन्नुभयो— “एउटा साहित्यकारले, संवेदनशील साहित्यकारले त मानिसका विभिन्न पक्षहरूलाई उजागर गर्छ । उसले कुनै दिशा दिने होइन । दिशा त तपाईहरूले (राजनीतिज्ञहरूले) दिने हो । हामीहरूले (साहित्यकारले) त मानव समाजका भावनाका नयाँ–नयाँ पक्षलाई बुझ्दै जाने हो । साहित्यकारको त्यो काम हो । दिशा दिने त हामीहरूले आफूले (राजनीतिमा लागेकाले) हो ।” त्यस्तो हुनाले उहाँले जो काम गर्नुभाथ्यो, त्यो सम्झाउनलाई उहाँले त्यसो भन्नुभएको थियो । उहाँ छक्क पर्नुभाथ्यो मैले ‘तपाईंलाई कतापट्टि ध्यान छ ? तपाईंको के छ ?’ भन्दा ।

त, मैले के भन्न खोजेको भन्देखिन् यो पुनर्जागरणको जुन एउटा नयाँ लहर आउन थालेको छ (बहुत सानो) त्यसको सबभन्दा पैला सूत्रपात गर्ने उहाँ नै हुनुहुन्थ्यो र ऐले पनि, अझै कति वर्ष लाग्ला रे, पचासौं वर्ष लाग्ला रे ! हामीले नयाँ समाज बनाउने प्रक्रिया, न केवल राजनीतिक कुराहरूमा मात्र, केवल प्रजातन्त्रका कुराहरूमा मात्र हैन हामीहरूको जनमानसलाई नै परिवर्तन गर्ने प्रक्रिया, हामीहरूको चिन्तनप्रणालीलाई नै, हामीहरूको संवेदनशीलतालाई फैलाउने–बढाउने, संकुचित भावनाबाट प्रशस्त पार्ने, त्यो प्रव्रिम्या उहाँले नै प्रारम्भ गर्नुभएको हो ।

आज त म एउटा राजनीतिमा लागेको मानिस । र म अहिले एउटा तात्कालिक उद्देश्य–राष्ट्रिय एकतापट्टि अग्रसर भएर म अघि बढेको ! राष्ट्रिय एकता भन्ने बित्तिकै त्यस्तो किसिमको व्यवस्था यहाँ होस् जसमा सबैले ठाउँ पाऊन् आफ्नो राजनीतिका लागि— राजाले पनि ठाउँ पाऊन् र हामीहरूले पनि ठाँउ पाऔं । त्यस्तो किसिमको कुनै व्यवस्था हुन सक्छ कि भनेर म त्यतापट्टि अग्रसर भएको व्यक्ति हुँ, राजनीति या राष्ट्रिय एकताका लागि । यही समारोह यदि यहाँको सर्वोच्चले गर्‍या भए शायद उहाँको पनि इज्जतको कुरा, गौरवको कुरा हुन्थ्यो र हामीहरूलाई पनि खुसी लाग्ने कुरा हुन्थ्यो । त्यस किसिमको व्यवस्था कुनै हुन सक्तछ कि भन्ने खोजीमा लागेको व्यक्ति हुँ म राजनीतिमा । त त्यसो हुनाले अब यस दृष्टिकोणबाट म कवि देवकोटाजीको एउटा कुरा भन्न चाहन्छु ।

देवकोटाजीका जति कुराहरू छन्; दरबारमा बसेर पढे पनि एउटा झोपडीमा बसेर पढे पनि सबलाई एउटै धागोले बाँधेको छ उहाँले । मलाई लाग्छ यत्रो ठूलो राष्ट्रिय भावना जागृत गर्ने कवि त शायद कम्ती नै भएका होलान् । एउटा बडो सेन्सिटिभ रीडर (संवेदनशील पाठक) लाई पनि उहाँले छोएको छ, आफ्नो पकडमा उहाँले राखेको छ, एउटा हले–कोदाले, गरीब, नपढेको मानिसले पनि उहाँको ध्वनि सुनेर, उहाँको शब्द मात्र सुनेर, रसग्राह (रसलाई ग्रहण) गर्न सकेको छ । त्यसैले पनि उहाँले आफ्नो एउटा अँगालोमा पूरा समाजलाई समातेर राख्नुभाको छ । त्यो कुरालाई हामीले ध्यान दिया छैनौं । हामीले उहाँको एउटा पक्षलाई मात्र, जुन पक्षलाई अहिले रिप्रिजेन्ट (प्रतिनिधित्व) गर्दछौं त्यसलाई मात्रै, जुन पक्षले हामीहरू थिचिएको छौं त्यो पक्षलाई मात्रै पक्डिराख्याछौं । तर उहाँको पक्षचाहिँ यो राष्ट्रका तमाम व्यक्तिलाई राष्ट्रमा रहेका नेपाली बोल्ने मान्छेलाई र राष्ट्रमा मात्र हैन (राष्ट्र बाहिर पनि), नेपाली बोल्ने मान्छेलाई समग्र रूपबाट उहाँले समात्या छ ।

आज उहाँको जन्मदिवस हो । त्यसो हुनाले मैले बोल्दाखेरि— (अरूले उहाँको साहित्यिक पक्ष बोल्लान्, मैले बोल्दाखेरि— उहाँको राष्ट्रिय पक्ष उहाँले जन्म लिएर मलाई लाग्छ) सबभन्दा ठूलो काम गर्नुभएको आफ्नै भाषाको मार्फत र कस्तो सजिलो भाषा ! आफ्नो भावनाको मार्फत– कति रस भएको भावना— कति अन्तस्तललाई छुने भावना— जसले एउटा राष्ट्रिय एकताको बडो ठूलो प्रतीक उहाँ हुनुभएको थियो र आजसम्मन् पनि, म त्यो पक्षपट्टि तपाईंहरूको ध्यान दिलाउन चाहन्छु ! म खोजिरहेछु राष्ट्रिय एकता जसका पट्टि म हिँडिरहेछु भन्देखिन् यहाँभन्दा अगाडि अगुवा भएर अरूअरू क्षेत्रबाट सामाजिक क्षेत्रमा होस् वा साहित्यिक क्षेत्रमा, या कलाका क्षेत्रमा भन्दा मलाई सबभन्दा ठूलो अगुवा अहिले लक्ष्मीप्रसाद देवकोटा लाग्नुहुन्छ ।

तपाईंहरूलाई थाहा छ, म धेरै बोल्न सक्तिनँ । मैले दुईचार शब्द मात्र भनुँ भनेर । फेरि आज घाम पनि बेसी भएको छ, तपाईंहरूलाई पनि दुःख, मलाई बोल्नलाई; तपाईंहरूले थाहा पाइहाल्नुभो । म दुइटा कुरा भन्न खोजिरहेछु । एउटा कुरा उहाँलाई केवल साहित्यिक मात्र हामीले भन्ने होइन साहित्यको मार्फत उहाँलाई एउटा वर्गको मात्र नेता भन्ने होइन, साहित्यकार मात्र भन्ने होइन । उहाँ एलिट (शिक्षित) हरूको पनि हो । उहाँचाहिँ जसलाई बुद्धिजीवी भन्छन् (यहाँ एउटा दम्भ राख्ने वर्ग छ, आफूलाई बुद्धिजीवी भन्ने) त्यसको पनि उहाँ नेता हो । त्यसलाई पनि उहाँले दिनुभएको छ । महलमा बस्ने मान्छेलाई पनि उहाँले आफ्नो कविताले छुनुभाको छ उसको हृदयलाई, उसको मार्मिकतालाई, उसको संवेदनशीलतालाई जगाउनुभाको छ उहाँले । यत्रो ठूलो राष्ट्रिय कर्तव्य र काम उहाँले गरेर जानुभयो । उहाँलाई हामीले आज यसरी सम्झिन पाउँदा र उहाँको मूर्ति उद्घाटन गर्न पाउँदा म असाध्य खुसी र गौरवान्वित भएको छु ।

र यहाँका (यो के हो यो ? बानेश्वर) बानेश्वरका नागरिकहरूको उत्साह देखेर पनि उहाँहरूलाई मैले के भन्ने हो ! कत्रो उत्साह– यो एउटा सानो ठाउँ– त्यसमा यस किसिमबाट एउटा महाकविको जन्मजयन्ती आयोजना गरेर यत्रो उत्साह प्रदर्शन ! यहाँमा तरुणहरू– हामीहरूजस्ता त छँदैछौ– योङ मेनको यत्रो उत्साह देख्ताखेरि मलाई बडो खुसी लाग्या छ । म उहाँहरूलाई बधार्ई दिन चाहन्छु ।

साथीहरू,
तपाईहरू भन्नुहोला– ‘धेरै लामो बोलेन ।’ मैले भन्ने कुरा मैले लेखेर दिने गर्‍या छु । म धेरै बोलेर भन्न सक्तिनँ । म यत्ति भन्दछु र यत्ति भनीकन तपाईंहरूलाई फेरिदेखि म आग्रह गर्दछु । मैले भनेको दृष्टिकोणबाट महाकवि देवकोटाको ग्रन्थको उहाँले लेखेको कविताको, उहाँले लेखेका अरू निबन्धहरूको अध्ययन गर्नुहोला । यति भनेर म तपाईहरूरुसँग बिदा लिन्छु ।
जय नेपाल ।

वानेश्वर, काठमाडौँ
कार्तिक २, २०३६

(यो प्रवचन वी.पी. कोइरालाले वानेश्वरको रत्नपुस्तकालय परिसरमा महाकवि देवकोटाको सालिक अनावरणका अवसरमा दिएको मन्तव्य हो, पछि यसलाई रत्नपुस्तकालयको मुखपत्र पूजामा प्रकाशित गरियो । सो रचनाबाट पुनः साभार गरी सम्पादक जीवनचन्द्र कोइरालाले वी।पी। कोइरालाका छरिएका सामाग्री (२०५८) शीर्षक दुर्लभ कृतिमा सङ्कलित गर्नुभएको छ ।

महाकविको बनारस आप्रवासन कालदेखि नै उहाँको सङ्गत गर्ने वी.पी. कोइरालाले २०१६ सालमा महाकवि देवकोटाको निधनको शोकको घडीमा प्रेषित एउटा समवेदना पत्र पनि गोरखापत्र, १२ असोज, २०१६ सालमा प्रकाशित भएको थियो । संवाददाताले पत्रकारको भाषामा प्रस्तुत गरेको सो मन्तव्य पनि वी.पी. कोइरालाका छरिएका सामग्रीमा सङ्कलित छ । जो निम्नानुसार छ—

देवकोटाज्यूको निधनले राष्ट्रिय र साहित्य जीवनमा ठूलो अभाव भएको छ ।

प्रधानमन्त्री श्री विश्वेश्वरप्रसाद कोइरालाले महाकविज्यूप्रति श्रद्धान्जली अर्पण गर्दै भन्नुभयो— स्वर्गीय महाकवि लक्ष्मीप्रसाद देवकोटा एक प्रतिभाशाली व्यक्ति हुनुहुन्थ्यो । यो कुरा २५, ३० वर्ष अगाडिदेखि उहाँलाई थाहा भएको र उहाँबाट उहाँले आफ्नो विचारमा कसैबाट समर्थन नपाएको बखत पनि हृदयदेखि समर्थन पाउनुभएको थियो ।

उहाँले देवकोटाज्यूको विचार बारेका केही कुराहरूको चर्चा गर्नका साथ उहाँको निधनले राष्ट्रिय र साहित्य जीवनमा ठूलो अभाव भएको छ भन्नुभयो ।

प्रधानमन्त्रीज्यूले भन्नुभयो— देवकोटाज्यू एक दैन्यजीवन बिताएर जानुभयो । उहाँप्रति घटेका जस्ता घटना सबैप्रति घटिरहन्छन् । अतः जबसम्म समाजमा रहेका आर्थिक विषमता आदि जस्ता अनेक खराबीहरू हटाई समाजलाई अगाडि बढाउने कामतिर लाग्न सक्तैनौं तबसम्म प्रचलित परिपाटीअनुसार शोकसभा मनाएर विधि पुर्‍याउने काम गर्दैमा वा कसैको परिवारको केही व्यवस्था गरिदिंदैमा जिम्मेदारी पूरा गरेको भन्न हुँदैन ।
स्रोत : गोरखापत्र, १२ असोज २०१६
भाग ५९, सङ्ख्या ६७

तपाइँको प्रतिक्रिया