सोमबार, मंसिर १३, २०७८

खप्तडका लेकबेसी

युवराज नयाँघरे२०७८ असार १३ गते ११:०७

दुई रात र तीन दिनको बास भो !
खप्तडमा बसुन्जेल अनौठो भइरह्यो । दिनभरि बसुम्–बसुम् हुन्थ्यो, रात परेपछि कहिले यो ठाउँ छोडुम्–छोडुम् लाग्थ्यो ।
‘उज्यालो नहुँदै टाप ठोकिन्छ !’
मनमा कुरा खेल्थे रात गहिरिँदै जाँदा ।
‘बिहान होस् मात्र भागिन्छ याँबाट !’
बुरुक–बुरुक हुन्थ्यो छाती ।

बिहानदेखिको लम्काइले झमक्क साँझमा खप्तड पुगेथेँ म । डोटी, अछाम र बाजुराबाट पनि खप्तड जाने बाटा रहेछन् । तर म पुगेको थिएँ– बझाङको चैनपुरबाट ।

वैशाखको पुछार, दुई हजार पचहत्तर साल ।

धेरै चोटि पुग्ने इच्छा, अनेक खेप जाने हुटहुटी, प्रशस्तै पल्टको प्रयत्न र मनग्गे चेष्टापछि म पुगेको थिएँ– खप्तड ।

झमक्क साँझमा खप्तड पुग्दा आँखाका नानी पनि चलेनन् । परेली पनि झिम्किएनन् । आँखा भित्रको ज्योति पनि हल्लिएन । एकोहोरो ढप्प, शान्त, चुपचाप र मौन–मौन भइरहे… भइरहे …. ।

‘यो घोडा दाउने !’ रामबहादुर थापाले पाटनको नाम चिनाए ।

ठूलो र आँखाले नछिचोल्ने पाटन टुप्लुकियो । घोडाका बथान थिए पाटनभरि । कति त घोडामाथि डोरी न लगाम– त्यत्तिकै जगर समातेर रल्लिइरहेथे । कति चैं घोडा वरिपरि हल्लिइरहेथे ।

साँझमा खप्तडको लेक औधी मायालु लाग्यो । पर–पर बादलको लर्कोले घेरिरहेथ्यो । हरिया जङ्गलले जतिसुकै बारबेर पारेको लाग्थ्यो । फाँटिला टार र विचित्र–विचित्रका पाटनले आँखाहरु ट्वाल्ल परेका परेकै भए । खुट्टा गाडिएका गाडिएकै भए । मनमा खुशी, आनन्द र उत्फुल्ल छचल्किरह्यो…. छचल्किरह्यो… ।

अचम्म–अचम्मका थुम्काहरु आइरहे । चिल्ला–चिल्ला थुम्काहरु खड्कुलामा चामल, पीठो वा माटो भरेर घोप्ट्याएजस्तो– औधी कलात्मक, साह्रै मनमोहक, ज्यादै लोभलाग्दा ।

बाटो पूर्वतिर थियो । ढुङ्गा छापेर हिँड्न सजिलो पारिएको थियो । देब्रे र दाहिनेतिर गजबका पुन्टे थुम्काहरु अग्लिएका थिए । भुइँभरि गलैंचा ओच्छ्याइए जसरी फुलेका थिए बुकी र अरु सेताम्मे फूलहरु ।

चिमाल फुलेर थुम्काहरु सिँगारिएका लाग्थे । स–साना सङ्ला नदी कुलकुलाइरहेका देखिन्थे । ढुङ्गाहरु पनि कलात्मक लाग्थे । ढुङ्गामा अनौठा रेखा, बुट्टा, रङ र आकारले छक्क परिरहेको थिएँ म ।

एउटा थुम्का र गोरेटो हिँडिनसक्दै फेरि बेग्लै खोँच र टार टुप्लुकिन्थे । पानी बेस्सरी ओइरिन खोजिरहेथ्यो ।

सेनाको ब्यारेक पुगी हामी दक्षिण पश्चिमको भिरालो भएर एकोहोरो समथर हिँडिरहेका थियौँ । घ्वाप्पै अन्धकारले चारैतिरबाट छोपिरहेको थियो ।

‘खप्परेश्वर, त्रिवेणी, सहस्रलिङ्ग, खुँडुली भुदिली माईका मठ र मन्दिर वरिपरि छन् ।’ थापा भट्याइरहेका छन् ।

प्रकृति नै ब्रम्हा, प्रकृति नै विष्णु र प्रकृति नै महेश्वर देखिरहेको छु म । यी अनौठा गुफा, निर्मल नदी, सुकिला थुम्कामा देउता देखिरहेको छु । यी अविचल टारहरु, यी स्वच्छ पाटनहरु र यी अलौकिक खोंचहरुमा देवी देखिरहेको छु । देवीदेउताहरु त सुन्दरतामा, उज्यालोमा, पवित्रतामा र निश्चलतामा भेटिँदा हुन् । यी सबै कुरा म अहिले खप्तडको लेकमा भेटिरहेको छु ।

‘सितापाइला, केदारढुङ्गा, केदारधारा, दुर्गास्वरुपिणी माताका मन्दिर नि वरपरै छन् ।’ थापाको भक्तिभाव अजय रुपमा पोखिइरहेको छ ।

म त चिसो हावा र स्याँठले लछारिएको छु । मास्तिरको आकाश नघोप्टियोस् भनेर खुट्टा फट्कारेको फट्कारेकै छु ।

‘म चैं खप्तड दह, नागढुङ्गा, छिन्टे ढुङ्गा, रोटा चिल्टे, हरिनाचरी जान्छु–जान्छु !’ यी ठाउँबारे दिउँसो लोखडामा पानी पिउँदा थापाले बताएथे । मेरो रहर जानेर थापा मख्ख परे ।

सँगै थिए मोतीराज । अरु साथीहरु कोही अघि हुन्थे । कोही परै बसेर सुसेला हालिरहेका हुन्थे । कोही पैताला घिसारिरहेका हुन्थे । हारजीत भइरहेको थियो— बाटो काट्ने र बिसाउनेको ।

मेरा पाइलामा पाइला थपिरहेथे उनीहरु । तर यी सबैका पाइलालाई एउटै सुर, सास र शक्ति दिएका थिए पद्मराज जोशीले । जसको सुकिलो भावना, चोखो निम्तो र हार्दिक व्यवहारले तानेर म खप्तडको लेकमा खुट्टा लम्काइरहेको छु । छातीमा खुशी भरिरहेको छु । ओठमा उल्लास फुलाइरहेको छु ।

‘त्रिवेणीधाम बास होला !’ बाटामा थापा बोलिरहेका छन् ।

हामी लम्की–लम्की हिँडिरहेका छौँ । हावा र सिरेटोले हिर्काउन छोडेको छैन । स्याँठभन्दा चाँडचाँडो दगुरेका छन् रगतका सिर्का । आँखाका हेराइ हावाको वेगभन्दा तीव्र भएर हेरिरहेका छन् । मुटुको धुकधुकीले सेरोफेरो पढिरहेका छन् छिटोछिटो ।

निकै तेर्छो लम्केपछि फाँटमा पुगियो । लस्करै तीनवटा धर्मशाला टुप्लुकिए । सबैभन्दा पूर्व र थाप्लामा रहेका टहरोमा हामी पसिनसक्दै असिना पानी बर्सियो गरङ–गरङ । लगातार पानी परिरह्यो । असिना बर्सिएर घुँडा–घुँडासम्म सेताम्मे भुइँ छुन पुग्यो । जाडो बेपत्तैले भयो ।

एउटै टहरोमा जोगी, सन्न्यासी, चिकित्सक, प्रहरी, कवि थुप्रेका थियौँ । हार लाएर सुते पनि जाडो बेपत्तै भयो । मुटु र भुँडी दुवैमा पीडा थियो जाडो र भोकको । अरु शरीरका थकाइ र हैरानीको बह पोख्ने पो कसलाई !

०००

आँखाको विष मारेर बिहान चारै बजे उठेँ म । चराको गायन र स्वरले आँखा चिम्लिरहन पाइनँ मैले । बिहानको खप्तड अद्भूत थियो । वरिपरिका थुम्का झन्–झन् चिल्ला थिए, सुकिला थिए र भरिला थिए । हरिया डाँडा झन् राम्रा, झन् अनौठा र झन् उत्पातका देखिएथे ।
घाम बढ्दै गएपछि खप्तडका पाटनमा गाई, भैंसी, घोडा र बोकाबाख्राका बथान आउन थाले ।

म आगो तापिरहेको थिएँ । अघिल्लै दिनदेखि असिनपसिन बर्कबहादुर रोकाया टुप्लुकिए ।‘चरनका नियम छन् । बोकाबाख्राको २ रुपियाँ, घोडा र भैंसीको १० रुपियाँ तिर्नुपर्छ गाउँलेले मासिक ।’रोकायाले औंल्याए ।

घामले लुकामारी खेल्दो रहेछ खप्तडमा । कुइरोले नृत्य देखाउँदो रहेछ परीपरीको खप्तडमा । हावाले किसिम–किसिमको धुन सुसेल्दो रहेछ खप्तडमा । नीलो अकासले यी सबै पाटन, थुम्का र खोंचको अद्भूत संसार हेरेर आफैँ–आफैँ हरक्षण पग्लिइरहँदोरहेछ………. मग्न भइरहँदो रहेछ… कोमल भइरहँदो रहेछ… ।

एक–एक गर्दै साथीहरु दक्षिणको चेपतिर लागे । मैले पनि तिनको पाइला निहाल्दै गएँ । बाटाभरि गंगा दशहराको मेलाका लागि सेउला र काठे झुप्रा ठडिइरहेथे । ढुङ्गेनी चम्काले चुला बनिरहेथे । बडे–बडेमानका मूढा जोतेर आगो दन्किइरहेथे । मानिसहरु मेलामा हुने कमाइ र मजाको हिसाबकिताबमा व्यस्त थिए ।

एकोहोरो पश्चिम–दक्षिण भएर म तल नदी किनारमा पुगेँ । नदीको दोभानलाई त्रिवेणीधाम भनिँदोरहेछ । त्यहाँ २–३ वटा मन्दिर थिए । वरिपरि विचित्र–विचित्रका ठूला चट्टान र गुफाले त्रिवेणी अनौठो पनि लाग्थ्यो ।

जताततै मान्छेका खप्पड घोप्टेका लाग्थे । जतासुकै खपटैखपटा घोप्टिएका हुनाले यो ठाउँको नाउँ खप्तड भा’ थियो कि– कुरा खेले मनमा ।

दिउँसोतिर थापासँग खप्तड दह गएँ म । सेनाको ब्यारेकबाट यसो पूर्व उत्तर भएर गएको गोरेटोबाट निकै लम्केपछि म दह पुगेथेँ । लेकको दह उल्काको थियो । कञ्चन पानी, सफा लहर र तरङ्गमा उम्लिएको चित्रले आँखासँग प्रश्नहरु गर्नै सकेनन् ।
म हृदय खन्याएर उभिइरहेँ… उभिइरहेँ… ।

फर्किंदा हत्ताजडी, गनाल्नो, चिराइतोका बिरुवा चिनाए थापाले । त्यस्तै सतुवा, रत्ताजडी, कटुस, अबिस, नग्रेबिस र कालकुट विषका पोथ्रा पनि पटक–पटक देखाए उनले ।

हामी फर्किंदा एकै पटक त्रिवेणी भएर आएछौँ । त्यता घना वन थियो । उनले मलाई भोजपत्र, लोठ सल्लो, धुपी सल्लो, लेक सल्लो, निगालो, बाघबुट्टेका रुखहरु चिनाएथे ।

लेकमा मनै अचम्ममा पर्ने थुप्रै थुम्काका तह छन् । पाटनै पाटनको खात भने नि हुन्छ खप्तडलाई । थुम्कैथुम्का श्रृङ्खला भने नि हुन्छ खप्तडलाई । नदी नै नदीको गुजुल्टो भने नि हुन्छ खप्तडलाई ।

२२ पाटन, ५२ झोती (थुम्का) रहेछन् खप्तडमा । हामी अनौठा थुम्काहरु ओर्लेर तल झरेका थियौँ । त्यहीँ भेट भए हर्कबहादुर विष्ट ।
विष्टले बताए—
‘३६ दह छन् ।’
‘७० वटा नदी यहीँ बग्छन् ।
‘बाह्र वटा गुफा पनि पुग्न सकिन्छ यहीँ नै ।’ विष्टले हाते लट्ठीले चारै कुना देखाएर भने ।

खप्तड पाँच क्षेत्रमा बाँडिएको रहेछ । रहस्य, अचम्म र छक्क पर्छन् आँखा । त्यस्तै अनौठा र उदेक मानेर छातीमा नौलो कुतकुतीले लखेट्न छोड्दैन ।

त्यो राति झन् ठूलो असिना पानी बर्सियो । हावा र हुन्डरीले अकासमा थुप्रिएको असिना भुइँमा खसाले । राति अबेरसम्म असिना खसिरहे बरर्र बरर्र ।

०००

‘तपाईंहरु के गर्नु हुन्छ ?’
‘म चैं खप्तड बाबाको आश्रमतिर लागेँ है !’
तेस्रो दिनको बिहानै मैले ताउरमाउर देखाएँ ।

साथीहरु सकेसम्म गुजुल्टिएर टहराभित्रै बसिरहन्थे । बाहिर निस्किहाले आगो ताप्ने वा खोकिलामा हात घुसारेर लेकाली हावा खाइरहेका भेटिन्थे । त्यै भएर मैले आफूलाई लागेको कुरा भन्दिएँ ।

‘दाइ भीमलडी र भीमघट्टतिर जाने कि ?’ मोतीराज बम पल्लो कुनाबाट बोले ।

म जुत्ता कस्दै बाहिरिएँ । फेरि ढोकातिर मुन्टो छिराएर भनेँ— ‘म बाबाको आश्रम पुग्छु । जाने भए बेर नगर्नु ।’

तलतिरै अल्याङतल्याङ गरिरहेँ म । केही समयमा साथहिरु नि आए । अनि खोलाको तीरैतीर सेनाको छाउनीतिर लाग्यौँ । बाटामा सेनाका जवानहरु पाल, लट्ठा, चकटी र तन्ना बोकेर आइरहेका भेटिए ।

अघिल्लो दिनको असिना पानीमा धेरै जना तीर्थालु बेस्सरी चुटिएको त्यही सुनेँ मैले । कति त रातभरि निथाचूर्ण भिजेर एकलास जङ्गलमै बस्न पुगेका रहेछन् ।

बाटामा धाप, सिम र पोखरी खुबै भेटिए । थलथले टार नाघ्दै हामी गइरहेथ्यौँ । कति ठाउँमा घाँसे चौर मासिएथे । आँखा नछिचोलिने टारमा पानीका दह भेटिन्थे ।

‘हामी बाटो कसरी देखौँला भाइ ?’ मैले मोतीलाई भनेँ । हराइएला भन्दा पनि बेलामा आइएन भने बित्यास पर्ला । फेरि वन–वन भट्किएर हिँड्नु परे के गति होला ?

सेनाका जवानले आश्रम पुग्ने बाटो बताए पनि हामी अल्मलिइहाल्यौँ । फेरि पाटनमा घाँस, हिलो र दबदबे दहले सजिलै बाटो पहिल्याउन सकिन्न्थ्यो ।

उत्तर–पश्चिमको थुम्का ठाडै उक्लिन लाग्दा नाम्ला र डोका बोकेका दुई जना युवतीहरु भेटिए । मोतीले भाका मिलाए । ‘बाटो देखाउने भए हिँड !’
तिनले थोरै आनाकानी गरे । घर फर्किनु पर्ने, गहुँ काट्न जानु पर्ने, अलमल गरे असिनापानीमा पर्नुपर्ने कुरा बताए ।

‘बाटो देखाइ देऊ । बेलुका त्यस्तै परे यतै बस्नु । संसार अट्ने ठाउँमा तिमी दुई अट्न के गाह्रो ।’ बमले आत्मीयता पोखे ।

उनीहरु हामीलाई बाटो देखाउन थाले । जङ्गलको बाटो छ घरी उकालो, घरी तेर्छो । घरी ओरालो र घरी तेर्पे । रातभरिको पानीले गोरेटो चिप्लो न चिप्लो छ । बूढा, पुराना रुख ठाउँ–ठाउँमा लडेका छन् ।

पश्चिम र उत्तरको सेपिलो डाँडोलाई राम्रैसँग फन्को मारेपछि हामी माथि थुम्कामा पुग्यौँ । वरिपरि घना वन भए पनि आश्रम भए ठाउँमा खुल्ला टारजस्तो थियो । एउटा ठूलो घर अघिल्तिर हामी पुग्यौँ ।

‘यही हो खप्तड बाबाले ४२ वर्ष बसेको घर !’ काठैकाठको एक तले घर अघिल्तिर हामी पुग्दा आश्रम कुरुवाले बताए । रातो काठे बार थियो । बाहिरको वरण्डामा खप्तड बाबाको सालिक थियो । त्यहाँ मैले श्रद्धापूर्वक भाव चढाएँ, मन अर्पें र आफूलाई एक पटक बालक तुल्याएँ ।

सेतो कमेराले लिपेको घरमा माथि ढुङ्गाको छानो थियो । घर अघिल्तिर अनेकौँ फूलहरु सुवास छर्न आतुर देखिन्थे । अलिक दक्षिणतिर सम्म टार थियो । त्यहाँ हेलिकप्टर ओराल्न मिल्ने सङ्केत दिइएको थियो ।
‘वीरेन्द्र राजा आइरहन्थे !’
‘खप्तड भनेर चिनाएकै स्वामी र राजाले हो !’
‘अरुले खप्तडको नाममा आफूलाई बनाए, चिनाए !’ एक जना दाह्री र लट्टेवाल जोगीले भँडास पोखे । शायद हाम्रो हुलमा नेता वा ठालुको अनुहार कसैको हुँदो हो ।

आश्रम पुगेर झर्दा बाटो अर्कै परेछ । ओरालो र चिप्लो । निकै डराएर पाइला सार्नु पथ्र्यो । अलिक तल आएपछि अर्को कुटी पनि भेटियो ।

तीन–चार जना साधुहरु धुनी बालेर बसिरहेथे ।

‘यो एकलासमा के खान्छन् यी । न अन्नपात, न किन्ने ठाउँ छ ।’

‘यति पवित्र हावा । यस्तो चोखो पानी, यी शुद्ध वनस्पति । यति खाएर त दीर्घायु होइन्छ ।’ धुनी फुकिरहेका जोगीले मेरा कुरा सुनेर भरर्र बोले । मैले सुनेँ मात्र । जवाफ किलकिलेतिरै फर्काएँ ।

बाटाभरि खप्तड बाबाका अनेक किस्साहरु सम्झिएँ । विचार विज्ञान, धर्म विज्ञान जस्ता अमूल्य ग्रन्थका लेखक परमहंश सच्चिदानन्द स्वामीले यसै आश्रममा २००५ सालदेखि २०५३ सालसम्म अध्ययन, चिन्तन र मननमा समय लगाएथे ।

हामी ओरालो झरेर तल केदारधारानिर आइपुग्दा विष्ट टुप्लुकिए । तिनले सुकी दह, बुकी दह, खप्तड दह, फापर दह, खापर दह पुगे जाती हुने बताए ।

‘चुन्नुमुन्नु दह नि पुग्नु भएन ?’ विष्टले सोधी त हाले । सबै जिल्ल पर्‍यौं । मैले पनि मुन्टो हल्लाएर अरुसँग मिसिनु पर्‍यो ।
खोला तरेर पाटन आइपुग्दा हर्कबहादुरले दक्षिणतिरको अग्लो डाँडो देखाएर भने– ‘सहस्र लिंग यहाँको सबभन्दा अग्लो भूमि !’
‘होचो नि ?’ मैले सोधिहालेँ ।

‘चौखुट्टे !’ लट्ठी उचालेर उनले भने ।

यताउता गर्दै दिन बित्यो । मैले पश्चिमतिरका ‘छाना’ तिर गोठालासँग बझाङी बोली पनि टिप्न खोजेँ । तर एकदिने मेरो चेष्टा टिम्मुर खाएको जिब्रो जस्तो यताउता भइरह्यो ।

‘पानीले गोद्ला । असिना थुप्रेलान् टुप्पीभरि ।’ गोठालाहरुले सतक्र्याएपछि म धर्मशाला आएको थिएँ । नभन्दै साँझ पर्दा नपर्दै असिनापानी चम्किहाल्यो । हुन्डरी र स्याँठले हामी गुजुल्टो परिहाल्यौँ । चिसा ढुङ्गा र लेकाली फुइँकीले ज्यान तात्न घण्टौँ लाग्यो ।

राति भारी कस्दै गर्दा मोतीले सोधे– ‘दाइ, उज्यालोमा लाग्ने होइन र ? अहिले नै पो तयारी देख्छु त ?’

‘हो जाने त भोलि बिहानै हो । झिसमिसेमै बिदा हुनु छ ।’

असिनापानी थामिएपछि एकचोटि खप्तडलाई टहरा बाहिरबाट हेरेँ मैले ।

राति अकासमा ताराले निहुरेर यी थुम्कामा मायालु स्पर्श गरिरहेथे । बादल तल–तल ओर्लिएर तिख्खर माया पोखिरहेथे ।
खप्तडको चिसोले मेरो मुटुमा भर्‍यो पिरतीको तातो–तातो !

(नयाँघरे मदन पुरस्कार बिजेता लेखक हुन्)

तपाइँको प्रतिक्रिया

फेसबुक