सोमबार, मंसिर १३, २०७८

मान्छे चिनाउने घडी

बिराज आचार्य / लन्डन२०७८ असार १३ गते १२:१०

उनको कलेज एक हप्ते छुटटी थियो । मेरो’नि सोमबार छुटटीको दिन । राती डयूटि सकिएपछि फोन गरें । ‘सामान किन्नु थियाे, पैसा छैन’ भनिन । ‘हुन्छ नि त मैले नि नेपाल जाने भनेर पैसा पठाएकाे छैन । बैंक कार्ड घाेटाैंला नि’ भनें ।

भाेली पल्ट केएफसीमै खाने, छिटै भेटने भनेर छुट्तियौं । म सपिंग मल पुग्दा उनी पहिल्यै त्यहाँ पुगिसकेकी रैछन । भेटने बित्तिकै मैले अंकमल माग्दै हात फैलाएँ । उनी’नि सजिलै मेराे अंगालाेमा आइन् । अंगालाे कसाकस गरियाे । निकैबेर एक अर्काका ओंठ जाेडियाे । जाे यहाँ सामान्य जस्तै थियाे। केही बेरकाे माया साटासाटपछि मल भित्र छिर्‍यौं।

भरखरै स्टुडेन्ट भिशामा लन्डन आएकी थिइन । नेपालमैं किनेका कपडा जुत्तामा थिइन। जाडाेकाे माैसम थियाे । लन्डनकाे चिसाे । सिधै जारा पसलमा पसियाे । ज्याकेट किनियाे । खुटटामा हेरें । हिउँमा स्लीप खाने जुत्ता थियाे । माैसमले हिउँ देखाइरहेकाे थियाे । जुत्ता छानियाे।

मलभित्रका परफयूम पसलमा परफयूमदेखि स्टेसनरी पसलमा कापी कलमसम्म सबै किनियाे ।

मलकाे गेटैमा टिम्बरल्यान्डकाे साे रूम थियाे। ‘आहा कति राम्राे घडी बाइ’ भनिन ।

कुन चाहिँ मैले साेधें

‘उ त्याे क्या’ भन्दै जेन्स घडी देखाइन् ।

‘याे त जेन्स हाे नि’ मैले भनें । ‘हाे त नि । बाबालाइ पठाइ दिन मन लाछ। छाेरीले पठाकाे भनेर कति खुशी भएर लगाउनु हुन्थ्याे हाेला ? किन्दिस्याे न’ भनिन् ।

मैले उनकाे बाबाकाे खुशी भन्दा’नि उनी खुशी भएकाे हेर्न चाहें । मूल्य धेरै नै थियाे। त्याे भन्दा’नि अमूल्य कुरा उनकाे अँगालाेमा मेराे हात थियाे ।

किनमेल सकेर म्याक डाेनाल्ड पसियाे । खाजा खाएर सँगै उनकाेे डेरामा लगेर सामान छाडियाे ।

एक महिना पछि म घर जाने भएँ । फेरी सपिङ गइयाे । निहुँ मेराे थियाे । सपिङ सबै उनैकाे थियाे ।

उडनु अघिल्लाे दिन एउटा छुटटै पाेकाे लिएर आइन । ‘साथीकाे सामान’ भनिन् । सुटकेस भरी भयाे । तर सामान उनको । किनेकाे फेरी मैले नै थियाे ।

एक महिना नेपाल बसाइ पछि फर्किने दिन ।

एक महिने नेपाल बसाइपछि फर्किने अघिल्लाे दिन एउटाले ‘उनकाे सामान छ’ भनेर फाेन गर्‍याे । मैले भनेकाे ठाउँमा आयाे। ‘तपाइ नै हाे यूके जाने ?’ भनेर हात अगाडि सार्‍याेे । उसकाे हातमा उही लन्डनमा मैले उनकाे बाबालाइ किनी दिएकाे टिम्बरल्यान्डकाे घडी थियाे । ‘तपाइ उसकाे काे हाे नि ?’ भनेर साेधें । उसले फूर्ति साथ भन्याे ‘म उसकाे ब्वाइफ्रेण्ड’ ।

मैले मेराे पैसाकाे भन्दा’नि उनकाे बाबालाइ सम्झें । जन्म दिने, हुर्काएर लन्डनसम्म पुरयाइिदने बाबाकाे नाम बेच्ने उसकाे कालाे अनुहार सम्झें । लन्डन आएर सामान अर्कै मार्फत् पठाइदिएँ । बाबु आमाकाे नाम बेचेर खानेले हामी अन्यत्रीलाइ बाँकी राख्दैनन् । बुझें । अनि गायब भैदिएँ।

तपाइँको प्रतिक्रिया

फेसबुक