शनिबार, असोज ९, २०७८

पोथीको ढोका ढक्ढकाउन एकै दिन १४ भाले

ददि सापकोटा२०७८ असार १३ गते १३:४७

झिसमिसे उज्यालोमा उनीहरु जंगल पसे । दिनले टाउको उठाउन पाएकै थिएन । किनभने कुहिरोले घामको चमकलाई दबाईरहेकै थियो । चराहरु कतै कोप्चेरामा बसेर घामको न्यानो खोज्दै थिए । छ्याङ्ग उज्यालो कुर्दै थिए । तर एउटा लोखर्के झिसमिसेमै ज्यादै सक्रिय देखियो । बडेमानको रुखबाट खुरुरु तल ओर्लिँदै थियो ऊ । घुम्न निस्किएका मध्ये एक जनाले चोर औंलो ओंठमा टाँसेर देखायो ‘चुप्प्प्प्प्प्प्प्प्प्प्प्प्प्, एउटा अजिवको प्राणी सामुन्ने हुँदै छ ।’ सबै चुपचाप भए ।

रातो लोखर्के खुत्रुखुत्रु रुख मुन्तिर ओर्लिँदै गर्‍यो । जमिन छुने छुने बेला ठडिएको सानो सहायक हाँगामा पछिल्ला खुट्टा मात्रै टेकेर वरिपरि आँखा डुलायो । केहि छिनमा फुत्रुक्कै भूइँमा हामफाल्यो । सालका पातहरुमा खस्रङखस्रङ गर्दै दगुर्‍यो ।

चार पाँच वटा रुख कटेर ऊ खँगेरीको रुखमा खुरुरु चढ्यो । बल्ल थाह भयो, त्यहाँ पोथी लोखर्के बसेकि रैछे । बान्की परेका बाटुला आँखा । सिनित्त परेको नाक । झिम्म झिम्म गरेका परेला । खिरिला दुई हातले नमस्कार गरेझैं कुन्नी के टोक्दै थिई । उसका दाँत ट्याक्टरका फाली जस्ता थिए, एक नास मिलेका । टम्म टम्म टाँस्सिएका । भरिला उस्तै । टाउको हल्लाउँदै थिई ऊ । दायाँबायाँ टाउको बटारी । यताबाट दुगुर्दै गरेको लोखर्के पुग्यो । दुबैले सम्मुख गरे । फुर्र परेका पुच्छर फरर फिँजाए । उनीहरु चुपचाप एक टकले हेरिरहेका थिए ।

केहि बेर हाँगाहाँगै दगुरी ऊ । सालको रुखबाट हुरुरु दगुर्दै गएको भाले रहेछ । केहि हाँगामा ऊ कुदेको कुद्यै गरी । भालेले छोडेन ! पिछा लागेको लाग्यै गर्‍यो ।

उनीहरु अचम्ममा परे, किन यति प्रफुल्लित छे त्यो पोथी । भाले उसको ढोका ढक्ढकाउन आएको रहेछ । जति धेरै भालेहरु उसको ढोका ढक्ढकाउन आउँछन् पोथी लोखर्के उति प्रफुल्ल हुने रहिछे । यो प्रफुल्लतासित तिनको जिनको कुनै संवन्धपनि छैन ।

केहिबेर मुख जोडाजोड गरे । भालेले नाक चाटिदियो । एकछिन दुगुरे हाँगाहाँगै । पोथीले भालेसित सहमति गरिछे । तिनको रामलिला शुरु भयो । भालेले आफ्नो रोमान्चकता, त्रिप्ती पुरा गर्‍यो केहि पटक । ऊ रुखबाट फुत्रुक्क ओर्लियो । आफ्नो बाटो लाग्यो ।

फेरि अर्को लोखर्के उसैगरि खुरुरु रुख चढ्यो । उहि पोथीकहाँ पुग्यो । तिनको प्रेमको रौनक उसैगरि शुरु भयो । उनीहरु रुखको सिँयाल परेर हेरिरहेका छन् । एक पछि अर्को गर्दै भालेहरु आइरहे । केहिबेर खेले । मुसारे । छिनभरमा उसैगरि आफ्नो यौनको त्रिप्ती पुरा गर्दै ओर्लिँदै गरे ।

यो अचम्म लाग्दो । एउटै पोथीले यति धेरै भाले कसरि धान्न सकेकी ! उसले नाईनास्ति गरेकिपनि छैन । बरु जति वटा भाले आए ति सबैसित ऊ प्रफुल्ल देखिन्छे । हामी मात्रै अचम्मित भएको त होइन रहेछ । सारा बैज्ञनिक जगतनै पो अचम्मित पर्दो रहेछ । पोथी लोखर्केहरूले यति धेरै पुरुषहरूसँग उपलब्ध हुने चर्तिकला देखेर ।

Image credit- imgur.com

पोथीहरु भेट्टाएजति, आएजति भालेसित संसर्ग गर्न माहिर हुँदा रहेछन् । महिलाको अनुहार सुन्दर देखेर मात्रैपनि भालेहरु यतिबिघ्न मरिहत्ते गरेका होइन रहेछन् । यो त उनीहरुकोलागि अवशर पो रहेछ । यसले उनीहरुको विकासको क्षमतालाई सिमित गर्दो रहेछ ।

युनिभर्सिटी अफ गुएल्फका अन्वेषकहरूले अन्ततः पत्ता लगाए, किन महिला लोखर्केहरू यति विचित्र हुन्छन् । यिनीहरु बाहिर भाले खोज्दै हिँड्नु जीनसँग केहि सरोकार छैन । “उनीहरूको व्यवहार अवसरबाट अत्यधिक प्रभावित हुन्छ” जिवजन्तुका विषयमा स्नातक विद्यार्थी एरिन म्याकफार्लेन भन्छन् ।

पुरुषहरुसित संभोग गर्ने मामिलामा महिला लोखर्केहरु कम छनौटपूर्ण हुन्छन् । अर्थात् कुन भाले सुन्दर छ । कुन बलियो छ भन्ने उति ख्याल गर्दैनन् । बरु उनीहरुले जति धेरै ‘सेक्स सुटर’ भेट्टायो उतिसित संभोग गर्छन् । प्राय: सकेसम्म धेरै सूटरहरूसित मनोरन्जन गर्न रुचाउँछन् । यस्तो जोखिमपूर्ण महिला व्यवहार स्तनपायी संसारमा छक्क पर्ने खालको छ ।

यद्यपि पुरुष लोखर्केहरूले सकेसम्म धेरै सन्तान जन्माउनको लागि सकेसम्म धेरै जीवनसाथीहरू राख्नु अर्थपूर्ण कुरो हो’ अनुसन्धानकर्मी म्याक्फार्लेनले बायोलोजी लेटर्समा भनेकि छन् ।

“धेरै पोथीसित संभोगमा साझेदार हुनु भनेको संभोगमा बढी ऊर्जा खर्च गर्नु हो । संभोगका बेला मस्ति गर्दा सिकारीहरूको ताकेता, पहुँचमा पर्नु, जिवन जोखिम बढ्नुका साथै यौनजन्य रोगहरूको प्रसारको सम्भाव्यता बढाउनु हो” उनी भन्छिन् ।

उनको भनाईमा पुरुषलाई संभोगकालागि सहमति दिएपनि भाले लोखर्केहरूले उनीहरूलाई यौन सम्बन्ध राख्न बाध्य पार्ने उत्पीडनलाई प्रोत्साहित गर्छ ।

पोथीहरुलाई भालेले बेला बेला सताउने, बाध्य पार्ने यस विषयलाई सुल्झाउने प्रयास गर्दा धेरै पुरुषहरूसँग संभोग गर्ने सम्भावित फाइदाहरूका बारे अनुसन्धान गर्न वैज्ञानिकहरुलाई प्रेरित गरेको छ । यस्तो व्यवहार गर्न किन प्रोत्साहित गर्छ त ? अनुवंशिक आधार छ भने मात्र यस्तो निकट संभोग रणनीतिहरू विकास गर्न सक्दछ ।

तर गुएल्फ टीमले पत्ता लगायो, महिला लोखर्केहरुको व्यवहार अवसर लिनकालागि मात्र हो । अनुवंशिकीबाट प्रभावित होइन । यो ब्यवहारले यसको विकासको क्षमतालाई सीमित गरेको भनाई अनुसन्धानकर्मीहरुको छ ।

उनीहरुले जंगलको कुनै एक क्षेत्रमा धेरै भालेहरू भेट्न चासो लिने पोथीहरुको अवलोकन गर्न खोजे । सकेसम्म धेरै भालेको चासो समेट्न खोजेका थिए । रातो रङका लोखर्केमा संभोगको व्यवहार र अनुवंशिकता बीच कुनै बलियो सम्बन्ध नभएको उनीहरुले पत्ता लगाए । तसर्थ धेरै पुरुषहरूसँगको संभोगको लागतले फाइदाहरू खासै देखिँदैनन् । उनीहरूको लागि निम्न स्तरको विकासको लागिपनि धेरै क्षमता देखिँदैन।

अन्वेषकहरूले १०८ पोथी लोखर्के सहितको १०० पटकको संभोग प्रक्रियालाई पीछा गरेको तथ्यांक विश्लेषण गरे । अन्वेषकहरू जेफ लेन र रायन टेलरले क्लुएन रेड स्क्वायरल प्रोजेक्टको हिस्साको रूपमा तथ्यांक संकलन गरेका थिए । उनीहरुले क्यानडाको हिमाली क्षेत्र यूकोनमा दीर्घकालीन क्षेत्र प्रयोग र खाद्य प्रशस्तताको महत्त्वको पर्यावरणीय क्षेत्र हेर्नु थियो । र त्यहाँ रातो लोखर्के (रेड स्क्वारेल) को विकासको लागि अनुसन्धान गर्नुथियो । सन् १९८७ देखि शुरु भएको यो परियोजनामा उनीहरुले सात हजार वटा लोखर्केका प्रजनन र संभोगका क्रियाकलाप नियालेका छन् ।

अनुसन्धनाकर्मीहरुले आफ्नो तथ्यंकलाई विश्लेषण गरे । त्यसपछि, म्याकफार्लेन र म्याकएडमले पोथी लोखर्केहरुले एकदेखि १४ वटा भालेसित यौन सम्बन्ध राखेको पत्ता लगाए । अचम्म के भने तिनबाट जन्मिने बच्चाहरुले यहि बानी, जिन लिन्छन् वा आमाकै सिको गर्छन् भन्ने विश्वसनीय आधार देखिएन ।

“एउटा भालेसित मात्रै संभोग गर्ने पोथीले जन्माएको बच्चा हुर्किएपछि धेरै भालेसित संभोग गर्नपनि सक्छे” म्याकएडम भन्छिन् “थोरै भालेसित संभोग गर्ने माउबाट जन्मेका बच्चाले त्यहि बानी लिन्छन् वा त्यहि झुकाव बच्चामा हुन्छ भन्ने देखिँदैन ।”

रातो रङको पोथी लोखर्केहरु वर्षमा एक पटक मात्रै यौनाकांक्षामा जान्छन् । अर्थात् तिनमा वर्षको एक याम (केहि समय, दिन) कालागि मात्रै यौनाकांक्षा जाग्रित हुन्छ । र तिनले तिन वा चार वटा बच्चा जन्माउने गरि बिज निकाल्छन् । जब पोथी यौनाकांक्षाले प्रेरित हुन्छे उसले भालेहरुको संभावित क्षेत्रमा एक खाले कामुक वासना छरिदिदिएर भालेहरुलाई संकेत दिन्छे । इच्क्षुक भालेको ध्यान तान्न पोथी भालेको वरिपरि दगुर्न थाल्छे ।

उसले यौनाकांक्षाको संकेत दिएपछि एक होस् वा केहि भाले सबैलाई स्वागत गर्छे । आफ्नो वासस्थान वा गूँडमा भालेहरु कुरेर बस्छे । जति भाले आउँछन् कुनैलाई नाईनास्ति गर्दिन । बरु ति सबैसित संभोग गर्छे । उसको दैलोको ढोका खोल्ने भालेहरुको एक पछि अर्को ताँती लाग्छ । पोथीले ति सबैको यौनाकांक्षा पुरा गरिदिन्छे ।

“वास्तविकता के हो भने जीवहरू सधैं वातावरणमा राम्रोसँग अनुकूल हुन सक्छन् भन्ने छैन” म्याकएडम बायोलोजी लेटर्समा भन्छिन् “कहिलेकाँही जीवहरूले यस्ता कामहरू गर्दछन् जुन उनीहरूको अस्तित्वबाट विचलित हुन्छन् । किनकि तिनीहरू राम्रो विकल्पको विकास गर्न सक्षम हुँदैनन् ।”

(ददि सापकोटाको वनको वैभव पुस्तक केहि समय अघि मात्रै सार्वजनिक भएको छ । उक्त पुस्तकमा जिवजन्तुका माया, प्रेम, स्नेह, बिछोड लगायत समग्रमा जिवजन्तुका मनदेखि यौनसम्मका विषय समेटिएका छन्)

तपाइँको प्रतिक्रिया

फेसबुक