बिहीबार, साउन २१, २०७८

मैले पाएका तीन खजाना

रन्जु पाण्डे२०७८ असार १७ गते २३:०३

नेपाली साहित्यमा बौद्धिक साधुको रुपमा चिनिने प्रा. डा. गोविन्दराज भट्टराईको शिलाङ, तेजपुर, गुवाहाटीयात्रा सम्बन्धि धारावाहिक निबन्धको नियमित पाठक हुँ म । प्रत्येक शनिबार नेपालप्लस जस्तो चर्चित बिधुतीय पत्रीकामा प्रकाशन हुँदै आएको उहाँको सबै लेखले मलाई भित्रैदेखि हल्लाएर छोड्छ । लेखको १२ औं खण्ड( https://www.nepalplus.com/2021/06/7606.html ) ले भने मलाई विशेष छोएको छ र त्यहाँ मैले पाएका ३ खजाना—-

१- विशाल कोठा (जसलाई मैले ब्रम्हाण्ड देखेँ) मा आफ्नो भनी ल्याएको र लिएर जाने सामानको प्याकिङ (शरीर) त्यसैमा आफू अटाउनु छ । मैलिएका लुगा (कुण्ठा चिन्ता) उता, सफा लुगा (प्रसन्नता, खुसी) यता । राति नसुती नसुती लेखेको पचासौ पृष्ठ भरिएको डायरी (ज्ञान) यो हराउनु हुन्न । यही त हो जीवन यात्राको सारतत्व । बाटामा पढौंला भनी सोचेको पुस्तक (समाज), गोजीसंख्या (सम्बन्ध) को पनि सम्झना गर्नुपर्यो । र छुटाउनै नसकिने टिकट (मृत्यु) को होश नरहे त के होला ? हो, यो यात्रामा धेरै कुरा छन् सोच विचार पुर्याउनु पर्ने ।

लेखक भन्नुहुन्छ, “चल्ने नचल्ने सामानको स्तर छुट्याएर, आवश्यकताअनुसार प्याकिङ गर्नुपर्यो ।” वास्तबमा स-साना कुराको ठूलो महत्व रहन्छ जीवनमा त्यो नछुटोस । फेरि उहाँ भन्नुहुन्छ “मौसम अनुकुलका वस्त्र धारण गर्नु र बाटामा मौसम परिवर्तन हुनासाथ फेर्नुपर्ने लुगालाई भेटिने गरी राख्नु” यसैगरी यात्रामा आफूलाई तयार गरिरहनुपर्छ यो परिवर्तनशील संसारमा समयसँगै आफूलाई ढाल्न ।

डा. भट्टराईकै आशयमा बुझ्दा वास्तवमा यहाँ ठूलो हलचल हुन्छ जन्मिएपछि यात्रा गर्ने तयारीमा जीवनको हरेक मोडमा । यात्रा गरिरहँदा गन्तव्यमा पुग्ने अन्योलता, तनावमा मनभित्र आँधी चलिरहन्छ र अन्ततोगत्वा जाने निश्चित गरेर झोला प्याक गरिसकेपछि भने त्यो अन्योलता रहन्न । डा। भट्टराईको यो खण्डको प्रारम्भमा नियात्रा भित्रको यात्रालाई अध्यात्मको चश्मा लगाएर पढदा मैले यसरी बुझें कि जन्मैदेखि नमरुन्जेलसम्मको यात्रा र सँङै लैजानुपर्ने झिटीझाम्टी ।

२- जीवनको यो लामो यात्रामा बनाइएका यावत सम्बन्धलाई मजबुत पार्न कहिलेकाहीँ आफू परनिर्भर छु भनेर देखाइदिनु पर्दोरहेछ ‘तिमी हुनुको अर्थ छ मेरो जीवनमा’ भन्ने एहसास दोस्रो व्यक्तिलाई पार्नुले थाहा नपाईकनै हामी खुसी बाँडिरहेका हुँदारहेछौँ एकअर्कालाई । आफ्नो लेखको दोस्रो हरफमा लेखक यिनै कुरालाई आफूले मनन गरेको बताउँनुहुन्छ । ” …सेवा र अन्जनालाई लाग्छ म अलमलिएर लस्ट हुन्छु होला । उनीहरुले छुट्टिने रात कति सम्झाए मानौं एउटा बालकलाई भन्दैछन् ….मेरो होसियारी मलाई थाहा छ कति हिडिसकेँ । तर पनि मलाई सम्झाउन पाउँदा उनीहरुलाई आनन्द लाग्छ । त्यसैले म पनि चुप लागेर बसें ।”

एक्लै कति सचेत हुनुपर्छ आफुलाई थाहा हुँदाहुँदै सम्बन्धमा प्रगाढता ल्याउन यस्तो देखावटी निर्भरताले पनि जीवनको यात्रामा ठूलो भूमिका खेल्ने गरेको हुन्छ । वहाँले जस्तै मैले पनि आफ्नो जीवनमा यस्तो व्यबहार धेरै पटक निर्वाह गरेकी छु । वास्तवमै स्वावलम्बी हुँदाहुँदै पनि परावलम्बी देखिनुको आनन्द बेग्लै हुँदोरहेछ जहाँ न कुनै हीनताबोध हुन्छ न त अस्वस्थकर अहम् नै । सम्बन्धलाई ‘रिन्यु’ गर्ने क्रममा यो दर्ता चलानी सरह रहेछ । त्यसैले डा. भट्टराईले यो सूक्ष्म तर गहन विषयलाई पनि यहाँ चर्चा गर्नुभएको जस्तो मलाई लाग्यो ।

३- यी त भए यात्रा वर्णन । निबन्धको प्रत्येक खण्डमा उहाँले यस्ता कुराकानीसँगै चौतारीमा बिसाउँदै गरेका केही महत्वपूर्ण संवाद प्रस्तुतिलाई बीच बीचमा उल्लेख गर्नु भएको हुन्छ । यस खण्डमा भने बहुभाषी साहित्य समाजको आवश्यकताबारे उहाँको अत्यन्त सारगर्भित बिचार हामी सुन्न पाउँछौ । नेपालमा बहुभाषिक साहित्य समाजको स्थापना गरी त्यसको प्रथम सम्मेलन सम्पन्न गरेको अनुभव सँगाल्दै हिंडनु भएको डा. भट्टराई सँगै महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०४ औँ जन्मजयन्तीको उपलक्ष्यमा आयोजित बहुभाषिक कविता गोष्ठीमा आफूले शिलाङमा प्रस्तुत गरेको कार्यपत्र “बहुभाषिकता र सिर्जनात्मकताको सैद्धान्तिक आधार एवं नेपालको सन्दर्भ”- विषयक उहाँको प्रस्तुति लेखनले बहुभाषिकताले संस्कृतिको ज्ञान बढ्छ र त्यसलाई बुझेर आफूभित्रको सृजनालाई कसरी प्रस्तुत गर्न सकिन्छ भन्ने कुरातिर मेरो ध्यानाकर्षित गरायो ।

‘बहुभाषी देशमा अहिले आएर गौण रहेका भाषाले पनि पहिचान खोज्नुलाई आफ्नो अधिकार त माने तर त्यसलाई जोगाई राख्न साहित्य सिर्जना एउटा सबल मार्ग हो जुन भने अधिकार होइन’ भनी डा. भट्टराई भन्नुहुन्छ । खोजेर नपाइने बरु अभिव्यक्त गर्ने क्षमता बढाउँदै गए पाइने यो सृजनात्मक कला भने फेरि बहुभाषिक ज्ञानले नै दिन्छ । राजनीति, समाजशास्त्र, मनोविज्ञान अटाएको बहुभाषिकतामा कला र सिर्जना विभिन्न तवरले जोडिएर आउने कुरामा उहाँ विश्वस्त हुनुहुन्छ ।

बहुभाषिक सृजनात्मकताको बारेमा आफ्नो यस प्रस्तुतिलाई उहाँले मुक्तान्त (open-ended)  प्रस्तावना

बताउनु भएअनुसार मलाई आफ्नै स्तरको जिज्ञासा बढ्यो र यो लेख पढे पश्चात् मैले अन्तर्जातीय विवाह गरेकी मेरी भतिजीलाई फोन गरेँ । र उनलाई सोधें कि “क्षेत्रीबाट नेवार समुदायमा सम्बन्ध जोडिसकेपछी त्यसको भाषा र संस्कृतिलाई के-कति बुझ्ने प्रयास आफू अनि आफ्नी छोरीलाई गराइरहेकी छौ त ?”

जवाफमा उनले भनिन् ” छोरीले मेरो मातृभाषा नेपाली बोल्छे । तर नेवारी भाषा बोल्न आउन्न । ” म फेरि आफ्नो जिज्ञासा राख्छु र सोद्छु “अनि तिमीले ?” “म नेवारी भाषामा कुरा गरेको अलिअलि बुझ्छु तर फर्काउन सक्दिन । तैपनि मलाई नेवारी भाषा सिकौं सिकौं भन्ने कहिले पनि लागेन ।”

उनीसँगको यस्तो संवाद पश्चात मैले सोचेँ कि बोनसको तवरमा पाइएको फरक परिवेश, भाषा अनि संस्कृतिमा हुर्किरहेकी १३ वर्षकी उनकी छोरीलाई नेवारी भाषा बोल्न सिकाइएको छैन । यदि उनी कीर्तिपुर, भक्तपुर गइन् र त्यहाँको संस्कृति र इतिहास बोकेर बसेका यस्तो समुदाय जहाँ रहेका केही वृद्धवृद्धा नेपाली भाषा पटक्कै बोल्न जान्दैनन् । उनीहरुलाई भेटेर यो पुस्ता कि उनले समाजशास्त्र कसरी पढ्लिन ? उनी जस्ता केटाकेटीको अभिभावकलाई यो कुरा बुझाउन सके उनीहरु भित्रको सिर्जनशीलता मज्जाले फुट्न मद्दत पुग्ने थियो भन्ने थुप्रै उदाहरण यो लेखमा भेट्न सकिन्छ ।

उनीसँगको फोन संवाद पश्चात् यस्सो बरण्डामा टहल्दा पो हेक्का भयो कि आफ्नो घरसँगै टाँस्सिएको तामाङको घरमा उनीहरुले बोल्ने भाषा मैले कहिल्यै जान्नुपर्छ भन्ने सोचिनछु र त म उनीहरूको संस्कृतीबारेमा सधैं अनभिज्ञ रहेँ जस्तो लाग्यो । यदि नोकरी गर्न, पैसा कमाउन, विदेश गई पढ्न त्यो जरुरी भएको भए मैले अवश्य सिकीसक्थेँ जसरी अहिले जापानी, चाइनिज, फ्रेन्च, जर्मनी भाषा सिक्नेको भिड शहरका गल्लीगल्लीमा देखिन्छ ।

यो त एउटा दृष्टान्त मात्र हो यस्ता थुप्रै उदाहरणहरु बहुभाषाले धनी हाम्रो देश समाजमा देख्न सकिने आँखिझ्याल हामी डा. भट्टराईको यस खण्ड लेखमा पाउँछौं । यद्यपि हिजोआजको शिक्षित समाज न्युनतम दुई भाषिक त हुँदैछ । अंग्रेजी भाषा सिक्न बाध्य गराएर हाम्रो समाजले आफ्नै भाषाको प्राण लिँदै गरेको गुनासो डा. भट्टराई गर्नुहुन्छ । देशमा मात्र नभई विदेशमा पनि प्रवासी मातापितालाई आफ्नो मातृभाषा परित्याग गर्नाले आफ्नो सन्तानको अंग्रेजी राम्रो हुन्छ भन्ने कुरा सिकाइदै गरेकोमा उहाँ दुख ब्यक्त गर्नु हुन्छ ।

यो प्रसङ्गले मलाई झस्याङ्ग सम्झायो कि प्रत्येक वाक्यांश अघि र पछि “लाइक” र ” आइ मीन ” नभनी बोल्नै नजान्ने छिमेककी छोरीलाई आफ्नो मोबाइल नम्बर टिप्न अनुरोध गर्दा उनी सोध्छिन् “आन्टी अन्ठानब्बे एकचालिस भनेको कति हो ? ” मैले बाध्य भएर भन्नुपर्यो ” नानी त्यो भनेको नाइन एट फोर वन”

आज अधिकांश युवा जमात आफूलाई नेपाली लेख्न आउन्न भन्ने कुरा गर्न हिचकिचाउन्न । तर नबोली नहुने ठाउँमा कसैले अंग्रेजी बोले त्यसको भावमा नगइ व्याकरणमा खोट निकाल्न थाल्छन् । र उनीहरु हीनताबोध महसुस गर्छन । त्यसैले आज बिदेशमा मात्र होइन स्वदेशमा पनि आमाबाबु आफ्ना छोराछोरीले आफैले नबुझ्ने अंग्रेजी ‘पटट’ बोलेको सुन्न लालयित छन ।

डा. भट्टराईको आशय छ – भाषा ज्ञानको बिस्तार आफ्नो अस्तित्व मेटाउनको लागि नभई आफ्नो सिर्जनात्मक क्षमता बढाउनको लागि हुनु जरुरी छ। त्यसैले उहाँ आफ्नो प्रस्तुतिमा उल्लेख गर्दै एउटा राम्रो व्यवहारको उदाहरण यसरी दिनुहुन्छ, “विगत धेरै वर्षदेखि क्यानडामा बस्ने डाक्टर गोविन्दसिंह रावतले आफूले पठाउने इमेलपत्रको पुछारमा आफ्नो ठेगानासँगै एउटा वाक्य लेख्ने गरेका छन् ‘घरमा सन्तानसित सधैँभरी नेपालीमा बोल्ने बानी बसालौँ । भाषा रहे हामी रहन्छौं हाम्रो अस्तित्व रहन्छ ।”

नेपाली साहित्यका अग्रदूत मोतीराम भट्ट, महाकवि देवकोटा, पुर्बेली विद्वान हेमचन्द्र पोखरेल, महापण्डित राहुल सांङ्कृत्यायन जस्ता साहित्यिक रत्नहरु जन्मनुमा उनीहरूको बहुभाषिक विलक्षणता कारण हुन सक्ने निर्क्योल रहेको सन्देश दिनु हुने डा. भट्टराईको यस प्रस्तुतिको निष्कर्ष मेरो लघु बुझाइमा यति नै रह्यो कि एकअर्कामा अन्योन्याश्रित बहुभाषिकता र सृजनशीलता सम्बन्धी गहिरो विश्लेषण गरिएको यो लेख आफैंमा एउटा महासागर हो । जतिजति यो लेखको गहिराईमा जान सक्यो उति नै सिपी अनि शंख भेटिने छन् ।

रन्जु पाण्डेका अघिल्ला लेखपनि हेर्ने की ?

गोधुली साँझमा देखिएको एउटा अनुहार

४६ वर्षअघिको ‘मुगलान’ तिर आज

तपाइँको प्रतिक्रिया

फेसबुक