बिहीबार, वैशाख १३, २०८१

शनिवार- साहित्य / सृजना / नियात्रा

शिलाङका स्रष्टा कृष्णप्रसाद ज्ञवालीको घरमा एक रात

डा. गोबिन्द राज भट्टराई२०७८ असार १९ गते १६:३३

(शिलाङ, तेजपुर, गुवाहाटी यात्रा : काठमाडौंदेखि एनजेपीको पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, दोस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  तेस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  चौथो भाग हेर्न यहाँ क्लिक गर्नुहोला, पाँचौं भागकालागि यहाँ क्लिक गर्नुहोला र छैठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, सातौं भागकालागि यहाँ क्लिक गर्नुहोला, आठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, नवौं भाग हेर्न यहाँ क्लिक गर्नुहोला र १० औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, ११ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १२ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १३ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोस् )

देवकोटा जयन्ती सम्पन्न भइसकेपछि हामीले शिलाङका विविध व्यक्तित्वसँग भेट गर्‍यौँ । वार्ता गर्‍यौँ । तस्बीर खिच्यौँ र बिदा भयौँ । मलाई लिन सलील ज्ञवालीका सुपुत्र सारङ्ग उपस्थित थिए । हामी हिँड्दैहिँड्दै झालुपाडास्थित ज्ञवाली निवास पुग्यौँ । बहिनी गंगाले स्वागत गर्नुभयो । सलीलभ्राता शरद पनि आउनुभयो । सलील भाइ भने दिल्ली पुगेका थिए । शरद भाइसित एक छिन वार्ता गर्‍यौँ । कृष्णप्रसाद ज्ञवालीका सुपुत्रहरू र उनीहरूको परिवारसँग हुने भेटघाटको ऐतिहासिक महत्व छ । यो उनै कृष्णप्रसाद ज्ञवालीको घर हो जसका दुईवटा निबन्ध अनुवाद गर्ने मलाई अवसर प्राप्त भएको थियो । ती निबन्ध हुन् ‘परेवाको कलरव र पिपलको छाहारी’ । (ती निबन्ध जीवा लामिछानेद्वारा प्रकाशित सेलेक्टेड नेपाली एसेजमा संकलित छन्) ।

यसपालि त भर्खरै (सन् २०१३ मा) उनै कृष्णप्रसाद ज्ञवालीबारे साहित्य अकादमीले भारतीय साहित्यका निर्माता सिरिज अन्तर्गत एक पुस्तक प्रकाशित गरेको छ । यो देखेर मलाई बडो हर्ष र गौरव लाग्यो । त्यसो त अकादमीले यस्तो सिरिज अन्तर्गत काशीबहादुर श्रेष्ठ, शिवकुमार राई, लीलबहादुर क्षत्री, मास्टर मित्रसेन लगायतका भारतीय नेपाली प्रतिभालाई साहित्य स्रष्टाका रूपमा गरेको सम्मान सानो होइन । यसबाट हामी सबैतिरका नेपालीभाषीहरू गौरवान्वित छौँ । मैले तत्कालै पढेँ— नरबहादुर राईकृत ७२ पृष्ठको पुस्तक भारतीय साहित्यका निर्माता कृष्णप्रसाद ज्ञवालीको आवरण पृष्ठमा गम्भीर मुद्रामा बसेका छन् । उनी पनि गोपीनारायण प्रधानजस्तै दौरासुरुवाल लगाएका पातलो अनुहार र चस्मा लगाएका उमेरदार कृष्णप्रसादको तस्बीरमा त्यहाँ देखिन्छन् ।

कृष्णप्रसाद ज्ञवाली भारतीय साहित्यका निर्मातामध्ये पहिलो पुस्ताका नेपाली हुन् । पहिलो पुस्ताकाहरूको सिर्जनामा अगमसिंह गिरीझैँ, वीरेन्द्रझैँ यता मूलभूमि नेपालको पनि स्मृति संवेदना देख्न पाइन्छ । एक प्रकारको गृहविरह (नोस्टाल्जिया) ले आतुर पुस्ता दुवैै भूमिमा आफ्नो जीवन टाँगेर बसेजस्ता लाग्दछन् । आजको कुरा त्यस्तो छैन । भारतीय नेपालीले आफ्नो जन्मभूमिमा गरेका योगदानबारेमा तीप्रतिको श्रद्धा र प्रेमले अभिभूत भई लेखे–बोलेका छन् ।

सलील ज्ञवालीको ग्रेट माइन्डस् अन् इन्डिया हेरौँ । उनी भारतभूमि र भारतमाताप्रति समर्पित छन् । अझ गीता उपाध्यायको ‘मेरो जन्मभूमि मेरो देश’ पढेपछि २०० वर्षयता त्यस भूमिको आराधनामा बितेका नेपाली (गोर्खाली) को आत्मा थाहा पाइन्छ । यता सिक्किम र दार्जिलिङको कुरा अझ गहिरो छ— उनीहरू अझ आफ्नो भूमिसहितै त्यता पुगेका हुन् । यस्तो भावना र परिस्थितिको अर्थ बुझाउन अगमसिंह गिरीको नौलाखे तारा उदाए अथवा वीरेन्द्रको नेपाल आमासित पढ्दा हुन्छ ।

यसै प्रसङ्गमा शिलाङका कृष्णप्रसाद ज्ञवाली विरचित एक अमर रचना काली गण्डकीको तीरमा यहाँ प्रस्तुत गर्न चाहन्छु—

बग्छ्यौ सल्ल हिमालबाट हिउँको पानी समेटीकन,
घुम्दै आउँदछ्यौ रमाइ रिडिमा के खोज्नलाई भन ?
सानै थेँ जब लौ म त्यो बखतमा यै बालुवामा बसी,
हेर्थें विस्मयसाथ भेल जलको ल्याएर नौलो खुसी ।।

आमाले जब सुस्त न्वाउन भनी पक्रेर यी पाखुरा,
लैजाँदा म डराउँथें अरू कती बिर्सें बितेका कुरा ।
आएँ लौ परदेशबाट घरमा बर्सौं बिताई जब
आजै ज्ञात भयो मलाई रिडिको हुत्याइछौ वैभव ।।

सारा झन्झट त्यागि फेरि घरको बिर्सेर माया पनि,
यौटै लक्ष्य लिएर तीर्थ–व्रतमा ज्यानै दिने भक्तिनी ।
ती सारा भइ निःसहाय यहिँ नै गर्दै खडा झोपडी,
कालीकै जल नित्य आच्मन गरी बस्थे बरा हर्घडी ।।

यिन्का यी कुटुरा र बत्ति बुकुरा जम्मै बगाईदियौ,
त्यो बेला किन उग्र रूप तिमिले देखाउँदै जिस्कियौ ?
उठ्दैनन् प्रतिशोध निम्ति बिचरा बन्लान् बरू व्याकुल,
दैवी कोप भनी बुझाइ मन ती बस्छन् यहीं निश्चय ।।

जोगी नित्य धुनी जगाइ तिरमा सानन्द बस्थे यतै,
तिन्को सञ्चित त्यो खरानि र मुढा, चिम्टा लगीछौ कतै ।
छैनन्, देख्तिनँ आज फेरि किन हो तिम्रो किनारामहाँ,
चिल्ला पत्थर ती जहाँ म उहिल्यै बस्थें, गए हुन् कहाँ ?

टाढाबाट हिँडेर आइ बटुवा चौतारिमा पुग्दथे,
चूह्लो लाइ पकाइ–खाइ रुखको यै आडमा बस्दथे ।
साझा ती सबका थिए नि सरिते, व्यर्थै जरा सब् खन्यौ,
पल्टायौ किन वृक्ष त्यो दिन तिमी या कालिका नै बन्यौ ।।

पल्टेछन् बहुतै उँचा घर जहाँ आराम गर्थे धनी,
पौवा–पाटि र ठाँटिको त अहिले अस्तित्व नै छैन नि !
भत्केछन् मठ ती कला उ जुगको साक्षी थियो मेटियो,
साना ती टहरा त के गरि बचुन् त्यो पाठशालै गयो ।।

साहूको रिन तिर्न आउँछ कुनै झुक्किन्छ आसामि त्यो,
ल्याएको दुई पात्रको दुध–दही उस्को घरै फर्कियो ।
उस्ले देख्दछ साहुको घरनिरै नाङ्गा निकै प्रस्तर,
आखीरी गति यै रहेछ सबको भन्दै गयो पल्तिर ।।

बाजे फेरि बराज्युका सब जले यै जल्नु मेरै पिता,
हेर्छू आज टुलूटुलू म यसरी जल्दो कसैको चिता ।
मेरो जीवन–दीप पिल्पिल हुँदा घस्री यसै आउँला,
पक्कै अन्तिम वास बस्न यहिं नै काली म के पाउँला ?

त्यो रात आफ्नै घर पुगेको जस्तो भएँ । परन्तु शिलाङ घुम्ने, हेर्ने र डुल्ने समय निकाल्न नसकी फर्किने मानसिकता लिएर म सुतेँ । एउटा सिरकले पनि वश गर्न नसक्ला जस्तो जाडो थियो । तर रात थकाइ र आनन्दले होला बेहोस जस्तो भई बिताएँ ।

११ नोभेम्बर २०१३

बिहानै उठेर गंगा बहिनीले मेरा निमित्त तयार पार्नुभएको रोटी, साग र दूध सेवन गरेँ । अनि बिदा मागेर सारङ्ग बाबु र म पुलिसबजार लाग्यौँ । निकै टाढा रहेछ । झालुपाडाबाट ट्याक्सी पव्क्रेर पुलिसबजार पुग्यौँ । ससाना गाडी र ट्याक्सीहरू प्रतीक्षामा थिए । परन्तु चिसोले गर्दा होला यात्रीहरू जम्मा भएका थिएनन् । गुवाहाटी आउन हतारिएका विक्रम तिम्सिना र एक बंगाली भाइ प्रतीक्षारत थिए । प्रतिव्यक्ति ४०० तिर्ने सर्तमा एउटा कार बन्दोवस्त गरेर त्यसमा चढ्यौँ । मलाई त्यति हतार थिएन । तर पनि छिटै गुवाहाटी पुग्न पाए हुन्थ्यो भन्ने लागेको थियो ।

बिहानको शिलाङ मान्छे लडाउने चिसो ओढेर बसेको हुन्थ्यो होला ! त्यसमाथि आजको आकाश बादलको एक टुक्रा नराखी त्यो सङ्लिएको थियो आकाशसँग जोडिएको शिलाङमा ! तर वातानुकूलित यानभित्र पसेपछि केही पत्तो पाइएन । सलल–बगेको मात्र थाहा पायौँ । एकै छिनमा सुन्दर तालहरू आए अनि शीतले नुहेका जङ्गल पार गर्दै, सूर्याेदयले भर्खर दीप जलाएको पथमा अघि बढिरह्यौं । यता जङ्गल वृक्षहरू, उता जङ्गल वृक्षहरू । लहरा र झाडीले टम्मै ढाकेका वनस्पति । घारीमा नुहेका बाँस र आकासिएका सुपारीका बोट ! कति मनोहर !! कताकति पातला बस्ती आवास फेरि सुनसान, वाहनहरू भर्खरै चल्न थालेका ! मार्गविस्तारको प्रयत्न चलिरहेका ठाउँमा कतै कुनै ढुङ्गा फोर्ने विशाल यन्त्रहरू पुनः सुनसान चिर्दै रहेका ! हामी कतै नबिसाई उडेको उड्यै गर्‍यौँ । कारण हाम्रा तेस्रा सदस्य बंगाली बाबुलाई यथासमय कार्यालय भ्याउने गरी गुवाहाटी पुग्नु थियो ।

क्रमश : १५ औं भाग आगामी शनिवार

तपाइँको प्रतिक्रिया