बिहीबार, वैशाख १३, २०८१

फाप्लुतिर फुरफुर

युवराज नयाँघरे२०७८ असार २० गते २०:११

म उठेर खाकखुक गरेपछि मात्रै कुखुरा बासे ! सिमसिम पानी परेर चिसिएको फाप्लुमा जेठको पहिलो साता निकै जाडो पो भयो । राति हावा बेस्सरी चलेथ्यो हुरहुर । हावा र झरीको स्याँठले खुब मीठो निन्द्रा परेथ्यो । तर सरक्क बिउँझिएँ म बिहानको चारै बजे—आर ए साइँलाको घरमा ।

झ्याल खोलेर पश्चिमतिरका डाँडाहरु हेरेँ । रातिको मीठो सपनाको धङधङी वा पहाड–पहाडको स्वादिलो समागमको रहलपहलले पश्चिमी थुम्काहरु भरिपूर्ण लाग्थे । फाप्लुका घरआँगनमा फिरफिराइरहेथे रङ्गीबिरङ्गी लुङ्दर । हावामा नाँचेका धोर्छेले उज्यालियो मन ।

मैले आफूलाई तयार पारेपछि साथी पनि सजिएछन् झटाझट । अनि हामी एक गिलास तातो पानी खाएर हिँड्ने तयारीमा जुट्यौँ । निकै टाढा पुग्नु छ । खुट्टाकै भर छ दिनभरिलाई । अनि पो हतारिएका हामी ।

‘तरुनी छिल्लिएर रातभर आँखा झिमिक्कै पार्न दिएनन् !’ उत्तम भट्टराईले आफ्नो ओछ्यान छेउको भित्तो रसाएको हेर्दै बोले । मैले पनि त्यो भित्तो हेरेँ । सल्लोका काठबाट धुप र खोटो पग्लेर तलतिर खसिरहेको रहेछ । त्यो खोटो कोट्याएर हातमा डल्लो पार्दै बाहिर निस्के उनी ।

‘हैन, जोरजुलुमै पो गरे कि क्याहो । काठै पो निचोरियो त !’ बोल्दै भर्‍याङ झरेँ । मेरा पछिपछि साथी नि लागे ।

हो, रातभरि दुइटी तरुनी हिल्लिएर रात छर्लङ्गै पारेथे पल्लो कोठामा । म घरी कान थाप्थेँ । घरी घोप्टिन्थेँ । घरी कानमा औँला कोच्थेँ । तर मेरो मनको दुलो क्यै गरी थुनिएन । राति कतिखेर तिनको थुतुनो थुनिएछ । मै नि निदाएँछु । खोटाङतिरका ती किराँत कन्याहरु हामी उठ्नुअघि नै बाटो लागेको चाल पाइसकेथेँ मैले ।

मूलबाटो पुगेर दक्षिणतिर झटारिएपछि हामी लम्क्यौँ लुइँलुइँ । दक्षिणी पाखोमा सल्लेरी बजार हाई काढ्दै थियो बल्ल बिउँझेर, गाला तन्काई–तन्काई । हिमालको हावा र बादल सल्लेरीका नाक, आँखा र जर्नीलाई चुस्सचुस्स छुँदै गइरहेथ्यो । सोलु खोलाको दुई तीरमा फुटुँफुटुँ भइरहेको लाग्थ्यो कुइरो । एकदमै चकमन्न पहाडका खोँचमा शान्तिका पिपिरापिपिरी उम्रिरहेका देखिन्थे । सुन्दर बिहानीको हिस्सी झन् रमाइलो लागिरहेथ्यो ।

सोलुपारिका रोसीजैदु, खोरिया, भित्ताखर्क र मुडे बस्तीहरु बिहानी किरणले पुछिएका लाग्थे एकदमै सुकिला, असाध्यै शुभ्र अनि ज्यादै मायालु । हामी एकोहोरो झर्‍यौँ सल्लेरीतिर ।

बाटोभरि खच्चडका बथान थिए । खच्चडका ढाडको भारी मरिकुच्चे चुइँकिन्थे—घन्टीको टाङटाङ टुङटुङसँगै । खच्चडका पैतालाबाट उच्छिटिएको खोपिल्टाको हिलेपानीबाट तर्किनै गाह्रो भो हामीलाई ।

‘यै लुगामा फर्किनु छ हामीलाई !’ फुसफुसाएँ म ।

बाटाका दायाँबायाँ ऐंसेलुका मुना समेत टिपिएका देखिन्थे । ‘आफ्ना कलिला प्रेम पोख्न ती घारीको सहयोग लिँदा हुन नि त !’ उत्तमले मलाई रित्ता बोट देखाउँदै भने । हलुका हाँसो भयो ।

बाटोमा दोहोरीलत्ता थियो—फाप्लु उक्लिने र सल्लेरी झर्नेको । रातिको झरीले धुलो मत्थर पारेछ राम्रैसँग । झन् हरिया देखिए बोटहरु । वरपरका थाप्लाबाट हुत्तिएर तल झरेको हावाले हामीलाई कानमा फुसफुसाएर जान्थ्यो ।

रातगाले किराँतकन्या र शेर्पाकन्याहरुको बाक्लो थियो आइजाई । स्याउका दानाले झुक्किएर बोटमा नफली तिनका गालामा टाँस्सिन आइपुगेको पो हो कि ! मेरो अनुमानमा सहीछाप ठोके भट्टराईले । हाँसोले फेरि छोट्टियो बाटो ।

घुमेर गएको बाटो निकै परसम्म खुल्ला छ । मान्छेको चालचुल बढेको देखियो एकाबिहानै ।

सल्लेरीको वसन्त बजार पुगिएछ । मान्छेहरुको चहलपहल ओछ्यानबाट ढोका, दैलो र बार्दलीसम्म देखिँदै थियो । आँगनसम्म ती आउने सम्भावना थियो भरे मात्र । हामी त तिनका आँगनको बाटो नाघेर गइरहेका थियौँ । घाम नखुलेको बिहान छ चिसचिसो ।

‘आज जेठ ५, २०६९ ।’ देशमा नयाँ संविधान आएन । कुरासँगै कुदिरहेका छौँ हामी । कोल्टियो वसन्त बजार । यीँबाट देखियो चिवाङको खोप । ओहो, कति भयानक खोप ! आपट्टे लाग्ने खोप । दुई दिनअघि यै बाटो म आएथेँ फाप्लुमा जहाजबाट ।

एकोहोरो खोलैखोलो आएको जहाज मोडिएर जुरुक्क उक्लेर स्वाट्टै विमानस्थल तल खस्दा सातै गयो मेरो । हातगोडा गलेर लुला भएथे । मैले यत्ति रैछ पृथ्वीमा बाँच्ने, सम्झेँ ! मेरो हंसले ठाउँ छोडेथ्यो । पिसाबै चुहियो डरले ।

नयाँ बजार पुगेर लम्कँदा छिट्यायो पानी । हावाले हुत्याएको पानी होला भन्दै गति बढायौँ झन्झन् । कलिला किशोरहरु डोकामा भारीतारी कसिरहेका थिए । आफूभन्दा अग्ला डोकामा कागजे बाकसको चुलीले दुई मान्छे अग्ला भारी कसकास गर्दै थिए । मैले हाफ बाउला, हाफ पेन्ट र चप्पलमा जरकमरक गरिरहेका ती किशोरहरुको भविष्यमा केही छिन मन दिएँ । तिनको संसार घुमिरहेथ्यो एकदमै उल्टो । हो, पुरै उल्टो ।

ती थिए खोटाङ, ओखलढुङ्गा र नाम्चे बजार लस्किने हतारोमा । एकोहोरो दक्षिणतिर डेउढिएर गएको बाटोसँग साथी भइयो । ऊ जसरी कुदिरहेको थियो, त्यसै गरी त्यसलाई समात्न दगुरिरहेका थियौँ हामी पनि । हटिया नाघियो । हामीबाट छुट्यो दोर्पु बजार पनि । अब बिस्तारै किनार लाग्यो बजारको भीडभाड । छुल्यामुसँग हाम्रो सामान्य चिनाजानी भयो । अम्लिसोका घारीले छपक्कै ढाकेको बाटोनिर सुस्तायौँ हामी ।
यसो बाटो मोडिएर खुरकोट लाग्ने मुखैमास्तिरको टहरोमा भैँसी दुहेर फर्किदैँ गरेका बूढा भेटिए ।
‘कति माउ भैँसी छन् बा ?’
‘छैनन् बाबु । जम्माजम्मी एक माउ छ । मेरा बाले दश माउ पाल्थे भुँइसी । म एउटा पाल्दैछु । छोरो त काठमाडौँमा टेकिङ चलाउँछ ।’
‘ए, ए !’
‘म भुँइसी दुहुन्छु । ऊ मान्छे दुहुन्छ ।’
‘कुरो उही त हो नि । जाँ, जसरी र जसले पनि दुहुने त हो नि !’  मैले यति भनेपछि बूढा हाँसे ।  अनि हामी पनि लक्र्यौं ।

बाटो सुलुलु गइरहेछ दक्षिणतिर । वारिको थुम्को हामीसँगै हिँडिरहेछ लुखुरलुखुर । सोलुपारिको नागबेली चुली साउती मार्दै दौडिइरहेछ हाम्रा पाइलासँगै । पहाड, पैताला र वेग—सरोबरी लागिरहेछन् । वन भेटिन्छ बाक्लैसँग । खेतका, बारीका र पाखाका चकमन्नमा मन रोकिन्छ । थामिएका आँखामा सुन्दरता थप्पिन्छ । एकछिन परेली खोल्छु र बन्द गर्छु । पर छुटेको सल्लेरीको सिँगारपटार थप्पिन्छ मनैभरि । तह–तह भएर होचोबाट अग्लोतिर मास्तिर–मास्तिर सरेको देखिन्छ सल्लेरी बजार । चिसोले च्याप्पच्याप्प समात्न छोडेको छैन ।

आलु फुलेका बारी भेटिए बाटोका दायाँबायाँ ।
‘यी फूल क्यार्ने होला ?’
‘माला गाँस्न नि भएन, कानाँ सिउरिनँ नि भएन !’
‘मनाँ सिउरिम् !’
उत्तम र मेरा कुरा हुन्छन् । अनि हामी कानको हावा निस्कने गरी हाँस्छौँ । छातीको फोक्सोमा यी एकान्तका पवित्र हावा भर्छौं टम्मटम्म ।
घामले पोल्न थालेको छ । बिहानैको घाम नि कति चरक्क !

म घरी कालो चस्मा आँखामा टाँस्छु, घरी टोपीले टाउकामा । तर फेरि झ्याउला लाग्छन् यी दुबै । अनि फुक्काफाल भएर बुर्कुसिन्छु—पहाडको तेर्पे र सेपिलो बाटो । खेतका गरा तलको खोला र ढाँड परेको थुम्कातिर उक्लिएका देखिन्छन् । छुल्यामुको माझ–माझमा पुगेका छौँ ।

रित्ता घरहरु देखिन्छन् खुबै । बडे–बडेका घरहरुमा भोटेताल्चा मारेको देखिन्छ । झ्यालमा काठे बाकल ठोकिएको देखेपछि लाग्थ्यो—यो घरमा मान्छे भित्रिन काठको आयु बराबर हुनसक्छ । रित्ता घर देख्दा मन हुन्थ्यो भरङ्ङ ।

पारिपट्टि घामले पुछेका बस्तीभरि घरी–घरी परेलीसँग कानेखुसी गर्न आइपुग्थे । खोँचमा कुइरो चल्मलाएको देखिन्थ्यो पटक–पटक । घुमेर गएको सोलु खोलाबाट बेला–बेला भुसुस्स उडेर माथि अकासिन्छ सेतो कुइरो । हरिया पहाड र जङ्गलमा कुइराको छेडपेच भइरहन्छ पटकपटक ।

घामले रुखको कम्मर–कम्मरसम्म चुम्बन गरेको देखिन्थ्यो । घामको त्यो ‘लसपस’ हेर्न नसकी परपर भागेको लाग्थ्यो—छायाँ । सबैलाई लाग्दो रै’छ लाज ! हामी एकोहोरो दक्षिणतिर लम्केका छौँ । घाम र चिसो—जङ्गलसँग नजिकिने बित्तिक्कै वरका पर र परका वर भइहाल्थे । शरीरमा एकाएक अनौठो कम्पन हुन्थ्यो ।

गहुँ र आलु फुलेका बारी नाँघ्दै भोको पेटमा वायु भरिरहेथ्यौँ हामी । बिहानै खाएको तातो पानी पनि पटक–पटकको तुक्र्याइमा काँ गो काँ ! चियाको तलले लघारिरा’छ अघिदेखि ।
‘आँखामा दृश्य भर्नोस् !’ उत्तमको प्रस्ताव ।
‘भुँडीमा तिनका बोटको हावा !’ नयाँघरेको समर्थन ।
हामी लम्कँदै कुरा कथुरी रहेका छौँ ।

तेर्पे र समथर बाटोलाई आफ्नो छोटो परिचय दिने काम भइरहेको छ । कतैकतै एक छिन तुक्र्याएर लम्कँदा आफ्नो सातपुस्ते इतिहास पनि भन्न भ्याइँदो रहेछ । त्यो एकलासमा मेरो कुनै न कुनै अंश छोडिरहेथेँ म घरीघरी । राम्रै थाक्यौं हामी । हिँडाइ र बाटो मात्र होइन, हामी दुईको लम्काइको पारा मिलेछ गज्जबले ।

आँगनमा बासिरहेको भाले, आँगन छेवैको बोटमा चिर्बिराइरहेको चरी र पिँढीमा बाँधिएको कुकुरले सँगसँगै भुक्दा आवाजको अनौठो झट्का पर्‍यो मेरो कानमा । तीन आवाज पनि छानीछानी कानमा सजाउनुपर्ने !

बाटाभरि सेता बिराला खुब देखिरहेथेँ म । कति शेर्पिनीहरु पानीले पुछपाछ गरिरहेका देखिन्थे तिनका आङमा । कुकुर नुहाएको देखे पनि बिरालाको नुवाइधुवाइ देखियो पहिलोपल्ट ।

घामले गलायो । हामी सुस्तायौँ । बाटाछेउका पोथ्रामा थ्याच्चै बस्थ्यौँ हामी दुई । बाटैमा मोटी बूढीले सल्लीपीरको उरुङखात डोकामा लाएको देखियो ।
‘यो केलाई हो ?’
‘गाईबस्तुको सिरकडसना !’  भित्तै पुग्ने गरी उत्तर पाएँ मैले ।

मल पनि हुने, सोत्तर पनि हुने सल्लीपीरको जोहो निकै ठाउँमा गरिएथ्यो । मैले ठाउँठाउँमा सल्लीपीरलाई माच बनाएर राख्नुको गुदी कुरो बुझ्न सकेँ बल्ल । उत्तिस र गोब्रेसल्लाको घारी ठाउँठाउँमा देखिन्थ्यो । भर्खर पाउलिएका हरिया सल्लाका मुठाले बोटबाटै सत्कार गरेको लाग्थ्यो । आँखामा भरिन्थ्यो सुकिलो शीतलता ।

मानेका लस्कर देखिए बाटाबीचैमा । ती लस्करमा लेखिएर खुइलिएका देखिन्थे—‘हिमाली स्वायत्त शेर्पा प्रदेश !’ मेरा ओठका एक कुनाले ती नारा पढेर खित्काउँथे, अर्को कुनाले निकाल्थे करुण स्वर । यो देशको हबिगत देखेर पट्ट फुट्ला जस्तो हुन्थ्यो मेरो छाती !

‘यति सुन्दर घर छोडेर नेपालीहरु विदेशमा हराइरहेका छन् । यति भव्य घर बनाउन विदेशमा सिङ्गो जीवन लाग्छ । थोरैले बनाउँछन्, धेरैले बाहिर घर बनाउन सक्तैनन् । समय मात्रै नाश गर्छन् । अनि क्यै नलागेपछि बूढ्यौलीमा परदेशबाट फर्कन्छन् । त्यतिन्जेलमा स्याहार नपाएको घर पनि लड्छ, आफू पनि रित्तिन्छन् !’

बाटोमा एउटी ठोसे तरुनी खुट्टा फालेर हिँडिरहेकी थिई ।
‘यो तरुनी पासपोर्ट बनाउन गएकी हो !’
‘होइन, यो आइमाई नागरिकता बनाउन गएकी हो !’
‘यो त छोडपत्र गर्न गएकी हो !’
‘होइन, यो त गर्भ जँचाउन गएकी हो !’ उत्तम र मेरा बीच तर्क भए ।

तर निर्क्यौल भएन । कुरो त्यत्तिकै तुर्रियो । तरुनी फाल तोडेर लम्किरही । ऊ खुट्टा होइन—आँखा फालेर हिँडिरहेकी थिई, कान फालेर हिँडिरहेकी थिई, ओठ फालेर हिँडिरहेकी थिई ।

कोठामा पानी छम्केको देखेर उत्तम दिगमिगाइरहेका थिए । आगोले फुटाएको अगेनोलाई कमेरोले लिपपोत गर्दै छोरी पानी तताइरहेकी थिई । सेतो बिरालोले पेमाको हात, तिघ्रा, खुट्टाको औँला चाटिरहेको देख्दा घिनाइरहेथेँ मै पनि । छिनभरमै पेमाले हातहातमा तातो कफी थमाई र एक भकारी सिँगान हाम्रैसामु आँगनमा फ्यात्त फाली । मैले त मास्तिर फर्किनै खोजेको एक सर्को कफीलाई त्यै तातोले दबाएँ ।

छुल्यामु गाउँको पुछारैमा पुगिएछ । मास्तिर लमतन्न थियो दोरिप पाखा । पाखामा ठोक्किएको घाम र खोँचबाट उठेको कुइराले राम्रैसँग बाझाबाझ गरेछन् । बीचैमा पर्‍यौँ हामी । साँडेको जुधाइ, बाच्छाको मिचाइ भन्या यै रै’छ—जाडो भो नाक कानलाई ।
‘तातो पानी खाऊँ कि भाइ ?’
‘म पनि यै सोचमा थिएँ !’ उत्तमले बाटोमुनिको छाप्रे पसलमा छिराए ।
जाँड, भात र कफी सरोबरी पाउने पसलमा पुगेछौँ । बिहान सकिएर उकालिएथ्यो दिन । तर त्यो घरमा रातको धङधङी घटिसकेको थिएन । पल्लो कोठामा घुरेर सुत्नेको आवाज हाम्रा कानमा बज्रे मज्जैले ।
‘चिया खान पाइन्छ ?’
‘कफी मात्र पाउँछ !’

बूढी डाली र पेमा छोरीले भान्सा चलाएका रहेछन् । बयासी वर्षकी बूढीले मुखमा पानी हाल्दै दैलोमा बुर्बुर पार्दै छ्यापिरहेकी थिई ।
हातले पानी नछम्केर थोते थुतुनोले कोठामा पानी छम्केको देखेर उत्तम दिगमिगाइरहेका थिए । आगोले फुटाएको अगेनोलाई कमेरोले लिपपोत गर्दै छोरी पानी तताइरहेकी थिई । सेतो बिरालोले पेमाको हात, तिघ्रा, खुट्टाको औँला चाटिरहेको देख्दा घिनाइरहेथेँ मै पनि । छिनभरमै पेमाले हातहातमा तातो कफी थमाई र एक भकारी सिँगान हाम्रैसामु आँगनमा फ्यात्त फाली । मैले त मास्तिर फर्किनै खोजेको एक सर्को कफीलाई त्यै तातोले दबाएँ । उत्तमले चैँ तल नाभीदेखि नै फर्काएर ल्याउने छाँटकाँट देखाए । मलाई लाग्यो—हाम्रा गाउँबस्तीमा सेवा त गरिन्छ तर सत्कार गर्ने आधुनिकताले अझै प्रवेश पाएको छैन । छिटोछिटो उम्कियौँ त्यहाँबाट ।

बाटोमा सेतो गुम्बा भेटियो । त्यसलाई दायँबायाँ पारेर फोटाहरु खिचिए । मास्तिरका सेता हिमालको लस्कर यहाँबाट मज्जाले देखियो । बादल फाटेको थियो । घामलाई गर्मी भएर ऊ नै गन्जी, कट्टु फालेर नाङ्गै आकाशमा दौडिएको लाग्थ्यो । उसको तागतले हामीलाई नै असिनपसिन पार्‍यो । सिँगानेको सत्कारले खिन्न थियो हाम्रो मन । सित्तैमा पैसा तिरेको हामीलाई लागेको थियो । हो, चियाको तलतल मेटिएन ।

दोरिप पाखा तल ठूलो चौर थियो ।  युवतीको नितम्बजस्तो फैलिएर अनि सुडौल भएर गएको चौरमा बाक्लै थियो घँगारुको पोथ्रे घारी । यी पोथ्राको पातबाट ठेकी माझ्न आमाहरुले हामीलाई केटाकेटीमा पठाएको सम्झेँ । पाखो निकै आकर्षक थियो । फाटफुट्ट घर देखिन्थे । पूर्वपट्टि पसारिएको लमतन्ने डाँडो दक्षिणतिर तन्किंदै र भीरमा गई टुङ्गिन्थ्यो । फेरि सुम्लिएर दक्षिणतिर फैलिन्थ्यो । क्रम निरन्तर थियो—यस खालको । उठ्तैबस्दै गएको थुम्काको चाकाचुली । बाटोमुनि झन् ठूलो र फराकिलो चौर थियो ।

‘चौरमा खेल्नेहरु त छैनन् नि ?’ मैले भनेँ ।

‘सबै त अरबको पैँतालिस डिग्री तातोमा फुटबल भएका होलान् । बिचराहरु !’  उत्तमले रित्ता घर औँल्याएर भने ।

बाटोमा जाँड बोकेका, भारी खापेका र गर्मीले असिनपसिन भएका रातगाले आइमाईको लर्कन भेटिन्थ्यो । भोलिको दोर्पु बजार भर्न ती गइरहेका देखिन्थे । थाप्लामा भारी, मनभरि सौदापातको घारी । अनुहारले बोलिरहेको भाषा पढेर मेरा आँखामा आनन्दीको चाङ लाग्थ्यो ।
लुक्ला उडेको जहाजले घरीघरी चकमन्न भत्काउँथ्यो । खच्चडका र घोडाका लर्कनले घरीघरी हैरान पार्थे हामीलाई । घाम र कुइराले बाटोको थकाइलाई बेलाबेला उल्लीबिल्ली पार्थे । मन हुन्थ्यो एक तमास । तरल….तरल….मनमा आँखाले कविता कोर्थ्यौं छिनछिन ।

निफनेर थाक लगाएको नौनीजस्तो बादल थियो अकासमा । सेतो बादल देखेर आँखामा शीतलता देखापर्थ्यो ।
‘गरुँगो छ नि !’
भारी बजेको देखियो, अगाडि जाने किराँतकन्याको । अनि पो मेरो खसखस ।
‘पानी हल्लिएको नि !’

बोतलमा बजेको अर्थ खुल्यो । हिँडेकी होइन, कुदिरहेकी तरुनी भोलिको दोर्पु बजारमा रक्सी बेच्न हुर्दुराएकी थिई । हाम्रा कुराकानी हुँदा ऊ उत्तर, हामी लर्केथ्यौँ दक्षिण । भोलिको बजारलाई आजै ऊ गइरहेकी थिई कोसी पारिदेखि झटारिएर ।

निकै तेर्छो हिँडियो । मास्तिरको पाखो बटारिएर पूर्वतिर मोडियो । हामी पनि कुइँक्क मोडिएको कुइनेटोलाई समातेर दाहिने पार्दै लाग्यौँ तलतल । भोकले थप्पड हान्दै थियो, तिर्खाले लबटा लाउँदै थियो । तर लम्काइको मायाप्रीति थियो अचम्मैको । अनि पो आपट्टैको यो एकलासे पहाडी पाखामा बरालिइरहेका थियौँ हामी लुइँलुइँ ।

घरको पिँढीमा शेपिर्नी थिई । बाटोमुनिको छेउमा टोपीवाल तन्नेरी गप्फिँदै थियो रातगालेसँग ।
‘कति बज्यो ?’  शेर्पिनीले आफ्नो घडी हेर्दै सोधी ।
‘नौ बज्यो !’ टोपीवालले घडी हेर्दै भन्यो ।
‘मेरो घडीमा भर्खर साढे आठ बज्दै छ त ! हेर, आधी घन्टा घटाएर भनेको !’
ठुस्किएकी रातगालेका गाला अझै राताम्मे भए ।
फेरि तरुनी झ्वाँक्किएर बोली—‘समय त सही नबताउनेले घरको सामान बेच्दा किन घटाउँथ्यो त……?’

व्यापारी त हरेक ठाउँमा नाफा राखी बोल्दा रहेछन् । कुरा चर्किरहेको थियो । तर म नलम्की आफ्नै तालमा बसेको देखेर सुसेला हाले भट्टराईले । अनि पाइला चालेँ फटाफट ।

रसिलो कुइनेटो आयो । तरकारी, फलफूल, माछापालन, चिया र सागसब्जी सजिएको बारीमा पुग्यौँ हामी । बोटबिरुवामा लुटुपुटु गरिरहेका लाक्पा शेर्पा भेटिए । उनको पौरखलाई मज्जाले हेर्‍यौँ । केही पोका चिया किनेर बाटो लाग्यौँ हामी । आँखामा किम्बु, स्याउ र आरुका बोटले म्वाइँ खाएथे । यो एकलासमा पसिना फुलेथ्यो जताततै ।
‘भालुले क्यै बाँकी राख्दैन !’ शेर्पाले दुखेसो सुनाएथे ।

होई हेडसार ! आज फुर्वा र ग्याल्जे आउँदैन इस्कुल । जाँच नले !’ गहुँ काटिरहेकी बूढी कराई । हामी सँगसँगै हिँडिरहेको बूढोबूढो सरले हात हल्लाएर लम्कियो । शिक्षा र जीवनको हरिबिजोग नमूना थियो यो संवादमा । मैले मनमनै भनेँ—‘सरकारले शैक्षिक गुणस्तर उकास्न कति प्रतिशत खर्च गरेको छ मेरो पसिनाको ?’

बाटोमा अत्यन्त सुन्दर माने देखियो । हिमालको तल्लो पाटोमा फर्फराइरहेको लुङ्दरमा माने र गुम्बाको सुन्दरता भव्य देखिन्थ्यो । लाम्पुछ्रे चराको बथानले गुम्बालाई फन्को मारिरहेको थियो । सौन्दर्यको अन्तिम पङ्क्ति भेटियो यहीँनिर पनि । मानेमा एउटी आइमाई र एक बूढा बसेर गप्फिइरहेका थिए ।

‘त्यसको लोग्नेको लास भरे दुबईबाट फाप्लु आउँछ रे । अनि पो त्यो ज्यान छोडेर दगुरेकी !’ बूढाले अघि बाटोमा लम्किरहेकी आइमाईबारे भनेका सुन्दा हाम्रा अनुमानले हावा खाएको ठानेँ मैले । मनको एउटा कुनामा सन्न भयो । आँखामा बिजुली चम्कियो वेदनाको ।

बाटोमा बाख्रा चराइरहेको फुर्वा शेर्पा भेटियो । बाख्रा र बोकालाई उसले आफ्नै वरपर राखेको थियो । स्कुल जाने हतारोमा ऊ थियो ।
‘सारले मार्छ !’ घुँडा मुत्दै सुँघिरहेको अनि थुतुनो अकासतिर फर्काइरहेको बोका घिच्याएर भनेको थियो फुर्वाले ।
‘किन ?’
‘सार यै बाटो हिँड्छ नि !’
उसले बाख्रापाठा पर जान नदिएको अर्थ खुल्यो ।
भर्खर पाउलिएका सल्लाघारीमा रोकिन्थेँ म । सल्लाको सुसाइ र मरमरले छाती अघाउँथे, मन भरिन्थे र नसानसामा आनन्द छङ्छङिन्थे । प्रकृति पढ्नु भनेको यै होला है !

‘डुलुम्से कनी’ गुम्बा भेटियो । २०६६ सालमा बनेको गुम्बाको रङ, आकार र सुन्दरतामा मेरा आँखा भए खुलेकाखुलेकै । यो एकान्तमा मन भयो एक पटक पानीपानी !

अब बाटो ओरालियो । अनि तेर्पे बाटोमा हामी एकछिन दगुर्‍यौँ पनि । घामको फुर्तिफार्ती १६ वर्षे तन्नेरीको झैँ थियो झ्वाँकी ।

बाटोतल गहुँ काटिरहेका गाउँलेको कल्याङमल्याङ खुबै सुनियो । एउटी तरुनी हाँसिरहेकी र सानो केटो रोइरहेको देखेर म एकछिन रोकिएँ । पहाडमा रुवाइ र हाँसोको मिश्रण नयाँ खालको सङ्गीत भएर तरङ्गिइरहेथ्यो हावामा ।

निकै लम्किएपछि बाटो मुन्तिर गहुँ काटिरहेका खेतालाहरु भेटिए फेरि पनि । ‘होई हेडसार ! आज फुर्वा र ग्याल्जे आउँदैन इस्कुल । जाँच नले !’ गहुँ काटिरहेकी बूढी कराई । हामी सँगसँगै हिँडिरहेको बूढोबूढो सरले हात हल्लाएर लम्कियो । शिक्षा र जीवनको हरिबिजोग नमूना थियो यो संवादमा । मैले मनमनै भनेँ—‘सरकारले शैक्षिक गुणस्तर उकास्न कति प्रतिशत खर्च गरेको छ मेरो पसिनाको ?’

डुलुम्सेको पुछार पुग्दा एउटा अत्यन्त सुन्दर घर भत्किरहेको थियो । भर्खरै परेको झरीले घरको एक पाखो तल खसालेको थियो गल्र्यामगुर्लुम । त्यसका रङ्गीन खाँवाहरु भुँइमा बजारिएका थिए । बुट्टा कुँदिएका खापाहरु उच्छिटिएर खसेका देखिन्थे । अनि असाध्यै कलात्मक झ्यालहरु खोल्सामा ठाडो परेर तेर्सिएका थिए ।

‘यो कसको घर हो ? यति बिजोगले ध्वंस भएको !’  बाटोमा सुस्ताइरहेको अधबैँसे जोडीलाई सोधेँ मैले ।
‘यस भेगकै धनी मान्छेको घर हो यो । छोरा जति कोई स्वर्गतिर, कोई नर्कमा । याँ भ’का नि आफ्ना भागमा नपरेको भनेर छेवैमा छाप्रो बनाएर बसेका छन् । घर भनेको बालक जस्तै त हो नि । स्याहार नगरेपछि त ढलिहाल्छ नि !’ अधबैँसेका कुराले मन छोयो कटक्क ।

सार, याँ खुब जाडो हुन्छ । हिउँ पर्छ एक मुठी । सार, आची गर्न गयो—टुइलेटको बट्टाको पानी जम्मै जमेको हुन्छ । अनि मुड्कीले जमेको पानी ट्वाक्क फुटाएर धुन खुबै गाह्रो हुन्छ । अनि पात पो जिन्दावाद !’

आजभोलि कोही अमेरिकाको स्वर्ग र कोही नेपालको शहर नर्कमा हराउनाले घरबस्ती रित्ता भइरहेका छन्, घरहरु ढलिरहेका छन् र बस्तीका ढोकामा ताल्चा ठोकिँदा छन् दिनहुँ । सन्न भयौँ हामी दुई ।

बाटोमा लम्किरहँदा उत्तमले भने—‘यति सुन्दर घर छोडेर नेपालीहरु विदेशमा हराइरहेका छन् । यति भव्य घर बनाउन विदेशमा सिङ्गो जीवन लाग्छ । थोरैले बनाउँछन्, धेरैले बाहिर घर बनाउन सक्तैनन् । समय मात्रै नाश गर्छन् । अनि क्यै नलागेपछि बूढ्यौलीमा परदेशबाट फर्कन्छन् । त्यतिन्जेलमा स्याहार नपाएको घर पनि लड्छ, आफू पनि रित्तिन्छन् !’ ढलिरहेको घर पर पुगुन्जेलसम्म मैले हेरिरहेँ….हेरिरहेँ….हेरिरहेँ….!

मान्छे भएका घरमा रङ्गीन पर्दा देखिन्थे । मूल ढोकैमा ताल्चा ठोकिएका घरका झ्यालमा ‘काठे पर्दा’ ठोकिएका छन् । बाक्ला काठ ठोकेका ती घरहरु बाटा तल–माथि देखिन्थे निकै नै । मान्छे नभएका ती रित्ता घरका पर्खालभरि नारैनारा लेखिएका थिए—‘शेर्पा राष्ट्रिय मुक्ति मोर्चा जिन्दावाद !’

मैले भनेँ—‘मान्छे भएका घरमा यस्तो लेख्दा पुरा गराउन दबाब पर्छ । रित्तो घरमा लेख्न कत्ति सजिलो !’
‘देश रित्तैरित्तोले त चल्या छ नि !’  उत्तमको उत्तरले मन छोयो ।

गार्मा पुगिएछ । भोक, गर्मी र थकाइले विरोध प्रस्ताव सुनायो । मैले सुनिरहेँ । कुनै गुनासो गरिनँ । खोल्साको पानीले आँत भिजायौँ दुवैले । पारिका बस्ती अब टाढिएर गए झन् पर…पर…

गार्माको माथ्लो थुम्को झन्झन् चुलिएर ठडियो । बाक्लो वनको कुइराले आफ्नो नाटकमा कमी ल्याएको थिएन । पातलो भुइँ कुइरोले हामीलाई नि छोएर गयो सरर्र । कति मुलायम हो, भुइँ कुइरो !

पर्वतीय प्रशिक्षण केन्द्रका थुप्रै भवनहरु बनिरहेका थिए । कुमारी डाँडालाई चर्चरी चिरेर मास्तिर बाटो लगिएथ्यो । हामीले एकोहोरो पूर्वतिर गएको बाक्लो बस्तीलाई साथी बनाएर पाइला राख्यौँ डाँडातिर ।

‘यो तीन हजार रोपनी जग्गामा सरकारले हिमाल चढ्ने तालिम केन्द्र बनाउँदै छ । पचास वर्षे योजनामा भवन, चियाखेती, जडीबुटी, पोखरी आदि थुप्रै संरचना यहाँ बनाइनेछन् !’ योजना सुनाए भाइले ।

एकोहोरो मास्तिर उक्लिरहँदा घुन्सा गाउँबाट घ्वाप्पघ्वाप्प भुइँ कुइरोले लखेटिरह्यो हामीलाई । कुकुर भुकिरहेका पारिका बस्तीमा बादल र घामको लुकामारी हेर्थें म टक्क–टक्क उभिएर ।

हरिया थुम्का र थपक्क बसेका घरले बिछट्टै सुन्दरता थपिरहेका थिए पूर्वतिर । आँखामा आएर थपक्क बस्थे प्रकृतिका हजार रहस्यहरु ।

तोजिङ डाँडाबाट देखिएका यी अग्ला हिउँचुलीले हिमालको रङमा प्रकृतिको नाच सजाएका थिए, सुन्दरताको भाव बचाएका थिए र भावनाको स्वर सुसेलेका थिए ।

तल भेटिएको आङरिताले भनेको सम्झिएँ मैले—‘सार, याँ खुब जाडो हुन्छ । हिउँ पर्छ एक मुठी । सार, आची गर्न गयो—टुइलेटको बट्टाको पानी जम्मै जमेको हुन्छ । अनि मुड्कीले जमेको पानी ट्वाक्क फुटाएर धुन खुबै गाह्रो हुन्छ । अनि पात पो जिन्दावाद !’ उनी बोलिरहेका छन् ।
मुसुमुसु हाँसोमा कुरा सुन्छौँ हामी त ।

‘बिहान घरको धारो त लुगाजस्तो झुन्डिएको हुन्छ—चुहिएको पानी । जाडोमा सारै मुस्किल पर्छ, सार !’ नयाँघरे सर र भट्टराई सरलाई यो बोली निकै रमाइलो भएथ्यो । हामी बेलाबखत सिको पनि गथ्र्यौं, खितित्त हाँस्नलाई ।

हामीसँग अर्का पनि लाक्पा थिए । उनी वरपरका पाखा, खोँच र बस्ती एकएक चिनाइरहेका थिए आँखा, औँला र ओठ तिखारीतिखारी ।

चिसो हावाको घोलघालमा परेको घाम थियो कडै । ऊ पसिना छुटाउने, हावाले तुरुन्तै पुछपाछ गर्ने । यी दुवै सिसारमा लट्ठ थियौँ हामी ।
लगातारको लम्काइमा हामी पुग्यौँ तोजिङ डाँडा ।

घ्वाप्पघ्वाप्प छोप्न आउने कुइरोले शीतल हुन्थ्यो मन । अकासको बादलले कालो रुप देखाउँथ्यो अनि आत्तिन्थ्यौँ हामी । उत्तरतिर झल्मलाएका हिमाल देख्दा छ्याङ्ङ खुल्थ्यो छाती । जीवन यस्तै शीतल, अत्यास र छ्याङ्गाउँदै रेखारेखाले बनेको आकार पो रहेछ ।
बाफ रे कति सुन्दर हिमालहरु !
‘ऊ त्यो नुम्बुर हिमाल !’ लाक्पाले देखाए ।
‘अर्को चैँ कारेलुङ हिमाल !’ दुई हिमाल चिनाउने नि लाक्पा नै ।
मैले नुम्बुर र कारेलुङ हिमाल हेरिरहेँ । दूधले पखालिएका सेता हिमालको आभामा छोडिदिएँ मन । नौनीले पुछपाछ गरिएका सुकिला हिउँचुलीमा मैले आँखा डुबाइरहेँ । शुभ्र, श्वेत र सुन्दर हिमालका बैँसलाई घटघटी पिउन जडवत् भइरहेँ म… ठिङ्ग भइरहेँ म….चुपचाप रहिरहेँ म….

तोजिङ डाँडाबाट देखिएका यी अग्ला हिउँचुलीले हिमालको रङमा प्रकृतिको नाच सजाएका थिए, सुन्दरताको भाव बचाएका थिए र भावनाको स्वर सुसेलेका थिए ।  मसँग घरीघरी जिस्किन आउने भुइँ कुइरोले सुटुक्क भन्यो—‘नुम्बुर र कारेलुङको पिरती देखेका छौ ?’
‘अँहँ !’
मेरो उत्तरमा उसले भनेथ्यो—‘कात्तिक मङ्सिरतिर एक पटक आऊ, तिमीले संसारकै अमर जोडीको जस्तो अन्तिम प्रेमलीला देख्नेछौ !’
मैले तोजिङको कुरालाई मुटुभरि साँचेँ ।

अब ओर्लिने बेला आइसकेथ्यो । अनि हामी पश्चिमी तेर्छो भएर एकोहोरो उत्तरतिर झर्‍यौं । कुइरो झन्झन् मास्तिर बेगिइरहेथ्यो । बाटो बनाउने र सडक सम्म्याउनेहरुका हुल आइरहेका थिए मास्तिर । हरिया सल्ला सुसाइरहेथे लोलाईलोलाई । बादलमा हराउन र लुक्न खोजेका नुम्बुर र कारेलुङको सौन्दर्य परेलीमा टाँसिन्थ्यो घरीघरी ।

एकोहोरो र तेर्पे ओराली झरिरहेथ्यौँ हामी । चुत्रो, ऐँसेलु, असारे खुबै भेटिए । सुस्ताइरहने र चिनिरहने समय थिएन । आधा दिन बितिसकेको थियो ।
‘सर, अर्कालाई किन छोड्नु !’  मुठीभरि ऐँसेलु ल्याउँथे उत्तम । हावाको सिर्सिर र घामको तातोमा कुइरो घोलघाल हुन्छ । मन त तरल…. तरल…. उकालीमा अब त्यै तोक्मे, त्यै लौरो !

‘तलका राईहरु माथि सल्लेरीतिर सरे, सल्लेरीका शेर्पाहरु अझ मास्तिर नाम्चेतिर सरे !’ लाक्पाको बोली सुन्छु । मैले पनि त सल्लेरीभरि शेर्पाभन्दा राईहरु नै बढी भेटिरहेको थिएँ । लाक्पाले थप बल पुर्‍याए मेरो कुरालाई ।

मैले यतिखेर पन्टरढाप, तिङ्ला, आम्पाङ, नाजिङ जस्ता धेरै परका ठाउँतिर आँखा हुत्याएँ । खोटाङ, ओखलढुङ्गा र रामेछापका आपट्टे खोँच र भीरपाखासम्म आँखाहरु पुगे । सोलुखुम्बुको यो थुम्कोबाट चारचौरास हेरेर म विभोर भएथेँ, अवाक् भएथेँ, फुलेल भएथेँ । सबभन्दा बढ्ता खुशी त सगरमाथाको चुलीबाट निफनिएर आएको हावासँग बिलिएको थिएँ म ।

एकोहोरो तर्पे, तेर्छो र ओराली झर्दै हामी पुग्यौँ ओखलढुङ्गा, रामेछाप र दोलखा जाने त्रिवेणी कुइनेटामा । बाटो छेउको लाक्पाको पिँढीमा ज्यान बिसाउन पुग्यौँ हामी । पुरा सात घन्टा हिँडेर बल्ल ज्यान बिसाउन पाइयो ।
पानी भरपेट खाएपछि अगाडि आएथे खानेकुरा ।
‘खाप्से खाऊँ !’

‘तलका राईहरु माथि सल्लेरीतिर सरे, सल्लेरीका शेर्पाहरु अझ मास्तिर नाम्चेतिर सरे !

लाक्पाले बटारिएका एक थाल रोटी हाम्रा अगाडि राखिदिए । अनि हामी त्यसैमा भुल्न लाग्यौँ । त्यसलाई साथी आएथ्यो अचार पनि ।
यो सल्लेरी लाग्ने मुखैको घरमा मैले खुर्सानी टोकेँ एकदमै पीरो ।
‘किन पीरो खुर्सानी खाएको ?’ उत्तमले सोधे ।
‘हिजो सातो गएको थियो नि चिवाङको खोपमा । त्यै फर्काउन खाएको !’  मेरो उत्तरले सबैलाई हँसायो ।

घामले आफूलाई पश्चिमतिर झरेर लौरो टेक्नै आँटेथ्यो । अनि हामीले पनि यो ठाउँबाट लम्किनु थियो अब । त्यही बाटो, त्यही पदचाप, त्यही पारामा ।

आकाश गड्गडाएर चारैदिशा घेरेर आइरहेथ्यो । मधेसबाट बेगिएर आएको कालो बादल सल्लेरीमा बर्सिन तम्तयार देखिएथ्यो । आँखाले नभ्याउने रुपमा थियो सल्लेरी । कुइराले सर्लक्क निलेथ्यो फाप्लुलाई त । थकाइमा अरु थकानको भारी बोक्नु थियो अब हामीले ।
फाप्लु लाग्दा आँखामा टाँसिइरहेथ्यो तोजिङको आरिसलाग्दो बैँस !

नयाँघरेका अघिल्ला रचनापनि हेर्नुस्

खप्तडका लेकबेसी

डिल्लुको बाख्रो

(नयाँघरे मदन पुरस्कार बिजेता साहित्यकार, लेखक हुन्)

तपाइँको प्रतिक्रिया