सोमबार, कार्तिक ८, २०७८

चन्द्र-सूर्य जर्सी लगाएर युरोपका रंगशालामा उत्रिने सपना

सूर्य तिवारी / जर्मनी२०७८ असार २४ गते २३:१४

कोपा अमेरिकन र युरो कपको भिडन्त चलिरहेछ । कतै अर्जेन्टिनाका समर्थक त कतै ब्राजिलका समर्थक । कतै इङ्ल्यान्ड त कतै इटाली । खेलप्रेमीहरु आफ्नै रङ र रमाइलोमा बाँडिएका छन् । तर नेपालको चर्चा गर्ने हो भने ? विश्व स्तरको तुलनामा हाम्रो खेल न्युन छ । क्रिकेट ओडिआइमा १६ औं स्थान, टिट्वान्टीमा १३ औं, फुटबलमा १७१ औं, भलिवलमा ८६ औं स्थान छ भने बास्केटबल श्रेणीमा नेपाल १५७ औं स्थानमा छ । कब्बड्डिमा विश्व स्तरमा नेपाल १९ औं स्थानमा भेटिन्छ् ।

नेपालले अहिलेसम्म खेलेका अन्तर्रास्ट्रिय प्रतियोगिता फुटवल् जम्मा खेल २४२ छन् भने जितेका ५६ मात्र् छन् । ३९ खेल बाराबरीमैं टुंगिएका छन् । १४९ खेलमा नेपालले हार बेहोरेको ईतिहास छ् । विश्व खेलमा नेपालले अहिलेसम्म जम्मा २१२ गोल गर्न सफल भएको रहेछ । हाम्रो देशमा क्रिकेट भर्खर बामे सर्दै गरेको अवस्था छ् ।

नेपालीहरुलाई शरिर सुसंगठनका आधारमा हेर्नेहो भने होचा कदका भएपनि बलिया र फुर्तीला छन । जाँगरिला छन । तर चुलो बल्ने गरेर खेलले गुजारा गर्नसक्ने अवस्था बनिसकेको छैन । घरयासि परिस्थितीले निचोरेका कारण खेल जगतमा खेलेर निर्वाह हुनसक्ने अवस्था अझै धेरै टाढा छ् । हामीकहाँ खेलिने खेल कराँते, टाइगंडो, कब्बर्दी, भलिबल । तर यि खेलको स्तरोन्नती भने कछुवाको चालमा छ् ।

हामी सानो छँदा जुराबको गुथुल्लोलाई भलिबल मानेर बारीका कान्लामा खेल मैदान बनाएको सम्झना छ । यूरोपतिर जत्तिको खेल खेल्ने अवसर र स्थान जुर्थ्यो भने हाम्रा कति गोर्खेहरुका नामका जर्सी विश्वका कुना कन्दरामा मेस्सी र रोनाल्डो जस्तै बीरबहादुर, मनबहादुरका नामबाट बन्थे । लाखौं करोडौंका छाती र पीठ्यूमा देख्न पाईन्थ्यो होला नेपाली खेलाडीको जर्सी । हाम्रो नेपाल प्रकृतीले सजाएको सुन्दर संसार ब्राज़ील भन्दा के कमी होला र ? सबै कुरा छ । तर खेल्ने कतैपनि पर्याप्त जमिन छैन । समथर जमिनजती भूमाफियाले क़ब्ज़ा गरिसके । खेलेर कसैको चूलो जल्दैन । कसरि विकास होस् खेलको ।

नेपालको सुन्दर रमणीय स्थल पाल्पाको तानसेन । यहाँको मुटुमा रहेको टूँडिखेल अहिले सार्वजनिक बसपार्क बनेछ । काठमाडौंको मुटुमा रहेको खुल्लामन्च टुँडीखेलको अवस्था त मीडियामा पटकपटक सार्वजनिक भईसकेको देखेकै हौं । यहि हालत रहीरह्यो भने गुच्चा खेल्ने बाहेक हामीसँग कुनै खेल मैदान रहँदैनन् ।

खेल मैदानमा उत्रिएका खेलाड़ीहरुले उच्च सम्मानका साथ राष्ट्रियगान घन्क़ाएर नेपाली झण्डा फहराउँदै संसारलाई चिनाएको हेर्न कुन नेपालीको मन नहोला र् ? हामीलाई पनि रहर छ, हाम्रो चन्द्र सूर्य अंकित झण्डा विश्वलाइ चिनाउन । अर्काको विजयगाथमा उत्सव मनाउनुको सट्टा आफ्नै झण्डा बोकेर बिदेशका बडाबडा, सुविधा सम्पन्न रंगशालामा उत्सव मनाउने रहर कसलाइ नहोला र ? अहिले युरोकप खेलिएका युरोपेली भब्य रंगशालामा चन्द्र सूर्य अंकित जर्सी लगाएका राम बहादुर, श्याम बहादुरहरु देख्ने दिन कहिले आउला ? नेपालको राष्ट्रिय गान गाउँदै नेपाली खेलाडीको जर्सी लगाएर विश्व कप खेलेको संझना गर्दापनि हर्षबिभोर बनाउँछ । त्यो आशा, त्यो रहर र ति चाहनाका समुद्र उर्लिन्छन् ।

हामी नेपालीले त्यस्तो चाहना राखेर के गर्नु ? संबृद्दीको व्याख्या नै हामीकहाँ सीमेन्ट, ईंटा, ढूंगाले बनेका महल र पर्खाललाई मानिन्छ । खुल्ला मैदान देख्न काठमाडौंको टुँडीखेल अथवा नदी किनारका बगर जानुपर्ने अवस्था भैसकेको छ । सार्वजनिक जग्गाजती माफियाका कब्जामा छन् । खेल्नकोलागि खुल्ला र फराकिलो जमिन छैन । देशले खेलमा तरक्की गरोस कसरी ? अरुदेशकै फ्यान हुने गाली र ताली बजाउने । अरु देशकै जर्सी लाउने र तिनैलागि चिच्याउने । हाम्रो मुकुल विश्व प्रतिस्पर्धामा देख्न यो जन्ममा पाईने ‘आकाशको फल आँखा तरी मर’ भने जस्तै छ् । खास भन्ने हो भने यो जन्म अर्कैलाई भयो ।

हामी आफ्नो सौख पुरागर्न अर्काको जर्सी लगाएर आनन्द लिन्छौं । समर्थनमा कैयौं नारा लगाऊँछौं । भोलीपल्टसम्म घाँटी दुख्ने गरी चिच्याउँछौं । केही क्षण राजनीतिलाई सराप्छौं । फेरि उहि गतिमा आफ्नो काममा लाग्छौं । परिवर्तनको लागि पहल गर्दैनौं ।

यो सबैको दोष केलाई दिने ? खोतल्दै जाँदा कारण धेरै छन् । पारिवारिक आर्थिक परिस्थिति अनुकूल नहुनु । राज्यको संयन्त्र राजनीतिले ग्रस्त हुनु । खेल सम्बन्धी निकाय अनभिज्ञ हुनु । खेलमैदानको अभाव हुनु । यिनै कारणहरु पर्याप्त छन् ।

नेपाली खेल जगतमा आफूलाई राष्ट्रिय स्तरमा पुर्याएका केही खेलाडीहरुलाई बुझ्दा आर्थिक अभावकै कारण खेल छोडेर विदेशिनु परेको स्विकार्छन् । नेपाली खेल जगत गलत राजनीतिको शिकार बनिरहेको यथार्थ हामीले देखिरहेका छौं । खेलाडी भन्दा कार्यकर्ता र नातागोताले भरिएको मैदानले सम्मान र पदक होइन विकृती मात्र भित्र्याएको छ ।

अहिलेसम्म देशले आर्जन गरेका पदकहरू राज्यको लगानी भन्दा खेलाडीकै व्यक्तिगत लगानीले प्राप्त भएको हो । खेलको स्तर जति छ त्योपनि खेलाडीकै रहर, जागरण र मेहनतले हो भन्दा खासै फरक पर्दैन । धन्य छन् ति खेलाडी जसले कुनै सुबिधाबिना देशलाई केही पदक दिलाएका छन् । देशका नाममा चन्द्र सूर्य उचालेर खेलिरहेका छन् । थोरै भएपनि खेल जगतको धिपधिपे दियो निभ्न दिएका छैनन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक