सोमबार, मंसिर २०, २०७८

कथा : मनसुनमा मनको आवाज

रन्जु पाण्डे / मिनभवन, काठमाडौं२०७८ असार २५ गते १६:००

बिहान उठेर आँखा मिच्दै बरण्डामा पुग्छु । बाहिर अविरल वर्षा सँगै आएको चिसो अनि मिठो हावाले मलाई च्याप्प अँगालोलो मार्छ । लहरै राखिएका ‘इनडोर प्लान्ट’ लाई हेर्छु । पानीको बाछिटाले झन् झन् सुन्दर देखाएको छ, मानौं नव विवाहित दुलहीको दोस्रो दिन । पातको टुप्पा टुप्पामा टल्किएको पानीको थोपा म एकटकले हेर्छु । त्यो मनमोहक क्षणलाई कैद गर्न चाहन्छु । आफूलाई टक्क अडाउँछु । समय आफू भन्दा अघि लागिदिन्छ र हल्लिएका पातबाट पानी झर्न थाल्छ तप् तप् तप्… यो दृश्यले म पुलकित हुन्छु भित्रभित्रै । मेरा हरेक बिहानी यस्तै रहिरहोस भन्ने लाग्छ ।

“हट लेमोन’को चुस्की लिँदै म हिजोको फोटोहरु मोबाइलमा हेर्न थाल्छु । नगरकोटबाट देखिएको ‘सन साइन’ आहा ! कस्तो मौसमले पनि साथ दिएको हिजो । लामो बन्दाबन्दीपछि परिवारसँग एकरात नगरकोट जाँदाको रमाइलोलाई मैले कसरी क्यामेरामा कैद गरेकी रहिछु । केही फोटोहरु छानेर म आफ्नो अस्ट्रेलियामा पढदै गरेको छोरालाई पठाउँछु ।

स्यारर्… आहा ! फेरि बढ्न थाल्यो सिमसिम पानीको गति । म आफ्नो ध्यान घरको कम्पाउन्ड र पर पर सडक तिर लान्छु । पानीले निथ्रुक्क भिजेको यो दृश्य मलाई भोग गर्न मन लाग्छ । ओहो ! कति मनमोहक बिहानी, न कतै धुलो न कुनै प्रदुषण । पानीले पखालिएर टलक्क टल्किएको आँगन चारैतिर हरियाली देखिने घरको कम्पाउन्ड अनि पात बोटबिरुवाले सधैँजसो हल्लीहल्ली मलाई ‘गुड मर्निङ’ भनिरहेछन । म असाध्यै रमाउँछु, रमाई रहन्छु । मलाई केही बित्दो छैन । यसैगरी हेरेर रमाउनु मेरो दैनिकी भएको छ यो मनसुनमा आजभोलि प्रत्येक दिन ।

आकाशबाट खसिरहेको त्यो पानीलाई हेर्छु । बिचको शुन्य खालीमा हेर्छु । भुइँमा झरेर फुट्दै फुट्दै मिसिएर बग्दै गरेको देख्दा पानी अझै परिदिए हुन्थ्यो जस्तो मनमा लाग्छ । मेरो प्रार्थना सुनेर होला सायद प्रकृतिले पानी झनझन दर्काउन थालिन् । भुईमा फुटेर मिसिएका पानीका फोकाहरू ठूला ठूला हुँदै गए । घरको मूलद्वारबाट पानी छिर्न अब टलपल टलपल गर्न थाल्यो । आकाशबाट झरेको पानी हेर्दै अघिसम्म रमाएको मन अचानक अलि चिसिन थाल्यो । पानी दर्किदै छ । पानी त हेर्दाहेर्दै भित्र पो आयो । कोरिडोर हुँदै भित्रभित्र आइरहेको पानी मेरो वहुमुल्य गलैंचा लपक्कै भिजाउदै वरवर म भए तिर पो सर्दै छ । मेरो पैतालाबाट चढ्दै चढ्दै पानीले मलाई भिजाउँदै गयो ।

ओहो ! यो के हो ? एउटा ठुलो बर्णमाला किताबको गाता मेरो खुट्टामा आएर लपक्कै टाँसिन्छ । पानी सँगै बग्दै आएको त्यो गातालाई म खुट्टाबाट हटाउन खोज्छु । लौ ! के अचम्म यो, अक्षर त चल्न पो थाल्यो त । म सोध्दछु “किन आएको यहाँ ?” अक्षर बोल्छ ” मलाई पढ्ने स-साना औंलाहरु कता हराए खोइ, म त उसैलाई खोज्दै आएको।” म झसंग हुन्छु । पानी त ह्वालह्वालती आउँदै छ । मेरो कुर्कुच्चा छोपेर माथि माथि यसरी उक्लदै छ मानौं दिनभरि छोडेर गएकी आमालाई भेटेपछि बच्चाले ‘बोक्न’ भनिरहेछ । म अतालिन्छु ।

लौ न ! यो फेरी के आयो, यस्ता थाल, कचौरा डेक्ची यो त मेरो भान्साको हुँदै होइन । यो के देख्दैछु म । अचानक पछाडिबाट झ्वाट्ट मलाई केही वस्तुले हिर्काएको जस्तो लाग्छ । आमास्स्स् मेरो मुखबाट अचानक निस्कन्छ । टायर समाएर पानी सँगै बग्दै आएको एउटा स्यानो शरीर मेरा दुई खुट्टाको कापमा घुस्रिन आउँछ । म आत्तिन्छु । कहालिन्छु । तर त्यो शरीर भने आँखा झिम्म् नगरी मलाई ट्वाल्ल हेरी मात्र रहन्छ । भन्न सक्दिन कि अहिले मेरा खुट्टाहरु पानीले चिसिएका छन् वा त्यो चिसिएको शरीरको स्पर्शले ।

होइन यो के हुँदैछ ? यो सबै सरसामान कसरी, अनि मेरै घरमा किन ? अघिसम्म तैरिंदै गरेको त्यो आल्मुनियमको डेक्ची ढल्किंदै ढल्किंदै अगाडि बढेर बिस्तारै पानी भरिंदै भरिंदै गयो । हेर्दाहेर्दै नदेखिने भएर पानीमुनि डुब्यो । अब म नराम्ररी आत्तिएकी छु । थपिँदै गएको पानीको बेग सँगसँगै ती थाल, चम्चा पानीमा घुम्दैछन् । बर्णमाला पुस्तकको त्यो गाता अघि झैं मेरो खुट्टामा लपक्कै टासिएको छ । कागजको डुंगा आफ्नो आकार बिगारेर मेरो ‘एसिएन पेन्ट’को भित्तामा अड्केको छ । यो सारा घटना अनि परिदृश्यले म भित्रैदेखि नराम्ररी हल्लिन्छु । मेरा सारा शरीर काम्न थाल्छन। हातबाट मेरो मोबाइल खसेर पानीमा चुर्लुम्म डुब्छ ।

स्कृनमा आफ्नै छोरीको भरिलो अनुहार देखेर मोबाईल टिप्नमात्र के लागेकी हुन्छु अचानक एउटा अट्ठहास सुनिन्छ, एउटा विजयी गीत गाउँदै हाँस्दै पानी ह्वालह्वाल्ती मेरो घरको मूलद्वारबाट पस्दै छ मानौं जन्ती आउँदै छ । पानीले मलाई बेर्दै बेर्दै जान्छ । जतिजति बेर्छ उतिउति ती बगेर आएका सर्जाम मेरो वरिपरि मडारिन थाल्छन् । त्यति नै बेला अचानक त्यो चिसिएको शरीर मेरा दुई खुट्टाको कापबाट फुत्त निस्कन्छ, जुरुक्क उभिन्छ । उ कसरी उभियो पानीमा ? लौन ! यो मान्छे त हो ? म भन्दै थिएँ ऊ त बग्दै गरेको थाल उठाएर चम्चाले बजाउँदै नाँच्न पो थाल्छ त्यसैगरी जसरी भगवान श्री कृष्णले काल नागको घमण्ड तोडे पश्चात् नाँचेका थिए ।

” म त आएको तिम्रो दरबार
उ पारीबाट बगाइ घरबार
मलाई दिन्छौ कि तिमी बास
कि जान्छौ सँगै बनेर लास ”

‘लास’ को नाम सुन्ने बित्तिकै म निसास्सिन्छु । बेस्सरी चिच्याउँन खोज्छु, आमाssssss ! झल्याँस्स ब्युझँन्छु । आफूलाई एउटा सानदार कोठाको ठूलो पलङमा पाउँछु । ५ वर्षको मेरो छोरा आफूसँगै मस्त निदाईरहेको छ । बाहिर मुसलधारे पानी दर्किरहेछ ।

तपाइँको प्रतिक्रिया

फेसबुक