बिहीबार, कार्तिक ११, २०७८

भानुको आलोकमा भाषा

युवराज नयाँघरे२०७८ असार २८ गते १६:१७

भानुको घाँटीमा ओइलाएको माला हेरेँ ।

प्रज्ञा प्रतिष्ठानको यो सुरम्य वातावरण । त्यसको एक भागमा छ आदिकवि भानुभक्त आचार्यको पूर्ण कदको सालिक । गर्वलाग्दो यो सालिक । गौरव र उल्लासलाग्दो यो सालिक ।

नेपाली साहित्यमा भानुभक्त आचार्य एक त्यस्ता शिल्पी– जो भाषिक अर्थले, सांस्कृतिक अर्थले, जातीय अर्थले र साहित्यिक अर्थले मान्यवर छन् । देशभरि नेपाली छन्दपरम्पराका विख्यात स्रष्टाका रुपमा भानुको गाथा गाइन्छ । देशबाहिर सांस्कृतिक र जातीय निधिका रुपमा तिनको अर्चना गरिन्छ ।

देशभरि असार २९ को महत्व छ । साहित्यक पर्व लाग्ने भानु जयन्तीको उल्लासले हाम्रो समाज गतिशील छ । राष्ट्रका सम्पदा र गौरवका रुपमा भानुभक्तलाई मान्ने प्रचलन छँदैछ । उनको समर्पणले नेपाली समाजको अन्तर्सम्बन्धमा झन् कसिलो नातो गाँसिएको इतिहास बिर्सनु कसरी ?

भानु जयन्तीका दिन लगाइएको यो सुकेको र ओइलाएको माला हेर्छु । सालिक हो नि ! तैपनि सालिकका पछिल्तिर गाँसिएर आउने मानक र अर्थपूर्ण तथ्यलाई आत्मसात् गर्छु म । यो भानुको सालिकले हाम्रो परिचय बोकेको छ । मूल्य अँगालेको छ । सम्बोधन जोगाएको छ । गौरव बँचाएको छ । भाषामा साहित्य र संगीतको एकाकार नमूना जोडिएर आउनमा रामायणको उल्लेख्य योगदान छ । भानु र रामायण– यो परस्पर नातो हो । हामी नेपालीका लागि छाती फुलाएर भनिने धेरैका निम्ति यै नाम हो, यो सम्बोधन हो, यै परिचय हो ।

भानुभक्तले साहित्यमार्फत् दिएको ‘समाजमा निष्ठा र सदाचारको उज्यालो आवाज’ को व्याख्यामा हिजोआज प्रतिकूल सोच मौलाएको भेटिन्छ । तिनको चोखो धारणामा पूरातन, रुढता र जडवत् तर्कका मूढे हेराइले साहित्य खलबल पारिदैँछ भन्ने धेरै ओठ मनग्गे देखिरहेछु म ।

लेखक युवराज नयाँघरे

लथालिङ्गले निरन्तर पाइरहेको यो कालबेलामा हाम्रा आदर्श र गौरवलाई के–कसरी जोगाउने ? अथवा समयानुकूल संरक्षण गर्ने र सुधार्ने ? नयाँ आदर र शास्त्रीय गतिमा कसरी समायोजन गर्ने ? यी जिज्ञासाहरु छन् नै । भानुभक्त आचार्यको मानमनितोमा साँघुरिएको आजको समाजले भोलिका दिनमा बिर्सिदिने डरलाग्दो भावना फैलाइ त हाल्दैन ? घोत्लिन मन लाग्दैछ, आजभोलि ।

आधुनिक समाजमा धर्म र संस्कृति बिस्तारै पर्यटन र विश्वविद्यालयका शोधार्थीका निम्ति विषय मात्र बनिरहेका छन् । अचेल धेरै गम्भीर र दीक्षितहरुका धारणा यस्तो सुन्न पाइन्छ । भानुभक्तले साहित्यमार्फत् दिएको ‘समाजमा निष्ठा र सदाचारको उज्यालो आवाज’ को व्याख्यामा हिजोआज प्रतिकूल सोच मौलाएको भेटिन्छ । तिनको चोखो धारणामा पूरातन, रुढता र जडवत् तर्कका मूढे हेराइले साहित्य खलबल पारिदैँछ भन्ने धेरै ओठ मनग्गे देखिरहेछु म ।

धेरै अघि दार्जिलिङ जाँदा चौरस्ताको माझैमा भानुभक्त आचार्यको भब्य सालिकको टाउको छिनालेछन् सुवास् घिसिङका अनुयायीले । उनीहरुको तर्क रहेछ– ‘हामी गोर्खाली हौं । गोर्खालीका कवि भानुभक्त होइनन् । त्यसैले मानिसका टाउका छिनाल्नु अघि सालिकबाट हामीले काम सुरु गरेका हौँ ।’

मूर्खता, जडता, धोखा र बेइमानीपूर्ण यस्ता नाराले त्यसबेलाको दार्जिलिङ्गे समाज रनभुल्लमा परेको थियो । कुनै बेला जातीय कवि भनेर तिनै राजनेताले भानुका सालिकको शिलान्यास गर्न जनतालाई हारगुहार गरेथे– अहिले तिनैका इसारामा सालिकका टाउका ठुन्काउँदै थियो । बेमेल, भाँडभैलो र स्वार्थले समाजलाई डोर्‍याउन थालेपछि कतिञ्जेल त्यो दर्शनले आयु लम्बाइरहन पाउँछ र ? हिजोआज सुवासको सत्ता, दर्शन र योजना कता हरायो कता ! फेरि भानुभक्तको सालिक ठडियो । असार २९ को गौरव फेरि सुस्थापित छ त्यहाँ ।

हाम्रो समाजमा दार्जिलिङ्गे त्यो फोहोरी, निर्घृणी र कूपमण्डुक चेतना बेलाबखत सल्बलाउँछ । भाषालाई, संस्कृतिलाई, धर्मलाई र सामाजिक हार्दिकतालाई भताभुङ्ग पार्ने हुल बनाउन उद्यत अनुहार भेट्छु । किसिम–किसिमको तर्क र योजनाले नेपाली समाजका हातखुट्टा डस्न लागेका देखिन्छन् ती । गर्न नसकिने र हुन नसक्ने कुरालाई अघि सारेर सङ्लो समाजका बलिया आधार भत्काउनेको सङ्ख्या घटेको छैन, बढेको छ झन्–झन् । नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यको साख गिराउने ओठ, मुख, हातभन्दा छातीको योजना बढी भयावह छ, घिनलाग्दो छ र प्रतीतपूर्ण छ ।

एउटा कालजयी लेखकको आगमन मात्र हुन्छ । ऊ दिवङ्गत हुँदैन । विचार र अवधारणाको सफलताले उसको अमरत्व झन्झन् जनमनमा गहिरिन्छ । भानुभक्त नेपाली समाजका त्यही साधक हुन् । त्यही पथका चिन्तक हुन् र त्यही गाथाका नायक हुन् ।

भानु जयन्ती मनाइरहेको यो सातामा हाम्रा थुप्रै खाले गतिविधि सार्वजनिक भइरहेका छन् । एउटा साधकले एक विधाको समग्रता अँगाल्छ भने त्यो सामान्य कसरी हुन्छ ? त्यो ख्यालख्यालको कसरी हुन सक्छ ? छन्दको मनोहारिता र विचारको प्रभावशालीतालाई गम्लङ्ङ अँगालेर गायन, वाचन र शास्त्रीयतालाई उचाइ दिए भानुभक्तले । नेपाली समाजको अन्तर्वस्तुबारे एकदमै सुक्ष्म अध्ययन गरी भाषाको विकासमा सिङ्गो जीवन तिनले अर्पे । नेपाली जातीय भावनाको बिस्तारमा आफूलाई उदात्त भएर समय लगाए भानुले ।

आजको हेराइले हेर्दा तिनी अघोरै समाजवादी, समावेशी र सहमति संस्कारका स्रष्टा अनुभूत हुन्छन् । एउटा कालजयी लेखकको आगमन मात्र हुन्छ । ऊ दिवङ्गत हुँदैन । विचार र अवधारणाको सफलताले उसको अमरत्व झन्झन् जनमनमा गहिरिन्छ । भानुभक्त नेपाली समाजका त्यही साधक हुन् । त्यही पथका चिन्तक हुन् र त्यही गाथाका नायक हुन् । नेपाली भाषाले पाइरहेको सामाजिकीकरण र अर्थपूर्ण उपलब्धिमा भानुको साहित्य कतै छ, समाजोपयोगी विवेचना कतै छ । मुख्यतः वाङ्मयका स्वरुपमा भाषा–सम्बन्ध सबभन्दा शक्तिशाली भएर स्थापित छ, छ ।

मैले भानुभक्तका सालिक जम्माजम्मी तीनवटा प्रमुख भेटेको छु । चुँदी, प्रज्ञा प्रतिष्ठान र दार्जिलिङ्गे चौरस्ताका– यी तीन भानु सालिकमा गौरव जति भेटिन्छ, कला र साधनाको विशिष्ट रुप पनि त्यत्तिकै टड्कारो अनुभूत हुन्छ । सालिकलाई, जब व्यक्तिलाई दोबाटोमा उभ्याउने साधनको रुपमा व्याख्या गरिन्छ– तब मूर्तिको महत्व अग्लिदैंन, बरु माट्टिन्छ ।

समयसीमाका अनुभूतिले मूर्तिलाई संस्कृति, साहित्य, अध्यात्म, भेषभूषा, जीवनशैली, दर्शन र वास्तुकलाको संयोजन हुन सकेमात्र सालिकको महत्व उच्चकोटिको हुन्छ । हाम्रा धेरै सालिकमा आदिकविलाई उतारिएर पनि तिनमा साहित्यको प्राण ओर्लिएको लाग्दैन । धेरै मूर्तिमा भानुको हलुका आकृति झुल्किए पनि आदिकवित्वको गौरव र गर्व देखापर्दैन । यसो हुनु भनेको भाषा र साहित्यप्रति उदासिन समाजको बढोत्तरी हुनु हो । भाषा र साहित्यमा मौन भइरहनु भनेको गतिशील समाजमा शुष्क चरित्र बढ्नु हो, अनाचार थुप्रिनु हो, उमङ्ग घट्नु हो ।

नेपाली भाषा आज धेरै भानुहरुको अथक योगदानले आलोकित छ । यो भाषा यति मीठो, यति प्रिय र यो रुचिकर हुनमा भानुभक्त आचार्य जस्ता साधकको साधनाले काम गरेको छ । धेरै मनिषी, थुप्रै साधक र अनन्त अनुयायीहरुको तीब्र सोच र व्यवहारको प्रतिफलले– यो भाषा देशीय घेरो नाघेर अन्तर्देशीय भूमिको सम्पत्ति हुन पुगेको हो । पर धेरै पर असार २९ ले ल्याउने रौनक भानुभक्तको सिर्जनाले उमारेको आवेग मात्र होइन । भानुजयन्तीले गुञ्जाउने गम्किलो वातावरण सिलोके संसारको प्रतिफल मात्र होइन । यो त नेपाल र नेपाली अस्तित्वको सेरोफेरोमा गाँसिएको चिन्हारी हो, गर्व हो र चरित्र हो ।

छन्दको मनोहारिता र विचारको प्रभावशालीतालाई गम्लङ्ङ अँगालेर गायन, वाचन र शास्त्रीयतालाई उचाइ दिए भानुभक्तले । नेपाली समाजको अन्तर्वस्तुबारे एकदमै सुक्ष्म अध्ययन गरी भाषाको विकासमा सिङ्गो जीवन तिनले अर्पे । नेपाली जातीय भावनाको बिस्तारमा आफूलाई उदात्त भएर समय लगाए भानुले ।

यही चरित्र, गर्व र चिन्हारीको एक बिन्दुमा भानु छन्, रामायण छ र भाषा छ ।

सिर्जना संसारको लामो र गम्भीर पथिक हुन् भानु । कुनै समय झ्याउरे सिर्जनाको भाषा र भावले यात्रारत नेपाली समाज–जब भानुभक्त आचार्यको रामायण आयो, एउटा तरङ्गले तिल्मिलायो । त्यसबेलाको सुधारपूर्ण काम हो त्यो भाषामा । त्यो कालखण्डको क्रान्तिकारी सपनाले मूर्तता पाएको नतिजा हो त्यो । बिस्तारै अरु कवि हिँडे । नेपाली भाषाको मानक र भावले अरु जातीय संसरका स्थान पायो । सम्मान र स्वीकृति प्राप्त गर्‍यो । भाषाको महत्वमा गर्बिलो ठाउँ पायो नेपाली भाषाले ।

भानुलाई गाउनु भनेको शास्त्रीयताको राग अलाप्नु मात्र होइन ! भानुरचित रामायण भट्याउनु भनेको प्राचीन सिलोक सुसेल्नु मात्रै होइन नि ! तात्कालिक समाजले, संस्कृति, सभ्यतामा एकाकार इतिहास पढ्न भनेकै प्राचीन सिर्जनाको वरपर रहनु हो । रामायणले ओगटेको यी परिवेश र सार्थकतालाई आजको समाजले अझै मीमांस गरिहालेको लाग्दै–लाग्दैन । हलुका, सतही र बोक्रे टिप्पणीले भानुभक्त नाउँको खिल्ली त उड्ला केही बेरलाई– तर रामायणले पुर्‍याएको अद्भूत कार्य युगयुगान्तर मान्य हुनेछ, पूज्य हुनेछ, अविस्मरणीय हुनेछ । आदिकविको गाथा त्यही मान्यता, त्यही पूजनीयता र अविस्मरणीयपनमा गाँसिएर आइरहनेछ निरन्तर ।

भाषाको यी धेरै मर्मभित्र आलोकित आदिकविलाई हामी सम्झिरहेका छौं यो साताभरि । धेरै तर्क र सिद्धान्तले सिँगौरी खेलिरहेको कालमा उभिएका छौँ हामी । एकरुपताको प्रयत्न त कता हो कता कर्णकटु चरित्र र लोलोपोतोले हाम्रो नेपाली भाषा रोगाउँदै गइरहेछ । सबैतिरका अनपेक्षित लुले तर्क र फुच्चे दागाधराइले नेपाली भाषाको मिठास, सुन्दरता, कर्णप्रियता र मर्ममा बिस्तारै प्रहार भइरहेको छ हिजोआज ।

भानु जयन्तीले उल्लासित यो सातामा भाषाका भाँडभैलो आफ्नै खालका त छन् नै । त्यस परतिर संसारभरि अँगालिएर फैलिइरहेको नेपाली भाषामा दोष लाउने, फत्तुर लाउने र गालीगलौज उराल्ने ‘माखेपित्त’ बगाल नि बढाउँदैछ हाम्रो शासनसत्ताले ।

संसारका सबै भाषा, संस्कृति र सभ्यतालाई सर्लक्कै निलुँला झैँ भएर आइरहेको अंग्रेजी फँणाले नेपाली भाषा अधमरो भइरहेकै छ, आकुल भइरहेकै छ, आलसतालसमा पारिएकै छ । अब फेरि हाम्रै करेसा, आँगन, डिल र जुठेल्नाबाट नेपाली भाषालाई सत्तोसराप गरिरहने हो भने– देशले हार्छ, जातीयताले हार्छ र सभ्यताले हार्छ ।

नेपाली भाषाको विशाल वृक्षलाई संसारभरि पुगेका भरिया, ज्यामी, कुल्ली, चौकीदार, डाक्टर, प्राध्यापक, इन्जिनियर, कवि, कलाकार, व्यापारी र विद्यार्थीले माया गरेका गरेकै छन् । अनेक प्रकारका रेडियो चलाएर, पत्रिका प्रकाशन गरेर, क्यामेरामा कविता प्रसारण गरेर, किताब छपाएर अनि संगोष्ठी गरेर भानुलाई सम्झिरहेकै छन् । भाषाको आलोकमा भानुभक्तको योगदान स्मरण गरिरहेकै छन् घरी–घरी । तिनको अन्तष्करणमा भाषाको सम्मान नै आदिकविको आराधना हो भन्ने गाँसिएको होला । रामायणको गायन नै भानुभक्तको अर्चना हो भन्ने चेतना झ्याँगिएको होला । तिनको आफ्नो पुरुषार्थमा देश, भाषा, भानु र रामायणको चुम्बन भन्ने दर्बिलो अर्थ लाउँदो होला पटक–पटक । पर– धेरै पर बस्नेका मनमा आउने कुरा वा हार्दिकताका पूम्लपराग यस्तै–यस्तै छन् भन्ने सुनेको छु । एकतमासले छाती फुलेल भएको छ मेरो ।

यता देशको हाल खबर त्यति अनुकूल छैन । हामी भानुका पक्षमा त्यति फराकिलो भइरहेका कहाँ छौ र ? खस भाषाको बिल्ला लाउन चम्केका छौँ । नेपाली भाषाको हाँगाबिँगा काटिरहेका छौँ । लोकसेवा, विश्वविद्यालय र विद्यालयका थुप्रै पठनपाठनमा कैँची चलाइसकेका छौँ । यो भाषाले सेप लाएको आरोप खेपाइ–खेपाइ नेपाली भाषाको जरामा तातो भुतभुते खन्याउन जमजमाइरहेका छौँ हामी ।

संसारका सबै भाषा, संस्कृति र सभ्यतालाई सर्लक्कै निलुँला झैँ भएर आइरहेको अंग्रेजी फँणाले नेपाली भाषा अधमरो भइरहेकै छ, आकुल भइरहेकै छ, आलसतालसमा पारिएकै छ । अब फेरि हाम्रै करेसा, आँगन, डिल र जुठेल्नाबाट नेपाली भाषालाई सत्तोसराप गरिरहने हो भने– देशले हार्छ, जातीयताले हार्छ र सभ्यताले हार्छ । राजनीतिको मुर्दा ज्यानले यी कुरा सुने कति जाती हुन्थ्यो !

भानुको घाँटीमा आलो फूलमाला अर्पन पाइरहुँ !

(लेखक युवराज नयाँघरे मदन पुरस्कार बिजेता लेखक, साहित्यकार हुन्)

तपाइँको प्रतिक्रिया

फेसबुक