सोमबार, मंसिर १३, २०७८

आफ्नै अहंकारले ‘बा शासन’ को अन्त्य

लक्ष्मण देवकोटा२०७८ असार २९ गते ५:०१

झापा आन्दोलनका नायक खड्ग प्रसाद ओली यो हविगतका साथ अदालतको आदेशमा गलहत्याइएर बालुवाटारबाट निस्कलान् भन्ने कसैलाई लागेको थिएन । महेश बस्नेतहरुको ठूलो स्कर्टिँगमा बालकोट फर्किए पनि मानिसहरुले प्रश्न गर्न थालिसकेकाछन्, झण्डै दुई तिहाईको हुँदोखाँदोको सरकारलाई यो हविगतमा पुर्याएर किन विजोग बनाउनुभयो कमरेड ?

नेपाल देश न हो जहाँ सत्तामा रहँदासम्म सत्तावालको आवाज निकै परसम्म सुनिन्छ । जब सत्तावाल सेना, पुलिस, शासकीय सुविधा सब छोडेर एक्लै घर फर्कन्छ, अनि मानिसहरुले प्रश्न गर्न थाल्छन् । साथ दिएकाहरुले साथ छोड्न थाल्छन् । मानिसहरुले देउवा प्रधानमन्त्री भएको चौबिस घण्टा नहुँदै सामाजिक सन्जालहरुमा लेख्न थालिसकेका छन्, ओली कमरेड तपाईं त आफ्नै गूटका केही लोभीपापीहरुको मात्रै पो बा हुनु भएको रहेछ । तपाईले हाम्रो स्नेह र विश्वासलाई टुक्राटुक्रा पारिदिनुभएको छ । माधव नेपाल र देउवालाई हस्ताक्षर बुझाउने सांसदलाई सराप्न त सकिएला । तर यो सबैको मूल कारण तपाईंकै घमण्ड हो । अहंकारको आहालमा तपाईं त भासिनुभयो नै,
तपाईंसँगै आम मानिसहरुका सपना पनि भासिए । सिंगो वामपन्थी आन्दोलनलाई विसर्जनको डरलाग्दो डिलमा पुर्याएर कमल थापाहरुको हाइहाइ सुन्नु तपाईंको नियति भएको छ ।

के मानिसहरुले न्यायिक प्रश्न गरेकाछन् त ?

पक्कै पनि । कम्युनिष्ट आन्दोलनमा लागेर १४ वर्षसम्म जेलमा मृत्युको मुखमा पुगेर फर्किएका ओली वाकपटु भएपनि यति धेरै बेइमान भएर निस्कलान् भन्ने उनकै सहयोगीहरुले पनि सोंचेका थिएनन् होला । बेइमानीको श्रृङ्खला उनले प्रचण्डबाट शुरु गरे । प्रमुख शक्तिबाट स्खलित हुँदै गएको प्रचण्ड नेतृत्वको माओवादी आफै निर्णायक नभए पनि सत्ताको निर्णयमा महत्वपूर्ण ठाउँ राख्ने हैसियत राख्ने अवस्थामा नेपाली समाजमा रहेको थियो । आफै पहिलो र दोश्रो स्थानमा नआए पनि तेश्रो शक्ति भएर सत्ताको निर्णायक कदम चाल्न सक्ने आंकलन गरेर ओलीले एकता गरे । एकता पनि रातारात । कार्यकर्ताले समेत सुइँको नपाउँदै, जनताको बहुदलीय जनवादलाई बीच बाटोमै छोडेर प्रचण्डसँग घाँटी जोड्नु केवल चुनावको रणनीति मात्रै रहेछ उनको ।

कालान्तरमा यो पुष्टि पनि भयो । जसै उनले नेपाली समाजमा व्याप्त वामपन्थीहरुको विभाजित मतले जताततै विजयको झण्डा फहराए उनले पहिलो खूँडा प्रचण्डमाथि प्रहार गरे । उनीसँग भएका सबै सहमतिलाई च्यातेर । तथापी प्रचण्ड लत्रिरहे । प्रचण्डसँग मिलेर माधव नेपाललाई समेत भित्तामा पुर्याए । हिज आफू अल्मतमा हुँदाको बदला लिन उनले वडै तहसम्म पाँडे पजनी शुरु गरे । ओलीका विरुद्ध बोल्ने कसैको खैरियत हुन छाड्यो । लेनिनवादी सँगठनात्मक पद्धतिका नाममा बलियो संगठनको कमाण्ड बनाएको पार्टीका वैठक हुन छाडे । ठेकेदारहरुले टिकट पाए । ओली विस्तारै राजनेताको रुपमा चिनिन थाले । उनको तजबिजीमा दरबारिया पार्टीको रुपमा कम्युनिष्ट पार्टीले आकार लिंदै गयो ।

यही कुराको बहस गर्न पटक पटक प्रचण्ड, माधव नेपालहरुले स्थायी कमिटीको वैठक, केन्द्रीय कमिटीको वैठकको माग गरे । यसलाई सत्ता हत्याउने षडयन्त्रको रुपमा व्याख्या गर्दै आफ्नो गूट बलियो बनाउने तर संगठनात्मक पद्धतिलाई लत्याएर एक्लैले सरकार, पार्टी सबै चलाउने नीति अख्तियार गरे । यसबाट बिच्किएका प्रचण्ड,माधव नेपालहरुलाई दोषी देखाउँदै संसदको वध गरेर काम गर्न दिइएन भन्दै चुनावमा जाने निर्णय गरे ।

लामो रस्साकस्सीको बीचमा सहकर्मी माधव नेपाल, प्रचण्ड लगायत सबैलाई अपमानित गर्दै हूर्मत लिन कुनै कसर बाँकी राखिएन । तर, अदालतले ओलीको कदमलाई गलत सावित गर्यो । सँगसँगै राष्टपति विद्यादेवी भण्डारीलाई समेत उनले विवादमा तानेर शीतलनिवासको जात्रा देखाइदिए । पहिलो पटकले नपुगेर दोश्रो पटक फेरि संसदको हत्या गरे । मध्यरातमा शीतलनिवासले न्यूनतम मर्यादाहरुलाई बिर्सेर ओलीलाई साथ दिइरह्यो । यसबीचमा निर्वाचन आयोग, अख्तियार लगायत सबै संवैधानिक निकायहरुलाई पंगू बनाउन आफ्ना पकेटका मानिसहरु लगेर भर्ति गरियो ।

ओली मण्डली पुरै भ्रष्टाचारमा लिप्त भएका खबरहरु बाहिर आए । गोकुल बाँस्कोटाको अडियो बाहिर आयो । यति र ओम्नीका खबरहरु आए । ओली स्वयम्ले बदनाम मानिसहरुलाई चोख्याउँदै हिंडे । अदालती फैसलालाई प्रभावित पार्न उनले राज्यकोषको दोहन गरेर चारैतिर पंचर्यालीको शैलीमा जुलुसहरु निकालेर आम वामपन्थी मतलाई विभाजित गर्दै कटूतापूर्ण सम्बन्धमा विस्तार गरे । एकीकृत कम्युनिष्ट भावनालाई विभाजित गरेर भारतीय जनता पार्टीको अवधारणालाई मिल्नेगरी हिन्दूत्वको कार्ड फ्याँके । ठोरीको जुलुस बालुवाटारबाट निस्कियो । कम्युनिष्ट ओलीलाई पशुपतिमा जलहरी राख्ने हतारो आइलाग्यो ।

कोरोनाले देश थिलोथिलो भएको बेला र दोश्रो लहर आउने खतरा हुँदाहुँदै कुनै कदम नचाली आफै डाक्टर झैं घरेलु औषधीको प्रचारमा हिंडेका ओलीको वैद्यखाना मानिसहरु धमाधम मर्न थालेपछि खुस्कियो । पूर्व तयारी नहुँदा भएको अक्सिजनलाई पनि मिलाएर वितरण गर्न नसक्दा धेरै मानिसहरुको ज्यान गयो । संसारका अगाडि भने उनले झूट बोलेर नेपालमा कोरोना नियन्त्रणमै रहेको बताए । जसोतसो खपिरहेका जनतालाई जब भारतीय गुप्तचर सामन्त गोयललाई मध्यरातमा बालुवाटार प्रवेश गराइयो, हाकाहाकी नेपाली सार्वभौमसत्तामाथि भारतसँग ओलीले घूँडा टेकेको देखियो । सत्ता जोगाउनको लागि भारतीयहरुसँग ओली लम्पसार परेपछि मानिसहरु अझै विद्रोहमा उत्रिए । शीतलनिवासको कृपा पनि अन्तत अदालतको आदेशले काम नलाग्ने भएको छ । सर्वोच्च अदालतले शीतलनिवासलाई समेत गलत काममा मतियार नबन्न शिष्ट भाषामा प्रष्ट बुझिने गरी सम्झाएको छ ।

दुईतिहाईको दम्भका साथ गर्जन गरिरहेका ओलीले आफ्नै सांसद समेत शेर बहादुरलाई प्रधानमन्त्रीमा प्रस्तावित गर्नुपर्ने अवस्थामा पुर्याइदिए । यो बिल्कुलै उनको राजनीतिक असफलता हो । सफल राजनेताले कम्तिमा आफ्नै सहयात्रीको हूर्मत काढेर, उसलाई अपमानि गर्दै सँगै बस्नै नसक्ने बनाएर प्रतिपक्षी कित्तामा जान वाध्य पार्दैन । अहिले आफ्नै घरमा आगो लगाउने विभीषणको संज्ञा दिनु वास्तविकताप्रति अन्याय गर्नु हो । राजनीतिक रुपमा संसदीय अभ्यासप्रति माधव नेपालले बरु इमान्दारिता देखाएकाछन् ।

अब माधव नेपाल विस्तारै पार्टीभित्र शक्तिशाली बन्दै जाने संकेतहरु देखिन थालिसकेका छन् । लोभीपापी र स्वार्थीहरुले विस्तारै ओलीलाई छाड्ने निश्चित जस्तै छ । नेपाली राजनीतिमा गतिलो बिकल्प नहुँदासम्म जनताहरु कांग्रेस,एमाले र माओवादीकै सेरोफेरोमा बस्न बाध्य हुनु हाम्रो समाजको यथार्थ हो । यो यथार्थ केही समय रहने पनि देखिन्छ ।

देउवा ठीक हुन् कि होइनन्, जनताले देखिजानेका मान्छे हुन् । जनतालाई यिनी को हुन् राम्रैसँग थाहा छ । रेल र पानीजहाजका ठूला कुरा गरेर सत्तारोहण भएका ओलीको यो दयनीय बहिगर्मन परमादेशको रागले मात्र सफाइ पाउने अवस्थामा छैन । जनताले बुझिसकेकाछन्, बाले जनादेशको सम्मान गरेनन् । यो सब पतनको मूल कारण उनी स्वयम् हुन् । प्रचण्ड र माधव नेपाललाई दोष दिनु राजनीतिक स्टन्ट मात्रै हो । बाहरु फेरि नजन्मिउन् भन्नका लागि अदालतले प्रष्ट संवैधानिक व्याख्या गरिदिएको छ । म नै राज्य, म नै कानून, मै सबथोक भन्ने ओली अहंकारको अन्त्य भएको छ । अहंकारीहरु आफ्नै कारणले पतन हुने रहेछन् भन्ने कुरा ओलीको बहिगर्मनले प्रष्ट पारेको छ ।

रह्यो कम्युनिष्ट आन्दोलनका चर्का कुरा, आफ्नै पार्टीका सहयात्रीहरुलाई रसातलमा पुर्याएर विधि, विधान नमान्नेहरुले देशलाई बनाउँछन् भनेर कसरी विश्वास गर्नू ? मानिसहरुले सहजै यसो भन्ने वातावरण अहिले सृजना भएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक