शनिबार, असोज ९, २०७८

ओलीले भत्काएको बाटो र धमिल्याएको नक्शा सफा गर्ने देउवाका चुनौति

ऋषी पल्लव२०७८ साउन १ गते २१:२२

बि. सं २००७ सालमा एक सय ४ वर्षसम्म चलेको राणा शासनमा पूर्णविराम लायो । शहर र केही जिल्ला सदरमुकाम केन्द्रित आन्दोलनहरु भएपनि दुर्गम ठाँउका मानिसहरुले त्यतीठुलो ब्यवस्था परिवर्तन भएको वर्षौं सम्म पत्तो पाएनन् । उनिहरु सुचना रहित भएर बाँच्न आदी भएका थिए । वर्षौं पछी जतिबेला उनिहरुले ब्यवस्था परिवर्तन भएको थाहा पाए उनिहरुलाई अचम्म लाग्यो ! गद्दीबाट उतारिएका श्री ३ राजाहरु जसलाई उनिहरु अझै पुज्दै छन ति त वर्षौं अघी उतारिएछन् ।

त्यो समय त्यस्तै थियो । देश नफेरिए पनि ब्यवस्था फेरिएको थियो । शायद राजाधानीमा अर्को ब्यवस्था फेर्ने तरखर हुन लागेको थियो । अहिलेको कहानी अर्कै छ- केपी ओली वालुवाटारबाट बाहिरिनु एक्कैछिन अघी महेश बस्नेतले बाजा बजाउन शुरु गराउँदै गरेको सुचना बिसौं हजार किलोमिटर टाढा बस्नेहरुले समेत एक मिनेटमा थाहा पाए । केपी ओली बालकोट प्रस्थान गर्दै गरेको सुचना हेर्न भोलिपल्टसम्म कुर्न परेन । इच्छा लाग्नेहरुले त्यो सबै दृष्‍य सबै लाइभ हेरे ।

आफ्ना खल्तिका केही कार्यकर्ताहरुले बाजा बजाउँदै आफुलाई काँधमा बोकेर हिंडेको देख्दा ओलीलाइ आफु अझ उचालिएको अनुभव भए होला । तर लगभग दुई तिहाइ सरकारको प्रधानमन्त्री जम्मा जम्मी ३ वर्ष ३ महिना पछी होर्डिङ्बोर्डमा टाँस्सिएर घर फर्कदै गरेको उदेक लाग्दो दृष्‍य थियो त्यो । केपी ओलीले पछी फर्केर हेरे भने जीवनभर वालुवाटार देखी बालकोटसम्मको त्यो यात्रालाई देखिरहनेछन् ।

नेपाली राजनीतिको उदेक लाग्दो पक्ष के हो भने राजानेता भनिएका ब्यक्तिहरु बाजा बजाउन सिपालु एउटा सानो समुहको घेराउमा हुन्छन । तिनैले देशको कायापलट गरिरहेको कल्पनामा बाँच्ने गर्दछन । तर तिनिहरुले के थाहा पाइरहेका हुँदैनन् भने बाजा बजाउनेहरु क्षणिक हुन्छन । कार्यक्रम सकिए पछी उनिहरुको बिदाई हुने गर्दछ । ओलीका बाजा बजाउने कार्यकर्ता पनि त्यस्तै हुन् । कार्यक्रम सकिएपछी फर्किन्छन् । त्यसपछी ओलीलाइ थाहा छ कि छैन उनी एक्लै हुन्छन् । बाजा बजाउनेहरुले ज्याला खोज्छन् । तीन वर्षसम्म लडिबुडी गरेको उस्तै जमीन खोज्छन् । बालकोटमा बसेर कहाँबाट पुर्याउलान ओलीले ?

सरकारमा छँदाको कुरा छुट्टै थियो । स्वार्थ समुहहरु जी हजुरी गरिरहन्थे । अब त्यस्तो हुँदैन । ओलीले आफुलाई एक्ल्याएका छन् । उनलाई राजा बन्ने लत लागेको थियो । राज्यका सबै ठाउँमा बिस्तारै कब्जा हुँदै थियो । तर परिस्थिती फेरिएर दुई तिहाइका प्रधानमन्त्री एउटा सानो समुहमा सिमित भए । पक्कै पनि केपी ओलीसँग देश र जनताका मह्त्वपूर्ण सपना जोडीएका थिए । ति सपनालाई साकार पार्ने मौकापनि थियो । तर यसरी आशा गरिएको प्रधानमन्त्री वा नेता छोटो समय मै कसरी पटक पटक स्खलित हुन सक्दछ ? शायदै अब कुनै नेता वा प्रधानमन्त्री बन्लान जसले केपी ओलीले भात्काएका सपनाहरुलाई ब्यँताउन सकोस ।

जतिबेला ओली आफ्नै तस्विरका होर्डिङबोर्ड अघी पछी लगाएर भक्तपुर प्रवेश गर्दै थिए त्यही बेला दुर दराजका गाउँमा बाढी पहिरोले गरिव जनताको भविष्य भत्काँउदै थियो । कोरोना महामारिका कारण मर्नेहरुको संख्या उचालिएको थियो र देशको अर्थतन्त्र उठ्नै नसक्ने गरेर पछारिंदै थियो । उनले के गरे देशका लागि ? ति कसका प्रधानमन्त्री थिए ? कुनै दिन एक्लै बसेर ओली आँफैले सोचे भने त्यो सबै देख्ने छन । जनताको करमा लुट मच्चाएको यथार्थ त्यही अनुरुप रहने छ ।

बालकोट प्रवेश गर्दैमा अध्याय सकिएको छैन । त्यहाँ पनि उठ्नेछन पटक पटक यिनै प्रश्न । ईतिहासले गिरिजा प्रसाद कोइराला र केपी ओली जस्ता पात्रहरुलाई पटक पटक खोज्ने छ र सोध्ने छ- किन देशको नक्सालाई यतिसारो धमिल्यायौ ?

अब शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन् । देशका समस्या उनी पहिलो पटक प्रधानमन्त्री बन्नु भन्दा फेरिएका छैनन् । अझ थपिएका छन् । तर हरेकले बुझेका छन देउवाले पनि त्यस्तो कुनै चमत्कार गर्ने छैनन् । उनको आन्द्रो कहाँँ कहाँँ जोडीएको छ- कुनै नयाँँ कुरो भएन । ईतिहासले यिनलाई सोध्ने पनि त्यही प्रश्न हो । दम्भको सिंहाशन ढिलो चाँडो खस्ने रहेछ- ओलीले प्रमाणित गरेका छन् । देउवाका लागि ओलीले भत्काएको बाटो र उनले धमिल्याएको देशको नक्सा सफा गर्नुको विकल्प छैन ।

अहिले कुनै पनि परिवर्तन थाहा पाउन वर्षौं कुर्नुपर्ने २००७ सालको अवस्था छैन । जनताले आजको आजै थाहा पाउँछन । कसैको तस्वीर फेरिन समय लाग्दैन । एक वर्षसम्म फरार सूचिमा रहेका विजयकुमार गच्छद्दारको रिहाइ देउवाले सपथ खाएको भोलिपल्टै हुनु संयोग मात्र होस । कमसेकम जीवनको यो अन्तिम चरणमा पुगेर देउवाले बाजा बजाउने समुहको निर्माण तर्फ नलागुन् । अब कसैले पनि क्षमा पाउने समय छैन ।

तपाइँको प्रतिक्रिया

फेसबुक