शुक्रबार, वैशाख १४, २०८१

शनिवार- साहित्य / सृजना / नियात्रा

पल्टनबजारमा अर्को एक बिसौनी

डा. गोबिन्द राज भट्टराई२०७८ साउन २ गते ५:०२

(शिलाङ, तेजपुर, गुवाहाटी यात्रा : काठमाडौंदेखि एनजेपीको पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, दोस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  तेस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  चौथो भाग हेर्न यहाँ क्लिक गर्नुहोला, पाँचौं भागकालागि यहाँ क्लिक गर्नुहोला र छैठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, सातौं भागकालागि यहाँ क्लिक गर्नुहोला, आठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, नवौं भाग हेर्न यहाँ क्लिक गर्नुहोला र १० औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, ११ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १२ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १३ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, १४ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १५ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला )

त्यहाँ पल्टनबजारमा नेपाली मन्दिरको परिसरमा अवस्थित भानु अतिथि भवनमा अतिथिहरू जम्मा हुन थालेका थिए । लीलबहादुर क्षत्रीलगायतका साहित्यकार र पत्रकारको उपस्थितिमा हामी भेला भयौँ । मेरो उपस्थितिले कतिपय नौला कुरा पुर्‍याएँ होला भन्ने लागेको थियो । सर्वप्रथम त पत्रकारहरूले मेरो अन्तर्वार्ता शुरू गरे । दुई जना पत्रकार थिए– स्वर्णभूमि गान्तोकका सञ्जीव दाहाल र हाम्रो प्रजाशक्ति तेजपुरका पूर्ण क्षत्री ।

पहिलो प्रश्न थियो— यहाँलाई भारतीय नेपाली भाषा–साहित्यको स्थिति कस्तो लाग्यो ?
मैले उत्तरमा भनेँ— नेपाली साहित्य र भारतीय नेपाली साहित्य भिन्न छन् । ती बोधगम्य छन् । परन्तु संस्कृति र लोकल, स्पेस (अवस्थिति) भिन्नताले गर्दा उताकोमा उतैको सुगन्ध हुन्छ, यताकोमा यतैको । त्यस कारण दुवै नेपाली साहित्य भए पनि कति शब्दका तहमा, कति वाक्यका तहमा, अझ कति सांस्कृतिक बिम्बमा सूक्ष्म भेदहरू छन् ।

आज ८० वटा देशमा अंग्रेजी भाषाले राष्ट्रिय स्वीकृति पाएको छ, परन्तु ती अंग्रेजी भाषा एकै भए पनि अनेक हुन्— अमेरिकी अंग्रेजी भाषाभन्दा बेलायती भिन्न छ । बेलायतीभन्दा अस्ट्रेलियाली भिन्न छ । अफ्रिकीभन्दा भारतीय अंग्रेजी भिन्न छ । नेपाली–अंग्रेजीको पनि स्वाद भिन्न छ । यो पनि विकसित भएको छ । हेर्नुस्, हामीले यही विविधता बुझाउन त्रि।वि।को स्नातक तहको पाठ्यक्रममा मलेसियन, जापानी, भारतीय जस्ता भेदका अंग्रेजी राखेका छौँ ।

यो ता दृष्टान्त मात्र हो । बिस्तारै नेपालीका पनि भेदहरू त्यस्तै हुँदै जानेछन् । उही भाषामा पनि अनन्त भेदको निर्माण हुँदै जान्छ । त्यस कारण हामी भारतीय नेपाली वाङ्मयको निर्माण र विकास अलिक भिन्न स्वरूपले अघि बढ्दैछ भन्ने कुरामा विश्वस्त छौँ । नेपाली र भारतीय उच्चारण शब्द र वाक्य दुवै तहमा कति ठाउँमा फरक छ भनी हामीले स्वीकार गरेका छौँ, यद्यपि त्यो अन्तर त्यति व्यापक छैन जतिले पारस्परिक बोधगम्यता समाप्त हुन्छ । तर मलाई यताको (भारतको) साहित्य पढ्दा विशेष आकर्षणले छुन्छ र एउटा मीठो आकर्षण जस्तोले बिस्तारै भिन्न जगतको उद्घाटन गर्दछ । एउटा भिन्न भूमिको भ्रमण गरेझैँ लाग्छ ।

दोस्रो प्रश्न थियो— नेपालमा आएको भाषिक पुनर्निर्माणको प्रस्तावका बारेमा यहाँलाई कस्तो लाग्छ ?

मैले उत्तरमा भनेँ— म ठान्दछु, एक सय वर्षभन्दा पुरानो भएको नेपाली व्याकरणले स्थिरता प्राप्त गरिसकेको थियो । व्याकरण भनेको एउटा अभ्यासनिर्मित परम्परा हो । साथै परम्परा साधित अभ्यास पनि । यसको निरूपण अनेक मान्यताले गर्दछ । तर एक थरी विद्वानले स्थिरता प्राप्त गरिसकेको नेपाली व्याकरणलाई नयाँ सिद्धान्तमा हालेर व्यापक परिवर्तन गर्ने चेष्टा गरे । त्यसले गर्दा भाषामा धेरै नै विचलन उत्पन्न भएको छ । भाषाले स्थिर रूप लिन नपाउँदै त्यसलाई बारम्बार चलाउनाले नोक्सान गर्दछ । यो निश्चय छ । तपाईंहरूले नेपालमा भएको परिवर्तनलाई, मानक स्वीकार्नु आवश्यक छैन । आफ्नो विवेकले, आफ्नै परम्परामा आधारित हुँदै, आफ्नो परिवेशमा भाषिक परम्परातिर पनि हेर्दै आफ्नै लेख्य र मौखिक रूपलाई उच्चारण परम्परा र ध्वनि सङ्केतलाई स्थापित गर्नु उत्तम हुनेछ । जसरी बेलायती, अमेरिकी र भारतीय अंग्रेजीमा भेद छ, नेपाल, दार्जिलिङ र आसामका नेपाली स्वरूपमा पनि भेद स्वीकार्य हुनेछन् ।

आजकल नेपालमा गर्न खोजिएको परिवर्तनको सान्दर्भिकताको चित्तबुझ्दो आधार छैन । म भन्ठान्छु भाषा आफैं परिशोधित हुन्छ । हाम्रा इच्छाअनुसार परिवर्तन गराउन खोज्दा त्यो अस्वाभाविक हुन जान्छ । अझ भाषाविकास भनेको मनोवैज्ञानिक प्रकृया हो र त्यसको भौतिक वा संरचनात्मक स्वरूपमा ज्यादा तर्क गर्नु युक्तिसङ्गत कुरा होइन ।

अन्तर्वार्ताका क्रममा मसमक्ष केही राजनीतिक प्रश्न पनि राखिएका थिए-नेपाल एउटा असफल राष्ट्र हुने हो कि ?

मैले भनेँ— त्यस्तो कल्पना गर्नु आवश्यक छैन । ६० वर्षअघि प्रजातान्त्रिक व्यवस्था स्थापित भएको भारतमा अझै स्थिरत्व आइसकेको छैन । प्रजातान्त्रिक प्रणाली अत्यन्तै कोमल र नाजुक हुन्छ । यसको बिरुवा हुर्काउन मुस्किल हुन्छ । लामो समय लाग्छ । प्रजातन्त्रको स्थापना भयो भने देशमा नियम कानूनले काम गर्न थाल्छन् र जीवन पुनःस्थापित हुन्छ । त्यसकारण यसलाई अस्थिर एवं तरल राख्न चाहनेहरू सदैव यसका (स्थिरत्वका) विरुद्धमा हुन्छन् । त्यसकारण नेपालमा पनि त्यस्तै अभ्यासले गर्दा हामी अस्थिरता भोग्दैछौँ ।

अधिनायकवाद हुन्थ्यो भने देश स्थिर देखिन्थ्यो । तर मानव स्वतन्त्रतालाई कुण्ठित पारी गरिएको कुनै पनि शासन व्यवस्था अबको समयलाई स्वीकार्य हुने छैन । हामी प्रजातान्त्रिक प्रणालीको स्थिरत्वको अभ्यास गर्दैछौं । वर्षाैंको अधिनायकतावादले किच्याएका हामी भर्खर नयाँ पथ भेट्तैछौँ । अर्कातिर अझै उनीहरू स्थिरताविरुद्ध पनि लागिरहेका छन् । नभन्नोस् नेपाल असफल राष्ट्र हो । यो पूर्ण सफलतातिर अग्रसर छ । हामी त्यसमा समर्पित छौँ । तपाईंहरूले पनि त्यस्तो मनोबल जगाइदिनोस् । हामी उभिएरै संसारलाई देखाइदिन्छौँ । अहिले क्षणिक दुःस्वप्नले ढाकेको मात्र हो ।

यस्ता प्रश्नोत्तर लामा थिए, झन्डै एक घण्टा लाग्यो होला । उनीहरूले नेपाली साहित्यको वर्तमान स्थिति, साहित्यको प्रयोग, यसको स्वरूप र भविष्यबारे पनि प्रश्न गरे । हामीले तिनका बारेमा पनि छलफल गर्‍यौँ ।

त्यसपछि एउटा स्वागत भेटको कार्यक्रम भयो । मैले पूर्वी भारत भ्रमणको आफ्नो उद्देश्य बताएँ र नेपाली भारतीय स्रष्टाबीचको आदान–प्रदान अघि बढाउनुपर्ने चर्चा गरेँ । त्यस दिनको साहित्यिक सम्पर्क–भेटलाई भोलिपल्टको हाम्रो प्रजाशक्तिले यसरी प्रकाशित गर्‍यो—

नेपाली र भारतीय आर्यसंस्कृतिको मूल एउटै हो

भारतमा गोर्खाल्यान्ड राज्य बन्दैन भनेर भन्न सकिँदैन : डा. गोविन्दराज भट्टराई
पूर्ण क्षत्री : गुवाहाटी : १२ नवम्बर ।

नेपाली भाषाका वरिष्ठ विद्वान्, अन्तर्राष्ट्रिय रूपमा समालोचक र उपन्यासकारका रूपमा परिचित डा. गोविन्दराज भट्टराईले हिजो असम गोर्खा सम्मेलनको मुख्य कार्यालय मणिकुमार सुब्बा भवनमा पत्रकारहरूसित कुरा गर्दै भने कि नेपाली र भारतीय आर्यसंस्कृतिको मूल एउटै हो । काठमाडौँको त्रिभुवन विश्वविद्यालयको अंग्रेजी विभागका प्राध्यापक डा. भट्टराईले एउटा प्रश्नको उत्तर दिँदै भने कि भारतको स्वाधीनताका समयमा कतिवटा राज्य थिए र आज कतिवटा छन् ? त्यसलाई हेर्दा भारतमा गोर्खाल्यान्ड राज्यको गठन हुँदैन भन्न सकिँदैन । असम नेपाली साहित्य सभाका कामरूप जिल्ला समितिले उनको सम्मानमा आयोजित अभिनन्दन सभामा आएका डा. भट्टराईले यस शङ्कालाई खारेज गरे कि नेपाल असफल राष्ट्र बन्ने सम्भावना छ । उनले भने कि नेपालको आगामी चुनावले देखाउनेछ नेपालको शक्तिशाली रूप ।

कुन उद्देश्य लिएर उनको यहाँ आगमन भएको हो ? भन्ने प्रश्नको जवाफ दिँदै उनले भने कि शिलाङको नेहुमा भारतवर्षको पहिलो “स्मृतिविज्ञान” विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्न नेपालका तर्फबाट आएको थिएँ । स्मृति, साहित्य र सांस्कृतिक जीवनमा के महत्व छ भन्ने विषयमा आयोजित तीनदिने महासम्मेलनमा उपस्थित पाँच जना व्यक्तिहरूमा एक जना म पनि थिएँ ।

असममा नेपाली साहित्यको विकासबारे प्रश्न राख्दा उनले भने कि राम्रै काम हुँदैछ र अझै धेरै हुन बाँकी छ । असममा समालोचना साहित्य कमजोर रहेको उल्लोख गर्दै उनले भने कि समालोचक र टिप्पणीकारमा अन्तर छ । उनले भने कि असमको नेपाली साहित्य अझै निर्माणाधीन अवस्थामा छ, वर्तमानमा आइपुगेको छैन तर आशा लागेको छ ।

वरिष्ठ विद्वान् डा. गोविन्दराज भट्टराई अभिनन्दित,
अन्तर्क्रिया कार्यक्रम समापन
हामीले सीमान्तकृर मान्छेलाई छोडेर साहित्य रचना गर्नु हुँदैन : डा. भट्टराई
पूर्ण क्षत्री : गुवाहाटी, १२ नवम्बर ।

असम नेपाली साहित्य सभा कामरूप जिल्ला समितिको पहलमा आज गुवाहाटी महानगरस्थित मणिकुमार सुब्बा भवनमा एउटा भेटघाट तथा अभिनन्दन कार्यक्रम सम्पन्न भयो, जसमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, समालोचक, उपन्यासकार डा. गोविन्दराज भट्टराई अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

असम नेपाली साहित्य सभा, कामरूप जिल्ला समितिकी अध्यक्ष डा. इन्दुप्रभा देवीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली भाषाका वरिष्ठ साहित्यकार लीलबहादुर क्षत्री, नेपाली साहित्य परिषद् असमका पूर्व अध्यक्ष नव सापकोटा, असम नेपाली साहित्य सभाकी केन्द्रीय कार्यकारी अध्यक्षा निरू शर्मा पराजुली, वरिष्ठ साहित्यकार डा. खगेन शर्मा, ‘सपरिवार’ मासिक पत्रिकका सम्पादक रोहित गौतम, पत्रकार पूर्ण क्षत्री, असम नेपाली साहित्य सभा कामरूप जिल्ला समितिका मूल सचिव रूपलाल उपाध्याय, भारतीय गोर्खा परिसंघ असम राज्य शाखा अध्यक्ष अधिवक्ता नित्यानन्द उपाध्याय, नेपाली मन्दिर प्रबन्धक समितिका कोषाध्यक्ष पीताम्बर शर्मा, केके प्रोडक्सनकी कृष्ण क्षत्री उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा अतिथि गोविन्दराज भट्टराईलाई ढाकाटोपी, फुलबुट्टे गम्छा, पित्तलको जापी र बाँसको गैढाले अभिनन्दन जनाइयो ।

कार्यक्रममा वक्तव्य राख्दै भट्टराईले पूर्वाेत्तरमा सिर्जित कृतिहरूको सबै अध्ययन गर्न सकेको छैन, कति ता आदान–प्रदानको अभावले पनि छेलिएको छ भने ।

यस्तै प्रश्नोत्तर, भेटघाटमा सन्ध्या बित्यो । म यहाँको साहित्यिक संस्थालाई नेतृत्व दिने दुई नारी प्रतिभा (इन्दुप्रभा देवी र निरू शर्मा पराजुली) को सक्रियता देखेर अति प्रभावित भएँ र स्वयं लीलबहादुर क्षत्रीज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको यो भेट मेरो निम्ति अविस्मरणीय रह्यो उनले भने ।

त्यसपछि नजिकको नेपाली रेस्टुरेन्टमा खाना खायौँ अनि बिदा भयौँ । मैले आज रातिको अवध आसाम एक्स्प्रेस चढ्नु थियो । डा. खगेन्द्र एवं एकदेवले लगेर मलाई उपयुक्त सिटमा चढाइदिए— अँध्यारो चिर्दै मेरो रेल तनक्क तनक्क सुइँ……गर्न लाग्यो । क्रमश :

(अर्को भाग आगामी शनिवार)

तपाइँको प्रतिक्रिया